पीडाहरु थपिँदै जाँदा
सुखहरु घट्दै जाँदा
उतार चढाबहरु बढ्दै जाँदा
जिन्दगीको अंकगणित खल्बलिएको छ
र पनि
दिनहरु बित्दै छन्
रातहरु गतिहीन रुपमा दगुर्दै छन्
केवल विज्ञानको इसारामा।
हप्ता र महिनाहरु बित्दै छन्
जिन्दगीलाई अझ थोत्रो र पुरानो बनाउँदै
महिना र वर्षहरु बित्दै छन्
आशै आशमा
अनि खुसी र मुस्कानको पर्खाइमा
तर शून्य प्रतिफल जिन्दगीमा
अनि, न कुनै फेरबदल
जिन्दगीको अंकगणितमा
न ठेगान छ जिन्दगीमा
मात्रै अस्थिर छ जिन्दगीको अंकगणित
कर्कलाको पातको पानी झैँ
केवल समुद्रको छाल झैँ
अनि, भूकम्पको पराकम्पन झैँ
यो जिन्दगी केवल अस्थिर छ।
सुन्दर बिहानीको पर्खाइमा
जब रातहरु अनिदा भइदिन्छन्
अनि यादहरु ताजा भइदिन्छन्
सिरानीहरु समेत मौन भइदिन्छन्
मात्रै ती पीडाहरुको टेको बनिदिन
सबै बातहरु अनिर्णित बनिदिन्छन्
जब जिन्दगीको जोडघटाउ शून्य भइदिन्छ।