काठमाडौंको मुख्य सडक, चोक अनि गल्लीहरूसँग मेरो अनौठो नाता बसेको छ। ढाड कुप्रनेगरी भारी बोक्दै होस् या काँधमा नाम्लो भिरेर कामको खोजीमा भौतारिँदै हिँड्दा होस्, ती सबैको दूरी मैले पैदलै नापेको छु। जीवनको पछिल्लो चार वर्षमा काठमाडौंले मलाई चिन्यो अनि मैले काठमाडौं भोगेँ।
झिसमिसे उज्यालो नहुदै ब्युँझिएको गोङ्गबु बसपार्कमा मानिसहरूको चहलपहल सुरु भइसकेको छ। हातमा नाम्लो लिएर म त्यहीँ उभिरहेँ।
एकैछिनपछि पूर्वतिरको एउटा गाडी आएर रोकियो।
गाडीबाट ओर्लेर एकजनाले सोधे, 'छतबाट सामान उतार्नु हुन्छ दाइ?'
गाडीको छतमा उक्लिएँ। जूटका ठूला बोराहरूमा नाम्लो लगाएर एकपछि अर्को गर्दै गाडीबाट ओह्रालेर अलिपर सडक छेउसम्म पुर्याएँ। पूरै पाँच खेप बोकेपछि पच्चीस रुपैँया हातमा थमाइदियो। उज्यालो पनि हुन नपाई हात परेको ज्यालाले म फुरुङ्ग भएँ। सोचेँ- आज त धेरै कमाइ होला।
बिहानीको उज्यालो विस्तारै छरिँदै छ। सडक छेउका बत्तीहरू निभे। अग्ला घरहरू छिचोल्दै घाम सडकसम्म आइपुग्यो।
घाम उदाएपछि मलाई गाउँको औधी सम्झना हुन्छ। यतिबेला त घाम घरको धुरी नाघेर कोदोबारीभरि छरियो होला। दमको रोगी बा उठेर बाख्रा खोरबाट निकाले होलान्। आमा खोक्दै अगेनामा आगो फुक्दै होलिन्। सँगै हुदो हुँ त नाम्लो बोकेर आफै पारि वनसम्म गएर एकभारी घाँस ल्याइसकेको हुन्थेँ। गोठभरिका चौपायाहरुलाई बा एक्लैले के गरी हेर्दाहुन् अचेल? घाँस झार्न घर मुनिको बर्राको रुख चढ्दा बाको बुढो शरीर थर्रर काँप्दो होला। विचरा बा!
एकहुल मान्छेहरू ठेलमठेल गर्दै बसभित्र छिरे। भर्खरै बसपार्क आइपुगेको मोटरबाट अर्को हुल ओर्लिए। ओर्लने र उक्लनेहरूको चलायमान भिडमा म हातमा नाम्लो लिएर कर्मको पर्खाइमा उभिरहेँ।
सडकको पल्लो पेटीमा उभिएर एकजनाले मैतिर हात हल्लाउँदै ठूलो स्वरले बोलाए, 'मितज्यू!'
सास एक्कासी ढक्क फुलेर आयो। मेरो मितज्यू? तर हाँसिरहेको त्यस युवक मलाई अपरिचित लाग्यो। फेरि त्यसरी नै बेलाएपछि भने मेरो छेवैमा उभिएका अर्का युवक उफ्रिँदै बोलाउने तिर गयो।
मितज्यू शब्दले अचम्मसित मलाई झस्कायो। मन कुँडिएर आयो। धेरै वर्ष पो बितेछ क्यार मितज्यूसँग भेट नभएको!
'गाउँको माया नलाएर कहाँ हो र मितज्यू? दुई/चार वर्ष विदेशमा इलम नगरी पैसा कमाउन नसकिने भो त!' हातको हरियो पासपोर्ट पल्टाउँदै मितले भनेको सम्झन्छु।
त्यसको तीन दिनपछि उनी घर छाडेर ओरालो लागेको मैले चौताराको डिलबाट हेरिरहेँ। त्यसपछि उनले गाउँ बिर्से, गाउँले उनलाई भुल्यो।
हातमा किताब च्यापेर स्कुल जान लागेको मेरो छोरोलाई हेरेँ। काखकी छोरीलाई कचौराको दूधभात खान दिँदै गरेकी मेरी जहानतिर नजर डुलाएँ। उमेरले नेटो काटेको बा र आमाको झनै माया लागेर आयो। मनमनै सोचेँ, मलाई यहाँ नपुग्दो के छ र? म त गाउँ छाडेर मरिगए जाँदिनँ कतै।
ओहो! भारी निकै गह्रुंगो परेछ। थाप्लोको नाम्लोले घाँटी नै निचोरे झैँ भयो। एकछिन त गोडा नै थर्रर काप्यो। बल्लतल्ल हातपर्ने कामलाई नाइँ भन्ने कुरो पनि त भएन। शरीरको तातो पसिना बाफिएर काठमाडौंको हावामा मिसियो।
त्यसताका आफ्नै गाउँ विस्तारै बिरानो बन्दै जान थाल्यो। बाध्यता, कर, रहर अनि लहैलहैमा आफ्नै जन्मथलोलाई पछि छाड्दै परदेश हिँडेकाहरू फेरि गाउँ सम्झेर आएनन्। कुटो र कोदालो खेलाउँदै हुर्केका अन्य धेरैलाई गाउँभन्दा सहर नै सहज लाग्न थाल्यो, उतै लागे।
'गाउँ भनेर मात्र के गर्छस्, पैसा त विदेशमै हुने रहेछ। गोपी मलेसिया पुगेर पनि पैसा पठाउन थालिसक्यो। बरु उतै जा तँ पनि', गोपीका बाले मलाई सुझाएका थिए।
वर्षभरि खान पुग्ने धान झुल्ने खेत। बच्चाहरू पढ्ने घरपायकको स्कुल। परिवारसँगको मिठो साथ। गाउँ सामुन्ने हाँसिरहेका सेता हिमाल। मलाई त्यो स्वर्ग छाडेर अन्तकतै जाने रहर पटक्कै जागेन।
स्कुलको नयाँ जामा लगाइदिँदा छोरी खुसी हुँदै आँगनमा उफ्रेकी थिई।
'बहिनी पनि स्कुल जाने हो बा?', छोराले दंग हुँदै सोध्यो।
'होनि, ख्याल गरेस् है स्कुलमा बहिनीको।'
'हस्', बहिनीसँगै ऊ पनि खुसी हुँदै आँगनमा दौडियो।
मध्य दिनको काठमाडौंको गर्मी खपिनसक्नु हुने। नाम्लोको खस्रो पाताले निधार पासेछ, पसिना पर्दा पोल्यो। शीरको ढाकाटोपीले अनुहारको पसिना पुछेँ। गाउँको किसान हुँदा नाम्लोले नपासेको निधार सहरको भरिया हुँदा पास्यो। मलाई आजभोलि ज्यानले उचालेको भारीभन्दा मनले बोकेको पीडा गह्रुङ्गो लाग्छ।
एकदिन खेतको धान गोडेर घर फर्किँदा पिँडीभरि गाउँका मान्छेहरू जम्मा भएका थिए। सबैको अनुहार मलिनताले ढाकेको थियो। स्कुलका मास्टरहरू समेत आएका रहेछन्। पिँडीको खाँबो समातेर छोरो भक्कानिएर रुँदै थियो। केही अनर्थ पो भयो कि? मनमा चिसो पस्यो।
'बर्बाद भयो नि', हेडमास्टरले तिक्तताका साथ मलाई सुनाए, 'गाँउको स्कुल बन्द हुने भयो अब।'
बादल मडारिएको अँध्यारो आकाशमा टाढा कतै बिजुली चम्कियो। तर चट्याङ भने मेरै मनमा आएर खसे झैँ भयो। एक्कासी आँगनमा बजारिन पुगेँ।
'गाउँ पातलो हुँदै गयो। पढ्ने भुराहरू जति सहरतिर झरे। कसरी चलोस् त स्कुल पनि,' अर्कोले तर्क गर्दै थिए।
मलाई मेरो जरा, म जन्मेको गाउँको माटोमा बलियोसँग गडेको छ जस्तो लाग्थ्यो। तर त्यस दिन अचानक म जरैसम्म बिथोलिन पुगेँ। म जरैदेखि आशक्त भएँ जस्तो लाग्यो।
आफ्नो गाउँको स्कुल बन्द भएपछि छोराछोरीको पढाइ रोकिने भयो। अर्को स्कुल ७ गाउँपारि। बालखा छोराछोरीलाई एकाबिहानै टाढा पर्ने स्कुलमा कसरी पठाउनु?
एकदिन साँझ कराईको दूध उम्लदै गर्दा छेवैमा आमाले मझेत्रोले आँसु पुछिन्। हातमा हुक्काको नली समातेर टोलाएका बाले भने, 'नातिनातिनाको पढाइ नै रोकेर कसरी गाउँमै बस् भनम् तिमीहरूलाई! यिनीहरूका पढाइको लागि जान्छु भन्छस्, हामी रोक्दैनम्।'
'तपाईंहरू पनि हिँड्नुस् हामीसँगै।'
'हामी त जान्नम्। बूढेसकालमा गाउँ छाडे माटोले सराप्छ बाबै।'
हामीले गाउँ छाड्ने दिन झरी परेको थियो। पानीसँगै दर्किएको आमाको आँसुले बिछट्टै मन पोल्यो। बालाई छिट्टै फर्किन्छौँ भनेर दिएको वचन अझैँ अधुरै छ। लाग्छ, अरु सबैले गाउँ छाडे, हामीलाई भने गाउँले लखेट्यो।
दिनको अन्तिम खेप भारी बोकेर फर्किँदा झमक्क अँध्यारो भयो। काठमाडौंको कोलाहल विस्तारै शान्त हुँदैछ। अँध्यारो गल्ली छिचोल्दै हिँडेरै म डेरातर्फ लागेँ। मेरी जहान मलाई नै कुरेर बसेकी होली। छोराछोरी सुति पो सके कि? दिनभरी स्कुलमा के-के पढे होलान्?
घामभन्दा पहिला ब्युँझिएर सुरु हुने मेरो दैनिकी भोलि पनि उस्तै गतिमा चल्नेछ- भोलि फरक ठाउँमा, फरक भारी तर नाम्लोले पासेको निधार भने उही। गाउँको खेत बाँझो छाडेर यहाँ बेसाएर खानुपर्ने यो भाग्य कुनै दिन त पक्कै फेरिएला।