आज दिवाकालीन काम सकिवरि अपराह्नको तीन बजेतिर घर फर्किसकेको थिएँ। बाहिर चिसो सिरेटो र हुस्सुले मौसम ठुस्स परिरहेको थियो। सबैजना काममा भएकाले घर सुनसान अनि चकमन्न थियो। बाथरूममा पसिवरि फ्रेस भएर किचनतिर गएँ, केही खाउँ जस्तो भएन। एक कप चिया खाइदिउँ जस्तो लाग्यो।
फ्रिज खोलेँ दूध सकिएको रहेछ, पसल जाने जाँगर आएन। सोफामा थ्याच्च बसेँ। मनमा अनेक कुरा खेल्न थाले। महामारीमा थुनिएर बसेका पनि झन्डै दुई वर्ष पो पुग्न थलिसकेछ। घरको याद आयो, परिवारको याद आयो, साथिभाइ इष्टमित्र सबैलाई सम्झेँ। टाउको रन्किएर आयो, पुस/माघको जस्तो चिसोमा पनि शरीर आगो-आगो भयो।
जुरमुराउँदै घरबाट निस्केँ अनि एक कप कफी किनेर समुन्द्रको छेउतिर लागेँ। मनमा सल्किएको ज्वारभाटालाई समुन्द्रका छालहरूले निभाउन सकेनन्। किनारमा बसेर क्षितिजलाई नियालिरहेँ। दूर-दूर सम्मको महासागरले पनि यो आँखामा शीतलता दिन सकेन। आँखाका डिलैडिल पौडिँदै दुई थोपा आँसु बगरमा तप्प खसे अनि विलीन भए। चिसोमा समुन्द्रको स्याँठले सेक्नु सेक्यो। भित्र उस्तै राप बोकेर घर फर्किएँ।
सबैजना कामबाट फर्किवरि टिभी हेर्दै रहेछन्। मेरो मन गएन, फेरि पनि केही खाउँ जस्तो भएन। सोझै कोठामा गएर भर्खर स्कुलबाट फर्केको बच्चाले काँधको झोला फ्याके झैँ ह्वात्त शरीर बेडमा मिल्काएँ। मनको गड्याङगुडुङ जारी थियो, शरीर शिथिलताले गलेको थियो। म एकाएक जङ्गिएर उठेँ। दुई/चार जोर लुगा झोलामा कोचेँ अनि उत्तिन्खेरै बल्लतल्ल एउटा अनलाइनबाट टिकट काटेर एयरपोर्टतिर हानिएँ।
डढेलोले खाएको जङ्गल बर्खामा मुजुराएको वनजस्तै तन-मन मुस्कुराएका थिए मेरा। एक झिमिक नगरी काठमाडौं एयरपोर्टमा ओर्लिए मेरा नयनहरू। खुसीले उफ्रिँदै कलंकी बसपार्क पुगे मेरा यी गोडाहरू। जसै-जसै थानकोटबाट ओरालो लागेँ गाडीका ती पाङ्ग्राहरू उसै-उसै ओरालो लागे मनभरिका रापहरू।
गाडी मुग्लिन कट्दै गर्दा घरकै आँगनमा छिरेजस्तै भो, मन त्यसै-त्यसै पुलकित भएर आयो। एक्कासी गाडीले ब्रेक लगायो। माथिबाट खसेको भिमकाय पहिरोले बाटोमा तगारो हाली बसेको रहेछ। सात समुन्द्रले छेक्न नसकेको मेरो व्यग्रतालाई नाथे पहिरोले अल्झाउने कुरै भएन। जसै म वेगले कुद्न थालेँ उसै उषाका किरणहरू सुस्ताउन थाले।
झ्याँउकिरीको झ्याँउ-झ्याँउसँगै रामनगरको जंगल छिचोल्दै गर्दा एक हुल भुसतिघ्रे गँजडीहरू मेरो पिछा लागे। म छिटो-छिटो आफूलाई अगाडि हुत्याउन खोजेँ तर पाइलाहरू झन्-झन् शिथिल र स्थिर हुँदै गए। अन्ततोगत्वा म नराम्ररी जमिनमा बजारिएँ।
ब्वाँसाहरूको झुण्डले मलाई चारैतिरबाट थिच्न थाले। म अतालिएर हातगोडा चलाउन खोजेँ तर फिटिक्कै चलायमान भएनन्। जोड-जोडले चिच्याउन चाहेँ तर आवाज आएन। मुटुको वेग बेतोडले बढिरह्यो। फेरि एकपटक घर, परिवार र सबै सबैलाई सम्झेँ अनि अन्तिम सासलाई संगालेर बेतोडले चिच्याएँ। पसिनै पसिनाले निथ्रुक्कै भिजेको म झसङ्ग हुँदै बिउँझिएँ।