झरेको पात झैँ भयो उजाड मेरो जिन्दगी
निभेको दीप झैँ भयो उदास मेरो जिन्दगी
नेपथ्यमा नारायण गोपालको गीत बजिरहेको के थियो मेरो मोबाइलको ब्याट्री शटडाउन भयो। यसो घडी हेरेको के थिएँ घडीका तीन सुई एकै ठाउँमा बसेर लाग्यो यो गीत सुनिरहेछन् सायद। आकाशमा टहटह लागेको चन्द्रमासँगै चिसो छ मोसम अहिले, त्यसैले बाहिर हेर्दा जंगलका पातहरु अस्तित्व समाप्तीको उत्तरार्धमा हावाको पर्खाइमा छन्।
गीत अनि समरुप प्रकृतिको रीतको तालले यतिबला मेरा स्मृतिहरूलाई पच्छ्याइरहेछन्। खुला छ मेरो अनुभूतिको नकाव। फूल फुलेको ठाउँमा भमरा डुलेझैं मेरो उमेरको फूलले तिनीहरूका नयन डुल्ने बाटो बनाइदिइएको थियो।
म भर्खर त्रिविबाट स्नातकोत्तर सकेर विद्यावारिधीका लागि रिसर्च एसिस्टेन्ट फन्डिङमा स्पेनको युनिभर्सिटी अफ भालेन्सियमा आएको। गुलाबी उमेरमा वृक्षारोपण गर्न आएका आफन्तका तथा परिवारजनको प्रस्तावहरूबाट म बाहिर निस्कन सकिनँ, कहाँ सक्थेँ! सोचेँ अनि रोजेँ वैवाहिक सम्बन्धको बाटो।
विवाह भयो स्मृतिसँग। वर्षहरू बित्दै गए। सँगै बढेका संसारिक अनुभूतिका इनारहरु बढ्दै गए। अनि फर्किएँ म स्पेन पढाइको लागि। पारिवारिक उक्साहटमा बढेको उसको चन्द्रमुखी, सूर्यमूखी अनि ज्वालामुखी स्वभावको शिकार भएँ। फलस्वरूप बढेका माइतदेखि घरसम्मका दूरीहरुले रचेका मुनामदन समाजमा व्याप्त भए।
एनएमआरबाट निस्कने स्पेक्ट्राहरुका सम्बन्धहरुबाट गरिएका नोबेल कम्पाउन्डहरुका स्ट्रकचर डिजाइनमा नहारेको म जीवनका सम्बन्धहरूका स्पेक्ट्रा बढी खतरनाक लाग्न थालिरहेछ।
एकदिन ल्याबमा बस्दा-बस्दै एउटा इमेल आयो जसमा यस्तो लेखिएको थियोः
प्रिय अनुज,
म मेरो माइतीसँग बस्न चाहन्थेँ किनभने म बुवाआमाकी एक्ली सन्तान थिएँ। मेरो पूर्वको जन्म, पश्चिमको संस्कार, उत्तरको भाव अनि दक्षिणको व्यवहार (डेमोक्रेटिक) अनि नकाब । मेरो गुड फ्राइडे, बर्थडे, डान्स बार अनि नाइट क्लब अपरिहार्य थिए भने तिम्रो समाजमा आक्कल-झुक्कल वर्षमा एक/दुई पटक गाइने भजनले म सन्तुष्ट हुन सकिनँ। अनि सोचेँ, म कसरी न्युट्रल पोइन्ट पत्ता लगाई एयरपोर्ट बनाउँ जहाँ तिम्रो समाज अवतरण गर्न सकोस्। त्यसैले तीन वर्षको बच्चालाई भावनाको सट्टा अक्षरको बाटो रोजेकी हुँ, अर्थात् डिभोर्स।
म एक्कासी झस्किएँ।
यसो घडी हेरेको के थिएँ साढे एक भएछ। अर्थात्, मेरो जीवनकारिताको चरम उत्कर्षको समय। पानीको बोतल खोलेँ अनि शरीर सँगैको स्मृतिको बाकस पनि चिस्याएँ अनि अक्षरमा पोख्न थाले भावनाका छालहरू।
प्रिय स्मृती,
तिमीलाई थाहा छ? हामीहरुले एकअर्काका लागि पोतेका रंगहरूले ओगटेको ठाउँ अनि भरिएका पृष्ठहरु, तिनीहरुको प्राकृतिक मूल्य र भावनात्मक मूल्यको तुलना सांसारिक विषयसँग होला र खै?
हर्मोनल डिसअर्डर थियो तिमीलाई र डाक्टरले मारेको आशको विरुद्धमा प्राणको सास जन्माउन हामीलाई लागेका थेरापीका चार वर्ष अनि मेरा जीवित आशाहरूबाट जन्मेको विवेक। यसो अहिले आएर मेरा अश्रु नहरहरु लामा दारीले झाडी झैं छोपिरहेछन्। तर विडम्बना! त्यसमा न त लुक्नलाई तिमी छौँ न त विवेक नै।
याद राख, यदि समयमै अश्रु नालीहरुलाई म्यानेज नगरेमा यसले जीवनका भावनाका गल्लीहरुमा तैरिने नाउमा सवार अस्तित्व पूजकलाई बगाउने छ जसको मूल्य साह्रै महङ्गो पर्नेछ।
अहिले मलाई तिम्रो खाँचो छैन किनकि मलाई पनि अब तिमीले सम्बन्धलाई मनिटाइज गरे झैं मेरा अनुभूतिलाई मनिटाइज गर्नु छैन। तिमीले बुझेको शब्द-शब्दको, अक्षर-अक्षरको अनि वाक्य-वाक्यको डिभोर्स र मैले बुझेको सम्बन्धको डिभोर्स धेरै फरक रहेछ। झन्डै एक दशक अगाडि तिमीले मसँग एडजस्ट गर्न गाह्रो भो भन्दा मैले सोधेथेँ, 'के गाह्रो भो?' भनि तर तिमीले उत्तर किस्तामा दिएकाले अहिले आएर बुझ्दैछु 'शब्द समाजमा हुर्केकी तिमीलाई सम्बन्धको समाजमा गाह्रो भएको रहेछ।'
शरीरको कार्बन फुटप्रिन्ट भेटिएला तर विवेकलाई सम्बन्धको फुटप्रिन्टको यर्थातता बुझ्न सजिलो होस भन्ने हेतुले गरिएको यो प्रयास स्वीकार्नू।
विवेक कता रहन्छ, त्यो अलग कुरा होला तर स्टेराइलदेखि फर्टाइलको प्रसवताको रहस्य एकदिन विवेकले बुझ्ला। महारानी, जन्मदर्ताको कागजमा भएको बुवाको नामप्रति नेगेटिभ स्कुलिङ नगरिसियो है। आज यो मेरो अनुभूतिको चिहानमा तिम्रो शब्द समाजलाई मेरो सम्बन्ध समाजको आगोले डाढाउँदै छु, यो शरदको भष्मलाई पोको पारेर राख्नू।
एकपटक सरसर्ती पढेँ। त्यसपछि मैले आफैसँग सोधेँ, के तेरा शब्दहरु झुटा त हैनन्? तँ कतै आफूसँग ढाटेको त छैनस्? अन्तरहृदयबाट आवाज आयो 'छैन'।
त्यसपछि इमेलको रिप्लाई पठाएँ र गएँ समुन्द्र छेउमा। त्यहाँ देखेँ छालले बगाएका समुन्द्री किनारका बालुकाका महलहरु। एक्कासी यो देखेपछि मेरो मनमा भावको अवतार जन्मियो।
विवाहपछि चतुर्थीमा तिमी र म पासा खेल्दा मैले जितेथेँ तर समाजले हराइदिँदा पनि म खुसी नै भएथेँ अनि स्वीकारेको थिएँ हारलाई पनि।
त्यतिबेलादेखि नै नहारेको हार स्वीकार्नुलाई सामान्य रूपमा लिने मलाई तिम्रो यत्रो बोल्ड डिसिजनको पहाड मेरोसामु तिलको मरिचको दाना जत्रो लागि रहेछ। तर यसको अधिक पिरोपनाका कारण लागेको बाडुल्कीहरु स्वीकारिरहेछु।
अनि फर्किएँ रुममा। केही दिनपछि नेपालका लागि फ्लाइटको टिकट काटेँ र फर्किए दुई लगेज (एउटा किताबको अनि अर्को भावनाको लगेज) भिरेर।
अदालती प्रकृयापछि मैले डिर्भोस पेपरसँगै यो चिठीमा पनि उसको हस्ताक्षर गराएँ ताकि पछाडि सत्यताको खोजी यात्रामा प्रमाण बनोस् भनेर। थन्क्याएँ मेरो दराजको लकरमा।
सुनियो कि विवेक र स्मृतिका उमेरसँगै शैलीहरू फेरिए। के तिमीलाई थाहा छ? म बुवा बनेको पौने बाह्र वर्ष भएछ। तिमी पैसामा सफलता खोज्ने भने म स्वाभीमान (घरज्वाइँ नबस्ने निश्चितता)। सायद त्यसैले हाम्रो कुरा नमिलेर यो डिभोर्सको बाटो रोजेको। आजकल रात काट्न म समयका पाङ्ग्राहरुमा भावनाका नटहरूले मेरा जीवनका खण्डहरहरुसँग जोडिरहेछु।
लागि रहेछ कि तिमी प्रविधिमा विज्ञ भए पनि अवधिमा भने अनविज्ञ रहेछौ। बन्दुकको नालको गोली आफैंतिर फर्केला तर त्यो दश वर्षे छोरा विवेकको बुवाप्रति कहिल्यै स्नेह आउला र खोई? आफैसँग प्रश्नले खेदिरहेछ समयले झैं।
थकान साह्रै लागेछ ल्याबको अठार घण्टाको कामले। 'एयरप्लेन आउँछ एक्कासी आगो बालेर अनि खन्याउँछ पट्रोल ती लासहरूमा। एक सिपाही प्यारासुट लिएर ओर्लिन्छ यस धरातलमा, अनि कमान्डरको आवाज आउन नपाउँदै फायरिङ गर्छ मेरो कन्चटमा।
म झसंग परेको के थिएँ शरीर छाम्दा पसिनाले निथ्रुक्क भिजेको थियो। बोतल खोलेर पानीको चुस्कि लगाउँदै गर्दा बमको ठूलो आवाज गुन्जियो र सारा सहर ध्वस्त भयो। म पनि जबरजस्त बसाइ सराइयो चन्द्रमामा।
बधाई छ छोरा विवेक, आतंककारी बनेकोमा अनि सारा सपनाको चिहानको महल बनाइ राज गरेकोमा। तर एकपटक घर गएर मेरो दराजको लकरमा राखेको पत्र पढ्नू अनि हाम्रो डिभोर्सको नकाब उर्घानू। यसलाई तिम्रो बुवाको अस्तुसँगै गंगामा बगाउनू र रहस्यको शाब्दिक नाऊ बनाउनु जहाँ सारा दुनियाँ जीवनको रहस्यमयी यात्रामा तैरिन सकून। जसलाई हेर्न म तिम्रो जीवनको महाकुम्भ मेलामा आउनेछु।
छोरासँग यर्थाथता बुझ्ने क्षमता होला या नहोला, त्यो त समयले बताउँला तर के मानव सभ्यताको दिव्यतासँगको सम्बन्धका खण्डहरहरु हरेकले बुझ्न जरुरी छैन र महोदय?