ती उकाली-ओराली र घुम्तीसँगै तिनले
आलै होलान् ती छेडेको जंगली पिनले
तैपनि अलि-अलि गर्दै
आर्जन गरेका पसिना बटुलेको रात
त्यसै होला हेर त! शिरमा नाम्लाको छाप
तर त्यो सात कोठे घरले के दिँदैछ तिमीलाई!
घरले कोठाहरु पाए तर पाएनन् भने झैँ तेज
हरेकले मुली गण पाए तर पाएनन् भित्ताले लेप
राय तिम्रो, मेरो अनि हाम्रो खै के भनौँ
आँसुले लिलामित आँखामा भयो कि जलविन्दु
खडा गरेर भयो के हरेकमा विलासीका केन्द्रविन्दु
धौ-धौ छ घरमा जीवन छ सिस्नु र खोलेमा
कोठाका कोठेदार भरोसा भगवान भोलेमा
सातै विन्दुको कथा कसरी लेखूँ
घरभित्रका छायाचित्रहरु जड झैँ टोलिरहन्छन्
अभागी टाउकाहरु नैरन्तर्य नाम्ला बोकिरहन्छन्।
घरको सौम्यता र सभ्यताको स्तम्भ छ कि ढल्यो?
छाया चित्रहरुको पनि चित्रभित्र आर्तनाद बल्यो
बाँकी के रह्यो भन्न कथा…
कहाँ होला! अझै घरको सौम्यविन्दु छैन भेटिएको
चर्चर्ती चिरिएका पैतालाको निशान छैन मेटिएको
मेरो घरको हाल यस्तै रह्यो अनि तिम्रो के चाहिँ होला
उजुरी गरुँ कहाँ? गर्ने ठाउँको कथा महाभारत झैँ होला
बुट्टे, भव्य महलको कथा कसले भन्ने
विधान र कानुन बोल्ने ठाउँमा चल्छ कराते र कम्फू
मतको खेती हुने बेला अमृत वाणी नत्र बज्दछ डम्फू।