म सानै छँदादेखिको मेरो एउटा प्यारो मिल्ने साथी थियो, मिलन। उसको व्यवहार पनि उसको नामजस्तै थियो, एकदम मिलनसार। म आफूलाई ऊजस्तो साथी पाउँदा भाग्यमानी ठान्थेँ। इन्ट्रोभर्ट म उसको अगाडि एक्स्ट्रोभर्ट थिएँ। मलाई सानोमा चन्द्रमाले हाम्रो पिछा गर्छ भन्ने कुराको त्यति भरोसा कहाँ थियो र जति उसको कुरामाथि थियो।
हामी एकअर्कासँग खुब मिल्थौँ। उमेर बढेसँगै हाम्रो कक्षा पनि बढ्दै थियो। कक्षा आठसम्म त हाम्रो मित्रता राम्रै थियो। तर आठको लेभल बढेसँगै हाम्रो मनमुटाब पनि बढ्दै थियो। भनौँ न अब हामीबीच मात्र एउटा कुरा घट्दै थियो, पहिलेजस्तै एकअर्कालाई बुझ्नसक्ने क्षमता।
हामी कक्षा १० मा पुग्यौँ। अब हामी आ-आफ्नो भविष्यका खातिर छुट्ने बेला आएको थियो। सायद त्यो दिन चैत्र १८ गते थियो। हाम्रो स्कुलले फेरवेल पार्टी अर्गनाइज गरेको थियो। सानैदेखि सँगै पढ्दै आएको साथीसँग अहिले आत्मीयता घटेकोले मलाई त्यो दिन स्कुल जान मन लागेको थिएन।
हामी बीचको मनमुटाब बढेको कारणले मलाई हिजोको मनमुटाबले आज निम्तिएको समस्या सम्झिँदा हाम्रो भोलि नआओस् झैँ लाग्थ्यो। आजको दिन हिजो भएपछि हिजोमा परिणत हुने आजको दिनले हाम्रो मित्रतामा निकै प्रभाव पार्थ्यो। यो कुरामा म दुईमत थिइनँ।
हामीबीच जति नै मनमुटाब भए पनि एकअर्कासँग कहिल्यै झर्किएर बोलिएन। बरु बोल्दै बोलिएन, तर झर्किएर कहिल्यै बोलिएन। कुनै दिन मित्रताको उदाहरण दिइने हाम्रो मित्रता पतन हुन लागिसकेको थियो।
म स्कुल गइनँ त्यो दिन। मैले आफूलाई दुःखी बनाएर घरमै बसेँ। त्यो दिन त्यसै बित्यो। भोलिपल्ट उज्यालो भएदेखि नै मेरो मन अशान्त भयो। म जहिल्यै आफू अशान्त हुँदा मन्दिर जान्थेँ अनि केहीबेर आफूलाई भगवानप्रति समर्पित गर्थेँ।
त्यो दिन पनि अशान्त मनलाई शान्त बनाउने उदेश्यले बिहानै मन्दिर गएँ। मैले मेरो साथी मिलनलाई सम्झिएँ अनि दुई रुपैयाँको सिक्का चढाएँ।
मन्दिर गएपछि शान्त हुने मन त्यो दिन अझ शान्त भएन। मलाई केही गर्न मन थिएन। अशान्तिले मेरो सम्पूर्ण उर्जा गायब भएको थियो। विस्तारै-विस्तारै जसोतसो म घरसम्म पुगेँ।
मलाई मिलनको एकदमै याद आइरहेको थियो। मैले उसलाई भेट्न जान्छु भनेर आफ्ना दुई पाइला अघि सारेको पनि थिएँ तर मेरो इगोले थप पाइला चाल्न दिएन। मेरो र मिलनको मित्रतालाई इगोले जित्यो त्यो दिन। अशान्त मनको साथमा त्यो दिन पनि बित्यो।
कहिलेकाहीँ मेसेज गर्ने मेरो साथी मिलनले फेयरवेलको दिनदेखि मलाई मेसेज गरेको थिएन। अब त हामी नबोलेको पनि एक महिना बितिसकेको थियो। ऊ बिना म एक्लो-एक्लो भएको थिएँ। सायद ऊ पनि मजस्तै एक्लो भएको थियो।
एकदिन ऊ आफै मेरो घरमा आयो। म निकै खुसी भएँ उसलाई देखेर। मैले जित्न नसकेको इगोलाई उसले जितेर आएको थियो। म बिना टिकट जहाज चढेझैँ खुसी थिएँ।
म जति खुसी भए पनि उसलाई अंगालो हालेर 'आई मिस्ड यू अ लट' भन्ने हिम्मत पनि जुटाउन सकिनँ। अघिसम्म सग्लो देखिएको वातावरण धमिलो देख्न थालेको थिएँ। धमिलोपन मेटाउने भेस्ट थोरै माथि सारेर आफ्नो आँखाको आँसु पुछेँ।
न मैले उसलाई केही भन्न सकेँ, न उसले मलाई केही भन्न सक्यो। हामी दुवै मौनताको शिकार भएका थियौँ। त्यो मौनताले हामीलाई शून्यतामा पुर्याउन कति बेर नि लगाएन। ऊ थोरै हाँस्यो अनि उसले हाँसेको त्यो हाँसोको जवाफ वास्तै नगरी मेरो आँखाबाट ओझेल भयो।
मेरो आखाबाट ओझेल भएको उसलाई मैले पुनः फेरि त्यो बेला देखेँ जब निन्द्राबाट म बाहिर निस्किएँ, त्यो पनि मेरो मोबाइल फोनको लक स्क्रिनको वालपेपरमा। ऊ मलाई भेट्न आएको कुरा मात्र मेरो रातको निन्द्राको सपना रहेछ।
सामान्यता सधैंजसो उसलाई याद गर्ने मैले त्यो सपना देखेको दिन पहिलेभन्दा निकै याद गरेँ अनि उसको घरतर्फ लम्केका मेरा पाइला रोक्न सकिनँ। लगभग आधा घण्टा लाग्दथ्यो मलाई उसको घर पुग्न। मेरो नसा-नसामा हर्षको भावना बहँदै थियो। मनमनै मुसुमुसु मुस्कुराउँदै थिएँ म।
आधा घण्टाको यात्रा हिँड्दै तय गरेर म मिलनको घरमा पुगेँ। विडम्बना, मैले त्यहाँको गेटमा एउटा ठूलो भोटे ताल्चा बाहेक केही पाइनँ। मेरो नसामा बहेको हर्षको भावना विस्मातको भावनामा परिणत हुन कत्ति बेर नि लागेन।
एकपटक मिलनलाई कल पो गर्नुपर्यो भनेर उसलाई कल गरेँ। कल लाग्यो तर उठेन। जुनै अवस्थामा हुँदा पनि कल रिसिभ गर्ने उसले कल नउठाएकोले म डराउन थालिसकेको थिएँ, कतै मिलन कुनै समस्यामा त छैन भनेर।
हरेक भावनालाई आफ्नो काबुमा राख्ने प्रयास गर्दै थिएँ म। तर मिलनको मित्रताको डोरीले म यति बाँधिएको थिएँ कि उसको घरमा ताल्चा हुनु, उसको कल नउठ्नु, यो सबै घटनाले मेरो काबुमा रहेको भावना बेकाबु हुँदै थियो।
मैले एउटा जुक्ति निकालेँ। सोही जुक्तिअनुसार एकजनाको फोन मागेँ अनि त्यही नम्बरबाट उसलाई कल गरेँ। उसले तेस्रो रिङमै कल उठायो। मैले केही नबोली कल काटेँ।
यो कुराले मलाई धेरै गहिरो चोट दियो। त्यो साथी जसलाई मैले आफ्नो प्रिय ठानेको थिएँ, उसले मसँग यस्तो व्यवहार गर्यो! मैले बेकाबु भएको आफ्नो मनलाई लिएर घर फर्किएँ। मैले पनि त्यो रात अब उसलाई कहिल्यै कल मेसेज केही गर्दिनँ भन्ने प्रण गरे।
दिनहरू बित्दै गए। बित्दै गरेका दिनसँगै अब मिलनको याद पनि मेरो मस्तिष्कबाट बित्दै जाँदै थियो। एकदिनको कुरा हो, म भाइसँग उसको स्कुल गएको थिएँ, उसको रिजल्ट हेर्न। मैले त्यहाँ मिलनलाई देखेँ।
मिलनको भाइ मेरो भाइको साथी रहेछ। मैले त्यो दिन थाहा पाएँ। पहिले भेट हुँदा अंकमाल गर्न लाग्ने मन त्यो दिन उसलाई बेस्सरी गालामा चड्कन दिनतर्फ लाग्यो। मैले स्कुलमा सारा मान्छेको बीच उसलाई एक थप्पड दिएँ अनि, 'कहाँ थिइस् यत्रो दिन?' भनी प्रश्न गरेँ।
मलाई अझै याद छ त्यो दिन मेरो प्यारो साथीको मलिन बोली रुखो बोलीमा परिणत भएको थियो। ऊ त्यो बेला मसँग निकै रिसायो अनि मलाई पनि नमज्जाले गाली गर्यो। सधैं मिठो बोली बोल्ने मिलन अब अश्लील बोल्न पनि थालिसकेको रहेछ। उसको त्यो रूप मैले पहिलो पटक देखेको थिएँ।
त्यो दिन उसलाई मैले पहिलेभन्दा निकै वेचैन पनि देखेको थिएँ। ऊ केही कुराको कमीले छट्पटिँदै थियो। उसलाई पिटेको कुराले मलाई निकै नमज्जा लाग्यो अनि दुःखी भएर घर फर्किएँ।
दिन बित्दै गए, अब मेरो आफ्नो पढाइका निमित्त बाहिर जानुपर्ने दिन पनि आइसकेको थियो। कक्षा ११ को लागि भर्ना गर्नुपर्ने थियो। म विराटनगर गएँ।
मेरा दिनहरू सामान्य तरिकाले बित्दै थिए। दिनहुँ स्कुल जान्थेँ, फर्किन्थेँ, पढ्थेँ। मैले मेरो विगतको सम्पूर्ण कुरा विस्तारै भुल्दै थिएँ। एकदिन फेरि मेरो विगतको त्यो कुरा बल्झाउने एउटा घटना घट्यो। केही कामले म विराटनगर बजार निस्केको थिएँ। त्यहाँ मैले मिलनलाई देखेँ। सायद ऊ पनि विराटनगरमै बसेर पढ्थ्यो।
त्यो दिन मैले उसलाई देखेँ, उसले मलाई देख्यो तर फर्केर हेरेन। उसले मलाई देखे नि नदेखे झैं गर्यो अनि मेरो आँखाबाट ओझेल भयो। त्यो दिन मैले उसको बारेमा जानकारी लिने निर्णय गरेँ अनि आफ्नो साथी रमेश जो मिलनसँग अलिक नजिक थियो, उसलाई कन्ट्याक्ट गरेर मिलनको बारेमा सोधेँ।
मलाई रमेशबाट मिलनको बारेमा धेरै कुरा जान्न मन थियो। उसले मप्रति गरेको हरेक व्यवहारको राज जान्न मन थियो। तर, त्यो दिन मैले धेरै त्यस्ता कुराहरू थाहा पाएँ जुन मैले कल्पना पनि गरेको थिइनँ।
मिलन कुलतमा फसेको रहेछ। हाम्रो मित्रतामा खटपटी आउनुको प्रमुख कारण ऊ अरु कोहीसँग बढी मात्रामा घुलमिल हुन थालेको थियो। हो, त्यही साथी जोसँग ऊ घुलमिल भयो, उसले मिलनलाई आफ्नो बानी सारिदिएको रहेछ। उसको नाम भरत थियो। मसँग टाढिँदै जाँदा मिलन भरतसँग नजिकिँदै गएको थियो।
भरत चुरोट लगायतका अरू विभिन्न लागु पदार्थ सेवन गर्दो रहेछ। आखिर संगतको असर त भइहाल्छ नि, विस्तारै भरतले मिलनलाई पनि ऊजस्तै हुन सिकाएछ। विस्तारै-विस्तारै सुपाडीसमेत नखाने मिलन चुरोट हुँदै गाजासम्म सेवन गर्न थालिसकेको रहेछ।
हाम्रो 'फेयरवेल पार्टी' को दिन पनि उसको झगडा परेको रहेछ। उसले लागु पदार्थ सेवन गर्न नपाउँदा आफ्नो होस गुमाएकाले सो दिन झगडा परेको भन्ने कुरा पनि मैले थाहा पाएँ।
उसले मलाई त्यो दिन निकै सम्झिएको पनि रहेछ। बारम्बार मेरो नाम पुकार्थ्यो रे ऊ। ऊ लागु पदार्थको शिकार यो हदसम्मको भइसकेको रहेछ कि उसले अब पैसाको अभाव हुँदा चोरी समेत गर्न थालेको रहेछ। एकपटक त चोरी गर्दै गरेको अवस्थामा उसलाई प्रहरीले पक्राउ गरेर २४ घण्टा थुनामा पनि राखेको रहेछ।
मिलनको बारेमा यो सबै कुरा थाहा पाउँदै जाँदा मैले धेरै अफसोस गरेँ कि मैले मिलनसँग दूरी बढाएँ। सायद मैले ऊसँगको दूरी नबढाएको भए भरतसँग दूरी घटाउथ्यो होला। यो सबै केही पनि हुँदैन थियो होला! मैले आफूलाई निकै पटक धिक्कार गरेँ त्यो दिन।
'खराब संगतको असर उसलाई मात्र हुन्छ जसको नियत खराब हुन्छ। खराब मान्छेसँग हिँड्दैमा, डुल्दैमा आफू पनि त्यस्तै भइन्छ र?' भनी मलाई प्रश्न गर्ने मेरो प्यारो साथी मिलन त्यही कुराको शिकार भएको थियो।
मलाई मिलन मसँग नबोल्नु अनि मेरो कुनै कल नउठाउनुको कारण पनि जान्न मन थियो। मैले साथी रमेशलाई केही कुरा थाहा छ कि भन्ने आशा राखेर यही कुरा सोधेँ।
'त्रिविक्रम, तिमीलाई एकदमै माया गर्छ तिम्रो साथी मिलनले। तिमीबाट ऊ टाढा हुनुको पनि एउटा ठूलो कारण छ' रमेशले भन्यो।
मलाई त्यो कुरा जान्न थप कौतूहलता भयो।
'मिलन कसको संगतले कुलतमा फसेको हो?' रमेशले मलाई प्रश्न गर्यो।
मैले 'भरतको संगतले' भनी जवाफ दिएँ।
'हो, भरतको संगतमा मिलन त बिग्रिसकेको थियो। तर फेरि मिलनको संगतले तिमी कुलतमा फस्नु नपरोस् त्यसका लागि मिलन तिमीबाट टाढा हुँदै गएको थियो।'
यो सुनेपछि मलाई मैले मिलनको साथ किन छोडें भन्ने कुराको झन् पश्चाताप भयो।
रुन्चे स्वरमा मैले 'अनि मिलनको बाबा-ममी नि?' भनी रमेशलाई सोधेँ।
त्यसको पनि एउटा ठूलो कहानी छ भनेर उसले लामो सुस्केरा लियो।
ममा झन् बढी कौतूहलता भयो।
'मिलन कुलतमा फसेको कुराको बारेमा उसको बाबा-ममी तबसम्म अनभिज्ञ हुनुहुन्थ्यो जबसम्म ऊ चोरीको आरोपमा पक्राउ परेन। चोरीको आरोपमा ऊ पक्राउ परेको कुरा उसको ममी-बाबाले थाहा पाउनु भएको दिन उसकी ममी बेहोस हुनुभयो र मानसिक स्वास्थ्यमा थोरै असर पर्यो जसकारण उहाँ हप्तादिनसम्म अस्पतालमा बस्नुभयो।
मिलन कुलतमा यति पागल भएको थियो कि उसले आफ्नो बुबा-ममीलाई पनि पिट्यो। ऊ लागु पदार्थ नपाउँदा बेहोसजस्तै हुन्थ्यो र विभिन्न दुःख दिन्थ्यो अनि होस् आएपछि पश्चाताप गर्थ्यो।
त्यही क्रममा बेहोसीमै एकदिन उसको र उसको ममीबाबाको निकै भनाभन चल्यो। त्यो दिन पनि उसले होस् आएसी निकै पश्चाताप गर्यो अनि असह्य भएर घर छोडी सबैबाट टाढा भयो।'
मैले उसको बारेमा यहाँभन्दा बढी केही जान्ने हिम्मत राख्न सकिनँ अनि आफै कल कट गरिदिएँ। उसको बारेमा यति कुरा थाहा पाउँदा मेरा आँखाका नानीबाट आँसु यसरी पलायो जसरी एउटा कुवामा पानी पलाउँछ।
मैले मिलनलाई विराटनगरमा देखेको भोलिपल्ट बिहानैदेखि उसको निकै खोजीमा लागेँ। मैले त्यो ठूलो सहरको भिडमा उसलाई फेरि संयोगवश देखिन्छ कि भन्ने आशा बोकेर खोज्दै थिएँ। विडम्बना, मेरो खोजीले उसलाई भेटाउन सकेन।
साँझ परेपछि अस्ताउँदो सूर्यले मलाई घर जाऊ अब रात पर्छ भन्ने संकेत दियो। मैले अब उसलाई भेट्दिनँ भनेर हार मानिसकेको थिएँ।
घर आएर सोफामा के बसेको थिएँ मैले मिलनलाई देखेँ। अनेकौं प्रयास गर्दा पनि नभेटिएको मिलन मेरो आफ्नै घरमा रहेछ। घरमै हाँसेर बसिरहेको साथीलाई मैले बाहिर खोजिरहेको रहेछु।
ऊ पत्रिकाको दोस्रो पेजमा मुसुक्क हाँसिरहेको थियो। उसको नामको समाचार बनेको रहेछ। समाचारको शीर्षक थियो- 'मृतक युवकको गोजीमा भेटियो लागु पद्धार्थ, पहिचान खुल्न बाँकी'
ममाथि बज्रपात भएझैं आभास भयो मलाई। मेरो सम्पूर्ण काम गर्न सक्ने हिम्मत विलीन भयो। मेरो मस्तिष्कमा मात्र मेरो र मिलनको अतीतको कुरा खेलिरहेको थियो। हिजोसम्म ऊ हुँदा आफ्नो इगोले मतलब नगर्ने उसलाई अब ऊ सधैंको लागि टाढा हुँदा उसलाई खुब मतलब गर्दै थियो।
मैले एकतर्फबाट उसको यो हालत हुनुको कारण आफूलाई पनि बनाएँ। सायद उसलाई स्कुल बेलामा नै मबाट टाढा हुन नदिएको भए आज मेरो प्यारो मिलन मेरो साथमा हुन्थ्यो।
सानैदेखि हरेक काम सँगै गर्ने हाम्रो रित त्यही दिन टुट्यो, आखिर मभन्दा अगाडि उसले आफ्नो प्राण जो त्यागेको थियो।
त्यो समाचार पढेको रात जसोतसो बिताएर बिहानै मिलनको घर जान भनेर गाडी चढेँ। सात घण्टाको यात्रापछि उसको घर पुगेर हेर्दा कसैको आँसु नथामिने किसिमको थियो।
आखिर फल्ने-फुल्ने उमेरको एउटा फूल ओइलाई जो झरेको थियो। अनि, ओइलाई झरेको फूललाई फेरि फुल्दै गरेको फूल चुँडेर उनीएको माला लगाइदिएको थियो उसको घरको भित्ताको एउटा कुनामा।