तिमी छैनौ,
तिमी कहीँकतै छैनौ।
धर्ती आकाशको विराट अस्तित्वमा-
अहँ! तिमी कतै छैनौ।
कुनै शिलालेखमा तिम्रो संकेत छैन
कुनै ग्रन्थमा तिम्रो गाथा छैन।
तिमी कसैको स्मृतिमा छैनौ
कसैको कल्पना, सपना र सिर्जनामा छैनौ।
यहाँसम्म कि-
असङ्ख्य घाट, चिहानहरु छन्
तर तिम्रो अस्तु कतै शेष छैन।
पत्रे चट्टानमा च्यापिएको
तिम्रो कुनै अवशेष छैन।
यद्यपि तिमी थियौ-
तिमीलाई देखेको जून अझै छ
तिमीलाई देखेको घाम अझै छ।
सूर्य-चन्द्रको छहारीमुनि
यहाँ युगौदेखि कोलाहल छ।
आफू हुनु, रहनु र रहिरहनुको
अनेकका अनेकन उपक्रमहरुको बीच-
केवल तिमी छैनौ।
धर्ती आकाशको विराट शून्यतामा
आई
नियाली
पदचिन्ह कुनै नछोडी
सुटुक्क बिलाउने तिमीलाई
मेरो असीम सम्झना छ।