वर्षभरि...
गर्मी, जाडो, शीत र झरी भोगेको
मेरो जीवनको रुखमा
खोइ किन, फूल फुल्ने वसन्तै आएन
नयाँ पात पलाउने वसन्तै आएन।
बर्खामा, पानीको वेग थाम्दा-थाम्दा थाकेको यो गोडा
आज शक्तिहीन भई लगलग काम्दै छ
खोइ किन, सपना बगाउने बाढीमात्र आयो जीवनमा
नयाँ उमंग ल्याउने वसन्त नै आएन
नयाँ फूल फुल्ने वसन्तै आएन
गर्मीमा, हात गोडा चलेर पसिनाले भिजेको यो जीउ
आज सडिएर गनाउन थाल्दै छ
खोइ किन, दुर्गन्ध ल्याउने प्रचण्ड गर्मीमात्र आयो जीवनमा
नयाँ सुगन्ध ल्याउने वसन्त नै आएन
नयाँ फूल फुल्ने वसन्त नै आएन
शीतमा कयौं पाइला हिँडेर चाउरी परेको ती पैताला
आज मनको पीडाले पट-पट फुट्न थाल्दै छ
खोइ किन, छाला फुटाउने शीत-लहरमात्र आयो जीवनमा
नयाँ छाला फेर्ने वसन्त नै आएन
नयाँ फूल फुल्ने वसन्तनै आएन
जाडोमा, कयौं रात लग-लग काम्दै चिसिएको यो शरीर
आज आगोको छेउमा जाँदा आगै चिसिँदै छ
खोइ किन, शरीर कक्र्याउने चिसोमात्र आयो जीवनमा
न्यानो ताप दिने वसन्त नै आएन
नयाँ फूल फुल्ने वसन्त नै आएन।