साथीको लहलहैमा लागेर उसले मलाई चिनेको थियो।
उमेरले १६-१७ वर्षको केटा हुँदो हो। पहिलो भेटमा उसले मलाई निकै कौतुहलतापूर्वक नियाल्यो। म पनि कम थिइनँ। नसालु आँखा झिम्क्याई दिएँ। ऊ मेरो नजिक आयो। म पनि टाँसिएर बसिदिएँ।
उसले मलाई म्वाई खान पो झम्टियो। मैले उसको नाकमा आफ्नो नाक जोडेर संयमित बनाउन खोजें। उसको मुटुको ढुकढुकी बढ्न थाल्यो। उसले आँखा चिम्म पारेर लामो सास तान्यो। त्यही मौकामा मैले मेरो बाफिलो सास उसको सासमा मिसाई दिएँ।
मेरो बाफिलो सास उसको रगतको नसा–नसामा पुगेर उसलाई तरंगीत बनायो। त्यसपछि ऊ लठ्ठ पर्यो। त्यही दिनदेखि ऊ मेरो प्रेमी भयो। त्यसपछि मलाई भेट्न रंगीन अड्डामा दिनहुँ आउन थाल्यो। ऊ पागल प्रेमीजस्तै थियो।
मलाई नपाउँदा उसलाई छटपटी हुन्थ्यो। घाँटी सुक्थ्यो उसको। केही दिनको लागि म साथीहरूसँग घुम्न निस्केको थिएँ। मलाई नेपाल र भारतबीचको सीमावर्ती बजारमा घुम्न छुट्टै रमाइलो लाग्छ। यता मेरो प्रेमी भने पानी बिनाको माछाझैं प्याकप्याक भइसकेको खबर पाएँ।
हामी तुरून्तै धनगढी बजारको गौरीफन्टा नाकामा पुग्यौं। सीमावर्ती डोके बजारमा ऊ मलाई भेट्न आतुर थियो। सीमापारिबाट आएका भारतीय साथीहरूसँग उसले सांकेतिक रूपमा कानेखुसी गर्यो। आपसी लेनदेनपछि भारतीय साथीहरू छुट्टिए।
हामी दुई जना धनगढी बजार प्रवेश गर्दै थियौं। सादा पोशाकमा रहेका नेपाल प्रहरी हाम्रो पछि लाग्यो। हामी भाग्न खोज्यौं । तर उम्कन सकेनौं । प्रहरीले हामीलाई शंकास्पद गतिविधिको आरोपमा समात्यो।
प्रहरीले अनुसन्धान सुरू गर्यो। मेरो प्रेमी डरपोक निस्कियो। उसले आफ्नो हुलियासहित तीन पुस्ते विवरण नाम, थर, ठेगाना एक सासमा ओकल्यो। म भने चुपचाप बसिरहें।
मैले मुख नखोलेपछि मलाई अनुसन्धानका लागि प्रयोगशालामा पठाउने भनियो। अदालतको कर्मचारीको रोहवरमा मुचुल्का उठाएर प्रहरीले मलाई गोप्य रूपमा प्रयोगशालामा पठायो।
हामीजस्ता शंकास्पदहरूलाई पहिले–पहिले काठमाडौंमा जाँच्नको लागि पठाइन्थ्यो। गएको वर्षदेखि प्रयोगशालाको शाखा यहाँ आएपछि मलाई धनगढी कै प्रयोगशालामा पुर्याइयो।
प्रयोगशालाका वैज्ञानिक भनिने मान्छेहरू मेरो बारेमा अनुसन्धान गर्न थाले। सुरूमा विभिन्न कोणबाट सबै जीउ देखिने गरी मेरो फोटो खिचे। मेरो शरीरमा रहेको सिलको अवस्था के–कस्तो छ, नियालेर हेरे।
प्रयोगशाला कोठामा मलाई नांगै पारेर मेरो तौल जोखे। मेरो रूप रङ, भौतिक अवस्थाको बारेमा टिपोट गरे। उनीहरूले जे-जे गर्न भने, मैले आज्ञाकारी भएर आदेश पालना गर्नुको विकल्प थिएन। अनुसन्धानको नाममा प्रिलिमिनरी टेष्ट, कन्र्फमेटरी टेष्ट जस्ता कयौं परीक्षण गरेर प्रतिवेदन तयार गरे।
करिब हप्ता दिनसम्म प्रयोगशालामा बसिसकेपछि पहिलेकै प्रहरीले मलाई लिन आए।
ती प्रहरीले मलाई सरकारी वकिलको कार्यालयमार्फत अदालत पुर्याए।
आज अदालतमा मेरो प्रेमी भनिएको मान्छेको पेसी थियो। मलाई ओसार पसार गरेको कसूरमा उसलाई मुद्दा लगाइएको थियो। वादी नेपाल सरकार भएको मुद्दामा प्रतिवादीको तर्फबाट उसले पनि वकिल राखेको थियो।
इजलासको क्रममा दुबै पक्षका वकिलहरूले मेरो बारेमा भन्न हुने, नहुने सबै अगाडि ल्याए।
अनेकौं किसिमका लाञ्छना लगाए। विपक्षी वकिलले उसलाई बचाउन निकै मेहनत गरे। अन्ततः प्रयोगशालाले पठाएको प्रतिवेदन र अन्य प्रमाणको मद्दतले ऊ दोषी ठहरियो।
अदालतले उसको कसूरको प्रकृतिअनुसार जेल चलानको फैसला सुनायो।
जेल जानुअघि उसले मलाई अँगालो हाल्न खोज्यो। कैद भुक्तान भएपछि मलाई फेरि भेट्ने वाचा सुनायो। म निःशब्द भएँ।
मलाई भने प्रहरी हिरासतमै केही दिन राखियो र कानुन अनुसार जलाउन लगियो। मेरो मृत्युमा मलाई कुनै पश्चाताप थिएन। मलाई विश्वास थियो -म जलेको खरानीबाट हजारौं मेरा सन्तान फेरि जन्मिने छन्।
यता प्रहरीकै हिरासतमा म जल्दै गर्दा मेरो पुनर्जन्म अर्कै ठाउँमा भइसकेको थियो। म पहिलेकै रूपमा जन्मेर डुल्न सुरू गरें। डुल्दै गर्दा मेरो जीवनमा अर्को अधबैंसे पुरूष आयो।
'गोरा गए काला आउँछन् ' भनेझैं मेरो जीवन पनि यसरी नै चलिरहेको छ।
विज्ञानको युगमा पुनर्जन्मको कुरा गर्दा तपाईंहरूलाई जिज्ञासा लाग्न सक्ला –
‘म को हुँ ?’ भनेर ।
तपाईंहरूको जिज्ञासा मेटाउन मेरो बारेमा थोरै भए पनि मैले भन्नै पर्छ।
म रंगीन संसारको परीजस्तै हुँ। अल्लारे ठिटादेखि वयस्क पुरूषहरू मलाई बढी मन पराउँछन्। त्यसैले त ‘हटकेक भएको छु।
आक्कलझुक्कल महिलाहरू पनि मेरा फ्यान भएका छन। मेरो राम्रो पक्ष धेरै थिए। तर मानिसको एउटा जमातले मलाई बदनाम गराए। मलाई दुरूपयोग गरे। अश्लिल भाषामा मलाई 'माल 'भनेर गिजोले। चुरोटको धुवाँमा मलाई उडाए। यति हुँदाहुँदै पनि मलाई आफ्नो जीवन जसरी भए नि जिउनु परेको छ।
अरूलाई आकर्षित गर्नु मेरो कला हो। मेरो संगतमा आइसकेपछि मलाई छोड्न नसकिने गरी मायाजालमा पार्नु अर्को विशेषता हो। चिकित्सा विज्ञानमा यसलाई 'हाइली एडिक्ट' शब्दावलीले चिनिन्छ। मेरो मोहनीमा फसेपछि मान्छे भोक, निद्रा, तनाव आदि सबै बिर्सिन्छन् रे।
म उनीहरूलाई स्वर्गीय आनन्द अर्थात ‘युफोरिया’ सम्मको अवस्थामा पुर्याउँछु। बिस्तारै–बिस्तारै अपराधको अन्धकार संसारमा धकेल्छु।
बेलैमा होस् नपुर्याउँदा म धेरैको जीवन बर्बाद पार्न सक्छु। किनकि म लागुऔषध दुनियाँको मुख्य पात्र - हेरोइन हुँ। फिल्मको हिरोइन होइन, अफिमबाट बनाइने नसालु हेरोइन हुँ।