केही पुराना घाउहरुमा खाटा बस्न बाँकी नै छ
घरी-घरी मन बिथोल्न आउने यादहरुलाई दागबत्ती दिन बाँकी नै छ
तिमी भन्छौ, आजकाल उदास-उदास देखिन्छौ तिमी
तिमीलाई मेरा विगतका कहानी सुनाउनै बाँकी छ
पीडाले चिच्याएर रुन खोज्दा-खोज्दै मुस्कुराएको कहानी बाँकी नै छ
तिमी सोध्ने गर्छौ, किन पानी परेको राम्रो लाग्छ तिमीलाई?
वर्षातमा भिज्दै आँसु बगाएको सुनाउन बाँकी नै छ
कुनै समय त्यही फलैँचामा बसेर खुसी हुने म
आजभोलि त्यही देखेर तर्सिएको सुनाउन बाँकी नै छ
हुन त धेरै कुरा बाँकी नै छ जिन्दगीमा
सपना अधुरा छन्, विपना कहालीलाग्दो छ
तर पनि यो अन्धकार बाटोको कथा सुनाउन बाँकी नै छ
तिमी भन्छौ आऊ मेरो अंगालोमा म छु नि
तर त्यस्तै अंगालोमा बेरेर छुरा घोपेको दाग अझै बाँकी नै छ
तिमी भन्ने गर्छौ, मेरो विश्वास त गरेर हेर
त्यही विश्वासले दृष्टिविहीन बनाएको कहानी बाँकी नै छ
हुन त सबै कुरा आफूले चाहेजस्तो कहाँ हुन्छ र?
दुःख बिनाको खुसीको महत्व नै के छ र?
तर पनि सपना देखाएर पहाड चडाइ
माथिदेखि धकेलेको कहानी बाँकी नै छ
सायद तिमी त्यस्तो नहुन पनि सक्छौ
सायद तिमी विश्वासयोग्य हुन पनि सक्छौ
तर म तिमीलाई स्वीकार्ने अवस्थामा छैन
मनका घाउ पीडा बल्झाउने अवस्थामा छैन
तर यो समयमा म भत्किएको घरजस्तै छु
अस्तव्यस्त अनि त्रसित
पछि फुर्सद मिलाएर आउनू तिमी
म मेरा विगत बिर्सिएर आउँला
अनि तिमीलाई सुनाउन बाँकी हरेक पाना सुनाउँला।
तिमी सुनिदिनू मात्र
म वर्षौंदेखि बन्द गरेर राखेको यो मन
खाली बनाएर रित्तो रित्तो हुन चाहान्छु
नयाँ बिहानीको सुरुआत गर्न चाहन्छु
तर अहिले सबै कुरा बाँकी नै ठिक छ।