तिम्रो घरमा रमझम थियो टाढाबाट हेरिरहेँ
सास रोक्न मन थियो कारणवश फेरिरहेँ
झरे आँसु थाहा पाउँदा जाँदै छौ रे पराईसँग
तिमीलाई सम्झी तिम्रो चिनो अंगालोमा बेरिरहे।
ओठमा हाँसो भए पनि लुकेको थियो पीडा मनमा
म सँग-सँगै रोएको थियो न्याउली पनि रानीवनमा
खुसी हुन्थ्यौँ हामी दुवै झुपडीमा भए पनि
दाँज्ने गर्छन् खुसीलाई हातका मैलाजस्ता धनमा।
आयो जन्ती तिमीलाई लिन बजाएर पञ्चे बाजा
सायद हाम्रो भेट हुने अन्तिम दिन होला आज
खै कसरी बाँच्ने होला तिमी बिना एक्लो म त
सकिनँ है थाम्न आँसु रोइदिए सबको माझ।
साथ तिम्रो मेरी मायाबीच बाटोमै छुटिगयो
खाएका ती कसमहरु एकै पलमा टुटिगयो
रमाएका थियौँ हामी छुट्टै आफ्नै दुनियाँमा
निष्ठुरी नै रैछ दैव सारा सपना लुटिगयो।
उठेको त्यो तिम्रो डोली सकिनँ है मैले हेर्न
सम्भव छैन यो मुटुमा लेखिएको नाम केर्न
तिम्रै नाममा चल्ने गर्थ्यो मेरो मनको ढुकढुकी
तिमी गयौ मैले पनि रोकिदिएँ सास फेर्न।