अचेल म नदीलाई
पहाडभन्दा अग्लो देख्न थालेको छु
पहाडलाई नदीभन्दा
लामो देख्न थालेको छु
किताबका अक्षरहरूमा
घमण्डको कालो लेप देख्दैछु।
मैले मान्छेहरूसँग बोल्न छोडिसकेको छु
म रुखहरूसँग बोल्दछु
मैले बाटोलाई साथी बनाएको छु
विष्णुलोकमा घर बनाएको छु
यदि मेरो साथी बन्न चाहनुहुन्छ भने
आउनुस् घमण्डको प्रमाणपत्र जलाएर
क्रोधको पहाड भत्काएर
कपटको ताल फुटाएर
आउनुस् शून्यमा नाङ्गो भएर
बदलामा म तपाईंलाई मर्न सिकाउँनेछु
आउनुस् नाङ्गो भएर
म तपाईंलाई नाङ्गै बाच्न सिकाउँछु।
आउनुस् सिकेका सबै कुराहरू बिर्सेर
म तपाईंलाई रुखजस्तै उभिन सिकाउँछु
जस्तोसुकै खडेरीमा पनि पानीजस्तै बग्न सिकाउँछु
आगो भै जलाउनेछु र आगो बन्न सिकाउनेछु
तपाईंलाई सिकाउन त म
फूलजस्तै फुल्न सिकाउँछु
बिना पखेटा पनि
चराजस्तै उड्न सिकाउँछु
हिउँजस्तै पग्लन सिकाउँछु
बाघजस्तै गर्जन सिकाउँछु
माछाजस्तै महासागरमा पौडिन सिकाउँछु
सिकाउन त म तपाईंलाई सबै कुरा सिकाउँछु
बदलामा तपाईंले आजसम्म सिकेका
सबै-सबै कुराहरू बिर्सिनुपर्छ।
धुरुधुरु रुनुपर्छ चोकमा बसेर
उडेको कल्पना गर्नुपर्छ नदीमा डुबेर
भोजनको अनुभव गर्नुपर्छ
हप्तौँसम्म भोकै बसेर
चिसोको अनुभव गर्नुपर्छ
जेठमा सिरक ओढेर
गर्मीको अनुभव गर्नुपर्छ
हिउँमा नाङ्गै खेलेर
प्रेमको अनुभव गर्नुपर्छ
दुर्जनले गरेको गाली सम्झेर
या भर्खरै सम्बन्ध बिच्छेद गरेकी
श्रीमतीलाई सम्झेर।
अँध्यारो कोठामा बसेर
मज्जाले लेख्नुपर्छ कालो मसीले
सेतोपानामा रातो इतिहास
र आफ्नाहरूको विरुद्धमा रातो अक्षर
लेख्दा-लेख्दै बसेको भाँडा तिर्न नसकी
लखेटिनुपर्छ घरबेटीबाट
बस्नुपर्नेछ अस्पतालका ढोकाहरूमा
जो मर्दा पनि अनुभव गर्नुपर्छ
आफ्नै प्रिय मान्छे मरेको
या आफैं मरेको
खुब मेहनत गर्नुपर्छ भोकभोकै बसेर
बाड्नुपर्ने छ आफ्नो मेहनतको सबै फल
दुनियाँलाई खुला हृदयले
अरूले फल खाइदिए बापत्
दिनुपर्नेछ तपाईंले दुनियाँलाई
हार्दिक आभारको लामो पत्र
यति गर्न सक्नुभयो भने
बन्नुहुनेछ तपाईं पनि
लेखकजस्तै पागल।
यस्तै हुन् लेखकहरू
दुनियाँलाई आफूमा भेट्छन्
र आफूलाई हराउँछन् दुनियाँमा
नदीमा पानी बगेजस्तै बगाइरहन्छन्
आफ्नै आँखामा आँसुको नदी
यसैले साथी यी लेखकहरू पागल हुन्
भुलेर पनि यिनीहरूसँग सम्बन्ध नगाँस्नू।