'रूपेशजी !' म झसंग भएँ अनिताको आवाजले।
अनिता एग्रिकल्चर फ्याकल्टीमा पढ्ने भए पनि होस्टेलमा निशाको रूममेट भएकोले एग्रिकल्चर फ्याकल्टीका अन्य केटीभन्दा ऊसँग मेरो अलिक बढी हिमचिम थियो। क्लास बङ्क गरेर क्याम्पस पछाडिको बगैंचामा निशा, ऊ र म गफिएका पनि थियौं दुईचार पटक।
'क्याम्पस छोड्नुअघि तपाईंसँग भेट हुने अनुकूलता मिलेनछ निशालाई, त्यसैले तपाईंलाई दिनु है भनेर यो चिठी दिएकी छ।'
मेरो हातमा चिठी थमाइदिएर गैहाली अनिता। निशाले क्याम्पस मसँग सल्लाह गरेरै छोडेकी हो भन्ने लागेको रहेछ अनितालाई शायद।
पत्र खोलेँ ।
'प्रिय रूपेश,
हप्ता दिनसम्म प्रतीक्षा गरेँ। भेट भएन। शायद - भेट्न आवश्यक ठानेनौ। अब चाहिँ तिमीसँग भेट भए पनि आफ्ना कुरा राख्न सक्दिनँ होला भन्ने लागेर यो पत्र लेख्दैछु। सुरूमा त तिमी क्याम्पस आउने समय पारेर तिमीलाई आफ्नै हातले यो पत्र दिने विचार पनि नगरेको होइन। तर, पछि त्यो विचार त्यागें।
गएको एक हप्ता तिमी पूरै बेखवर रह्यौ। म बुझ्छु- मेरो निर्णयले तिमीलाई नरमाइलो लागेको थियो। आफूलाई सम्हाल्न सकिरहेका थिएनौ। तर, छुट्टिनेबेलासम्ममा त अलिक शान्त भैसकेका थियौ नि तिमी। त्यसैले एकपटक त पक्कै भेट्छौ भन्ने लागेको थियो।
तिमी यतिसम्म निष्ठुरी बन्न सक्छौ भन्ने मलाई एक शतांश पनि कल्पना थिएन। भोलि यहाँबाट जानु अघि तिमीसँग एकपटक भेट्ने मन थियो। तर, यस्तो निष्ठुरी मान्छे भोलि भेट भए पनि बोलेनौ भने के गर्ने भन्ने लागेर यो पत्र अनिताको हातमा छोड्ने विचार गरेकी छु।
उसलाई लागेको छ- सल्लाहमै क्याम्पस छोड्दैछु। भन्दैथी अनिता - भाले ढुकुरले पोथीलाई सजिलै उड्न दिएछ त ! म फिस्स हाँसिदिएँ मात्र। यस विषयमा तिमी र मबीच असमझदारी छ भनेर उसले मात्र होइन अरू कसैले पनि थाहा पाऊन् भन्ने म चाहन्नँ।
त्यसैले पत्र नखोल्न उसलाई कसम खुवाउनेछु। त्यसो त झण्डै सात आठ महिना होस्टेलमा एउटै कोठा सेयर गर्दाको अनुभवले पनि उसले पत्र खोल्दिन भन्ने मलाई पूर्ण विश्वास छ।
रूपेश,
छोटो समयमा नै लामो फड्को मारेको हाम्रो सम्बन्धमा आएका केही उतारचढावको बारेमा हामीले कहिल्यै चर्चा गरेनौं, हगि? पोथी कागवाला नोकझोंकदेखि थाहै नपाई तिमी मेरो दिलमा बस्न सुरू गरेका थियौ।
पोथी कागको उपमाले मलाई जति रिस उठेको थियो नि त्यो दिन, मेरो प्रतिवादपछिको तिम्रो विनम्रताले म भुतुक्कै भएकी थिएँ।
म पनि त्यति छिट्टै केटाहरूलाई भाउ दिने केटी त कहाँ थिएँ र ? तर, भगवानको इच्छा नै भन्नुपर्ला- त्यो दिन म आगो छेउको नौनीझैं पग्लिएँ तिम्रो अगाडि। तिमीले पनि त मेरो आँखाको भाकालाई कति छिट्टै बुझेर आँखामा बिजुली चम्काएको थियौ नि!
फेरि पछि तिमीलाई बाल नदिएर खुब तड्पाएँ हगि मैले! हुन त तिमीले कहिल्यै सोधेनौ मैले किन त्यसो गरेँ भनेर। आज म आफैं भन्छु रूपेश, मैले त खाली नारीसुलभ इर्ष्यावश् तिम्रो परीक्षा लिन चाहेको थिएँ। के गर्नु, हरियो हरियो देखिने तिम्रो आँखा, लरक्क परेको कपाल र चिउँडोको खोविल्टो अरू केटीहरूलाई पनि त औधि मन पर्थ्यो ।
दशैं बिदापछि क्याम्पस नफर्कन पनि सक्छु भन्ने कुरा चुहाएर हिँडेको थिएँ मैले केही साथीहरूसँग। फिजिक्सको सर भोलिदेखि आउनुहुन्न भन्ने थाहा भएपछि म धनगढी हिँड्नुअघि फिजिक्सको किताबमा सुटुक्क स्केच राखिदिएकी थिएँ मैले।
दशैं बिदापछि तिम्रो प्रतिक्रिया कस्तो होला भनेर जान्न उत्सुक थिएँ म। तर, अलिक कम आँकेछु मैले तिमीलाई। कडा जवाफ दियौ बिदापछि स्केच फिर्ता गरेर।
साँच्चै, नारायणीको सानो भङ्गालो पारि नगर वनको त्यो पिकनिक नभएको भए के हुन्थ्यो होला, अहिले सम्झिँदा पनि डर लाग्छ।
त्यो पिकनिक आयोजना गर्ने साथीहरूलाई जति धन्यवाद दिए पनि कम हुन्छ। हुन त पिकनिकको हर्ताकर्तामध्ये एक जना त तिमी नै थियौ।
पिकनिक आयोजना हुने भएपछि पिकनिकको रमाइलो माहोलको मौका पारेर तिमीमा पोखिने निधो गरिसकेकी थिएँ मैले।
तर, पिकनिक व्यवस्थापनको अनेक काममा अल्झाएर आफूलाई पूरै व्यस्त राख्यौ तिमीले।
एक पटक पनि मौका मिलेन मलाई। साथीहरूले थाहा नपाउने गरी मैले नै खुसुक्क चिमोट्नुपर्यो, हैन त ? त्यसपछि त तिमीलाई पनि पुगिहाल्यो नि !
पिकनिक सकिनेसकिने बेलामा एउटा जोडी फोटो खिचम् न भनेर तिमीले गरेको आग्रहलाई भित्रभित्र खुसी लागे पनि बाहिर भने आँखा तरेर टारेँ मैले।
त्यही भएर ग्रुप फोटोमा चाहिँ म तिमीसँगै बसेको थिएँ। तर, क्यामरा चलाउने साथीको बेवकुफीले गर्दा रिल बिग्रियो। कति बेमोज भयो, हगि ?
पछि पनि हामीले सुरूआती दिनदेखिका नोकझोंकहरूबारे कहिल्यै चर्चा गरेनौं। शायद यी उपक्रमहरूबारे चर्चा नगरेरै पनि हामी रमाइरहेका थियौं। त्यसो त एकअर्कालाई कहिल्यै आई लभ यु पनि भनेनछौं हामीले। जोन किट्सले भनेका छन् नि, ठ्याक्कै त्यस्तै भएछ हाम्रो प्रेम पनि। बोलेरभन्दा नबोलेरै माया गरेका रहेछौं हामीले एकअर्कालाई।
रूपेश,
तिमीलाई थाहै छ, एग्रिकल्चर पढ्न भनेर धनगढीदेखि आएकी थिएँ। झन् ठूलो उपहार पाउनको लागि पो एग्रिकल्चर पढ्न नपाएको रैछु मैले।
मलाई भगवान्ले दिनुभएको सबैभन्दा अमूल्य उपहारको रूपमा तिमीलाई पाउँदा म साँच्चै खुसी छु। अमूल्य उपहार साथमा हुँदा पनि साइन्स पढाइमा भने रस बस्न सकेन मेरो।
तिमीलाई थाहै छ त, साइन्स मेरो रूचीको विषय नै होइन। मैले अर्को वर्ष पनि एग्रिकल्चर फ्याकल्टीमा भर्ना पाउन सक्दिनँ भन्ने हामी दुवैलाई थाहा छ।
अर्को वर्ष एग्रिकल्चरमा भर्ना मिलाउँला भनेर केही विद्यार्थी नेताले आशा देखाएकाले मात्र म साइन्स फ्याकल्टीमा भर्ना भएकी थिएँ।
बुबाआमाले पनि त्यही भएर मलाई एक वर्षको लागि यहाँ साइन्स पढ्ने अनुमति दिनुभएको हो।
अर्को वर्ष पनि एग्रिकल्चर फ्याकल्टीमा भर्ना पाइँदैन भन्ने निर्क्यौलमा पुगिसकेको अवस्थामा म आर्टस् वा कमर्समा जानु नै छ, आज नभए भोलि, यो वर्ष नभए अर्को वर्ष।
आर्टस् वा कमर्स फ्याकल्टीमा त अहिले पनि भर्ना पाइन्छ। अहिल्यै त्यता सिफ्ट भएँ भने मेरो एक वर्ष नोक्सान पनि त हुँदैन। मेरो नाफाघाटा तिम्रै नाफाघाटा होइन र ?
रूपेश,
तिमी अरूले थाहा नपाउने गरी काली भन्थ्यौ मलाई। तिमीले एकान्तमा काली र तँ भनेको साह्रै मिठो लाग्थ्यो। मैले चाहिँ तिमीलाई अर्को कुनै प्यारो नामले बोलाउन किन नसकेको होला, हगि? तर, रूपेश नाम नै मलाई खुब प्यारो लाग्थ्यो क्या !
तिमीले मलाई बुझिदियौ भने म धनगढी नै फर्कनुपर्ने बुबाआमाको आग्रह र आज्ञालाई टार्न धेरै साहस मिल्थ्यो। भरतपुरमा दिदीकोमा बसेर पढ्छु भने पछि बुबाआमाले पनि धनगढी फर्कन धेरै जिद्दी नगर्नुहोला भन्ने लागेको छ।
दिदीले पनि कहिलेकाहीँ जिस्क्याउनुहुन्छ, तँ अब के धनगढी फर्कलिस् र भनेर। दिदीलाई हाम्रो सम्बन्धको बारेमा अलिकता छनक् त छ। तर, सबै कुरा भनूँ कि नभनूँ, दोधारमै छु। दिदीले पनि सोधिहाल्नु भएको छैन।
रूपेश,
पत्र यति लामो लेख्छु जस्तो लागेको थिएन। क्याम्पस पछाडिको बगैंचाका अनेकौं डेटिङमा समेत नपोखिएका भावना पोख्न मन लाग्यो आज। ओहो, छाती च्वास्स घोच्यो लेख्दालेख्दै। अशुभ संकेत त होइन होला, हगि?
मलाई थाहा छ तिमी भावुक छौ, सायद चाहिने भन्दा बढी नै। भावुकतालाई सधैं काबुमा राख्ने प्रयास गर, ल ? अँ, अर्को कुरा, स्केच तिमीलाई नै फिर्ता पठाएकी छु यो पत्रसँगै। राख्न मन लागेन भने बरू जलाइदिनु तर बिन्ती छ, अब चाहिँ मलाई नै नफर्काऊ है। मेरो हातमा यो स्केच फिर्ता आएन भने म तिमीसँगै छु भन्ने लाग्नेछ मलाई जीवनभर।
सदा तिम्रो,
काली'
***
भोलिदेखि क्याम्पस आउँदिनँ भने पनि मेरो मनले उसको कुरा पत्याइहालेको भने थिएन।
केहीबेरको तर्कवितर्क, वादविवाद र भनाभनपछि जब उसले आफ्नो निर्णय सुनाई, सारा ब्रम्हाण्ड नै फनफनी घुमेजस्तो भयो मलाई केहीबेरको लागि।
तै पनि छुट्टिने बेला भनेको थिएँ- ठण्डा दिमागले सोचेर निर्णय गरौंला दुईचार दिनमा, अहिलेलाई क्याम्पस आउन नछोड् है। तर, जे बोली त्यही गरी उसले। क्याम्पसमा नाकमुख देखिएन उसको त्यसपछि।
उसको कुराले मन नपोलेको त होइन। तर, खै किन हो उसलाई भेट्न पनि खोजिनँ मैले।
मेरो बाटो पक्कै हेरेकी थिई होला यतिका दिनसम्म। कतैबाट खबर पाउने आशा पनि गरेकी थिई होला। म भने भित्रभित्र मन पोले पनि बाहिर चाहिँ आफूलाई सामान्य नै देखिन खोज्दै थिएँ।
उसको अनुपस्थितिको खास कारणको सुइँकोसम्म नभएकोले होला, मैले साथीहरूको कटाक्ष भने झेल्नु परेन हप्ता दिनसम्म पनि।
उसलाई नदेख्दा आँखा जत्ति बिझाए पनि र मन जत्ति पोले पनि उसलाई नभेटेरै काटेँ हप्ता दिन।
***
'जन्मदा त म गहुँगोरी नै थिएँ अरे। तर, मधेशको घामले मलाई खुब डढायो। तै पनि म काली नै राम्री देखिन्छु भन्छन् धनगढीका मेरा साथीहरू।
त्यसैले गोरी देखिन मेकअप सेकअप केही गर्दिनँ म।' क्याम्पस सुरू भएको तीन हप्ता जति पछि एक दिन गफ दिई उसले हामी केटाहरूलाई, थाई कट कपाल सुम्सुम्याउँदै।
छुराजस्तो जिब्रो चलाइहालेँ मैले- तिनीहरूको आँखा त फुटेकै र’छ नि पोथी कागलाई भाले मयूर देख्ने। साथीहरू गलल्ल हाँसे। ऊ पनि कहाँ कम थिई र, अलिक् चर्को स्वरमा जवाफ फर्काइहाली-मिस्टर् रूपेश, मेरो छालाको रङ तपाईंको भद्दा ठट्टाको विषय हुन सक्दैन। अनि दन्त्यकथाको सुन्दर राजकुमार सम्झिनुभएको छ कि क्या हो आफूलाई चाहिँ ?
परिस्थितिले अनावश्यक गम्भीरता नलेओस् भनेर मैले झट्पट् विनम्रतापूर्वक भनेँ- सरी, निशाजी ! मैले त रमाइलो माहोललाई थप रमाइलो बनाउने मनशायले ठट्टा गरेको मात्र हो। तपाईंलाई यस्तो क्षुद्र वचन म किन बोल्थें र ? मेरो बोलीले चोट पुग्न गएकोमा दिलैदेखि माफी चाहन्छु। आई एम् एक्स्ट्रिम्ली सरी है, निशाजी।
अघिसम्मको ठट्टाको धङ्धङीले पलभरमै छोडिहाल्यो मलाई। औपचारिक बनिदिएँ म एकाएक।
साँच्चै भनूँ भने उसको छालाको रङ्गलाई ठट्टाको विषय बनाएकोमा मलाई ग्लानी नै भएको थियो।
गोरो रङ्गलाई बढी सुन्दर मानिने सामान्य सामाजिक प्रचलन रहेको भए पनि मेरो निजी धारणा भने त्यस्तो थिएन म बुझ्ने भएदेखि नै।
जीवन र जगतलाई हेर्ने मेरा कतिपय दृष्टिकोण र आदर्श समकालीन राजनीतिक, सामाजिक र साँस्कृतिक मान्यता भन्दा पृथक् रहने गरेका थिए। तथापि, ख्यालख्यालमै सही, आफ्नो दृष्टिकोण र मान्यताविपरीत बोल्दिएछु मैले त्यतिबेला।
हुन त सजिलैसँग माफ मागिहाल्ने स्वभावको मान्छे थिइनँ म पनि। गल्ती गरेको भनेर मनले मान्दामान्दै पनि मुखले भने गल्ती स्वीकार्न हम्मेहम्मे पर्ने गर्थ्यो मलाई। तर, निशाको प्रतिवादमा भने मैले सजिलै माफी मागेँ आफ्नो लापरबाह बोलीको लागि।
हत्तेरिका! केटाहरूलाई वरिपरि राखेर आफ्नो रूपको बखान गरिरहेकी नवयौवनाको हुर्मत नै लिएछु कि क्या हो मैले !
आँखा जुधाएर उसलाई हेर्ने साहससम्म पनि भएन मलाई।
उसले रौद्र रूप धारण गरेको कल्पना आयो मनमा। केहीबेर पछि आँखा जुध्यो। मेरो पुर्पुरो बलियो रहेछ क्यारे त्यो दिन, मुसुक्क हाँस्दै बोली- साथीसाथीमा यस्तो औपचारिकता किन चाहियो र रूपेशजी? उसको अनुहारमा सन्तोषको आभा पढेँ मैले।
एक्कैछिन् पर्खेर मस्किँदै सोधी-रूपेशजी, साँच्चै म पोथी कागजस्तै देखिन्छु र भन्या ? एउटा आँखा झिम्क्याई पहिले र पछि शिर नत गरी अलिकति।
केटाहरूलाई के चाहियो र ! आँखाले नै बधाई भन्न भ्याइहाले मलाई। माफी माग्नु के थियो, भाग्यको ढोका पो उघ्रियो- कहाँ रिसाएकी बघिनीको कल्पना, कहाँ लजाएर शिर न त गरेकी नवयौवना ! आफैंलाई चिमोटेँ मैले, सपना होइन रहेछ। क्षणभरमै मनले रङ्गीचङ्गी उडान भर्यो मनले।
***
निशाको पछि लाग्ने र उसलाई पाउने सपना देख्ने केटाहरूको कमी थिएन क्याम्पसमा। तर, उसले हरियो झण्डा त मलाई पो देखाई गाँठे!
जीवनमा पहिलो पटक, त्यही पनि यति अमूल्य चिट्ठा ! चल्तीका हिन्दी सिनेमाको कथाजस्तै एउटै ठाकठुकले प्रेमको सुरूआत! सपना देख्न मलाई अब कस्ले रोक्ने ? हिजोसम्म अरूका सपना उडन्ते कल्पना जस्तो लागे पनि आज आफ्नो सपनालाई उडन्ते कल्पना मान्न तयार थिएन मन।
सपनाको मापदण्ड पनि निरपेक्ष नहुँदो रहेछ। दोहोरो मापदण्ड जीवनको सत्य पो रहेछ। अनि, सपना देख्न निदाउन पनि पर्दोरहेनछ।
बेसिक साइन्स फ्याकल्टीमा केटीहरूको संख्या मुश्किलले पाँच-छ जना मात्रै थियो। तर एग्रिकल्चर फ्याकल्टीका दर्जनौं केटीहरूसँग तुलना गर्दा पनि निशाको सुन्दरतालाई माथ गर्न सक्ने दोश्रो कोही थिएन।
हल्का कालो रङ खुब खुलेको थियो उसलाई। भगवानले फुर्सदमा मेहनतपूर्वक बनाएजस्तो रूप र जिउडाल थियो मोरीको। त्यहीँ माथि सहरका केटीहरूमाझ मात्र भर्खरभर्खर फेसनमा आएको थाई कट कपाल। बिछट्टै राम्री । उर्वशी, रम्भा, तिलोत्तमा, मेनका जेजे उपमा दिए पनि हुने।
मेरो मनले भन्न थाल्यो- केटीले हरियो झण्डा उठाइहाली। अब खुला राजमार्गमा गाडी कुदाउने काम तेरो।
मायालु, लिली जस्ता बासनादार साबुनले दिनदिनै नुहाएर मात्र कहाँ पुग्यो र ? प्रमोद हेयर कटिङ सैलुनको उबाडखावड भित्ताहरूमा टाँसिएका पोस्टकार्ड र हिन्दी सिनेमाको पोस्टर हेरेर चल्तीको हिरोको स्टायलमा कपाल काटिदिन ठाकुर काकालाई भन्नुपर्छ भन्ने लाग्न थाल्यो। त्यस्तो हेयर स्टायल उसलाई पनि मन नपर्ने कुरै भएन !
म सानै छँदादेखि नै हाम्रो घर नजिकैको सानो बजारमा थियो प्रमोद हेयर कटिङ सैलुन।
क्याम्पस जाँदाआउँदा बाटो अलिक घुमेरै भए पनि सैलुन पसेर ठूलो ऐनामा एक पटक कपाल मिलाउने गर्थें। नमस्ते काका भन्दै सैलुन पस्दा ठाकुर काका पनि खुसी हुन्थे।
कुनैकुनै बेला त कपाल काटेको पैसा समेत लिन्थेनन्। कपाल काट्नु अघि केहीबेर बडो स्नेहले कपाल सुम्सुम्याउँथे मेरो र हिन्दी लवजमा नेपाली बोल्दै भन्थे- रूपेश बाबु, जो छ नि तिम्रो कपाल यति राम्रो छ कि कैंचीवैंची लगाउन पसन्द लाग्दैन मेरोको। तर, केहीबेरपछि कपालमा कैंची नचाउँदै भन्थे- तर कोही फिकर छैन। दुई हप्तामा त फिर अहिलेको भन्दा बढिया कपाल भइहाल्छ। मलाई यति माया गर्ने ठाकुर काकाले सिनेमाको हिरोको जस्तो हेयर स्टायल बनाइदिने मेरो आग्रहलाई भने फिस्स हाँसेर उडाइदिएँ। उनको सीप नभएको हो कि मलाई नपत्याएको हो, मैले मेसो पाइनँ।
***
एकदुई हप्तासम्म त ठिकठाकै चल्यो। तर, ए गाँठे ! के अचम्म हो ? पछिपछि त जतिजति म निशाको नजिक पर्न खोज्थेँ, ऊ उतिउति पर हुन्थी। म उसलाई देखेर दिलैदेखि मुस्कुराउँथेँ, बदलामा ऊ सूक्ष्म मुस्कान फ्याँक्थी। कुराकानी त परैको कुरा। एक मनले भन्थ्यो- केटी कडा स्वभावकी छ, एकपटक आँखा झिम्क्याएर मस्किई भन्दैमा राजमार्ग नै खाली भएको सम्झिने तँ नै बेवकुफ होस् केटा ! भो, निशाको आश् नगर्। तर, सजिलै बुझ्न कहाँ मान्थ्यो र मन!
पुगनपुग पचास जना विद्यार्थीको एउटा कक्षा। चिनजान भएको केही दिनमा नै सबैको आन्द्राभुँडी सबैलाई छर्लङ्ग।
ससाना कुरा र घटनालाई अमिलोपिरो थपेर तिक्खर बनाउन सबैलाई रमाइलै लाग्ने। दुई तीन हप्ताअघि निशा मसँग मस्केकी तर हिजोआज वास्ता नगरेकी भन्दै केटाहरू मेरो पछाडि खुच्चिङ भन्न थालिसकेका थिए।
एलएलटीटी शब्द खुब चल्तीमा थियो कुरकुरे वैंसले छोएका केटाहरूबीच त्यतिबेला। साथीहरूले जिस्क्याउन थाले मलाई - एलएलटीटी अर्थात् लुकिङ लभ टकिङ ट्रेजेडी। तर म भने बडो बेपरवाह बनेर भन्दिन्थेँ - लभ परेको भए पो ट्रेजेडी!
केही दिनमै एलएलटीटी र साथीहरूको कानेखुशीले गति लिन थाल्यो। साथीहरूको कानेखुसीले भन्दा पनि एक जना सहपाठीसँगको सम्बन्धको उतारचढावले मलाई नरमाइलो लाग्न थाल्यो। एक मनले सोच्थ्यो-कुनै व्यक्तिको छालाको रङ्ग अर्को व्यक्तिको लागि भद्दा मजाकको विषय बन्न सक्दैन। जति माफी मागिस्, त्यतिले पुग्दैन।
एक पटक समय मिलाएर अझै राम्ररी माफी माग्। अर्को मनले सोच्थ्यो-साथी साथीमा ठट्टा पनि गर्न नमिल्ने ? फेरि, छालाको रङ्गको कुराको उठान उसैले त गरेकी हो नि। मैले त खाली रमाइलोको लागि काग र मयूरको उपमा दिएको मात्र न हो। जति गल्ती गरेको थिएँ, त्यति वा त्यो भन्दा बढी नै माफी मागिसकेको छु मैले। मैले माफी मागिसकेपछि ऊ खुसी देखिएकी पनि त हो। किन एउटै कुराको लागि पटक/पटक माफी माग्ने ?
***
कात्तिकको दोस्रो हप्तामा परेको थियो दशैं। साउनको दोस्रो सातातिर सुरू भएको क्याम्पसलाई दशैंले छोपिहाल्यो तीन महिना पनि नपुग्दै। दशैं र तिहारको शुभकामना दिन फाट्टफुट्ट पोस्टकार्डहरू देखिन थाले कक्षातिर। चल्तीका केही फिल्मी डाइलग कोरिएका केही थान पोस्टकार्डहरू उसले पनि पाई होला पक्कै।
दशैं बिदा सुरू हुने बेला भइसकेकोले कक्षा उतिसारो नियमित हुन्थेनन्। बाहिर जिल्लाका साथीहरू फाट्टफुट्ट घर जान थालिसकेका थिएँ।
ऊ पनि दशैं बिदा सुरू नहुँदै लागिछ धनगढीतिर। कक्षामा नदेखेपछि मात्र थाहा पाएँ मैले ऊ घर गइसकेको कुरा। एउटा गज्जबको पोस्टकार्ड किनेको थिएँ उसलाई दिन। घर जाने कुरा हल्ला गरिहाल्छे, अनि ऊ घर जाने बेलाको नजिकै पारेर पोष्टकार्ड दिन्छु भन्ने थियो मनमा।
पोष्टकार्डमा लेख्ने टेक्स्ट पनि तयार गरिसकेको थिएँ मनमनै। तर, दशैं बिदा सुरू हुनुभन्दा झण्डै एक हप्ता अगाडि नै ऊ घर जाली भन्ने अनुमान गर्न नसकेकोले पोष्टकार्ड दिन पाइनँ।
एग्रिकल्चर साइन्स पढ्ने इच्छा भए पनि त्यसमा भर्ना नपाएकोले बेसिक साइन्समा भर्ना भएको कुरा लुकाएको थिइन उसले। अर्को वर्ष एग्रिकल्चर फ्याकल्टीमा भर्ना पाउन कोसिस गर्छु भन्थी। गाइँगुइँ सुनियो अब निशा फर्किन्न रे। रुची नभएको विषय पढ्दैथी, आउँदिन होला शायद भन्ने लाग्यो।
अब नआउने गरी जान्छे भन्ने थाहा भएको भए त बरू एक पटक फेरि माफी माग्ने थिएँ जस्तो पनि लाग्यो। खुब थकथकी भयो।
***
घटस्थापनाको दिनदेखि बिदा भएको क्याम्पस भाइटिकाको भोलिपल्ट मात्र खुल्थ्यो। साइन्स पढाइ कहाँ सजिलो थियो र ! त्यसैले दशैंको रमझम सकिएपछि एक दिन फिजिक्सको किताब पल्टाउँदै थिएँ, पढिसकेका पाठहरू याद गर्न।
किताबको पत्रमा पोष्टकार्ड साइजको एउटा पेन्सिल स्केच फेला पर्यो। एउटी महिला सानो पोको बोकेर कतै जाँदै गरेकी र एउटा पुरूष बडो बिषाद् भावमा उसलाई हेरिरहेको। त्यो स्केच मलाई कसैले दिएको सम्झना आएन।
ओल्टाईपल्टाई हेरेँ, चित्रकारको नाम पनि थिएन। बरू एउटा पुरानो नेपाली गीतको दुई हरफ कोरिएको थियो - बिदा हुने भैसक्यो बेला, फेरि भेट होला कि नहोला। अक्षरहरू पनि निकै कलात्मक थिए। आखिर कसले राख्यो होला त स्केच मेरो किताबमा? धेरै सोचविचार गरेपछि स्केच निशाले नै राखेको हुनसक्ने बलियो अनुमान गरें।
***
निशा अब फर्कन्न रे भन्ने त हल्ला मात्रै रहेछ। कलेज सुरू भएको दोस्रो दिनमा ऊ टुप्लुक्क आइपुगी कक्षामा। लामो बिदापछि भेट हुँदा पनि हामी बोल्न सकेनौं, आँखा जुध्यो मात्र।
उसलाई देख्नेबित्तिकै त्यो स्केच उसैलाई फिर्ता गर्न मन लाग्यो, किनकिन। केही दिनपछि किताबको पत्रबाट स्केच निकालेँ र पृष्ठभागमा लेखेँ- 'सुन्दर स्केचको लागि सहस्र धन्यवाद। धेरै तनाव र सकसबीच दशैं र तिहारको बिदा बित्यो। यति राम्रो स्केचको लागि म योग्य छैन भन्ने लागेकोले फिर्ता गर्ने धृष्टता गरें।'
साथीभाइहरूले नदेख्ने गरी मौका मिलाएर स्केच उसको हातमै थमाइदिएँ।
त्यसो त उसको नाम थिएन स्केचमा। लेखिएको टेक्स्ट पनि उसको हस्ताक्षरमा थिएन। उसले यो मेरो होइन भन्न सक्थी। एक मनमा लागेको थियो, उसले यो सब मैले गरेको होइन भनेर प्रतिवाद गर्ली। उस्तै परे पाखुरा समेत सुर्केली। तर, शान्त तलाउजस्तै देखिई ऊ।
***
एक दिन अप्रत्यासित घटना घट्यो।
साथीहरूको झट्ट आँखा नपर्ने ठाउँमा जम्काभेट हुन पुग्यो ऊसँग क्याम्पस परिसरमै। मुख खोली उसले - रूपेश मलाई एकछिन समय दिन सक्छौ? लामो समयपछिको बोलचालमा सोझै तिमी सम्बोधन पो गरी त मोरीले।
आँखा चम्किए मेरा।
मनमनै भनें- जीवन नै तँलाई दिने मन थियो काली, के एकछिनको कुरा। तर, मुखले त्यसो भन्न सकेन, सोधें- केही काम थियो कि निशा जी ?
च्याप्प मेरो पाखुरा समाउँदै भनी- खुब मलाई तड्पाएँ भन्ने सोच्दै छौ होला रूपेश तिमी। तर, भित्रभित्र तिमी आफैं जलिरहेका छौ। म तिम्रो अनुहार मात्र होइन, मन पनि राम्रोसँग पढ्न सक्छु। त्यो दिन तिम्रो मनमा चम्केको बिजुली अनुहारमै प्रष्ट देखेको थिएँ मैले।
मैले नबुझे जसरी सोधेँ- कुन् दिन? एकछिन रोकिएर भनी- त्यही क्या तिमीले मलाई पोथी काग भनेको दिन। म यस्सो के मस्केको थिएँ, तिमीले सिकन्दर नै ठान्न थालेको थियौ होइन आफूलाई ? यति भनेर ऊ हिँडिहाली मलाई केही भन्ने मौकै नदिई।
स्केच फिर्ता गरेपछिका दिनमा ऊसँग कक्षामा आँखा जुध्दा म मनमनै खुच्चिङ् भन्थेँ।
खुब तड्पेकी होली भन्ने सम्झेर रमाइलो लाग्थ्यो। तर, ऊबाट अप्रत्यासित डाइलग भेटेपछि भने आँखा जुध्दा लाज लाग्न थाल्यो। सजिलै परास्त गरिदिएकी थिई मलाई उसले।
***
प्रिय काली,
केही अघि कुनै पुरानो किताबभित्र तीस वर्ष अघिको तेरो पत्र र उही स्केच भेटेँ। पत्र दोहोर्याई तेहर्याई पढेँ। भविष्यमा पुन: भेट नहुन सक्छ भन्ने आभास भैसकेको रहेछ तँलाई त्यति बेलै। भविष्यद्रष्टा नै रहिछस् तँ। विगत सम्झेर अहिले मैले आफैंलाई माफ गर्न सकिरहेको छैन भने तैंले मलाई कसरी माफ गरिस् होला र ?
तँसँग जोडिएका यादहरू प्याजका पत्रजस्तै गरी विस्तारै उप्किन थालेका छन् हिजोआज। साह्रै ज्याद्रा हुँदारहेछन् यादहरू। क्याम्पसबाट बाहिर निस्केर थुप्रै बाटा र घुम्तीहरू पार गर्दै आजसम्म पाइला नटेकेको धनगढीसम्मै पुग्न थालेका छन् यादहरू तेरो निश्छल प्रेमको सुवाससँग डोरिँदै।
यो तीस वर्षको बीचमा मेरा कति किताबहरू हराए, कति किताबहरू धमिराले खाए, लेखाजोखा नै छैन।
ठूलै संयोगले यो स्केच र पत्र भने यतिका वर्षसम्म सुरक्षित बसेछन्। नभेटुञ्जेल त यिनीहरू बोलेका थिएनन् मसँग।
तर, हिजोआज भने तेरै आवाजमा मलाई हरपल भनिरहन्छन् – 'रूपेश, दिनहरू त हप्ता, महिना र वर्ष बनेर बित्दै जान्छन्। शेष रहने भनेको त याद मात्र हो जीवनमा!'
***