मेरो एउटा पहाडको गाउँमा सानो परिवार थियो। हाम्रो परिवार सानो किसानी थियो। घर खर्च चलाउन पनि हम्मे-हम्मे हुने परिवारलाई पढाइ खर्च पुर्याउन निकै कष्ट थियो। म पढ्न सहर जानुपर्ने, उता घरको आर्थिक अवस्था नाजुक। मनमा खालि पैसा कसरी कमाउने भन्ने सोच भएको अवस्था थियो।
अचानक सहरमा पढाइ सुरु भएको रहेछ। बाबा आएर भन्नुहुन्छ 'बाबु, तिमी अब पढ्नलाई सहर जाऊ। घरको केही पिर/चिन्ता लिनु पर्दैन, अब म नि विदेशतिर जान्छु तिमीलाई पढ्नलाई चाहिने खर्च जुटाउनु पर्छ।'
बाबाले गम्भीर हुँदै भन्नुहुन्छ, 'बाउको इज्जत राखेर पढ्नू सहरमा।'
मेरा मनमा धेरै कुराहरु खेल्ने गर्थे। धनी भएको भए यसरी दुःख पाइने थिएन होला। सहरमा घर हुन्थ्यो होला। मेरा बाले अहिलेसम्म के गरेका होलान् भन्ने सोच राख्ने म।
बाबा म गलत रहेछु। हजुरले मेरो लागि गरेका श्रम, बलिदान र दुःखका क्षण म सम्झँदा झसंग हुन्छु। हजुरले प्रदेशमा पसिना बगाइ मेरा इच्छा आकाक्षा पूरा गरी शिक्षाको लागि राम्रो बोर्डिङ स्कुलमा पढाइ आफ्ना खुसीहरु त्याग गर्नुभयो।
मेरै लागि आफ्ना दाजुभाइ त्याग्नु भयो। मेरै लागि आफू जन्मेको जन्मभूमि त्याग्नु भयो। बाबा हजुरले मप्रति गरेका योगदानहरु बुझ्न सकेनछु। अहिले महसुस गर्छु, हजुर त मेरो गहना हुनुहुँदो रहेछ बाबा।
बाबा हजुरले भन्नुहुन्थ्यो नि गाउँलेहरुसँग मेरो छोरालाई डाक्टर बनाउने सपना छ। बाबा हजुरले त पूरा गर्नुभयो आफ्नो सपना सम्पत्ति बेची, दुःख/सुख गरी। तपाईं त बहादुर हुनुहुँदो रहेछ बाबा।
सम्झन्छु हजुरले आफन्तसँग भनेको कुरा, मैले मेरो छोराको लागि धेरै नै गरिसकेँ। तर म भने 'मेरो लागि के नै गरेका छ्न् र?' भन्ने प्रश्नमा अल्झिएछु बाबा। सम्झन्छु हजुरलाई बुढेसकालमा एक्लै छोडी हिँडेको, अब मलाई फोन नगर्नु भन्दै थर्काएको, म मेरो लागि केही गर्छु भन्दै गाउँ छोडी सहर आएको।
बाबा, हजुरले फोन गर्नु भएको रहेछ। म जागिरमा थिएँ, कामको चापले गर्दा फोन उठाउन पाइनँ। कोठा गएर फोन गर्छु भन्ने सोचेको थिएँ तर हजुरकै फोन आयो। मैले फोन उठाउँदा बित्तिकै हजुरले भन्नुभयो बाबा, 'कान्छा के गरेको छस्? सन्चै छस्? कहाँ छस्? किन फोन हान्नै छोडिस्? किन बाबालाई बिर्सिस्?' यति भन्दै हाँस्दै हुनुहुन्थ्यो, मलाई लाग्यो त्यो हाँसोमा धेरै नै पीडा लुकेको छ।
सुनेको थिएँ बाबुआमाको मन छोराछोरीमाथि, छोराछोरीको मन ढुङ्गा-मुढामाथि। सायद यो वाक्य व्यवहारिक नै रहेछ। हजुरका दुःखहरु सुखमा परिणत हुन सकेनन् बाबा।