ऊ मौन युद्ध लडिरहेको छ
एक्लै थुप्रै क्रन्दनबीच बाँचिरहेको छ
आफ्नै मन मस्तिष्कलाई आलम्ब बनाई
भोगेका हार र जितको लेखाजोखा गर्छ
यही जोड घटाउका बीच हताश र निराश बनेको ऊ
आफूलाई खिचडी-मिचडीको बबुरो ठान्छ
परकीय विजयको गुणगान गर्दै
म त अगन्य र तुच्छ भनि सराप्छ
तर खै कतै बाँकी रहेको झिनो आशाको सहारा लिई
अकथित, उत्कट गगनचुम्बी सपनाहरु पूर्ण गर्न
आफ्ना आर्तनादहरुको उपधा गर्दै
ऊ गम खान्छ
जिजीविषा बाँकी रहुन्जेल आशावादी भई
भोगेका रिक्तता र अभावलाई पूरा गर्न
चित्तज्ञ र कर्मयोगी बन्ने प्रण खान्छ
परिपन्थहरुको वाहवाही सुन्न लालाहित ऊ
आशान्वित हुँदै नकरात्मकतासँग भिड्दै छ
र एकदिन ऊ सबै निराशाहरुबाट ऋणशून्य भई
धिपधिप चम्किरहेका सफलताका कथाहरुसहित
आफ्नै मनलाई नजराना दिनेछ।