प्रिय, जब तिमी मेरो जीवनमा आयौ मैले सारा दुनियाँ भुलिदिएँ। मेरा यी हातहरुले तिमीलाई स्पर्श गर्दै यी दुई नयनले तिमी भित्रको त्यो सुन्दर संसार हेर्दै गर्दा म आफूले आफूलाई नै बिर्सिसकेँ। मेरो हरेक क्षण, हरेक पल तिमीलाई नै सुम्पिएको छु।
तिमीसँगै रमाउँदै यी नयनले तिमीलाई एकोहोरो हेर्दै गर्दा कयौं रात बितेर बिहानी भएको पनि कुनै गुन्जयास नै भएन। प्रिय, जब तिमीलाई मैले मेरो जीवनमा ल्याएँ तब मलाई सारा संसार नै तिमी लाग्न थाल्यो। तिमीबाट एक पल पनि टाढा हुँदा म खटपटी मेरो धैर्यताको बाँध फुट्न थाल्यो, मन मस्तिष्क र दिमागमा तिम्रै याद आएर म छट्पटिन थालेँ। म पानी बिनाको माछाजस्तो हुन थालेँ प्रिय।
खाना खाँदा होस् या बाथरुम जाँदा, बाटोमा हिँड्दा होस् या पसलमा समान किन्दा, म तिमीसँग छुट्टिन चाहिनँ। सधैँ तिम्रो सामीप्यमा तिमीसँगै रमाइ यो दुनियाँ भुल्न चाहेँ। तिमीमा धेरै तागत रहेछ प्रिय, तिमीले आज मलाई मात्र होइन सारा दुनियाँलाई आफ्नो बसमा पारेकी छौ।
सुरुमा त तिमी सामान्य रुपमा आएकी थियौ प्रिय, मजस्ता करोडौं युवा आकर्षित नै भएनन्। केही सीमित मानिसको पन्जाभित्र फस्यौ। जब तिम्रो उमेर बढ्दै गयो, अनि त तिमीमा निकै परिवर्तन भयो। आज तिमी यस्ती भई आयौ कि तिमीबाट संसारकै मै हुँ भन्ने व्यक्ति पनि टाढा हुन सक्दैनन्। चाहे डाक्टर, ईन्जिनियर, राजनीतिज्ञ, वैज्ञानिक होस् या दिनभरि काम गरी बिहान-बेलुका के खाने भन्ने चिन्तामा रहेको मजदुर नै किन नहोस्, तिम्रो साथ बिना आफूलाई अधुरै ठान्दछ्न्। गरिबदेखि धनी, बालकदेखि वृद्धसम्म सबैको मन मस्तिष्कमा अटाउने गरी आयौ तिमी।
प्रिय तिमी फूल थियौ, तिमीमा जोडिएको ईन्टरनेट सुगन्ध त्यही फूलको सुगन्धमा आज मजस्ता भमरा आफूलाई तिमीभित्रै समाहित गरेका छौँ, तिमी भित्रै हामी हराइरहेका छौँ। तिमी भित्रका ती सुन्दर अङ्गहरु फेसबुक, टिकटक, युट्युब जस्ता विभिन्न सामाजिक संजालको सुन्दरतामा हामी नतमस्तक भई एकोहोरो डुबिरहेका छौँ।
यी नयनहरुले तिम्रो दर्शन गरिरहँदा समय गएको पत्तै हुन छाडिसके छ। प्रिय, तिम्रो त्यो सुन्दरताको सागरमा डुबेर आज विद्यार्थीले आफ्नो पढ्ने काम भुले, गृहस्थीले घरको काम त बेरोजगारीले समयको दाम। तिम्रो स्पर्शमा आज दुनियाँले आफ्नो काम नै भुलिसक्यो। आज मजस्ता युवा तिमीभित्र रहेका सामजिक संजालमा रमाइ आफूले आफूलाई नै गुमाइसक्यौँ।
अध्ययन गर्न छाड्यौँ। २/४ लाइनका स्टाटस राखी आफूले आफूलाई महान् विद्धान ठान्ना थाल्यौँ। नयाँ कुरा खोज अनुसन्धान, धैर्यता सबै गुमाइसक्यौँ, प्रिय तिम्रो संगतमा लागेपछि। फेसबुक, टिकटकतिर २/४ सय लाइक आउन थाले भने हामी आफूले आफूलाई भाइरल ठानी सेलिब्रेटी नै सोच्न थाल्यौँ। तिम्रो संगत अनि स्पर्शमा हामीले आफ्नो पहिचान गुमाइसक्यौँ प्रिय।
तिमीलाई संसार भुलायौ भन्ने आरोप लगाइरहँदा तिमीलाई धेरै अन्याय गरेजस्तो पनि लाग्छ प्रिय। तिम्रो अपार महत्त्वको अपमान पनि हुन्छ, तिम्रो धेरै महत्त्व छ। त्यो त तिम्रो दोष थिएन, तिमीलाई चलाउनेको होस थियो प्रिय। तिमीमा ३३ वटा नै गुण छ, तिमीमा संसार छ, संसार पढ्न आज कुनै पुस्तकको ठेलीको आवश्यकता पर्दैन प्रिय, केबल तिम्रो साथ भए पुग्छ।
तिमीभित्रै छन् रेडियो, टिभी अनि छ लाइट। तिमीबाटै गर्न सकिन्छ मार्केटमा प्रतिस्पर्धीसँग फाइट। तिम्रै कारणले आज दुनियाँमा कति अरबपति भए, विवेक नपुर्याइ चलाउनेहरु सडक तिर गए। तिम्रै सहयोगले मार्क जुकरबर्ग, जेफ बेसोजजस्ता कयौं मानिस अरबपति पनि भएकै हुन्।
हिजोको दिनमा सूचना आदानप्रदान गर्न कयौं दिन लाग्ने अवस्था थियो, तिम्रो आगमनसँगै सेकेन्डमा परिवर्तन भयो। तिमीलाई विवेक पुर्याइ चलाइयो भने संसार तिमीमा छ तर विवेक पुर्याउन सकिएन भने श्मशान पनि तिमीमै छ। जय होस् प्रिय मोबाइल तिम्रो, जय होस्।