विवश र सानुको करिब पाँच वर्षपछि नेपाल ल क्याम्पस अगाडिको भेट विवशका लागि उत्साह र निराश दुवै एकैपटक महसुस गर्ने आधार बन्यो। वर्षौदेखि खोजिरहेको आफ्नो प्रिय मान्छे भेट्दाको खुसी एकैछिनमा निराशमा परिणत भयो किनकि आफ्नो प्रिय मान्छेको साथमा अरु नै प्रिय मान्छे आइसकेको रहेछ।
सानुको मुटुमा रहेको विवशको ठाँउ अरुले नै ओगटिसकेको रहेछ। विवशका लागि त्यो विगतको सम्बन्ध बिहानीको मिठो सपना जस्तो बाहेक केही रहेन। सानु त गइन् खुसीसाथ आफ्नै मान्छेसँग हातमा हात समातेर, यता विवशले फर्किएर उनलाई टाढासम्म हेरिरह्यो, ओझेन नपरुञ्जेल। प्रदर्शनीमार्गका ती मोटरसाइकल र गाडीहरुको कर्कश ध्वनी, मान्छेको भिड, छेवैमा पर्खाल भित्रपट्टिको फनपार्कको रमाइलो कोलाहल केही कुराले पनि छोएन विवशलाई।
उसले सानु गएको बाटो हेरिरह्यो, हेरिरह्यो... टाढासम्म। अनि ओझेल परेपछि सडक छेवैको फुटपाथमा थचक्कै बस्यो। मन एकदम अशान्त थियो। सडकका असरल्ल यातायातका साधनहरुभन्दा बढी असरल्ल त मन थियो। गाडीहरुको कर्कश ध्वनीभन्दा ठूलो आवाजमा मुटु धड्किरहेको थियो। कान डम्म थुनिएको जस्तो भयो। आँखा तिरमिराएको जस्तो थियो। फुटपाथमा हिँड्ने मान्छेहरुको होहल्लाले विवशलाई कुनै असर पार्न सकेन।
घण्टौँसम्म एक्लै तिलमिलाएर बसेको विवश पुतलीसडक तिरबाट आएको यात्रुबसको हर्नले झसंग भयो। घाम डुब्न लागेको रहेछ। हिउँदाका दिन ६ बजे त अँध्यारो नै भैहाल्ने। सायद ६ बजेको थियो होला। मोटरसाइकल र गाडीहरुले आँखा तिरमिराउने लाइटको फोकस फ्याकिरहेका थिए। विवशले एकैछिनमा विगतका सबै कुरा एकैपटक सम्झियो- मायाप्रेम, सम्बन्ध, यात्रा, विश्वास अनि संकल्प। सिनेमाका सिनहरु जस्तो एकपछि अर्को सरर सबै काल्पनिक दृष्य देखिए र बिलाएर गए।
अघि भर्खर देखेको सानुको दृष्यले ती सब फिक्का बनाइसकेको थियो। पाँच वर्षको बिछोडमा विवश आफ्नो प्रियसी भेट्नेमा विश्वस्त थियो। निराश त थियो तर पुरै आशा मारेको थिएन। तर एकैछिनमा सबै सपना अनि कल्पना विलीन भएर गए। पाँच वर्षपछि भेट त यो तर कस्तो निराशाजनक र पीडादायक भेट भयो। सानुलाई त भेटले खासै कुनै प्रभाव परेन र कुनै अर्थ राखेन होला तर विवशका लागि जीवनमा बिर्सनै नसक्ने थप पीडा दिएर गयो त्यो संयोगको भेटले।
मायालु गुमाएको पीडामा निद्रामा हिँडेजस्तो लागिरह्यो विवशलाई तर कसरी डेरासम्म पुग्यो थाहा नै पाएन। डेरामा पुगी थ्याच्च खाटमा बस्यो। तिर्खाले आलस-तालस भएको रहेछ। आँत हरहर भएर आयो। चिसो पानी दुई गिलास पिएपश्चात् बेडमा पल्टियो। आज उसलाई खाना खान मन गरेन। सोच्दासोच्दै कति बेला निदाएछ।
राति डरलाग्दो सपना देख्यो- 'भोजपुरमै सामाजिक संस्थामा काम गर्ने क्रममा फिल्ड भ्रमण गरेर फर्कदै रहेछ रे। साँझ पर्न लागेको रहेछ। सदरमुकामको डेरा पुग्न अझै दुई घण्टा लाग्ने रहेछ। हँस्याङ-फस्याङ गर्दै हिँडिरहेको थियो। अचानक दुई/तीन जना हतियारधारी मान्छेहरु बाटो माथिबाट विवशको अघि हाम्फाले। यसलाई समात्-समात् भनेर एउटाले आदेश दियो। अर्को विवशलाई समाप्त दगुर्यो।
यो सब देखेर विवशको होसहवास उड्यो। विवश बाटोबाट मुनितिर हाम फाल्दै भाग्न थाल्यो, उनीहरु पछिपछि खेद्न थाले। कुद्ने क्रममा लहरामा अल्झेर विवश पछारियो। खेल्दै आएका मान्छेहरुले भेटिहाले अनि राइफलका कुन्दा पट्टिबाट विवशका टाउकोमा प्रहार गरे। एउटाले राइफल ताकेर ट्रिगर दबाउन खोजिरहेको थियो। पीडा सहन नसकेर विवश अइया भन्दै कराउँदै थियो।'
विवश झसङ्ग भएर ब्युँझियो। सपनामा भाग्ने क्रममा देखेको दृष्यमा उसको टाउको वास्तविकतामा नै भित्तामा जोरले ठोक्किएको रहेछ। पसिनाले निथ्रुक्कै भिजेको रहेछ। घाँटी सुकेर सास फेर्नै गाह्रव भएको रहेछ। उठेर एक लिटर जति पानी घटघटी पियो। त्यसपछि फेरि सुत्ने कोसिस गर्यो तर निद्रा नै परेन। चिसो रात, मन जलिरहेको थियो। उखुम गर्मी महसुस गर्यो। बाहिर जति जाडो भए पनि मन भतभती पोलिरहेको थियो। जाडोको महसुस नै भएन।
ढोका खोल्यो। छतमा गएर आकाशतिर हेर्यो। टहटह जुन लागिरहेको थियो। ठिक टाउको माथि जुन थियो। सब कुराले उसलाई गिज्याइरहेको महसुस भयो। चकमन्न रात। घरीघरी प्रहरीको भ्यान र एम्बुलेन्सको हर्नको आवाज बाहेक सहर शान्त थियो। सहर ब्युँझेकै थिएन।
यसो घडी हेर्यो, बिहानको दुई बजेको रहेछ। फेरि बेडमा फर्कियो। सुत्ने असफल कोसिस गर्यो तर निद्रा पर्दैपरेन। अनि कपि कलम लिएर लेख्न बस्यो, सानुको नाममा अन्तिम पत्र-
'प्रिय सानु, जिन्दगीको यात्रामा असीम प्यार र बिछोडको वेदनामा छटपटाउँदै तिम्रो नाममा एक अन्तिम पत्र लेख्दैछु। सायद यो पत्र तिम्रो हातमा त पर्ने छैन तर साप्ताहिक पत्रिकामार्फत सन्देश पुग्ने आशा र अपेक्षा राखेको छु। तिमीसँगका मिठा पलहरु ताजै राखी तिम्रै नाममा मेरो प्रेमलाई अमर राख्न जीवनभरि तिम्रै माया, सम्झना र समर्पणमा आज एक संकल्प गर्दैछु।
मैले तिमीलाई माया गरेँ अनि मन लिएर मुटुमा सजाएँ। यो मुटुमा अरु कोही बस्ने ठाउँ नै खाली राखिनछु। त्यसैले तिमीलाई राखेको ठाँउमा जीवनभरि अरुलाई राख्न सक्दिनँ। तिमी मेरो नभए पनि, मेरो मनमुटुमा तिमी मात्रै छौ। बस् तिमी मात्र। आजै प्रण गर्दछु, दसौँ वर्षपछि पनि यो मुटुमा तिमीले मात्र राज गरिरहेकी हुनेछौं। एकदिन फर्केर फेरि आउनेछौ, त्यही मन अनि मुटुमा...'
यस्तै-यस्तै भावनामा डुबेर पत्र लेख्यो। पत्र लेख्दा भावनामा डुबेर धेरै पटक आँसु झार्यो। पत्र लेखिसकेपछि फेरि पढ्यो अनि फेरि रोयो। बिहानको ५ बजिसकेको थियो। अब दैनिकी त गर्नु नै थियो, उठ्यो।
प्राइभेट बोर्डिङमा पढाउन थालेको मात्र दुई महिना भएको थियो। उसको डेराबाट स्कुल पुग्न गाडीमा नै ३० मिनेट बढी लाग्थ्यो। काठमाडौंको जाम। बसमा भिडभाड। अफिस समयमा सार्वजनिक बसहरु चढिनसक्नु हुने। हिजोदेखिको भोको, चाँडै खाना बनाएर ८:१५ तिर चापागाउँ, ललितपुरस्थित स्कुलतिर लाग्यो। ९ बजेभित्र पुगिसक्नु पर्ने, ५ मिनेट बाँकी हुँदै स्कुल त पुग्यो तर उसको मनमा शान्ति नै थिएन। पढाउने जाँगर आउँदै आएन।
सानुको यादमा तड्पिरह्यो। विसन्चो भयो भनेर मन लगाएन, पढाएन। बिरामी भएँ भनि केही दिन बिदा पनि लियो। यसरी नै समय बित्यो महिना, वर्ष गर्दै। नेपालको राजनीति, आन्दोलन र विभिन्न कारणले प्राइभेट बोर्डिङहरु बन्द-हड्तालको शिकार भइरहे। विवशले भनेको बेला र चाहेको बेला तलब समेत पाउन सकेन। स्कुलले क्यास कलेक्सन हुन नसकेको भनी महिनौँसम्म तलबभत्ता केही दिइएन।
विवशले निराशै निराशमा एक अर्को संकल्प गर्यो- निजामती सेवा। खरिदार, सुब्बा, अधिकृत तयारी गर्न थाल्यो। बिहान तयारी कक्षा लिन ५ बजे बागबजार पुग्थ्यो अनि ८ बजे डेरा फर्केर स्कुल पढाउन पुग्थ्यो। बेलुका ४ बजे डेरा फर्केपछि लोकसेवा तयारी सुरु गरिहाल्थ्यो।
बजारमा प्रकाशित विभिन्न लेखकहरुका पुस्तक, पत्रपत्रिका, लेख रचना, तयारी कक्षामा प्रशिक्षकहरुले दिएका नोट, परीक्षा दिएर सफल भएका व्यक्तिहरुका नोट पढ्ने र आफूले पनि नोट तयारी गर्ने गरिरह्यो। यसरी व्यस्त-व्यस्त जीवन बितायो। एक महिना, दुई महिना... गर्दै वर्षदिन। यस अवधिमा सबै तहको परीक्षामा सामेल भयो।
पहिलो पटकको परीक्षा अनुभवका लागि मात्र भन्ने सावित भयो। हरेस नखाई फेरि तयारी गर्यो। दुईटा विषयमा स्नातकोत्तर गरेको विवशको लेखाई स्तरीय त थियो तर लोकसेवाको लागि चाहिने जस्तो लेखन सीप थिएन। टेक्निकल पक्ष सुधार गर्नु थियो। लेखन सीप निखार्नु आवश्यक थियो। उसले निरन्तर कोसिस गरिरह्यो।
दोस्रो वर्षमा खरिदारमा वैकल्पिकमा नै फ्याँकियो। त्यही वर्ष नासुमा सिफारिस भयो, उसको लागि योभन्दा खुसियालीको अर्को कुनै क्षण थिएन। विवशको निजामती सेवाको औपचारिक यात्राको सुरु भयो। सुरुकै नियुक्ति गोदावरी नगरपालिका अन्तर्गतको वडासचिवको रुपमा पदस्थापन भयो।
बिहान अधिकृत तयारी, दिउँसो वडा कार्यालय, अनि बेलुका आफ्नो तयारी। यसरी बित्यो थप डेढ वर्ष। निजामती सेवाको त्यो अवधिले विवशलाई जिम्मेवार र मेहनति कर्मचारी हुन मात्र सिकाएन, निजामती सेवाको महत्व, पहिचान र वृत्तिविकास ठूला सम्भावनाहरु रहेको पनि बुझायो। करिब डेढ वर्षपश्चात् नै उसले आफूलाई नेपाल सरकारको शाखा अधिकृतमा दर्ज गराउन सफल भयो।
पोष्टिङ भयो काभ्रेको पनौती नगरपालिकामा। त्यसपछि घरेलु तथा साना उद्योग कार्यालय, काठमाडौंको चन्द्रागिरि, कास्कीको लेखनाथ महानगरपालिका हुँदै ६ वर्षको अवधिमा धेरै ठाउँमा सरुवा भयो। निजामती सेवा भनेको वृत्ति-विकासको सबैभन्दा ठूलो सम्भावना बोकेको सेवा हो जसमा मेहनती र समक्ष व्यक्तिले धेरै प्रगतिका खुड्किलाहरु चाँडै पार गर्न सक्दछ। विवशलाई उपसचिवको तयारी गर्न त थियो नै। काठमाडौं उपत्यका बसाइको मुख्य उदेश्य नै उपसचिव तयारी गर्नु थियो। विवशले त्यसैको लागि भनेर नै कीर्तिपुर नगरपालिकामा सरुवा मिलाएर आयो।
लोकसेवा तयारीमा लागेपछि विवशले सानुलाई एकपटक पनि सम्झिएन। उसलाई सम्झिने फुर्सद पनि भएन। बिछोडिएको मायालाई सम्झिएर मन र दिमाग दुखाउनु बाहेक केही थिएन। सायद त्यही सोच्यो होला। त्यसैले उसले सानुलाई सम्झिएन। सम्झना पनि आएन।
२०७६ सालको वैशाख महिना थियो। पोखराबाट सरुवा मिलाएर काठमाडौं फर्किएपश्चात् सबैभन्दा पहिला त डेरा खोज्नु थियो। साथीहरुको सहयोगमा काठमाडौंको पाँगा दोबाटोमा दुई कोठा भाडामा भेट्यो। लोकसेवा तयारी कक्षा शंखमुलमा तय भयो। सबै तयारी गरी २०७६ वैशाखको ८ गते आइतबारका दिनदेखि नगरपालिकाको कार्यालयमा हाजिर भई वडा-कार्यालयमा पदस्थापन भयो।
वडा कार्यालयका साथीहरु विवशको प्रतिक्षामा कुरिरहेका थिए। त्यहाँको वडा सचिवको सरुवा गोकर्णेश्वर नगरपालिकामा भएको थियो भन्ने जानकारी थियो। जब विवश वडा कार्यालय पुग्यो त्यहाँका कर्मचारीहरु स्वागत गर्न तमतयार भएर बसेका रहेछन्। अनि त्यही दिन त्यहाँ कार्यरत वडा सचिवको बिदाइ पनि रहेछ। संयोग पनि कस्तो, एक कर्मचारीको स्वागत अनि अर्कोको बिदाइ।
करिब १ बजेतिर विवश वडा कार्यालय पुग्यो। स्वागतपश्चात् सबैसँग चिनजान गरी कामको सुरुआत गर्यो। सरुवा भएर जाने वडा सचिव कर्मचारीबारे जानकारी पायो- सानु बस्नेत। विवश यो नाम सुनेपछि झसंग भयो। त्यो नाम त्यही थियो जो विवशकी पूर्व प्रेमिका थिइन्, सानु। विवशले सानु म्याडमका बारे जानकारी राख्यो, बिदाइका लागि २ बजे वडा कार्यालयमा आउने। ऊ सानुको प्रतिक्षामा बसिरह्यो।
करिब २ बज्न लाग्दा एक महिला करिब ५ वर्ष जतिको बच्चा लिएर कार्यालय परिसरभित्र छिरिन्। उनै थिइन्- सानु बस्नेत, बिदाइ भएर जाने वडा सचिव। विवश र सानुका आँखा जुधे। नमस्कार आदान-प्रदानपश्चात् के बोल्ने के भनि दुवैजना असमञ्जसमा परे। एकैछिनको मौनतालाई तोड्दै विवशले सानुलाई सञ्चो विसञ्चोबारे सामान्य जिज्ञासा राख्यो। लाग्थ्यो, उनीहरु दुवैजना नयाँ नौला र अपरिचित हुन्।
लेखापालले त सानु म्याडम कहिले आउनु भएको के-कस्तो भनि विस्तृत जानकारी दिइरहेको थियो तर विवशलाई उक्त कुराले ध्यान केन्द्रित गराएको थिएन। २ बजे सानुको बिदाइ कार्यक्रम तय भएको थियो। ठिक समयमा बिदाइ कार्यक्रम सम्पन्न भयो। बरबुझारथका कामहरु पनि चाँडै सकिए। कस्तो संयोग विवशको स्वागत अनि सानुको बिदाइ!
जे भए पनि हराएको पूर्व मायालुसँग भेट हुन जुरेको रहेछ। विवश खुसी थियो। विवशले सानुलाई कार्यालय समयपश्चात् छोटो छुट्टै भेटको प्रस्ताव राख्यो। सानुले नकार्न सकिनन्। कीर्तिपुरको डिमलाइट रेस्टुरेन्टमा भेट्ने निधो भयो।
करिब ५:३० बजे सानु आफ्नो बच्चा लिएर नै डिमलाइट रेस्टुरेन्ट पुगिन्। विवशले करिब ५ मिनेट अघिदेखि कुरिरहेको थियो। औपचारिक अभिवादन आदनप्रदानपश्चात् घरायसी कुराकानीबारे कुरा आदनप्रदान गरे। सानुको ५ वर्षको छोरो मःम खाँदै मोबाइलमा कोकोमेलन कार्टुनमा रमाइरहेको थियो। उसलाई आफ्ना ममी र विवशका कुरामा खासै चासो पनि थिएन।
विवशले आफूलाई छोड्नुको कारण बुझ्न चाहेको थियो। कसरी सोध्ने आँट गर्न सकिरहेको थिएन। सायद विवशले जान्न चाहेको कुरा सानुले अनुमान गरी वा बुझी र संक्षेपमा बताई।
भोजपुरमा कार्यरत संस्था छोडी उच्च शिक्षा अध्ययनका लागि विराटनगरस्थित स्नातकोत्तर क्याम्पसमा पढ्न भनि हिँडेकी सानुको भोजपुरबाट विराटनगर जाने क्रममा पैसा सहितको ब्याग गाडीमै छुटेछ। फोनको डायरी पनि ब्यागसँगै हराएछ। उसले त्यसबेला मोबाइल लिएकै थिइन। फोनको सहज पहुँच नहुँदा सबैसँग सम्पर्क विहीन भएकी रहिछन्।
पैसाले विचल्ली भएकी उसले त्यसपछि धेरै दुःख/कष्ट झेलिछन्। पैसाको अभावको कारण क्याम्पसमा एड्मिसन गर्न पाइन्छन्। आफन्तकोमा शरण लिई एक सहकारीमा काम गर्न थालिछन्। सहकारीमा काम गर्ने क्रममा त्यही काम गर्ने जीवनले उसको पिछा गर्दै इमोसनल ब्ल्याकमेलिङ गरी मन जितेछ। विवशको लामो समयसम्मको संवादहीनता र भौतिक दूरीले उसको मन परिवर्तन भएछ।
सोही जीवनसँग हिँडिरहेको बेला विवशको काठमाडौंको प्रदर्शनीमार्गमा भेट भएको रहेछ। एकदिन जीवनले सानुको सानो पर्समा विवशले लेखेको प्रेमपत्र भेट्टाएर त्यही निहुँमा उसलाई छोडेछ। एक्लो बनाई बीच बाटोमै अलपत्र पारेर छोडेछ। सानु जीवनको प्रेमवियोगमा परेकै बेला दाइहरुको सल्लाह र व्यवस्थापनमा गोरखा निवासी प्रमोदसँग बिहे भएछ।
प्रमोदसँगको सम्बन्धमा पनि सोचेजस्तो राम्रो हुन सकेनछ। बारम्बार विवाद र झगडाले दुवै एकअर्काप्रति असन्तुष्ट थिए रे। सानुको छोरा एक वर्षको हुँदा प्रमोदले सानु र छोरालाई छोडेर अचानक हराएछ। त्यसपश्चात् सानुसँग उसको सम्पर्क हुन सकेको रहेनछ। पीडाकै बीचमा स्थानीय तहमा खुलेको दरबन्दीमा सानुले लोकसेवा तयारी गरी परीक्षा दिँदा पहिलो प्रयासमा नै अधिकृतमा नाम निकाल्न सफल भएकी रहिछिन् र पहिलो पदस्थापन नै त्यहाँ भएको रहेछ।
उनको निजामती सेवाको यात्रा तय भएको भर्खर दुई वर्ष पूरा भएर त्यहाँबाट गोकर्णेश्वर नगरपालिका काठमाडौं सरुवा भएको रहेछ। उनले विवश र उसको मायालाई भुल्न सकेकी रहिनछन्। समय, परिस्थिति र भौतिक दूरीले विवशको मायाको स्थान जीवनले लिएको रहेछ। अनि परिस्थितिले प्रमोदसँग बिहे भएको रहेछ। तर उनले आफ्नो छोराको नाम 'विवश' राखिदिएकी रहिछन्।'
यी सबै कुरा भनिसक्दा आँखाबाट आँसु गाला हुँदै भुइँ झरिसकेका थिए। सब सुनेर विवश पनि भावुक भयो। यसमा उसले सानुको भन्दा पनि समय र भाग्यको दोष देख्यो। सानुको वैवाहिक सम्बन्ध र एक्लो जीवन देखेर विवश थप निराश र भावविह्वल भयो। विवश पनि त एक्लो थियो। उसले सानुसँग काठमाडौंमा भेटेको अन्तिम दिनमा जीवनभरी बिहे नगर्ने संकल्प गरेको थियो।
सानुसँगको प्रेमको दुखान्तपछि न त उसको मनमा कोही केटीले ठाउँ लिन सके न त उसलाई बिहे गर्ने इच्छा नै जाग्यो। ऊ अविवाहित बस्ने संकल्प गरेको थियो र त अविवाहित नै रहिरह्यो। सानु एक्ली थिइन् तर उनी विवाहित नारी थिइन्। उनको जीवनको सहारा प्यारो छोरा 'विवश' थियो। उनको श्रीमान प्रमोद भेटिने आशा हराइसकेको थियो।
उनले आफ्नो श्रीमानको खोजीका लागि प्रहरी प्रशासनदेखि पत्रकार र क-कसको मात्र सहरा लिइनन् तर अहँ भेटिनन्। प्रमोदको बारे कसैले खुटखबर ल्याउन सकेन। श्रीमान् भेटिनेमा उनी आशावादी पनि थिइनन्। कि त प्रमोदले कतै गएर आत्महत्या गरेको हुनुपर्छ, कि त कसैले मारेको हुनुपर्छ कि त विदेशतिर भागेको हुनुपर्छ भन्नेमा सानु विश्वस्त थिइन्। प्रमोद हराएको चार वर्ष बितिसकेको थियो। ऊ हराउँदा छोरो मात्र एक वर्षको थियो, अहिले ऊ पाँच वर्षको भइसकेको छ।
वास्तविकता सुनेर विवश के भन्नु न केको असमञ्जसमा पर्यो। उसलाई भन्न त मन थियो, 'म अहिले पनि तिमीलाई उत्तिकै माया गर्दछु' तर भन्न सकेन। एकल महिलालाई माया गर्छु, बिहे गर्दछु भन्दा हिंसा पो हुने हो कि भन्ने लागेर आफ्नो भावना व्यक्त गरेन। निजामती सेवाले उनीहरुको भेट त गरायो। त्यो एक 'संयोगले जुराएको भेट' थियो।
हराएको प्रेम विवशले पाएको थियो। गुमाएको प्रेम सानुले पनि पाएकी थिइन्। दुवै खुसी देखिन्थे तर स्पष्ट रुपमा भन्न सक्दैनथे 'म तिमीलाई माया गर्छु।' उनीहरुले फेरि पनि असल साथी बन्ने त प्रण गरिसकेका थिए। दुवैजनाको एउटै मन र दृष्टिकोण भए पनि व्यक्त गर्न सकिरहेका थिएनन्।
अचानक मोबाइल हेरिरहेको सानुको छोरोले बोल्यो 'कति गफ गरिरा'को, पिसाबले च्याप्यो के मामु जाम्न।' फेरि-फेरि पनि समय मिलाएर भेट्ने सल्लाहसहित हाँस्दै उनीहरु त्यहाँबाट छुटी आ-आफ्नो बासस्थानतिर लागे।
यो पनि:
बदलिएको मन