तोरी बारीका फाँटहरू बीचमा बाँस र टिनका पाताहरूले घेरेको सानो टहरो थियो। टहरोको छेउमा पुरानो बकैनाको रूख झ्याम्म पात फिँजाएर उभेको थियो। त्यहीँबाट सूर्यको किरण बकैनाको रूख छिचोलेर चम्किने गर्छ। आँखाले देखुन्जेलसम्म देख्न सकिने तराईका फाँटहरू खुल्ला रुपमा फैलिको छ।
बिहान हुँदै थियो। हरेक बिहान चराहरूका मधुरो आवाज बगैंचामा गुन्जिन्थ्यो अनि साँझमा पनि त्यसैगरी। हर्क र तिनको सानो परिवार यही टहरोमा बस्दै आएको थियो। तीन वर्ष, पाँच महिना यही टहरोमा बिताइसकेका थिए तिनीहरूले।
शनिबारको बिहान हुँदासम्म हर्कलाई आँखामा निन्द्रा परेको थिएन। बिहान तीन बजेबाट उनको आँखा खुलिसकेको थियो। जीउ कटकट खाइरहेको थियो। मनमा अनेकन् कुरा खेल्दै थियो। शनिबार एकदिन मासु पाक्थ्यो टहरोमा। तर त्यो दिन तिनको भान्छा रित्तो थियो। मासु पाक्ने कराईं नपखाली, सानो रिकापीले बाँकी रहेको तेललाई छोपिराखेको थियो। एक हप्ता अघिदेखि जोह गर्न राखिएको थियो। हर्कको मन बेचेन थियो। छटपट चलिरहेको थियो।
हिजो अबेरसम्म साहुको ज्यलामा गएको थियो। उधारोमा लगेको रासनको पैसा तिर्न ढिलो भएर, यो हप्ताको लागि रासन नपाउने पक्का थियो। त्यही भएर साहुबाट केही राहत पाउने आश गरेको थियो उसले। किराना पसले श्यामकुमारले उधारो कहिले तिर्ने भनि दिनदीनै धम्की दिन कामदारलाई पठाउन थालेको पाँच दिन भइसकेको थियो। त्यही भएर साहुले ज्याला देलाकी भनेर अलिक बढी नै मेहनत गरेको थियो। तर रित्तै हात फर्किनु पर्दा उसलाई निकै बेस्वाद लाग्यो।
साहुहरू निकै कठोर र लोभी हुन्छ भन्ने थाहा थियो। तर यतिसम्म स्वार्थ र करूणाविहीन हुन्छ भन्ने अनुमान लाउन सकेको थिएन। साहुले मर्का बुझ्न चाहेन, हर्कले आफ्नो खाँचो भएको साहुले भन्न सकेन। उनलाई साहुको भन्दा पनि आफ्नो बालबच्चाहरूलाई के जवाफ दिने कुराले मन पोल्यो। यही पिरले उसको आँखा रसाए। घाँटीमा थुक अड्के झैँ भयो।
छोरोमान्छे भएर पनि आफ्नो यस्तो हविगत हुन परेकोमा उदास थियो। निरास थियो। गरिब हुनमा भन्दा पनि तिनलाई सामाजिक र मानसिक संस्कारको चक्रले तिनलाई फुटाएको थियो। गरिब जिन्दगीको भार तिनलाई निकै बोझिलो लाग्यो। कहिलेकाहीँ आफैलाई बेक्कारमा जन्मिएछु भनेर धिक्कार्यो।
घामको किरणले न्यानो फिंजाइसकेको थियो। टहरोको टिनको पाताहरू घामले तातेर टिकटिक कराउन लागेको थियो। हर्क आफ्नो खाट छेउ भुइँमा बसी सोचिरहेको थियो। समस्या समाधानका उपायहरू केही थिएन। बेलाबेलाम सुक्क-सुक्क आवाज आउँथ्यो। जब छेउमा रहेका अवोध नानीहरूलाई हेर्थ्यो तब मनभित्र झन् बेजोड हावाहुरी चल्थ्यो।
शान्त मस्तसँग निदाइरहेका छोराछोरीलाई हेरेपछि सहनै नसकेर छेउको सिरानीले मुख थुनेर रुन्थ्यो। उसको आँखामा आँसुका भेल सुक्खा गालाहरूबाट बगिरहेका थिए। ती वर्षा याममा बग्ने नदीहरूजस्तै। त्यसै दिन हर्क र तिनका छोराछोरीले बाँकी रहेको थोरै चामल र दालको खिचडी बनाएर सबैले चुपचाप खाए। कोठामा केवल सन्नाटा मात्रै छाएको थियो।
हर्क सिधा र इमान्दार मान्छे थियो। गरिब परिवारमा जन्मेकोले स्कुलको मुहार कहिले देख्न पाएन। त्यसैले पनि उसलाई कालो अक्षर भैंसीजस्तै लाग्छ। उमेर र बल छँदा थोरे पैसा जम्मा नगरेको पनि होइन। तर पनि एक सुक्को जोगिएन। जति कमाए त्यती नै खर्च भएपछि कस्को के लाग्थ्यो र!
लप्पनछप्पन गर्न नजान्ने ऊ श्रीमतीले 'धन कमाउन सकेनस्' भनेर निहुँ खोज्न थालेको बिहे गरेको नौ महिनाबाटै थियो। उसलाई सधैँ पछि ठिक हुन्छ भन्ने लाग्थ्यो। ऊ आशावादी थियो। श्रीमतीलाई खुसी पार्न अनेक कोसिस पनि गर्यो। तर असफल भयो। सोचे जति गर्न नसकेकोले,
श्रीमतीले 'खुसी दिन सकेन, माइतीले पठाएको सम्पत्तिले मात्र घर चल्छ?' भन्नेजस्ता अनेक लान्छना लाग्दा पनि हर्क मौन हुन्थ्यो। रातदिनको किचलो र परिवारिक अशान्तिमा पनि हर्क धैर्य नै राख्थ्यो। उसलाई सधैँ लाग्थ्यो कि एकदिन सबै आफै ठिक हुन्छ। भाग्य र कर्मले पनि छल गरे झैँ लाग्यो उसलाई।
ऊ सहनशील थियो। निशब्दमा मुस्कुराउन जान्ने मान्छे थियो। खुसी हुने उपाय खोज्दाखोज्दै हर्क दुःखको समुन्द्रमा विस्तारै डुब्दै थियो। आफ्नो खुसी खोज्न भनेर हर्क र घर-परिवारलाई छोडी श्रीमती हिँडी। तीन छोराछोरीहरू टुहुरा भए अनि हर्क एक्लो। जिन्दगीले उसलाई माझीले माछा बजारेजस्तै गरी बज्रन पुग्यो। सोच्नै नसक्ने भयो। दिमागले काम गर्न छाड्यो। खालि एक्लै बस्न मनलाग्ने। उराठलाग्दो पलहरूले संसार नै अन्धकार पारिदिए।
ऊ भन्दै थियो, 'सबै रित्तिएँ। माया दिएर पनि यत्ति धेरै चोट सहनु पर्ने अवस्थाको सृजना भयो। नभएको कुरा मैले कहाँबाट ल्याएर दिनु?' ऊ भक्कानो छुट्नेगरी रोयो। 'चट्टै छोडी जाउँ पनि कहाँ जाउँ, साना बाबुनानीहरू छन्। बसौं भने पनि काहली लाग्दो यो जीवन भयो' आफैलाई धिक्कार्दै थियो।
हर्कका जिन्दगीका उर्जाशील समयहरू निर्णय विहीन भएर बिते। दुःखका तप्काहरू एकमाथि अर्को थपिँदै गए। नितान्त एक्लो भयो। मानौं कि ती फाँटहरूबीच उभिएको एक्लो रुखजस्तै भयो।
महिनाको अन्तिम दिन सकिँदै थियो। बाबुनानीहरूलाई, बहिनी-ज्वाइँलाई जिम्मा लगाएर सहरतिर काम खोज्न जाने सोच्यो। बालक छँदा मामा-बाजेले भनेको याद आयो। 'सोझा र इमान्दारहरूले अझै धेरै कष्ट भोग्नुपर्छ यो देशमा। हामी गाउँलेलाई त यी बाठा साहु महाजनहरूले झुक्काइहाल्छ। कति बेइमान हुन्छन् यिनीहरू।'
हर्क झस्क्यो। बालक मस्तिष्कले त्यो बेला सुनेका कुराहरू बुझ्न सकेको थिएन। अहिले आएर आफैलाई पर्दा फिलिम हेरेजस्तै छर्लङ्गै भएको थियो। देशमा सोझो भएर मात्रै बाँच्न नहुने रहेछ भन्ने लाग्यो। तर हर्कको मन नै यस्तो थियो। त्यो मन केही गरी पनि मान्दै मान्दैन बदमास गर्नलाई। ऊ आफ्नो सत्यता र इमानदारीतामा अडिग थियो। तर परिथितिलाई हेर्दा केही नगरी भएको थिएन।
देशमा इमान्दारीताले सम्पन्न हुनेहरू हातमा गन्न सकिनेहरू मात्र छन् भन्ने पनि सुनेको थियो। सहरमा ठूल्-ठूला महल र चिल्ला गाडीहरू चड्नेहरू पनि बेग्लै हुन्छन् भन्ने सुनेको थियो। अर्को मनले सोच्दै थियो 'गाउँकै साहु त यस्तो निरीह छ भने झन् सहरकाहरु त…।'
सकि-नसकी साहुको काम सकेर हातमा परेको रकमले महिना दिन टार्न कठिन थियो। आउने शनिबार बाबुनानीहरूको मासु खाने इच्छा पनि अपुरो हुनेभयो। हात परेको पैसाले उधारो तिरेन भने घरमा खाना हुँदैन। यो पक्का कुरा थियो। हर्कले साहुको कामबाट पाएको ज्यालाबाट पाँच सय रूपैयाँ छुट्याएर बग्लै राख्यो। बचेको पैसा गन्दा १७ सय २५ मात्र रह्यो।
बाँकी रहेको पैसा रासनको उधारो तिर्दा पनि अर्को महिनालाई फेरि उधारोले नै चलाउनु पर्ने अवस्था उसले देखेयो। ऊ पैसालाई घोरिएर हेर्दै थियो। जति मेहनत गरे पनि अभाव जस्ताको त्यस्तै थियो। 'यो अभावमा नै मेरो जिन्दगी सकिने हो त?' उसले गहिरो सास फेरेर आफैलाई सोध्यो। उसले फेरेको सासमा कुनै अर्को विकल्पका संकेतहरू थिएन।
चाहना राख्नु र इच्छा गरेको कुरा त सपनाजस्तो मात्र भयो हर्कलाई। अभावै अभाव। अनि ती अभावहरूबीच जीवन जिउन सक्नु संघर्षमात्रै थिएन। त्यो एक किसिमको कला थियो। तर दुर्भाग्यपूर्ण थियो। 'भाग्यले हामीजस्तो सोझालाई नै ठग्दो रहेछ। ईश्वरले पनि गरिबलाई नै हेप्दो रहेछ। हे भाग्य, हे मेरो कर्म, किन यो दुनियाँ यस्तो भएको छ मेरो लागि? किन यो असह्य पीडा छ?' ऊ चिच्यायो।
हर्कसँग अझै झिनो आशा बाँकी थियो। सहर गएर ज्यालामा भारी बोक्ने निर्णयमा पुग्यो। 'सके गरूँला, नसके हेरूँला। सायद भगवान मरिसकेको छैन होला' भन्ने लाग्यो। भोलि बिहान आफ्नो छोराछोरीहरूलाई सम्झाइ-बुझाई बहिनी-ज्वाइँलाई केही समयका लागि छोडेर हर्क हिँड्यो।
देशको मर्म, हर्कको कर्म। ऊ नयाँ कर्म गर्न हिँड्यो। आफ्नो स-सानो छोराछोरीलाई जिम्मा लगाएर मानिसहरूको भिडहरूमा हर्क आफ्नो र परिवारको भविष्य खोज्न सहर गयो।