विशाल शान्त विश्व नै अशान्त भो नि लौ अहो!
मनुष्य मार्ग कष्ट भो अघोर भासमा डुब्यो
नयाँ-नयाँ प्रजातिले युवा र वृद्ध ढाल्दियो
स्वयं विकास मार्गमा विशाक्त अस्त्र फाल्दियो।
अनेक कष्ट रोग छन् कसोगरी बढौँ कति
परास्त छन् सधैँ-सधैँ नवीन शूक्ष्म ओखती
अवीर, वीर ज्ञानका उपायहीन रहे कतै
धनी विपन्न ती एकै धरापमा परे सबै।
निसास्सियो नि जिन्दगी अदृश्य द्वारका भर
निराश भावमा डुबी अगाडि बढ्न तत्पर
जताजतै छ त्रासमा खुलेर हिँड्नु खै कहाँ
बसेर आशमा डुबी रहन्न शक्ति आँतमा।
अवश्य खुल्छ दैनिकी उठौँ छिटो सुकार्यमा
सचेत चेत वर्गले खटेर बाँच राज्यमा
अनेक रोग मुक्तिका हिमाल खोँचका बुटी
पिई बचौँ सबैजना हसाउँदै सदा कुटी।
रचेर सभ्यता जुटी प्रभातको बगानमा
फुटेर हुन्न खासमा जुटेर लाग साथमा
लिएर आत्मशक्तिले परास्त पार है अब
सदैव जाग जाग हे सुमार्ग खोल्न मानव।