सानो थियो गाउँ, सानो थियो घर, मेरो सानै थियो संसार
बहिनी थिइन् प्यारी, आमा र बाबा, सानै थिए रहर
भलिबलमा अब्बल, गाउँको तारा, सबैको मन-मन
सेलाए सपना नदीमा सारा, म पाइनँ चम्कन
म पाइनँ चम्कन।
अन्जान थिएँ, जानिनँ मैले सही र गलत
रित्तियो आमा संसार तिम्रो, आज के भयो यो हालत?
समाजसँग लड्दै थिएँ आमा, कमजोर म कहाँ थिएँ
सकिनँ जित्न यो चलनलाई मैले, तर कमजोर म कहाँ थिएँ?
तिमी त आमा सानो जातकी रहिछौ, तिमीले जन्माएको म पनि सानै रे
हामीले छोएको पानी नि नचल्ने, हामी त साह्रै नै साना रे
जात र पात जानिनँ मैले, उनैले जान्या हुन्
जन्म र मृत्यु, सृष्टि सबको एक, खोइ किन फरक मान्या हुन्?
यो जन्म मेरो, यहीसम्म रहेछ, चाल पाइनँ मैले
स्वतन्त्र रूपले यो जीवन जिउन किन पाइनँ मैले?
तड्पिएँ निकै, जोगिन खोजेँ तर म सकिनँ
क्रुर हातपाउ आइलागि रहे, रोकेर रोकिएन
अन्ततः मैले प्राण नै त्यागेँ सकिनँ सहन
आमा, कोसिस त गरेँ तर सकिनँ जीवित रहन
ए मेरा साथी, गुमायौ तिमीले आफ्ना कलिला ती ज्यान
सोचेको थिइनँ केही होला यस्तो, यो तिमीले मान
मित्रताका लागि त्याग्यौ प्राण, तिम्रो कदर रहिरहोस्
यो हाम्रो कथा अब युगौँ युगको लागि एक पाठ नै बनोस्
यो हाम्रो कथा अब युगौँ युगको लागि एक पाठ नै बनोस्।
म त सेलाएँ भेरीमा सदाका लागि, के अब भेरी नै अछुत भयो र?
म सानो मान्छेले छोएको यो जल, के अब नचल्ने भयो र?
प्रेम त निकै पवित्र भन्थे, यसलाई नि जातले छोएछ
मानव निर्मित यो समाज पनि किन यति अन्धो भएछ?
म त सोच्दथेँ, हामी सबै मानिस हौँ एक
तर यहाँ त रहेछन् जात अनेक
तर यहाँ त रहेछन् जात अनेक।
पाइनँ मैले न्याय यो जीवनमा
रहे मेरा त सपना अधुरा
तर नदोहोरिउन् मेराजस्ता कथा फेरि
नरहून् अरू कोही नवराजका सपना अधुरा
म त भएँ बिदा त्यागी प्राण, त्यागी यो धर्तीलोक
पाउनेछु न्याय सायद अब गएर परलोक
सन्तान थियो उनको पेटमा, धर्ती टेक्नै नपाइ भयो टुहुरो
सा-साना सपना केलाउँदा-केलाउँदै आज मेरो जहान नै टुक्रियो
रहेछु म त सानो जातको मान्छे, गल्ती पो गरेछु
जातपात नमान्ने एक शिक्षित युवा भएको, आज यस्तो सजाय पो भोगेछु।