गाउँमा उमेरकै एक जना असल मान्छेलाई कालले लगेछ। उमेरमा करिब ४०,४५ वर्षका गाउँमा कतै केही पर्दा झट्टपट्ट पुगिहाल्ने मिजासिलो दाइ हुनुहुन्थ्यो।
दिउँसो गोठमा गाई वस्तुलाई पानी दिँदादिँदै पापी काल आएछ र टप्प टिपी लगेछ। मलाई फोन आयो
‘गुरू हाम्रा गाउँका कान्छा दाइ त गएछन् नि’
म आश्चर्य मान्दै भनें- हैन कहाँ गएछन्। विदेश त जान्नँ भन्थे बुढाले, बुढालाई पक्कै पनि ठूलै देशको भिसा आएर होला। अमेरिका, क्यानडा, अस्ट्रेलिया कहाँ गए।
अनि उताबाट ‘होइन के गुरू संसार नै छोडेर गए।’
म झसंग भएँ, ‘हँ के भन्नुहुन्छ यस्तो ! यो त हुनै सक्दैन। कतै सपनामा त छैन भनी आफूले आफूलाई नै चिमोटें तर विपनामा नै रहेछु।
हतारमा कतै हिँडिरहेको थिएँ, त्यही सडक छेउमा नै थच्च बसें। अनि सोचें होइन म केका लागि यति हतारमा छु, म काँ जाँदै छु, किन जाँदै छु ? एकोहोरो भएँ, बेहोसी भएँ म २, ४ पेक लिँदा पनि होसमा नै हुन्थें। तर आज के भयो यो आफूलाई नै थाहा छैन।
म एकोहोरो सोच्न थालें। यी यमराजका दूत पनि झ्यापमा आउँछन् कि क्या हो पृथ्वीमा। यत्तिका बुढा, रोगी, अशक्त मानिस छन्, जसले ए भगवान मलाई छिट्टै काल आइजा भनी दिन रात भन्छन् तर यी यमराजका दूतले राम्रा राम्रा उमेरका मानिसलाई उठाएर लानुपर्ने!
यी यमराजले पनि न्यायपूर्ण रूपमा कार्य सम्पादन गर्न सक्दैनन् भने पदबाट राजीनामा दिए पनि हुने।
भैगो जे भए पनि एकचोटि आफैं गएर भेटेर सोध्नुपर्यो भन्ने मेरो मनमा सोच आयो।
अनि म लागें नदीको किनार मसानघाटमा पुगें, जहाँ लास जलाउँदै थिए। म एकोहोरो हेरिरहें। त्यही क्रममा एउटा मलामीको टोली लास लिएर आयो।
अनि मैले भनें- एकछिन रोक्नुहोस्, उहाँसँग म पनि जानु छ।
त्यस टोलीमा मलाई चिनेको एक जना व्यक्ति रहेछन् उनले भने ‘होइन गुरू तपाईं के भन्दै हुनुहुन्छ। कहाँ जाने कुरा गर्दै हुनुहुन्छ ?’
मैले भनें- म उहाँसँगै स्वर्ग जाने।
उनी आश्चर्य मान्दै भने- तपाईं के भन्दै हुनुहुन्छ, स्वर्ग जानका लागि त मर्नुपर्छ। तपाईं त जिउँदै हुनुहुन्छ कसरी जानुहुन्छ ?
मैले भनें- म सदैका लागि जाने होइन, केही समयका लागि हिँडेको। तपाईं हाम्रा लागि न्याय माग्न यमराजसँग, यमराज सारै निरंकुश हुँदै छन्। अब मैले अरू कान्छा दाइ गुमाउन चाहन्नँ। उनको त्यो सत्ताको घमण्ड चिरेर आउने छु। मलाई जान दिनुहोस्।
त्यहाँ आएका मलामी मलाई एकोहोरो ट्वाल्ल परेर हेरिरहेका थिए।
म झन् जोडसँग भन्न थालें- म कान्छा दाइजस्ता व्यक्तिहरूलाई न्याय दिएर उनीहरूलाई फर्काएर ल्याउनका लागि हिँडेको मलाई जान दिनुहोस्। म यस्तो अन्याय भएको देख्न सक्दिनँ, अब चुप लागेर बस्न सक्दिनँ।
त्यहाँ कतिले त मलाई पागल पनि सोची सकेछन्।
अनि त्यहीको अर्को हेर्दा हट्टाकट्टा देखिने भलादमी मलामीले भन्न थाले- हैन यो पागलको कुरा सुनेर कहाँ हामी रोकिएको अब हाम्रो काम सुरू गरौं। रात पर्न आँटिसक्यो फेरि ढिला हुन्छ। भन्दै सबै मलामी अगाडि बढेर लास जलाउन लागे।
म त्यहाँ एक्लै चिच्याउन थालें- मलाई जान दिनुहोस्। हाम्रा लागि न्याय माग्न जाँदै छु, भोलि तपाईं हामीलाई पनि कान्छा दाइको जस्तै अवस्था आउन सक्छ। तर मेरो कुरा कसैले सुनेनन्। म एक्लै भएँ, म रोएँ, कराएँ तर कसैले सुनेनन् लास जलाएर मलामी फर्किए।
म त्यहीँ बसिरहें, रात पर्यो। रातको करिब १२ बजे त्यो घाटमा मसानको ठूलो हुल आयो।
ठूला ठूला शरीर गरेका काला न काला मान्छेका हड्डीको माला लगाएका।
मलाई सुरूमा त डर लाग्यो तर त्यो मसानको भिडमा कान्छा दाइलाई पनि देखें अनि चिच्याउँदै कान्छा दाइ भन्दै बोलाएँ।
अनि मसानरूपी कान्छा दाइले मतिर हेर्दै भन्नुभयो- भाइ यति राति यहाँ किन नि ?
अनि म रूँदै भन्न थालें- म तपाईंका लागि न्याय खोज्न आएको कान्छा दाइ। तपाईंमाथि ठूलो अन्याय भएको छ, म यमराजसँग भेट्न चाहन्छु।
कान्छा दाइ मुस्कुराउदै भन्नुभयो- मलाई अन्याय भएको छैन भाइ म खुसी छु।
मसानरूपी कान्छा दाइको कुराले मलाइ चित्त बुझेन।
‘नाइँ कान्छा दाइ तपाईं अरू मसान दाइसँग डराएर होला ढुक्क हुनु म छु। म तपाईं र तपाईंजस्तै अन्यायमा परेका अन्य मसान दाइहरूलाई न्याय दिलाउने छु। मलाई यमराजसँग भेटाइदिनू कान्छा दाइ।’
कान्छा दाइ मसानहरूको बीचमा थुचुक्क बस्नुभयो र मलाई पनि बस्न भन्नुभयो।
अनि भन्न थाल्नुभयो- हेर भाइ यमराजले कसैलाई पनि अन्याय गरेका छैनन। म पनि पृथ्वीमा बस्दा तिमीले जस्तै सोच्ने गर्दथे। तर यहाँ आएपछि थाहा भयो हाम्रो जन्म र मृत्यु त पहिले नै निश्चित भएर आएको हुने रहेछ। जन्मने हाम्रो अधिकार हो भने मर्ने कर्तव्य हो। के आफ्नो अधिकार प्रयोग गरिसकेपछि कर्तव्यबाट टाढा भाग्न खोजेर हुन्छ र, कदापि हुँदैन। तर आज तिमीजस्ता मनुष्य कर्तव्यदेखि भाग्न खोजिरहेका छौं।
तिमीहरू त्यहाँ सबै भौतिक संसार मेरो हो भनी बसिरहेका छौ, त्यो त क्षणिक हो।
भौतिक वस्तुमा आनन्द खोजिरहेका छौ। वास्तविक सुखबाट टाढा छौ, तिमीहरू भौतिक सुखको खोजीमा जीवन दु:खै दु:खको भूमरीमा फसिरहेका छौ।
हिजोसम्म म पनि तिनै चिजमा फसिरहेको थिएँ, संसारका सबै चिज मेरा हुन् भन्दै ती वस्तुका लागि नै जीवन त्यागें।
सधैं लोभ, मोह, रिस, अहंकारमा जीवन बिताएँ तर म मरेर आए ती संसारमा जम्मा पारेका कुनै चिज मेरा साथमा छन्, केही छैनन् म केवल खाली छु।
अर्को कुरा अझ तिमी त त्यहीँ संसारमा न्याय छ। अरू सबै ठाउँमा अन्याय छ भन्दै न्याय दिन हिँडिरहेका छौ। तिम्रो संसारमा कति न्याय छ भन्ने मैले नदेखेको हो र!
जहाँ एउटी बालिका बलात्कृत भएर मारिँदा तिम्रा न्याय मूर्तिहरूले न्याय दिए ? जहाँ जिउँदै इँटा भट्टिमा मानिस पोलिँदा तिनीहरूले न्याय पाए? जहाँ हिँडिरहेको बसमा एम्बुस थापी ज्यान लिइएका निर्दोष व्यक्तिले न्याय पाए? आज तिमी यमराजले अन्याय गर्यो भनी न्यायको खोजीमा मसानघाट आयौ। कहिल्यै तिमी ती बालिकाको न्यायका लागि कतै गयौ। गर्यौ त केवल सामाजिक सन्जालमा एक दुई दिन हल्ला अनि सेलायौ। के यसरी तिम्रो संसारमा न्याय मिल्छ?
खुब न्यायका ठूला ठूला कुरा गर्छौ त सक्छौ भने ती निर्दोषका लागि न्याय दिलाउन लड।’
कान्छा दाइले यी कुरा भन्दै गर्दा म नि:शब्द सुनिरहें, म लाचार थिएँ। अरू मसान दाइहरूले पनि कान्छा दाइसँगै सहमत हुँदै हो हो भन्नुभयो।
‘त्यसैले अब तिमी जाऊ, अब तिम्रो संसारमा न्याय खोज, अब तिम्रो संसारमा कलिला बालिकाहरू बलात्कृत भएर ज्यान गुमाउन नपरोस्। जहाँ राजनितिक शक्तिको आडमा अपराधीहरू खुलेयाम हिँड्न नपाऊन्। जाऊ त्यहाँ गएर न्यायका लागि लड’ भन्दै हुनुहुन्थ्यो कान्छा दाइले। एउटा गाडीले ठूलो स्वरमा हर्न बजायो म त त्यही सडक छेउमा रहेछु।
म बिस्तारै उठें अनि सोच्न लागें कान्छा दाइले ठिक भन्नुभयो। हाम्रो समाजमा जताततै अन्याय नै अन्याय छ। यहाँ त धेरै जनताले अन्याय भोगेका छन्। ती सबैले न्याय पाउनु पर्दछ। अब म पनि जीवनमा अन्यायविरूद्ध र न्यायका लागि बोल्नु र लेख्नुपर्छ भन्ने सोच्दै विस्तारै कोठातिर लागें।