बिहानदेखि घन्चमन्च देखिएको घर क्रमशः सुनसान बन्दै जान्छ। बिहानभरि हाँसो गुन्जिएको घरमा एक्कासी रोदन सुनिन थाल्छ।
दिउँसभरि आँसु रोकेकी आमाले सहनशक्ति गुमाउँछिन्,। दिदीको अघिपछि लाग्दै भिनाजुसँग जिस्किएकी बहिनीको पनि बोली फुट्दैनन्। बिहानसम्म बहिनीको चुल्ठो समाउँदै हिँड्ने दाइका हातहरु लगलग काँप्न थाल्छन्।
मंसिरको चिसो सिरेटोमा पनि पूरै शरीर तात्ने गरी भक्कानिएका बाबाका त के कुरा, आँसु पनि देखाउन सकेका छैनन् न त भित्र-भित्रै बगेका आँसुका सागर रोक्न।
आमाका वरिपरि छिमेकका दिदीबहिनी ढाकिएका छन्, दाइका र बहिनीका वरिपरि उनीहरुकै साथी-सङ्गत छन्। उता चिसो पिँढीमा बाबा आज भावविह्वल छन्, तर पनि सधैं झैँ उनी एक्लै सहिरहेछन् अनि नचाइरहेछन् छोरीको सुन्दर आकृति।
छोरी जन्मँदा गाउँभरि मिठाइ बाँडेका बाबाले छोरी अन्माउँदा पनि सारालाई मिठा परिकार त बाँडे तर उनकै मन आज तितो भइरहेछ। जन्मँदा हात समाउने सपना त थिए तर अन्माउँदा समाएका हात समेत छुटाउनुपर्यो।
छोरी खेलेको र नाचेको दृश्य बोकेका आँखाले कसैका घरमा कसैलाई रिझाउन छोरीले खेल्नुपर्ने भूमिका नाच्न थाले। अफिसबाट आउँदा ढोकामा सधैं तर्साउन बसेकी छोरीले अरु कोही अफिसबाट आउँदा फकाउन ढोकामा उभिएको आकृति कोर्न थाले। अन्ततः मन अनि दिमागले पनि छोरी अब छोरी मात्रै रहिन, निकै कुरा भइसकेको स्मरण बारबार गराउन थाले।
बाबाले बेलाबखत गाली गरेरै भए पनि औषधि खुवाउने आमा अन्माए, गिज्याउने/जिस्क्याउने साथी अन्माए, रिसाउने/कराउने दिदीबहिनी अन्माए, बाबाले छोरीको रुपमा केवल छोरी अन्माएनन्, सर्वश्व अन्माए। जिन्दगीभरको खुसीको कमाइको निकै प्यारो हिस्सा अन्माए।
आमाले त आफूलाई नै कतै टाढा धकेलिएको महसुस गरिन्, आफूले छोरीमा देखेका रहर अन्माइन्। फेरि पनि आफूजस्तै अरु कसैले पुनः आहुति दिएका सपनालाई अन्माइन्। बस् आमाका त केवल शरीरमात्रै छोरीसँग अन्मिन सकेन, तर आमा अन्मिएको दिन र छोरी अन्मिएको दिनमा फरक के नै रह्यो र?
दाइ-बहिनीले रमाइलो साथ अन्माए, यादगार 'याद र प्यारा समय' नै अन्माए, जन्मिएदेखिका झगडा अन्माए, बाबा-आमासँग लुकाइएका केही झुट अन्माए। उनीहरुले पनि केवल दिदी र बहिनी अन्माएनन्, रगतदेखि नै जोडिएको साथीको साथ र संगत अन्माए। दुःख बेसाउने काँध अन्माए। पीडा भुलाउने न्यानो अङ्गालो अन्माए। सायद बोल्ने बहाना नै अन्माए।
अब साँझ-बिहान घरमा दियो बल्लान् तर कहीँकतै दियोले नि केही प्रकाश अन्मायो। घरको भान्साले केही स्वाद अन्मायो। बैठक कोठाको टिभीले धेरथोर रमाइलो अन्मायो, घरमा वर्षौंदेखि घरका मान्छेलाई स्वागत गर्ने कुकुरले पनि कोही आउँदा खुसी हुने समय अन्मायो।
अन्ततः मंसिरले केवल छोरी होइन, सर्वश्व अन्मायो।