तिमी थियौ
अनि म पनि
हामी बीचमा थियो
पसलेले भर्खर ल्याएको-
टेबल माथिको दुई कप तातो चिया
न कुनै संवाद थियो
न त कुनै देखा-देख
थियो त केवल एउटा अचम्मको मौनता
जहाँ तिमी थियौ
अनि म पनि थिएँ
न त हामी साथी हौँ
न त प्रेमी-प्रेमिका
हाम्रो सम्बन्धको कुनै नाम नै छैन
फेरि पनि अपरिचित होइन
पहिले खासै बोलचाल भएको पनि होइन
तर तिमी थियौ
जहाँ म पनि थिएँ
हामी बीचमा थियो
त्यो तातो चिया
जुन अहिले केही सेलाएको छ र घटेको पनि
तिमी मेरो अनुहारमा पटक्कै हेर्दैनौ
मेरो नजर पनि खासै तिमी तिर गइरहेको छैन
तिम्रो आँखाहरु घुमिरहेको पंखाजस्तै घुमिरहेको छ भित्ताहरुमा
मेरो नजर पनि त्यस्तै भनूम सायद
झुक्किएर म तिर ठोकिन्थ्यो तिम्रो आँखा अनि मुस्कुराउँथ्यो पनि
मेरो पनि त्यस्तै-त्यस्तै
अझै पनि केही संवाद छैन
फेरि पनि त्यही अचम्मको मौनता
जुन मौन छ तर झिझ्यारलाग्दो छैन
जहाँ तिमी थियौ
अनि म पनि थिएँ
हामी बीचमा थियो
त्यही टेबल माथिको दुई कप चिया
जुन अहिले रित्तिएको छ, खाली भएको छ।