भर्खर नुहाएर बाथरूमबाट बाहिर निस्किएको छु। बिहानीपखको पारिलो घाम आँगनमा पोखिएको छ। म त्यही पारिलो घाम ताप्दै छु।
शरीर चिसो भएको छ। चिसिएको शरीरलाई न्यानो बनाउन आङमा टावल लपेटेको छु।
टाढा कतैबाट आएको बिहेमा बज्ने पन्चे बाजाको धुन मेरा कानमा ठोक्किएको छ।
यो मङ्सिर महिना पो सम्झिएँ ,अनि लगनको महिना।
धेरैका जोडी बाँधिने महिना यो,धेरै ब्वाईफ्रेन्ड एक्लिने महिना यो,अनि धेरै गर्लफ्रेन्ड एक्लिने महिना यो।यो मङ्सिरले कसैलाई रूवाउँछ त कसैलाई हसाउँछ।कसैलाई दु:खी बनाउँछ, त कसैलाई खुसी बनाउँछ।बिहे गर्नेहरू खुसी हुन्छन्।
गर्लफ्रेन्ड खोसिने ब्वाईफ्रेन्डहरू दुखी हुन्छन्। अनि ब्वाईफ्रेन्ड खोसिने गर्लफ्रेन्डहरू पनि दुखी हुन्छन्।
खुसी त तिनी हुन्छन् जो आफ्नै ब्वाईफ्रेन्ड अनि आफ्नै गर्लफ्रेन्डसँग बिहे गर्न पाएका हुन्छन्।
पन्चेबाजा गहकिलो तरिकाले बज्दै छ। बाजा कता बजेको छ ठम्याउन सक्दिनँ।
यस्तै बज्ने बाजाले त हो यो महिना बिहेको महिना भनेर सम्झाइदिने ।
म बस्ने घरनजिकै रहेको पार्टी प्यालेसमा चहलपहल बढ्दो छ।
सायद यहाँ आज बिहेको पार्टी हुँदै होला। कालिगढहरू हतारिएका जस्ता देखिन्छन्। काममै तल्लीन छन् उनीहरू।
म बाजाको धुन सुन्दै पारिलो घाम ताप्दै छु।
यसैबीच,कोठाभित्र चार्जमा रहेको मोबाइल बज्छ।
अलार्म बजेको हो या फोन आएको हो अड्कल काट्न सक्दिनँ र भित्र दौडिन्छु। आलोकको फोन रहेछ। उठाउँछुभन्दा बित्तिकै फोन कटी पो हाल्यो।
आलोक मेरो साथी,ऊ र मसँगै स्कुलदेखि कलेजसम्म पढेका हौं। ऊ र मबीच एकदम आत्मीय सम्बन्ध छ।
उसले कात्तिक कै महिना हो क्यारे हामी साथीहरूले अहिले यस्तो काम नगर भन्दा भन्दै केटी भगायो। गाउँभरि महामारी जसरी उसले केटी भगाएको हल्ला फैलियो।
उसले केटी भगाएको हल्ला उसका पूर्वप्रेमिकाको कानसम्म पनि पुगेछ क्यारे उनीहरूले मलाई समेत म्यासेज गर्न भ्याए।
आलोकको बिहे यही मङ्सिरमा त हैन? के उसले बिहेको निम्ता दिनलाई मलाई फोन गरेको त हैन?
मैले शंका गरें।
उसलाई फोन गर्नलाई मसँग ब्यालेन्स थिएन। मिस्कल गर्न मनले मानेन।
फेरि अर्को पटक,उसको फोनको प्रतीक्षा गर्न थालें। उसको फोनको प्रतीक्षामा बसें।
साँझमा,म गीत सुन्दै थिएँ। गीत बजिरहेको मोबाइल एक्कासि बन्द भयो। गीत बन्द भएको मोबइलको स्क्रिनमा हेरें आलोकको फोन रहेछ।
उठाएँ, 'हलो...भन' ।
'के छ बे तेरो खबर?'
'ठिकै छु अनि तेरो खबर केछ नि?'
हालखबर सोधिवरि केटो मेन मुद्दामा आयो।
'केटी त भगाइयो अब बिहे गरौं भनेको, केही सहयोग गर्छस कि?'
'कस्तो सहयोग?'
'पैसा के !'
'कति?'
'जति सक्छस? त्यति।'
'ल हुन्छ।'
'अनि सुन्त, बिहे १२ गते हो है। जसरी नि आउनू, बहानाबाजी चल्दैन नि!'
'हाहा समय मिल्यो भने आउँछु।'
'जसरी नि समय मिला है।' ऊ पिन्चे स्वरमा बोल्यो।
'साथी भनेको तँ त होस्। आइनस भने जान्या छु।'
ऊ मलाई घुर्क्याउँदै थियो। आइनस् भने जान्या छु भन्दै।
जान्या छु भनेको बिहेमा आइनस भने कुट्छु भनेको जस्तो लाग्यो।
फोनमा कुरा टुङ्गिए सँगै मैले,बैंक खाता चेक गरें। खातामा जम्मा ७ हजार रहेछ। खाता नै चेक नगरी पैसा दिन्छु भनिहालें।
मन अमिलो भयो।
२० हजारसम्म त सहयोग गर्न पाए हुने! उसलाई दु:ख पर्दा मैले सहयोग गरें पो उसले मलाई दु:ख पर्दा सहयोग गर्ला।
कताबाट खोजौं बाँकी पैसा। कसले सहयोग गर्ला! सहयोग गर्न सक्ने मान्छेहरू मेरा आँखा अगाडि आए।
२-३ जना साथीलाई फोन गरें। उनीहरूले पैसा नभएको जानकारी दिए।
अन्तिममा घर चाहिन्छ भनेझैं ,घरमा गरें। आमाले फोन उठाउनु भयो। हालखबर सोधिवरि। पैसाको कुरा गरें।
‘पैसा छ तर छिमेकी दिदीलाई देकी छु। माग्छु र तँलाई पठाउला’, आमाले भन्नुभयो।
‘भोलिसम्म है आमा’, मैले भनें।
‘हुन्छ उनीहरूले दिए भने’।
‘ल ल हुन्छ आमा’।
मन शान्त भयो।
१-२ दिनमा आमाले पैसा पठाइदिनु भयो। आफूसँग भएको पैसा र आमाले पठाइदिएको पैसा गरेर २० हजार पुर्याएँ अनि अलोकलाई फोन गरें ,‘मसँग यार जम्मा २० हजारमात्र भयो।’
जति भए नि सहयोग त हो नि यतिले त धेरै काम धान्छ यार।’ अलि मधुरो स्वरमा ऊ बोल्यो।
धेरै सहयोगको अपेक्षा गरेको पो थियो कि!
‘अनि तँ १० गते आइज है। यहाँ घरमा धेरै काम छ। कोही नि छैन। तँ आइस भने धेरै सहयोग हुन्छ यार।’
म आफ्नै धुनमा थिएँ।
उसले १० गते आइज है भन्दा झसङ्ग भएँ।
‘खै...आउँदा म तँलाई फोन गर्छु नि है ।’
‘ल ल’
‘छिटो आउने कोसिस गर।’
‘ल ल’ ।
फोन राख्यो।
म अन्तर्मुखी स्वभावको मान्छे छु। झट्टपट्ट यस्ता बिहे, पूजा, पार्टी ,रमाइलो जमघटमा जान मन नै लाग्दैन।
मान्छेहरूको भिडभाड मन पर्दैन। ठूलो आवाजमा बज्ने बाजाहरू त झन मेरा कानले सहदैनन्।
प्राय यस्ता कार्यक्रममा जाँदा कपडा हुँदाहुँदै पनि कपडा के लगाउनु के हुन्छ, कोट पाइन्ट लगाउन मनले मान्दैन।
सबै सबै मान्छे कोट,पाइन्ट, टाइमा सजिएका हुन्छन्। आफूलाई जिन्सपाइन्ट नै उम्दा लाग्छ। जिन्सपाइन्ट सबैले लगाएका हुँदैनन्।
बिहेको २ दिनअघि फेरि उसले फोन गर्यो।
‘सक्छस् भोलि आइज सक्दैनस पर्सि आइज है’। जसै मैले फोन उठाएँ, उसै उताबाट उसले भन्यो।
दोधारे भएको मनले भन्यो,‘साथीले यति धेरै पटक भनिसक्यो जानुपर्छ यार’।
म १२ गते बिहान बसमा चढेर उसको घर लागें। ऊ मलाई लिन चोकसम्म आइपुग्यो।
मोटो, छोटो कद भएको ऊ टाढैबाट मलाई देख्दा खिस्स हाँस्यो।
ऊ हाँसे पनि उसको अनुहारमा एक प्रकारको गम्भीर्यता छाएको थियो।
मैले उसलाई सोधें,‘किन यति धेरै गम्भीर छस्?’
‘खै यार, अहिले बिहे नगर्या भए नि हुने रैछ जस्तो लाग्दैछ’उसले झन् गम्भीर भाउ प्रकट गर्यो।
‘हो त हाम्ले भन्या मानिनस’, मैले भनें।
‘तेरो उमेर नि सानो हो। तँ मान्छे परिपक्व नै छैनस्’ गम्भीर्यता छाएको उसको अनुहारमा नियाल्दै भनें।
‘पैसा नि कता कता जुगाड गरिन् खै आमाले।
बल्ल बोध भयो कमाइ केही नहुँदा बिहे गर्नुको परिणाम।’
ऊ गुज्मुजिएको आवाजमा बोल्यो।
उसका कुरा सुनिरहें। केही भन्न नै सकिनँ। भन्न त म थियो। कहिलेकाहीँ साथीले भन्या नि मान्नुपर्छ। तर भनिनँ। मौन बसें। भन्नुपर्ने कुरा उसले केटी भगाउनु भन्दा अगाडि सबै भनिसकेको थिएँ।
उसको घर पुग्दा घरमा चहलपहल बढ्दो थियो।
कोही मान्छे रोटी पकाउँदै थिए। कोही केरा गाडेर गेट बनाउँदै थिए। कोही घर वरिपरि झिलिमिली देखिने पत्काहरू टाँस्दै थिए।
कोही आलोककी श्रीमतीका हातमा मेहेन्दी दल्दिँदै थिए।
आगन्तुक बस्नलाई कुर्सीहरू आँगनभरि छरपस्ट थिए। आँगनभरि कुर्सी भए पनि आगन्तुकहरू आँगनको डिलमा बसेका थिए।
मैले झोला आँगनको डिलमा नै बिसाएँ। म जाँदा उसका बा आमा खुसी भए। किनभने धेरै पटक आलोकसँग यस घरमा म आइसकेको थिएँ।
धेरै पटक यो घरमा बास बसिसकेको थिएँ। आलोक फोनमा नारिँदै थियो। उसले फोन राखेसँगै फोनमा नारिने काम बन्द गर्यो अनि मैले सोधें।
‘कोसँग नारिएको होस्?’
‘अबे हेर्न साली र सालोलाई आज आऊ भोलि बिहान आउँदा ढिलो हुन्छ भनेको भोलि आउँछु पो भन्छन् अनि रिस उठेको।’
‘नयाँ-नयाँ सालीसँग यसरी नारिन्छन् त ? यसरी रिसाउँछन् त?’ मैले फेरि ऊ भएतिर हेर्दै सोधें।
‘के गर्नु त यार रिसले साली नभन्ने रैछ।’ ऊ हाँसोमा रिस मिसाएर खिस्स हाँस्यो।
आलोक के काममा व्यस्त भयो।
मेरा दिमागभरि उसकी मैले नदेखेकी साली नाचिरही।
कस्ती होली, अग्लि? होची? मोटी ? दुब्ली ? कस्ती? अनेकन आकृति वरिपरि झुल्किरह्यो। नयाँ देखिएका केटीहरूमा आलोककी सालीको आकृति अडिएर बस्थ्यो। कतै यस्तै पो छे कि!
सालीको फोटो हेर्न पाए नि हुने!
एउटा मौका छोपें,आलोकको मोबाइल मागें।
कतै मोबाइलमा सालीको फोटो छ कि!
मोबाइलमा ३-४ वटा आलोक र उसकी श्रीमतीका फोटोबाहेक कसैका थिएनन्।
विरक्तिएर उसलाई मोबाइल फिर्ता दिएँ।
उसकी साली हेर्नलाई मैले भोलिपल्ट बिहान पर्खनु पर्ने भयो।
रातभरि निन्द्रा नपर्लाजस्तो भयो। बिहानपख झ्याप्प निदाएछु।
घरमा हल्लाखल्ला मच्चियो। आलोककी साली बजारसम्म आइसकी रे , एक जना लिन जान पर्यो। ‘को जान्छ त हौ।’ कोही करायो।
फ्यात्त ओडेको ब्ल्याङ्केट फालें। अनि खाटबाट उठें।
कतै मलाई पो लिन पठाइहाल्छन् कि? भन्दै बाहिर निस्किएँ।
बाहिर मान्छेको भिडभाड थियो।
आलोक घरमा थिएन। सायद साली लिन गयो कि?
मैले आलोकबारे उसकी आमालाई सोधें।
‘आलोक भर्खरै साली र सालो लिन गयो बाबु’ उनले भनिन्।
फेरि पनि उसकै सालीको अपरिचित आकृति वरिपरि घुमिरह्यो।
बिहानीको घाम आँगनमा झुल्किँदामात्र आलोक आयो। सँगै एउटा सानो केटो निस्कियो। अटोबाट अनि त्यसपछि, अग्लो हिल चप्पल लगाएकी केटी अटोबाट निस्की , सायद उसकी साली यही पो हो कि?
सबैलाई आदार साथ नमस्कार भनि र खिस्स हाँसी हाँस्दा उसका गालामा डिम्पल पर्ने रहेछ कस्तो राम्रो। कस्तो सुहाउँदो आहा!
मेरो मुटु जोडजोडसँग धड्कियो। हिजो मैले देखेका कुनै आकृतिसँग पनि उसको आकृति मिल्दैनथ्यो।
म बसिरहेको कुर्सी नजिकै रहेको अर्को कुर्सीमा आलोकले उसलाई बस्न भन्यो।
साबिकभन्दा अलि कुर्सी मिलाएर ऊ बसी।
‘अनि ऊ चाहिँ मेरो साथी’ आलोकले मतिर औल्याउँदै भन्यो।
‘नमस्ते है’, ऊ खिस्स हाँसी। फेरि पनि उसका गालामा डिम्पलको खोपिल्डो देखियो।
आलोक बिहेको तयारी गर्न थाल्यो। कोही बेहुलीलाई सिंगार्न थाले, त कोही बेहुलालाई।
म चाहिँ सिंगार्ने र सिंगारिने मामिलामा कमजोर छु त्यसैले म त्यता गइनँ। बरू खसी काटिरहेका केटाहरूको समूहमा बस्दै गफ सुनिरहें।
करिब ११ बजेतिर ४ वटा केराको खम्बा गाडेर बनाइएको बिहेको मण्डपमा बेहुला-बेहुली आए। बाहुन बाजे अगाडि नै आइसकेका थिए।
म मण्डपको ठ्याक्कै पछिल्तिर कुर्सीमा टुसुक्क बसेको थिएँ।
मेरो अगाडि बेहुलाबेहुली थिए र एक जाना केटी पनि थिई। त्यो को हो? पछाडिबाट हेर्दा अति नै सुन्दरीजस्ती देखिई।
लामो कपाल त्यही माथि सिल्की कपाल, कम्मरसम्मै आइपुगेको , मिलेको चौडा शरीर , सारीमा सजिएको ऊ को हो?
के आलोककी साली हो? सालीले त आउँदा अर्को कपडा लगाएकी थिई। मनले भन्यो ‘अहँ यो साली हैन।’
उसलाई हेर्ने उत्कट इच्छा पलायो।
कसरी हेरौं , कसरी हेरौं ,कसरी अगाडि गएर हेरौं मनमा कुरा खेलाएर बसेको थिएँ।
त्यही बेलै आलोककी आमाको आवाज आयो, ‘बाबु यहाँ पछाडिभन्दा अगाडि बस्नु न’। मेरो मन प्रफुल्ल भयो।
मैले खोजेको पनि यही थियो। मेरो मनको कुरा उनले कसरी थाहा पाइन्?
म कुर्सी लिएर अगाडि गएँ।
अचम्म परे त्यो केटी त आलोक कै साली पो रहिछ। नयाँ कपडा लगाउन भ्याइसकिछ। केटीहरूलाई लगाउने कुरामा एकदमै सोख हुन्छ भन्थे हो रहेछ।
पन्डित बाजे मन्त्र फलाक्दै छन्। बेहुला बेहुलीलाई के के गर्न लगाइरहन्थे। आलोकको साली उसको श्रीमतीको छेउमा टुसुक्क बसेकी थिई।
अझ झन मेकअपले गर्दा एकदम सुन्दर देखिएकी थिई।
हल्का चलेको हावाले गर्दा अनुहारमा आएका रौंका धर्साहरू मिलाउन तल्लीन छ ऊ। म उसलाई हेरिरहन्छु।
ऊ मेकअप बिग्रने कुरामा सतर्क छे। रूमाल हातमा राखेकी छ। अनुहारमा आएका पसिनाका दाना पुछ्दै छे।
म उसलाई छिनछिनमा हेरिरहन्छु। उसका र मेरा आँखा जुझ्दाबित्तिकै खिस्स हाँस्छे। ऊ हाँस्दा प्रस्ट उसका डिम्पल देखिन्छन्।
म उसका डिम्पल हेर्नकै लागि भए पनि उसँग आँखा जुझ्दाबित्तिकै मुस्कुराउँछु।
‘बाबु तपाईं अगाडि हुनु हुन्छ यसो राम्रो फोटो आउने भए बेहुलाबेहुलीको खिच्नोस् त’ ,फेरि आलोककी आमाको आवाज गुन्जियो।
म फोटो खिच्ने काममा लागे। बेहुलाबेहुलीको फोटो खिचें, मोबाइल आफ्नै हो कसले पो हेर्ला भन्ने लागेर उसको(सालीको) फोटो पनि जूम गरी गरी खिचें।
फोटो खिच्दा थाहा दिएर भन्दा थाहा नदिएर खिच्दा गज्जब आउने रहेछ।
उस्को (सालीको) फोटो एकदम राम्रो आयो। मोबाइलको वालपेपरमा राख्दा एकदम सुहाउने खालको।
लगभग बिहे सकिन्छ,खुला भएको खेतमा भोजभतेर सुरू भैसकेको थियो।
म त्यो घरमा एक्लो थिएँ। मेरो साथी भनेको आलोक नै थियो। ऊ बिहेमा व्यस्त थियो। त्यसैले एक्लै भएर भोजभतेरतिर जान मन लागेन।
बिहे सकिएसँगै मान्छेहरू भोजभतेरतिर लाग्छन्।
म भने, मोबाइल चलाउँदै कुर्सीमा एकाग्र भएर मोबाइलमा खिचेका फोटा हेरिबस्छु।
‘सुन्नोस् त’,नारी आवाज मेरो कानमा ठोक्कियो।
म झसंग भएँ। एकाग्रबाट बाहिर निस्किएँ।
त्यो उहीँ साली थिई ,उसको पहिलो बोली, ‘सुन्नोस् त’ कति राम्रो सुनिएको।
कति सुरिलो, कति समधुर सुनिएको।
ऊ फेरि बोली,अघि खिच्नु भाथ्यो नि त्यो फोटोहरू मेरो मोबाइलमा सेन्ड गर्दिनुन् है।
उसले आफ्नो मोबाइल मेरो हातमा राखिदिई।
अनि नजिकैको कुर्सीमा बसी।
मेरो मुटु जोडजोडले धड्किरहेको थियो।मन एकदम उकुसमुकुस भएको थियो। ऊ नै केही बोलोस् भन्ने चाहन्थें म।
ऊ कहिले कपाल मिलाउछे त कहिले सारीको सप्को मिलाउछे , कहिले औंलाले औंला पट्काउछे , कहिले खुट्टाको औंलाले जमिनमा खोस्रिन्छे। ऊ एकदम छपटाएजस्तो देखिन्छे।
त्यसैबीच ऊ बोली , ‘तपाईं भिनाजुको साथी?’
‘अँ हो।’
‘खाना खानु भयो?’ उसले सोधी।
‘छैन नि।’
‘तिम्ले खायौ ?’ आफूभन्दा सानी जस्ती देखिएकीले मैले तिमी नै भनें।
‘छैन। अब खाने।’
ऊ हतारिए जस्तो देखिई।
मलाई के बोलौं, के बोलौंले सतायो।
जूम गरेर उसको मात्र खिचेको फोटोबाहेक सबै फोटो हालिदिएँ। उसलाई उसको मोबाइल दिएँ।
‘म जान्छु ल भित्र दिदीले बोलाकी छ।’ ऊ बोली
स्वीकारोक्तिमा मैले टाउको हल्लाएँ। आलोक आयो,‘तैंले खाना खाइस्?’
‘नाइँ छैन।’
‘किन खाको छैनस त? गएर खान।’
‘त्यसै यार मलाई भोक नि लाग्या छैन।’
‘उसो भए यही बस्दै गर है।’ ऊभित्र कोठातिर गयो।
मोबाइल चलाउँदा चलाउँदै मेरा आँखा भोजभतेर लागेको खेततिर सोझिन्छन्।
आलोककी साली उठि उठी खाना खाइरहेकी छ। एकदम ध्यान दिएर खाना खाँदै छे। मोबाइल बन्द गरेर उसलाई हेरिबस्छु। साँच्चै कति राम्री छे ऊ।
उसले खाना खाई , १ पटक मासु थपी , १ पटक भात थपी मैले उसले गरेका सबै क्रियाकलाप नियालिरहेको छु।
ऊ खाना खाँदा खाँदै मलाई हेर्न भ्याउछे।उसँग मेरा आँखा जुध्छन्।ऊ लजाए जसरी खिस्स हाँस्छे।टाढाबाटै उसको डिम्पल देखिन्छ।ऊ खाना खान आउनु भन्दै इसारा गर्छे।इसाराबाटै मलाई खाना खान मन छैन भन्छु।ऊ मान्दिन फेरि आउनु भन्दै इसारा गर्छे।इसाराबाटै मलाई खाना खानै मन छैन भन्छु।
खाना खाईओरी सकेर म भएतिर ऊ आउछे। मेरो मुटुको चाल बिस्तारै बिस्तारै बढ्दै छ।
जति जति नजिक आइपुग्छे, उति-उति मेरो मुटुको चाल बढ्दैछ। नजिकै आउछे। मुटुको चाल झन् जोडले चल्यो।
ऊ बोल्छे, ‘झन् मान्छेलाई एक्लै देखेर खाना खान आउनु भनेको’। ऊ ओठ लोब्र्याउछे।
‘खाना नै मन छैन के।’
‘लाज लाग्यो भन्नु न’ ऊ भन्छे।
‘हिँड्नु के’ ऊ जबर्जस्ती गर्छे।
नजान खोजेजस्तो गर्छु। फेरि पनि जबर्जस्ती गर्छे।
उसको जिद्दीलाई नकार्न सक्दिनँ र भोजभतेरतिर लाग्छु। ऊ हिँड्छे। म उसको पछि-पछि हिँड्छु। मलाई कुर्सीमा बस्न भन्छे।
ऊ आफैं प्लेट उठाउँछे, भात राख्छे मासु राख्छे सलादहरू राखेर मेरो अगाडि प्लेट तेर्साउछे।
म हाँस्छु।
‘यति धेरै खान सक्दिनँ अलि कम गरेर ल्याऊ’ म भन्छु।
‘खाई हाल्नु हुन्छ नि’
ऊ मलाई जिद्दी गर्छे।कति जिद्दी केटी रहिछ।
यति धेरै खाने कुरा राखेर फेरि बेलाबेलामा सोधिरहन्छे ‘अरू केही खानु हुन्छ कि?’ ‘यही भएको त कसरी खाऊँ भन्ने लाग्दैछ।’ म उसलाई हेर्दै भन्छु।
ऊ हाँस्छे।
‘खाइहाल्नु हुन्छ नि। बिस्तारै खानु’ भन्छे।खाना खान्छु।डिजे वालाले गीत बजायो। ठूलो स्वरमा।अहो कति ठूलो आवाज। कस्तो कर्कस आवाज।ठूलो आवाज सुनेर म भित्रभित्रै मुर्मुरिन्छु।कोही भन्दैछन्। अझै आवाज बढाउन। गाउँभरि सुन्निनु पर्यो नि!
अझ ठूलो आवाज पो बनाउन भन्छ। एक जना ठूलो भुँडी भएको मान्छे। उसलाई देख्दा रिस उठ्छ।
म आवाज कम आउने ठाउँ खोज्छु र खेतको कुनामा गएर बस्छु।
साँझ झमक्कै भैसकेको छ।
ओहो! साँझ कति छिटो छिप्पिएको।
घरतिर होहल्ला बढ्दो छ।
आज कति रातिसम्म यो बाजा बजाउने हुन्।
सुत्न दिँदैनन् क्या हो ?
यस्तै सोच्दै घरतिर जान्छु।
ओहो! बेहुलाबेहुली पो नाच्दैछन्। आलोककी साली जबर्जस्त आलोकलाई नाच्न भनिरहेकी छ।
ओहो! अलोककी साली नि गज्जब नाच्ने रहिछ।
नाच्दानाच्दै उसका आँखा मसँग ठोकिन्छन्।
मलाई पो नाच्न तान्दैछे।
नाच्न आउँदैन भन्छु। मान्दिन।
‘नाच्नु के आफ्नो साथीको बिहेमा ननाचे कसकोमा नाच्नु हुन्छ त ?’ ऊ मलाई प्रश्न पो गर्छे।कति जिद्दी केटी रहिछ।
उसको यो जिद्दीपन देखेर अवाक हुन्छु। उसले मलाई नचाइछोडी।
म हल्लिएँ।
के उसले यो हल्लिएकोलाई नाचेको ठानी ?
अझ नाच्न पो भन्दैछे। उसलाई थाहा छैन कि नाच्नु भनेको हल्लिनु हैन।नाच्नलाई त कला चाहिन्छ।
गीतमा जे भन्यो त्यसै अनुसार आफ्नो शरीरमा भाव ल्याउनु पो नाच्नु हो।९ बजिसकेको छ। आलोककी सालीसँगै अरू/अरू नाच्दैछन्।
मलाई भने निद्रा लागिसकेको छ।पहिलो दिन आउँदा जुन खाटमा सुतेको थिएँ, त्यही खाटमा जान्छु र पल्टिन्छु।गीत बजिरहेको छ।गीत बन्द हुने पर्खाइमा छु।करिब १ बजे गीत बन्द हुन्छ।अनि बिस्तारै निदाउन खोज्छु।
भोलिपल्ट बिहान १० बजे पो उठें। म उठ्दा आलोक घरमा थिएन।
‘कता गयो आलोक?’ मैले आलोकको बुवालाई सोधें।
‘बजार गएको हो आउँदै होला’ उनले भने।
त्यसैबीच आलोककी श्रीमती हातमा सेतो चार्जर बोकेर कोठाबाट बाहिर निस्किन्छिन्।
‘ओहो बहिनीले त चार्जर पो बिर्सेर गैछे त बुवा।’ उनी ससुरा बुवालाई देखाउँछिन्।
‘छोड्देऊ उनीहरू अहिलेसम्म त बस चढिसके होलान्।’ ससुरा बा बोल्छन्। एक्कासि मेरो मनभरि सालीको आकृति नाच्छ। ओहो गई पो सकिछ।
उसक नाम के हो ? ओहो मैले त नाम सोध्न बिर्सिएछु। जो यो बिहेभरि नजिक भई उसकै नाम पो मैले सोधिन छु।
कस्तो भुलक्कड म, सालीको नाम कसलाई सोध्नु?
आलोकलाई सोध्नु?
मेरो सालीलाई आँखा लगाइस् भनेर गोध्यो भने?अब ऊसँग भेट कहिले होला?भेट भयो भने उसले चिन्ली कि नचिन्ली ?कहिलेकाहीँ यस्तै हुन्छ। कोही मान्छेसँग धेरै आत्मीय भइन्छ। तर त्यही मान्छेको वास्तविक ठेगाना थाहा नै हुँदैन।
उसको नाम थाहा छैन।तर उसलाई कहीँकतै देख्दा यही नामले बोलाउँछु। ‘ओई साथीकी साली’ ‘ओई साथीकी साली’ दुई तीन पटक मनमा दोहोर्याउँछु।