सायद पहिलोपल्ट तेह्र वर्ष हुँदा ऊ नराम्रोसँग झस्किई।
उसका दुई जाँघका बीचमा केही पदार्थले गुडुल्की खाएको आभास पाई।
ऊ अतालिएर यता-उता गर्न थाली। कसो कसो उसका हातले जाँघ छाम्यो, हातभरि आलो रगत लत्पतियो। ऊ झन अतालिएर चिच्याउन थाली, ‘ ए बा हो, ए आमा हो, मलाई के भयो’ तर उसका वाक्य गलासम्म आएर अवरूद्ध भए।
उसले आँखाले देखेभर हेरी तर उसको बेदना बिसाउने कोही भेटिन। परबाट उर्मिला आउँदै थिई। ऊ अलिअलि सम्हालिई र बेदनाको पोको खोली।
उसले कुरा पूरा गर्न नपाउँदै उर्मिला इत्रिदै हाँस्न थाली। उसलाई नमिठो लाग्यो उसको पीडाबाट उत्रिने आशामा तुसारापात भयो।
धन्न त्यतिखेर जानकी भाउजु देखा परिन्, आफ्नो पटुकीको फेर च्यातेर जतनले उसको जाँघको बीचमा राखिदिइन्।
ऊ भाउजुलाई ग्वाम्ल्वाङ अंगालो हालेर घुक्क घुक्क रोइरही। उर्मिला अझै इत्रिँदै भाउजुलाई आँखा झिम्काइरही।
दिनहरू झनै असहज भएर आए उसलाई।
ऊ झनै तर्किन थाली, कहिलेकाहीँ बिर्सिन्थी सामान्य हुन्थी तर उर्मिलाका शब्दहरू कानमा गुन्जिरहन्थ्यो, ‘अब तँ पनि तरूनी भैस् केटी ! राम्री पनि उखपात छेस्, अब तँ सबै केटाहरूको नजरमा पर्छेस् होस् गर है’ ‘बलात्कारमा पर्लिस्’ अनि उसको मनमा गाँठो पर्थ्यो र केही भागिसकेको डरले फेरि डेरा जमाउथ्यो। बलात्कार को बारेमा थाहा नपाउँदै उसलाई बलात्कारको डर पसिसकेको थियो।
जब-जब उसले बलात्कारको बारेमा बुझ्न थाली जंगल, एकान्त, जबर्जस्ती....., बर्बरता, हिंसा, हत्या! उफ्, उसको मथिंगलमा नराम्रो तुँवालो मडारिन्थ्यो। ऊ झन् भाग्थी। दायाँ बायाँ हेर्थी, हे भगवान ऊ चारैतिर बलात्कारी मात्र देख्थी।
ऊ भाग्थी र घर पुगेर झ्याल ढोका ड्याम्म बन्द गरेर आफैंलाई थुन्थी।
आँखाबाट झेरेका अविरल आँसुलाई बगेर जान दिन्थी। लामो श्वास तान्थी र सोच्थी धन्न घर आइपुगें।
लामो श्वास तान्थी धन्न घर आइपुगें। ऊ सोच्थी। उसलाई विश्वास थियो त्यो आफ्नो सोचप्रति, गर्व गर्थी त्यो घर जहाँ ऊ सुरक्षित महसुस गर्थी।
तर उसको त्यो सोच पनि तुहिन कर लाग्यो, जब उसलाई आफूले भर विश्वास गरेको बाबा र भाइले बुइँमा बोकेर ताम्दानी चढाएर बिदा गरे। त्यो दिन ऊ झ्यालढोका बाहिरै कोकोहोलो छोडेर रोई ‘ए बाबा हो,ए ममी हो, ए भाइ हो’ मलाई यसरी एक्लै नपठाऊ तर उनीहरूले उसलाई रोकेनन्, बरू आँखाबाट झरेको बलिन्द्र धारा आँसु पुछदै बिदाइको हात हल्लाइरहे।
आमाको रोदन पनि उसको डाँकोको गुन्जमा कतै बिलाएर गयो।
उर्मिलाहरू भिडको एक छेउमा बसिरहे ।
पञ्चेबाजामा विरही न्याउली बाजा धून बजिरह्यो। उसको ताम्दानीले नेटो काट्यो।
ताम्दानी अगाडि पछाडिका तिघ्रेहरू उफ्री उफ्री हर्सोल्लास मनाइरहे।
अब त उसलाई छोएर भाग्ने बतास पनि पराइ लाग्न थाल्यो। प्रस्ट बुझी उसको पीडामा मल्हम लगाएर शितल गराउने त्यो घर अब उसको रहेन र एकपल्ट फेरि उसको रोदनले डाँडो खोलो हल्लायो।
जन्म घर उसको रहेन। पराइ घर उसको भएन।
त्यो घरमा पुग्नासाथ ऊ व्यस्त भई।
रातभर रातभर पीडाले चिच्याइ रही। उसले पर्यावरणमा पाइने विभिन्न कीरा फट्याङ्ग्रा र जीवजन्तुलाई सम्झेर चित्त बुझाई।
दिनभरिको थकाइपछिको रात पनि उसको आँखा सजल बित्यो। उसलाई लाग्यो ऊ अविरल बगिरहेकी छे। ऊ नदी हो। हिउँदमा सुक्खा हुन्छे। वर्षामा हिलो माटो, दुर्गन्ध फोहर बोकेर हिँड्नु उसको नियति हो।
अझै उर्मिलाको त्यो शब्द वाण बनेर उसको मुटुमा उसको मुटुमा घोचिरह्यो ‘होस् गर है, बलात्कारमा पर्लिस्’ तर आजसम्म बलात्कारको सही अर्थ खुट्ट्याउन सकिन।
बधाई छ, बधाई छ उसलाई बधाई दिनेहरू बाक्लिए। ऊ स्वयमलाई पनि फेरिएको दिनचर्य र पुट्ट उठेको भुँडी देखेर अनौठो अनुभव भयो।
उसलाई लाग्थ्यो संसार आफ्ना-आफन्त गुमाएर, कोही आफ्नो खोजिरहेकी ऊ त्यो भुँडी साख्य आफ्नो लाग्थ्यो।
जब जब कहिले कसो कामबाट फुर्सदिली हुन्थी, आकासिँदो भुँडी मुसार्दै सोंच्थी मेरो भन्नु यो नै हो मेरो एकलौटी।
पात्रो पल्टिँदै गर्दा उसका वरिपरि ओठे गफ गर्नेहरू बढ्दै थिए। यसले छोरा पाउँछे, छोरी हुन्छे। कथनकदाचित नाइटो देखिहाले भने त निर्क्योल नै ठोक्थे। उसलाई ती सब कुरामा कुनै चाख थिएन। ऊ त बस् आफ्नो गर्भ बोकेको घरप्रति गर्वान्वित थिई। जुन कसैको थिएन उसैको थियो मात्र उसैको।
त्यो दिन सम्झन चाहन्न ऊ। असाध्य पीडा भएको थियो। ऊ छट्पटाई, रोई, कराई, चिच्याई केही सीप चलेन बिरानो भएका भए पनि आफ्नो भन्ने जति र सम्झे जति भगवानको पुकारा गरी रगताम्य रगत तालीमा परी, धन्न किलकारी छोड्दै एउटा रगतको डल्लो बाहिर निस्क्यो।
उसलाई सन्चो भयो, आँखा बन्द छन् तथापि आनन्दनुभूत गरिरहेकी छ।
आफ्नै पाठेघरबाट निस्केको आफ्नै जिनिस त्यसले आफ्नो उपस्थिति जनाइरहेको छ।
उसलाई त्यो कहिले देखूँ भैरहेको छ तर ऊ आँखा खोल्न सकिरहेकी छैन। आफ्नै चिच्याहटको आवाजले कानहरू डम्म छन्।
जब उसका कानहरू आँखाहरू बिस्तारै खुल्दै जान्छन्, फेरि उसका सोचायले ठेस खान्छ।
ऊ सुन्दै छे। उसको रगतको डल्लोलाई सबै मेरो बाबु, मेरो राजा, हाम्रो कुलको दिपक भन्दैछन्।
देख्दै छे बच्चालाई एक हातबाट अर्कोमा सारिरहेका छन्, बच्चा झन् कोकोहोलो छोडिरहेको छ।
बच्चाको रोदनले आजित भएछन् क्यार, कसैले उसको छातीमा टसाइदिन्छ। त्यो भर्खरको आँखा उघार्दो चिचिलो बच्चा त्यो न्यानो छातीमा जीवन खोज्दछ।
जब बच्चा उसको छातीमा मस्तले अमृतपान गर्न थाल्छ ऊ शनै शनै हर्षविभोर हुन्छे। चपक्क छातीमा टाँस्छे र बर्बराउँछे यो मेरै हो, साँच्चिकै मेरै हो।
बर्षैपिच्छे उसको पाठेघर गुलजार हुन्छ तर बिडम्बना पहिलोको जस्तो भाग्य कसैको भएन।
कुनैले पनि यो धरतीमा झरेर रूने मौका पाएनन्।
सबैको जीवन बीचमा तुहाइयो।
उसलाई अब पक्का हुन्छ बच्चा उसको रहेनछ, जसको जन्म उसको बसमा छैन, यो त अरूकै चाहनामा निर्भर छ।
उसको मनमा शंका उब्जिन्छ। कतै त्यो बच्चा बस्ने कोख पनि.... तर चित्त बुझाउँछे।
उसलाई धिक्कार लाग्छ जिन्दगी।
डाक्टर जोशीले उसको पाठेघरको जाँच गरिन्।
पाठेघरको झिल्लीमा पूरै घाउ भएको छ त्यही दुखेको हो। तिमीले तुरून्त अपरेसन गर्नुपर्छ। ऊ कुनै प्रतिक्रिया दिन्न, उसलाई लाग्छ उसका जिन्दगीका कैयौं घाउहरू बिच्केर खिल पल्टिसकेका छन्।
अब यो अर्को एउटा थप घाउ, कुन ठूलो कुरा भो र!
खिल पल्टेर जावस तर उसको मन मान्दैन, सर्वप्रिय उसको एकमात्र आफ्नो।
उसको मनमा कुरा खेल्छ। खिल पल्टेको घाउहरू चस चस घोचिरहन्छन्।
अहँ, म खिल पल्टाएर मेरो प्यारो अंगलाई अरू दु:ख दिन चाहन्नँ बरू अपरेसन गर्छु। ऊ दह्रो मुटु पार्छे र डा. जोशीलाई उसको त्यो अंगलाई माया गरेर उपचार गर्न बिन्ती बिसाउँछे।
एकाबिहानै नर्सहरू व्यस्त छन्। नर्सहरू देखेर पनि ऊ तर्सिन्छे। आङको कपडा बदलिएर एक धरो लुगा लगाउँदा उसको मुटुमा कंपकंपी छुट्छ। त्यसमाथि झुन्ड्याइएका तान्द्राङ तुन्द्रुङ हेर्दा ऊ अरू अत्तालिन्छे।
नर्स फोनमा बोलिरहेकी छिन्। ‘डाक्टर प्रि अप. टेस्टको प्रेसर, सुगर, थाइराइड..... सबैको रिपोर्ट ओ के छ। पिसिआर नेगेटिभ शय्या नम्बर २१० को प्यासेन्ट अपरेसनको लागि तयार छ म्याम।’
‘ओ के, ठीक छ प्यासेन्टलाई अपरेसन थिएटरमा लग्दै गर’ डाक्टर जोशीको आवाज प्रस्ट सुनिन्छ। उसको हंसले ठाउँ छोड्छ।
अर्की नर्सले इन्जेक्सन दिन्छिन्। उसका आँखा लोलाउँदै जान्छन्, डर मान्ने उसको चेत विस्तारै हराउँछ। पश्चिम क्षितिजमा घाम डुबेजस्तै।
ऊ चेत खुल्नासाथ चिच्याउँछे तर मुखबाट श्वासमात्र पनि निस्कन गाह्रो हुन्छ।
उसको नाक अक्सिजन मास्कले छोपिएको छ ।
कम्प्युटर मोनिटरमा मुटुको चाल देखाइरहेको छ। उसको पेटमा अत्यन्त पीडा भैरहेको छ।
शय्या नम्बर २१० को एकापट्टि मुत्रथैली र रक्तथैली झुन्डिरहेका छन्। यसका नलीहरू पेट र कता-कता जोडिएका छन्।
ऊ निस्तेज पल्टिरहेकी छ। उसको मुहारको कान्ती बिलाएको छ। साँझको राउन्डमा डा. जोशीको प्रवेश हुन्छ।
डा. ओजश्वी देखिन्छिन्। कस्तो छ ? ऊ मात्र पुलुक्क डा. जोशीतिर हेर्छे।
‘ठीक छ, ठीक छ, ओ के आत्तिन पर्दैन’ डा. आश्वास्त पार्छिन्।
‘त्यो ल्याऊ त’ उनी नर्सतिर इशारा गर्छिन्।
नर्स एउटा भाँडो ल्याउँछिन्। त्यसभित्र दुइटा किल्किलाउँदा रगतमा लतपत डल्ला देखिन्छ।
डा. उसलाई ती डल्ला देखाउँदै भन्छिन् ‘ऊ! हेर त, तिमीलाई प्रत्येक महिना दु:ख दिने खिल पल्टिसकेको पाठेघर। मैले अपरेसन गरेर निकालिदिएको छु। अब तिमीलाई यसले दुख्दैन। न थिङ टु ओरी अबाउट, टेक रेस्ट, सी यू टुमरो,ल !’ डा. जोशी बाहिरिन्छिन्।
उसको मनमा कोतपर्व मचिन्छ। उसको स्वामित्वमा भएको एकमात्र अंग पनि आफूबाट चुडिइसकेको छ।
उसलाई असाध्य पीडा हुन्छ। त्यो असह्य वेदनाको भारी आँसुको भेल बनी बगिरहन्छ। नर्स बेड नम्बर २१० को आँसुले भिजेका तकिया रातभरि फेरिरहन्छिन्।