दसैँ ताका नेवार समुदायमा जन्मेको। त्यही भएर होला, दसैँ सकिए पनि टीका लगाउन सकिएको हुँदैन। तिहारसम्म नखःत्या (आफन्तलाई आफ्नो घरमा बोलाएर खुवाउने र रमाइलो गर्ने) सकेको हुँदैन। त्यसरी नै मेरो घरमा पनि नखःत्या सकेको थिएन।
आफ्नो साथीहरुलाई टीका सकेको दुई दिनपछि मात्र बोलाउन पाएँ। साथीहरु पनि प्रायः नेवार भएकोले ढिला बोलाउनु परेको समस्या बुझेका थिए।
प्रायः साथीहरु घरमा नखःत्या आएका थिए। आफ्नै घरमा नखःत्याले व्यस्त थिएँ तर मेरो बुढी पनि आफन्तको घरमा नखःत्या जानुमा व्यस्त थिई। उसलाई घरमा नखःत्या भएर रुक्नु पर्छ भनेर कर गरेको थिइनँ। मैले बुझेको लैंगिक समानता यही थिएँ।
बुढी नभएकोले भान्छामा आफै चलेर बसेको थिएँ। साँझपख साथीहरु पनि टीका थाप्न आइपुग्यो। टीका लगाई, साथीहरुलाई कोठामा आराम गर्नको लागि लगेँ। त्यसपछि भान्छामा सबैको लागि भ्वय(भोज) लिन फर्कें।
सोही समयमा बुढी पनि फर्की। ऊ हेर्दै थकित देख्थी। आराम गर्न जानको लागि भनें। ऊ पनि सरासर कोठामा गई। उसलाई थाह थिएन, साथीहरु त्यही कोठामा थिए।
जब भान्छाबाट भ्वय लिएर कोठामा गएँ ऊ सुतेकी थिइन् तर खुट्टालाई लम्पसार आराम गरिरहेकी थिई।
सायद साथीहरुलाई भ्वय मिठो लागेको हुनुपर्छ, त्यसैले उनीहरु केही न केही मगाइरहेका थिए। म भने ओहोरदोहोर गरेर थाकिसकेको थिएँ। धेरै ओहोरदोहोर गरेको भएर साथीहरु गिजाउन थाले। बुढीले पनि गिजाउने अन्दाजमा, 'विचरा!' भनी।
भोलिपल्ट साथीको घरमा नखःत्या डाक्यो। उसको घरमा मदिरा पनि पिउन थालियो। साथीहरु अलिअलि मदिरा लाग्न थालेपछि घर जाँदै थिए। साथी र म पनि अलिअलि मदिरा लागेर कुरा गर्न थालेका थियौँ। कुरैकुरामा उसले भन्यो, 'हिजो तेरो घरमा नखःत्या आउँदाखेरि, तँ काम गरिरहेको बेला बुहारीले तँलाईं विचरा भन्नु हुँदैन थियो।'
एकछिनको लागि अकमक्क परें र प्रश्न गरें, 'किन र?'
'तिमीहरु बुढाबुढी हो। बुढीको कर्तब्य भनेको बुढालाई गाह्रो पर्दा मद्दत गर्ने हो।'
उसको कुरा सुनेर एकछिनको लागि त बुढीसँग रिस उठ्यो। र पछि लाग्यो विचरा पुरुष म।
सबैभन्दा पहिला विचरा कक्षा ५ बाट कक्षा ६ जाँदाखेरि भएको थिएँ। अन्तिम परीक्षाभन्दा अगावै दिदी र मैले बुबालाई कक्षामा राम्रो अंकले उत्तीर्ण भयो भने आ-आफ्नो लागि उपहार मागेका थियौं। दिदीले राम्रो ब्याग माग्नु भएको थियो। उहाँको ब्याग च्यातिन लागिसकेको थियो। मैले भने केही होइन, पूरानो साइकलको सट्टा नयाँ गियरवाला साइकल मागेको थिएँ।
परीक्षा दिएर परिणामको दिन आइसकेको थियो। बुबाले नभ्याएर हामी आमासँगै परीक्षाको परिणाम लिन गएका थियौं। पहिला दिदीको परिणाम हेर्यौं। उहाँ पूरा कक्षामा तेश्रो हुनु भएकी रहेछे। अब पालो मेरो, गियरवाला साइकल लिनको लागि दोश्रो हुनु थियो। मनको ढुकढुकी बढेर डर लाग्न थालिसकेको, त्यसमाथि परीक्षा पनि राम्रो गएको थिएन।
आफ्नो कक्षा शिक्षक देखेर कक्षा भित्र पनि गइनँ। आमा र दिदीलाई मात्र भित्र पठाएँ। म भने झ्यालमा कान ठाडो पारेर नतिजा सुनें। चालिस जनाको कक्षामा अठ्ठाइसौं भएको रहेछु। नतिजा सुनेर अर्को कक्षामा जानेभन्दा गियरवाला साइकल हातबाट गएको पिर थियो।
साँझपख बुबा घरमा आउनु भयो। बुबाले नतिजा सोध्नु भयो। दिदीको नतिजा सुनेर स्याबासी दिनुभयो। दिदीलाई 'पैसा छैन, ब्याग लिन सक्दिनँ' भनेर भन्नुभयो। मलाई नतिजा सुनेर कराउनुहुन्छ भन्ने डर थियो। तर बुबाले नतिजा नसुनी, तल जानको लागि आदेश दिनुभयो। तल गएर हेर्दाखेरि गियर वाला साइकल रहेछ।
मैले पहिलो पटक विचरा महसुस गरें।
दिदी र म कक्षामा एक वर्षको मात्र फरक थियो। दिदीलाई उच्च शिक्षापछि बिबिए पढेर बैंकमा काम गर्ने ठूलो रहर थियो। तर बुबाले फेरि पैसाको कारण देखाएर उहाँलाई बिबिए नपढाई बिबिएस पढाउनु भयो। तर दिदी यति प्रतिभाशाली हुनुहुन्थ्यो बिबिएस पढेर पनि बैँकमा काम गरिरहनु भयो।
मेरो पनि एक वर्षपछि नतिजा आयो। भविष्यमा के पढ्ने? के गर्ने? केही योजना थिएन। साथीहरुको लहैलहैमा आइटी पढ्ने भनेर घरमा भनें। बुबाले केही कर नगरी भर्ना गरिदिनु भयो। सुरुको वर्ष एउटा विषय लाग्न सुरु भएको, अन्तिम वर्ष पुग्ने समयसम्म पूरै विषय लागेको पत्तो भएन। त्यही अलिअलि फोटोशप चलाउन आएकोले एउटा अफिसमा ग्राफिक डिजाइनरको काम गर्दै थिएँ। जसमा केही श्रेय आफूले पाउन्नथ्यो।
जीवनमा पुनः विचरा भएको थिएँ।
एकदिन दिदीको मोबाइलमा गेम खेलिरहेको थिएँ। सोही समयमा मोबाइलमा कोही केटाको, 'लब यू, मिस यू सो मच' भनेर मेसेज पपअप भयो। दिदीलाई मोबाइल दिँदै गिज्याउन थालेँ। गिज्जाएर केही भनौँ, त्योभन्दा अगाडि कसैलाई केही भन्न पाउँदैन भनेर कसम दिनुभयो।
बाध्य भएर कसम खाएँ। तर खुसी थिएँ। दिदीले रोज्नु भएको केटा र मैले रोजेको केटी जात एउटै रहेछ। पछि घरमा गएर केही किचकिच हुँदैन भनेर।
नेपाली समाज, जति कुरा लुकाए पनि एक न एक दिन बाहिर आउँछ। मैले त घरमा केही भनेको थिइनँ। एकजना आफन्तले दिदी र केटा साथीलाई सँगै देखेका रहेछन्। आफन्तले बुबालाई खबर गरिदिनु भयो। घरमा बुबाआमाले दिदीलाई मारी गाली गर्नुभयो। त्यसपछि करले दिदीलाई अमेरिकाको ग्रीनकार्ड भएको केटासँग बिहे गरेर पठाइदिनु भयो। भगवानको कृपा भनौं र बुझ्ने केटा भएकोले, भिनाजु राम्रो परेछन्।
केही वर्षपछि मलाई पनि घरमा बिहेको लागि दबाब आउन थाल्यो। साथमा केटी साथीले पनि दबाब दिइरहेकी थिई। एकातिर धेरै वर्षको माया, अर्कातिर घरमा जात मिल्दैन भनेर छुट्टाउने डर।
आफ्नो मायालाई गुमाउने आँट थिएन। त्यसैले हिम्मत गरेर बुबाआमालाई आफ्नो प्रेमको बारेमा भनेँ। उहाँहरु एकछिन त सोचमा पर्नुभयो। तर घरमा पानी चल्छ भनेर मेरो प्रेमलाई स्वीकार गर्नुभयो।
बिहे धुमधामका साथ गरिदिनु भयो। स्वयम्बरको दिनमा दिदी-भिनाजु पनि अमेरिकाबाट आउनुभयो। दिदी त भाइको बिहेमा खुसी हुनुहुन्थ्यो तर म खुसी थिइनँ। आफैले आफूमा विचरा महसुस गरिरहेको थिएँ।
त्यसैले त्यस दिन प्रतिज्ञा लिएँ, बरु यो समाजले मलाई विचरा भनोस् तर घरमा आउने कोही पनि नारीलाई विचरा बन्न दिन्न।
अब मेरो घरमा नखःत्याको दिन सबैले मेरो परिश्रम मात्र देखे। कसैले पनि बुढी बाहिर गएर आएको देखेन। ऊ पनि त कसैको घरमा गएर हाँसी, खेली, चली, मजाक गरी होला। के सधैं काम गरेर थाक्नु पर्छ, रमाइलो गरेर थाक्न सक्दैन र? बुढाबुढी रेल गाडीको पाङ्ग्रा हो रे, के यो बुढा थाकेको बेला बुढीले मद्दत गर्दा मात्र हुने हो र? बुढी थाक्दा चाहिँ होइन र?