संयोगलाई आज लण्डन पानी-पँधेरो छ। ऊसँग बैंक ब्यालेन्स छ, काठमाडौँमा घर छ, ठूला व्यक्तिसँग सम्बन्ध छ, गाडी छ तर पनि ऊ खुसी छैन। उसले आफैले पाँच वर्ष अघि आफ्नो प्रेम छोडेर हिँडेको थियो र आज पश्चतापमा छ। अहिलेको जुन सुख सुबिधा र आनन्दमा छ, त्यो त्यही सम्पत्तिको लालचमा सीमाको प्रेमलाई लत्याएको फल हो।
नत्र आज त्यही चोक, चिया पसल, थोत्रो बाइक, अरुको फर्मको जागिरमा दुई छाक खाना खाने हैसियतमा हुने थियो। आज जुन हैसियतमा छ यो कुरा संयोगले सपनामा पनि चिताएको थिएन। हिजोको दिनमा रेस्टुरेन्टमा खाजा खाने सपना देख्ने मानिस आज त्यस्तो रेस्टुरेन्ट दुई/चार वटा खोल्न सक्छ। तर के गर्ने? जति सम्पत्ति र सुख-सुबिधा भए पनि पश्चतापले चैन कहाँ दिन्छ र।
कथाको सुरुआत उसको स्कुल जीवनबाट गरौं...
कक्षामा जेहेन्दार, मेहनती र पढाइमा कहिल्यै दोस्रो हुन नपरेको व्यक्ति थियो संयोग। तर सीमा कहिल्यै संयोगलाई जितेर प्रथम हुन नसक्ने। संयोगलाई पिर सीमा प्रथम होलि भन्ने अनि सीमालाई संयोगलाई कहिल्यै जित्न नसकेकोमा। स्कुले जीवन, केटाकेटीपना, अनि दौँतरी कसरी, को? टाढा भएर बस्न सक्छ र? आखिर छिमेकी अनि दौँतरी दुवै। एकैछिन छुट्न नसक्ने अनि सँगै हुँदा कुकुर बिराला झैँ चुप नहुने दुवै।
यस्तै प्रकारले घरमा होस् या स्कुल या गोठाला जाँदा झगडा नपरेको दिन र दुईमा एक नरोएको दिन हुँदैन थियो। तर समय सधैँ एकनास कहाँ हुन्छ र? स्कुलले जीवन अन्त्य हुँदै थियो। एसएलसी दिएर अब कलेज लाइफ सुरु गर्नु थियो। अफसोच यस पटक पनि सीमाले संयोगलाई जित्न सकिनन्।
दुवै म्यानेजमेन्ट लिएर पढ्न थाले तर अब स्कुले जीवनबाट कलेज लाइफ सुरु भैसक्यो झगडा अन्त्य भयो तर प्रतिस्पर्धा होइन। अब मिलेर पढ्ने, सहयोग गर्ने, सँगै हिड्ने र खाने स्थिति भयो। कलेजमा मार्क्ससहित डिभिजन आवश्यक र महत्त्व हुन्छ। मार्क्स तलमाथि हुनथाल्यो तर डिभिजन एकै। बढ्दो उमेर, जवानी, साथ, अनि लक्ष्य एकै भएपछि विस्तारै दुश्मनी कम हुँदै मित्रता गाँसिदै प्रेमी-प्रेमिका बनेको चाल नै पाएनन् संयोग र सीमाले।
प्रेम सम्बन्ध सुरुआत मात्र भएको अवस्थामा कलेज लाइफ सकियो। तर पनि छिमेकी घर भएकोले आउजाउमा प्रतिबन्ध थिएन। सीमाको घरमा संयोग छोराजस्तै थियो, उता सीमा पनि संयोगको घरमा छोरीजस्तै। तर यता संयोग र सीमाको प्रेम सम्बन्ध झागिँदै थियो। प्रगती हुनेबेला दिन दुई गुना रात चार गुना बढ्छ भने झैँ एकअर्कामा समर्पित र एकबिना अर्को बाँच्न नसक्ने भैसकेको थियो।
सीमा र संयोगले स्नातक सकेको नि एक वर्ष बितिसकेको थियो भने प्रेम सम्बन्धको दुई वर्ष। सीमाको उमेर बाइस नाघ्न लाग्यो। स्वभावैले घरमा छोरीको चिन्ता बढ्ने भयो। सीमाले यस विषयबारे संयोगलाई जानकारी गराइन्। संयोग सीमाको बिहेको कुराले छाँगाबाट खसे झैँ भयो। प्रेम सम्बन्ध थियो तर बिहेको योजना सोच्न सकेकै थिएन।
एक्कासी सीमाको बिहेको कुरा सुन्दा छाँगाबाट खसे झैँ हुनु स्वभाविक नै थियो। दुवै जनाले सोचमग्न भएर विकल्पको खोजी गरे अन्तिममा अझै पढ्ने योजना प्रस्तुत गरौँ भन्ने सल्लाह भयो र सल्लाह बमोजिम घरलाई पनि मनाए। मायामा भुल्दा दुई वर्ष बितेको पत्तै भएन। स्नातकोत्तर पनि सकियो।
अब हाम्रो प्रेम सम्बन्ध र बिहेको कुरा कसरी गर्ने? आफैले कुरा गरौँ बाबा रिसाउनु होला! नगरौँ संयोग बिना कसरी बाँच्नु? सीमा दोधारमा थिइन्। उता संयोगले आमालाई आफ्नो सपना सबैकुरा भनिसकेको थियो तर सीमालाई कहिल्यै भनेन, चित्त दुखाउलिन् भनेर। यता सीमासँग तिमी घरमा कुरा गर, घरलाई मनाऊ भनेर भन्ने गर्थ्यो।
संयोगले सीमालाई औधी माया त गर्थ्यो तर कहिल्यै हार नमान्ने, आफ्नो इच्छा पूरा गर्न जसो नि गर्न सक्छ भन्ने कुरा सीमाले बुझ्न सकेकी थिइनन्।
विदेश जाने, धन धेरै कमाउने र धनले सबैलाई किन्ने (चाहे मान्छे होस् या सम्पत्ति या प्रेम) सपनाको घमण्डले संयोगलाई कहिल्यै छोडेन। विदेश जान पढ्नुपर्ने अनि राम्रो अंकले पास पनि गर्नुपर्ने थियो। यही धाउन्नमा सीमासँग नजिकिएको थियो संयोग। सीमाले औधी प्रेम गर्छिन् भन्ने कुराको मेसो पाएको संयोगले यही प्रेमलाई अस्त्र बनाएर पढाइको हरेक चरणमा सफलता हात पार्यो।
सीमा आफ्नो प्रेमलाई अब औपचारिक सम्बन्ध दिन चाहन्थिन्। त्यसैले संयोगलाई 'मेरो हात माग्न आऊ, तिमी आयौ भने म जसरी पनि घरमा मनाउँछु नत्र भागी विवाह गरौँ' भन्दा संयोग 'घरको इज्जत जान्छ, तिमी घरमा जसरी पनि मनाऊ' भनेर टार्थ्यो।
आँट गरेर सीमाले घरमा त भनिन् तर घरलाई यो कुराले रिङ्ग्यायो। अब सीमासँग घरमा सबैले बोल्नै छोडिसकेका थिए। त्यही पनि चिना भिडान गरौँ भन्ने आमाले मनसाय राख्दा चिना भिडान गरियो तर गुण, गण, तथा अन्य कुरा केही मिलेन। अब सीमालाई झन् तनाव भयो। सीमालाई बिहेको लागि आएको प्रेसर अनि चिना नमिलेकोले उसको भोक र निन्द्रा सबै उडाइसकेको थियो।
यी सबैकुरा स-विस्तार संयोगलाई भनिन्। 'अब तिमी र तिम्रो अभिभावक आएर माग्नुभयो भने छोरी दिने भन्नुभएको छ। चिना नमिले पनि हामी एक हुनसक्छौँ। प्लिज संयोग, अब तिमीले घरमा मिलाऊ। मैले सकेको घरमा गरेँ, अब तिम्रो हातमा छ मेरो भविष्य।'
संयोगले लण्डन जान अर्को प्रेमिका तयार गरेको थियो। सो प्रेमिकासँग कोर्ट म्यारिज पनि गरिसकेको थियो। अब सीमालाई भन्दा आपत त संयोगलाई पर्यो। त्यही पनि संयोगले देखेको पैसाको सपनाको अगाडि सीमाको के लाग्थ्यो र! 'म केही दिनमा बाबालाई लिएर माग्न आउँछु' भन्ने निष्कर्ष सीमालाई दियो तर अफसोच! यता सीमालाई घरमा कुराएर सम्पर्क विहीन भएर लण्डनको भिसा लगाएर उड्यो।
यता सीमाको बिहे भयो। आफूले प्रेम गरेको व्यक्ति, पाएको धोका, घरले सहन नसक्ने गरी लगाएको वचन कसरी सम्हाल्ने? एकान्तमा रुनु, कराउनुको कुनै विकल्प नै थिएन। तर पनि सीमाले चित्त बुझाइन्। संयोगले आफूलाई छोडेर विदेश गयो, सुख सुबिधा पायो, आज संयोगसँग सबै छ। सधैँ खुसी रहोस्, संयोग भन्दै आजबाट मेरो जिन्दगी नयाँ पाटो र ढङ्गले चलाउँछु भन्ने अठोटले विगत बिर्सिदै थिइन्।
लण्डन त पुग्यो संयोग तर त्यहाँ पुगेपछि संयोगको प्रेमिकाले पनि साथ छोडिदिइन्। आखिर दैवले पापको लेखाजोखा त राखेकै हुन्छ नि। संयोगलाई लण्डन लग्ने केटीलाई पनि लण्डन जान पैसा चाहिएको थियो, आखिर त्यस्तै मुर्गा फेला परिगयो। आखिर समय फर्केर आउँदैन, भयो पनि त्यही। उता सीमाबाट साथ छुट्यो यता प्रेमिकाबाट। धनको लालचले लण्डन त ल्यायो तर खुसी.... खै कहाँ छुट्यो, छुट्यो झै भयो।
अब संयोगले आफूलाई सुनसान मरुभूमिमा एक्लै भौतरिएको पायो। न प्यास मेटाउने पानी छ, न गन्तव्य पुग्ने बाटो, न त सँगै साथमा सफर गर्ने सहयात्री। सोच्न थाल्यो आखिर मैले यो धन कस्का लागि कमाउन हिँडेको? यो पाउण्ड, डलर, युरो सब केका लागि? म धनमा यति अन्धो भएछु कि प्रेम के हो बुझ्न सकिनँ। सीमाले मलाई कसरी माफ गर्न सक्छे? मैले आफैले आफ्नो प्रेमलाई खरानी बनाएँ। धनले बिलासी जीवन दिलाउन सक्छ तर मनलाई शान्त पार्न कदापि सक्दैन। त्यसैले अब म आफ्नै देश फर्कन्छु। अन्तत: पाँच वर्षपछि स्वदेश फर्कियो संयोग।
संयोग आएको खबर यता सीमाको कानसम्म पुग्यो। सीमालाई पनि संयोगलाई एक पटक हेर्न मन लाग्यो तर फेरि सम्झी धोका दिएर गएको, आफूसँग प्रेम गर्दागर्दै कोर्ट म्यारिज गरेको। यस्तो कुराले अझ रिसले आगो बल्यो तर के गर्ने आफूले पनि बिहे गरिसकेकोले त्यो व्यक्ति आफ्नो जीवनबाट गैसक्यो, अब मतलब रहेन। संयोगमा सीमालाई दिएको धोकाको पश्चतापमा थियो अनि एक पटक माफी माग्ने योजनामा थियो।
जीवनमा पहिलो पटक हारको स्वाद यसपटक संयोगले थाहा पाएको थियो। प्रतिस्पर्धामा हार हुँदा दुःख लाग्छ तर जीवन नै हारमा बिताउनुको विकल्प थिएन अब संयोगसँग। असली प्रेम नचिन्दाको परिणाम अहिले पश्चतापसहित भोगिरहेको छ संयोगले।