कमरेड निकै घुरेर सुत्ने भइसकेका थिए तर हिजोआज फेरि उनको निद हराउँदै जान थालेको छ। उनलाई निद्रा पर्न गाह्रो हुने गरेको छ।
हुन त निद्रा एउटा आराम लिने काइदा हो। महत्वपूर्ण समयहरूमा निद्रा नआउन पनि सक्छ। मानिस कुनै खुसीका खबरहरूसँग गुज्रिँदै छ भने पनि निद्रा नआउन सक्छ। निकट समयमै केही महत्त्वपूर्ण जिम्मेवारीहरू पूरा गर्नु छ भने पनि निद्रा गायब हुन सक्छ। निद्रा भौतिक अवस्था मात्र नभएर मानसिक अवस्था पनि हो।
मानसिक रुपमा सहज नभएमा निद्राका सिलसिलाहरू टुट्न सक्छन्। उनमा अहिले निद्रै नपर्ने गरी सुखद् संयोगहरूको परिस्थिति भने विकास भएको छैन। खै! कसो हो, उनलाई एक किसिमको चिडचिडाहट सुरु भएको छ। किन निद्रा आइरहेको छैन? उनी आफैसँग प्रश्न गर्ने हुन थालेका छन्।
जब सहज निद्रा परेन, जीउमा केही सकसकाएजस्तो, जीउ पुरै चिलाउन थालेजस्तो, नरम सिरानी र बिछ्यौना पनि कडा-कडा भएजस्तो उनलाई हुन थालेको छ। दिनभरि पार्टीका विभिन्न कार्यक्रम, उद्घाटन, समापन समारोहहरू फुर्सद् कहिल्यै हुने पनि होइन। हिजोका धेरै साथीहरूले सँगैको यात्रा त्यागेर फरक बाटाहरू समातेका छन्। हिजो सँगै यात्रा गरेकाहरू अहिले शत्रु झैँ बनेका छन्।
उनकै नेतृत्वमा हिँडेको र पार्टीमार्फत् उनले दिलाइदिएका अवसर प्राप्त गर्नेहरू नै अहिले उनलाई दुस्मन सम्झिँदैछन्। नेतृत्वमा भरपर्दो र सहयोगी पात्र फेला पार्न सकेका छैनन्। त्यही भएर उनलाई कामको बोझ थपिएको छ। जहाँ पनि र जतै पनि कार्यक्रममा आफू नै पुग्नुपर्ने अवस्था सिर्जना भएको छ।
एक दिनको घटना। उनी जब सुत्न ओछ्यान नजिक पुगे, खै ओछ्यानले त विकर्षण गरेको मात्र महसुस गर्दै थिए। शरीरलाई ओछ्यानमाथि ढसमस्स राखे। किन-किन श्रीमतीजीले आजै मात्र फेरिदिएको रातो रङको तन्नाले उनको मनमा अशान्ति पैदा गर्दै थियो। पहिले-पहिले यो रातो रङसँग अत्यन्त मोह थियो उनको।
पार्टीको झन्डा रातो, उनले लगाउने कोटको रङ रातो, चढ्ने गाडी रातो, बस्ने घरमा रातो रङ पोत्न लगाएका थिए। रुमाल रातो, कपालको रङ रातो, चिया खाँदा रातै खाने। रातो रङ क्रान्तिको सङ्केत सम्झिन्थे र आफूलाई भएका नेताहरू मध्ये क्रान्तिकारी अनुभव गर्दथे।
अहिले यो तन्नाले सिर्जना गरिरहेको विकर्षणप्रति उनी आफै अचम्मित महसुस गर्दै छन्। पहिले-पहिले यही रङको तन्नामाथि उनी निकै सहजताका साथ निदाउँथे। अहिले तन्नालाई नै प्रश्नको एउटा रुप महसुस गर्न थालेका छन्। तन्ना नजिक जब पुग्छन्, युद्ध समयमा ज्यान अर्पेका व्यक्तिका भड्केका आत्माको निवास त छैन कतै? भन्ने प्रश्नले उनलाई हिर्काउने गरेको छ।
आन्दोलन तथा युद्धमा सहिद भएकाहरूको रगतको रङ सम्झिन थालेका छन्। त्यति धेरै मानिस युद्धमा होमिए। कतिले ज्यान गुमाए। धेरै अङ्गभङ्ग भए। धेरैको घरको अभिभावक गुमेका छन्। कतिको परिवारै नामेट भए। यी सबैलाई मनमनै सम्झेर कमरेड आफै विक्षिप्त बन्ने गरेका छन्। तर यो विक्षिप्तता लुकाउन उनी भरमग्दुर प्रयत्नमा हुन्छन्।
जे प्राप्तिका लागि सबै घटनाक्रम भयो, ती सबै त्यत्तिकै प्राप्त नहुँदा रहेछन् भन्ने आत्मबोध उनमा सिर्जना हुन थालेको छ। समय त उस्तै दगुरिरहेछ। हिजो र आजमा उत्ति धेरै फरक अनुभूति पाउन सकेका छैनन् आममानिसले। कर बलले नै केही तर्कहरू प्रस्तुत गर्नु परिरहेको कमरेड आफै महसुस गर्छन्।
हुन त कमरेडकै नेतृत्वमा भएको सशस्त्र आन्दोलन तथा पछिल्लो समग्र राजनैतिक नेतृत्वको सहभागितामा भएको जनआन्दोलनको प्राप्ति स्वरुप देशमा व्यवस्थाको नाम बदलियो। व्यवस्थाले रुप बदल्यो। तर व्यवस्था प्राप्तिको दश/बाह्र वर्षपछि आइपुग्दा समेत पनि बदलेको व्यवस्था कति संस्थागत हुन सक्यो? कमरेडहरूलाई विभिन्न बहसका कार्यक्रमहरूमा सोधिने गरेको छ।
आज कामरेड कता-कता व्यवस्थाभन्दा पनि आफूहरू बदलिइरहेको अनुभव गर्न थालेका छन्। कुनै-कुनै बेला चर्केर क्रान्तिकारी भाषण गरेको दिन सो भाषण गरुञ्जेल त कमरेडलाई उत्तेजनाले साथ दिन्छ तर घर आइपुगेपछि सोही भाषणले आफूलाई गिज्याएको अनुभव गर्न थालेका छन्। कता-कता आफै नरमाइलो महसुस हुन लागेको छ।
निकैबेर ओल्टो-कोल्टो गरिरहेको र निद्रा नै नपरेको देखेपछि श्रीमतीजीले कुरा राखिन्- 'तपाईंलाई विसञ्चो त भएको छैन नि?'
'भएको छैन, बरु यस्तै भइरहे चाहिँ बिमारी होइएला भन्ने लाग्न थालेको छ। किन-किन आजकाल ठूलो भिडमा रहे पनि एक्लोपनको महसुस हुने गरेको छ। जसको अनुहार देखे पनि शत्रुको अनुहार देखेजस्तो लाग्न थालेको छ। पहिले-पहिले शत्रु सम्झिँदा शरीरमा शक्ति पैदा भएको अनुभूति हुन्थ्यो, अहिले त डर र भयको कम्पन पैदा हुनथालेको छ,' कमरेडको प्रत्युत्तर रहन्छ।
श्रीमतीजी भन्नुहुन्छ- 'तपाईं बढी महत्वाकाङ्क्षी हुनुभयो। परिवर्तन गर्नुपर्छ भन्दै मात्र हिँड्नुहुन्छ जहिल्यै पनि। बनेको व्यवस्थालाई केही समय स्थिर भएर हेरौँ न। केही समय संस्थागत हुन दिऊँ न। परिवर्तन, परिवर्तन भन्दाभन्दै आफै अरूका नजरमा अपत्यारिलो भइसक्नु भएको छ। हिजोका दिनमा सर्वसाधारण मानिसका दिमागमा असाधारण सपनाहरू उमार्दिनु भयो।
तपाईं आफैले समेत जीवनमा कहिल्यै नदेखेका तर सुनेका मात्र सपना भिडाइदिनु भएको छ समान्य मानिसलाई। देश स्विटजरल्यान्ड बनाउने कथा हाल्नु भयो। युरोप र अमेरिकाभन्दा छिटो गतिमा विकास गर्ने योजना सुनाउनु भयो। तर झन् कमजोर र जीर्ण बन्ने हो कि भन्ने पो लाग्छ देशको अनुहार। अहिले तपाईंका सपना र योजना तपाईंकै निम्ति भार बनेका छन्। प्राप्त हुने र सहज गतिमा पुग्न सकिने गन्तव्यको परिकल्पना गरे पो हुनु। सपना देख्ने त हुनू तर त्यही सपनाको पहिरोले नथिचोस्।'
मनैदेखि सोच्दा किन-किन श्रीमतीका कुरा बढी जायज लाग्न थालेका छन् कामरेडलाई आजकाल।
कमरेडले नजिकका नातेदार र आफन्तहरू प्रायः सबैलाई नियुक्तिका विभिन्न तहमा एक ढङ्गले सेटिङ गरिसकेका छन्। राज्यका विभिन्न तह र निकायको राजनैतिक नियुक्तीमा कमरेडका आफन्तहरूले अवसर प्राप्त गरेका छन्। कतिपयले त्यही कुरा हेरेर पुराना नेताकै शैलीमा कमरेडहरू पनि विकास भए। उनीहरू परिवर्तनका कुरा त गर्छन् तर शैली, स्वरुप अनि कार्यशैली पुरानाका भन्दा फरक हुन सकेन भनी टिप्पणी गर्न थालेका छन्।
कमरेडका कानैमाआएर त कसैले सोझै यसो भन्न सकेका छैनन् तर बाहिर-बाहिर गाइँगुइँ गर्छन्, कहिलेकाहीँ पत्रिकाहरूले हेडलाइन बनाउने गरेका छन्। कमरेड ती हेडलाइन नियतवश बनाइएका हुन् भन्ने तर्क त गर्छन् तर बेलुकी ओछ्यानमा पल्टेपछि तिनै हेडलाइनहरूले मस्तिष्कमा ठूलो हमला गर्छ र निद्रा पर्न दिँदैन।
अहिले कमरेडलाई आफ्नो पुरानो स्वरुपप्रति मोह लाग्ने गरेको छ। जब उनी भूमिगत थिए। उनका किस्साहरू बनेका थिए। सहर र गाउँभरि ती किस्साहरू चर्चित थिए।
कोही भन्थे- 'कमरेड को हुन् कसैलाई थाहा छैन। कमरेडको वास्तविक फोटो कहिल्यै सार्वजानिक भएको छैन।'
कोही भन्थे- 'कमरेड निकै क्रुर छन्। उनी निकै कठोर निर्णयहरू एकै क्षणमा लिने गर्छन्।'
कसैका तर्क हुन्थे- ' कमरेडको मन फूलजस्तै कोमल छ। दुःखमा परेका मान्छेलाई सहयोग गर्नुपर्यो भने कमरेड ज्यानै फाल्न तयार हुन्छन्।'
जब उनी सार्वजनिक हुँदै थिए। समाजमा उनको छुट्टै आकर्षण थियो। उनी जे बोल्थे त्यो न्युजपेपरका हेडलाइन बन्थे। उनको भाषणलाई टिभी र एफएमहरू लाइभ प्रसारण गर्न चाहन्थे। उनको नयाँ ग्लेमर थियो समाजमा।
अहिले यो सबै गुमेको छ। कमरेड कहिले अन्त्यमा आफू एक्लै हुने डरका कुरा गर्न थालेका छन् भने कहिले परिवर्तनको यति ठूलो हिस्सेदारलाई समाजले फ्रस्टेड बनाएको टिप्पणी गर्न थालेका छन्।
कमरेडको निद्रा केले लगिरहेको छ? उनी आफै निरुत्तर छन्। धेरै सोच विचार गर्दा पनि उत्ति चित्तबुझ्दो अर्थ फेला पार्न सकेका छैनन्। उनी परिवर्तनका संवाहक हुन् भन्नेमा त आफू विश्वस्त छन्। तर उनी आफै आफूसँग सन्तुष्ट छैनन्।
कमरेडलाई निरन्तर केही दिनदेखि राम्रो निद्रा पर्न नसकेकाले आज श्रीमतीजीलाई उनले ओछ्यानको रातो तन्ना परिवर्तन गर्न निर्देशन दिएका छन्।