५ बजे छुट्टी भएको थियो अफिस। लोकल बसमा उभिएर बसका डन्डी समाउँदै यो बिग्रिएका बाटाहरुमा सिथिल भएको ज्यानलाई अझै सिकिस्त बनाइदिने गाडी र बाटोले घर आउँदा झमक्कै रात पर्छ। कहिले पैसा ब्यागमा खोज्दा-खोज्दै सह-चालकले कराउँछ, कहिले हिँडिरहेको बसमा हतार-हतार ओर्लिनलाई कुनाबाट अगाडि आउन ढिलो हुन्छ अनि रिसाउँदै धकेलिदिन्छ।
साँझ परेपछि छोरीमान्छे घर आउँदा, त्यसै शंकालु नजरले हेर्ने यो दुनियाँले मेरो घरको चुहिएको छानो हेर्दै हेर्दैन र दुःख लाग्छ। यो गरिबीले जति दुःख केले दिन्छ र? अझै मान्छे सहजै भन्दिन्छन्- पैसाले कहाँ सुख दिन्छ र? मन खुसी हुनुपर्छ भनेर।
सोच्ने गर्छु, के अब म आमाका रोगको उपचार गर्न नसक्दा नि मन खुसी बनाएर खुसी हुनु? कि बाका लागि राम्रो कमिज लगाउन नसकिदिएकोमा खुसी हुनु? कि आफ्ना पढ्ने रहरहरु रोकेर अरुको ठाउँमा श्रम बेचेर २/४ हजार कमाउन जाँदैछु भनेर खुसी हुनु?
हतार-हतार घर आएर चामल उमाल्न थाल्यो, झोलमा के बनाउने भनेर मन पिरोल्छ। गुन्द्रुक अनि ढिडो मिठो हुन्छ भनेर अरुले भनेको सुन्दा नि अचम्म लाग्छ। जब दिनरात यही गुन्द्रुक र ढिडो खाएर कुनै रात त्यही ढिडो नि नभएर गुन्द्रुक मात्र उमालेर गिठासँग खानुपर्छ नि, त्यो दिन थाहा हुन्छ गुन्द्रुक कति मिठो हुन्छ भनेर।
यत्तिकै आराम गर्ने बेला पर्खिँदा-पर्खिँदै रातको १० बजिसकेको हुन्छ, अनि आउँछन् लाखौँ कुराहरु यी मनमा। लाग्दैन निन्द्रा रातभर। जब आँखा लाग्न थाल्छ झिसमिसे उज्यालो सुरु भइसकेको हुन्छ अनि कसेर लाउनै छ, भगवानलाई जल राख्नै छ। आमाले अलिअलि काममा हात बटाइदिँदा पो सहज हुन्थ्यो, आजभोलि त उठ्न पनि सक्दिनन्। बुढी अनि रोगी छिन् आमा के गर्नु, गुनासो गर्न पनि त सक्दिनँ। मलाई पेट बाँधेरै भए नि बाल्यकालमा भोको नराखेकी आमा हुन् मेरी।
काम गरिसकेर दुई गाँस टिपेर दौडिनु छ आफ्नै काममा, नगए हातलाई मुखसम्म लैजाने औकात छैन। जाऊँ भने अनिँदो यो ज्यानमा घरको जिम्मेवारी छ। यो मनमा लाखौँ पीडा, दिमागमा हजारौँ प्रश्न, आफ्नाहरुको तिता वचनका प्रहार, अनि कसैको मन जित्न पटक-पटक आफै हारेको म, आफैलाई सम्हाल्न नसकेको म, अफिसका तमाम कामलाई चट्ट सम्हाल्नु छ। थोरै मात्र केही बिग्रिए आफ्नै आफन्त र परिवारले औँला उठाउँछ भने त्यहाँ त अरुको पैसामा श्रम बेचेको मान्छे म, सुन्नु त छँदै छ।
जिम्मेवारी एकातिर, बुढा बा-आमाको रहर एकातिर, आफू एकातिर। अनि महिनाभरिको श्रम बेचेको पैसाले एक बोरा चामल, आमालाई दैनिकी लिने ओखती र गाडीभाडा बाहेक केही पुग्दैन। खाली छ गोजी, खाली छ हात। यी रित्तो गोजी बोकेर हिँड्दा किन भारी लाग्छ ज्यान, म अझै बुझ्दिनँ।
मन लागेको खान पनि अरुको मनमा दया पलाउनु पर्छ। लाउँ-लाउँ, खाउँ-खाउँ भन्ने उमेरमा जीवनले यति चुनौती दिएको छ कि, कहिलेकाहीँ किन कोखमै मेरो मरण लेखिएन भनेर सोच नआउने होइन। फेरि मेरो ताते-ताते गर्ने उमेरमा आफ्नो पेट बाँधेर मेरो पेट भरिदिने आमा र आफू काँटी ठोकेर चप्पलमा तुना फेरेर मलाई नयाँ चुइचुई बज्ने जुत्ता, त्यो धपधप बल्ने चप्पल ल्याइदिने बालाई सम्झिन्छु।
मान्छेले कर्म राम्रो गर्नुपर्छ फल मिल्छ भनेको सुन्थेँ, आजसम्म आँखाले देखेर मेरा बा-आमाले दुःख बाहेक पाप कहिल्यै गरेनन्। र पनि यो सब किन भोगिरहेका छन् म त्यो बुझ्दिनँ थिएँ। के साँच्चै राम्रो गर्नेलाई राम्रै हुन्छ र? अफसोच! यो नि आशाको त्यान्द्रो हो। यति आश पाल्न नसके त ज्यान फाल्न विवश बनाउँछ यो जिन्दगीले, त्यही भएर पनि होला।
यस्तै गरिबका घरमा फेरि न लक्ष्मी आउँछिन् न सुख आउँछ। जति दुःख गरे पनि खानलाई नै हुन्छ दुःख, बाँकी खुसी किन्न सक्ने औकात नै बन्दैन। कि त चमत्कार हुनुपर्छ कि त भगवानले हेर्दिनुपर्छ।
मान्छेहरु इच्छा लागेका कुरा किन्न नपाउँदा रुन्छन्, म आमा रोएको देखेर रुने गर्छु। छोराछोरीहरु बाका चर्का स्वरमा रिसाउँछन्, मेरो समाज मसँग यसै रिसाउँछ। दुनियाँले आहा! र ओहो! गर्ने कुराहरु हेर्नलाई पनि मेरो हैसियतले भ्याउँदैन। मसिनो मिठोको लागि मैले १० दिन दुःखमा पिसिनु पर्छ। बाच्न नि यति गाह्रो छ कि मर्न सजिलो लाग्छ अनि मान्छेले कसैको आत्महत्यालाई नालायक भन्दिन्छन् र मात्र पाइला रोकिन्छन्।
हरेक साँझ मैले दुःख गरेर घर फर्किँदा मिठो खाएर आनन्दको निन्द्रा खोज्दा-खोज्दै कुन बेला मेरो उमेरले नेटो काटेछ, मैले पत्तै पाइनँ। अब झन् कठिन भो जीवन, मेरो अविवाहित हुनुमा पनि समस्या भो समाजलाई। म गरिब छु, खान पुग्दैन, दुःख छ है यसलाई कहिल्यै नसोचेका छिमेकीले मेरो विवाहको लागि मेरो जन्ममिति केलाउँथे। किन सोच्दैनन् मेरा बा-आमाको एक्लो सन्तान हो म, मैले नै उनीहरुलाई छोडेँ भने उनीहरुले संसार छोड्न दुई दिन नि लाग्दैन भनेर।
जिन्दगीमा सब भोग्न सजिलो छ सिवाय बा-आमाका आँसु र दुःख। राति खोकिरहेका बालाई ओखती किन्न नसक्नुमा कति पीडा हुन्छ कहाँ बुझेका छौ र? आमा जाडोमा काम्दै काठिँदै बसेको हेर्न सक्ने हिम्मत कसको हुन्छ र? 'माइती पनि आफू बलियो भए मात्र आफ्नो हुन्छ' भनेर आमा रुँदै गर्दा बाले आमाका हात थमथमाउँदै 'हाम्री नि छोरी छ, त्यसो नभन न' भन्दा एक्लै कुनामा रुँदै निसासिनुको पीडा के थाहा तिमीहरुलाई!
आमाले कहिलेकाहीँ बिलौना त गर्थिन् तर बा त रोए नि लुकेर रुन्थे। यदि छोरो हुँदो हो सुख पाउँथेँ सोच्थे होलान् नि तिनले नि। जे काम नि गरेर खान्छु र परिवार पाल्छु, छोराछोरी 'मै' हो भन्दा नि बीचमा जातभात ल्याउने पढेलेखेका गोबरहरुले गर्दा पनि हो मेरो घरको चुलो नबलेको।
होइन भने सहरमा भाडा माझेर, खाना पकाएर भए नि आमाका आङ ढाकेर जाडो कटाउन सक्थेँ, बाका लागि ओखती किन्दिन सक्थेँ। तर विडम्बना! म एक्काइसौँ शताब्दीमा जन्मेको अनि उन्नाइसौँ शताब्दीमा बाचेको मान्छे हो। दुःख लाग्छ गरिब भएर जन्मिनुमा अनि गरिब भएर मर्नुपर्ने परिस्थितिमा आफूलाई देख्दा।