मौका दिएकै हो, आज पनि दिँदैछु
के म सबैको ज्यान लिँदै छु!
बच्ने उपाय बुझेकै हुन्, लकडाउनको अर्थ खोजेकै हुन्
भ्याक्सिनले यता-उता हानेकै हुन्, मलाई के उनीहरुले कमजोर ठानेकै हुन्?
म छु भन्ने थाहा हुँदाहुँदै भिड गर्नु गल्ती मेरो कि उनको?
आफ्नो समस्याको आगोमा मट्टितेल छर्ने हिम्मत देखाउनु गल्ती उनको कि मेरो?
सबैलाई मारेको कहाँ छु र, सबैलाई पीडामा छाडेको कहाँ छु र
म त तटस्थ नै छु तर उनीहरुले नै मलाई यत्रतत्र छर्ने गर्छन्, गल्ती उनको कि मेरो?
रातमा जुन देखिँदा देखिँदै पनि सूर्यको किरण खोज्ने गल्ती उनको कि मेरो!
मास्क लगाउन धौ:धौ मान्ने ऊ, बाहिर नजाऊ-नजाऊ भन्दा बाहिर जानै ठान्ने ऊ
मलाई केही हुँदैन म त बलियो छु भन्दै आफैलाई बलियो मान्ने ऊ, गल्ती मेरो कि उनको?
हो, आवश्यक पर्दा बाहिरी जानुपर्यो होला, दुई छाक खानुपर्यो होला
घर जाँदा खुसीका आभास लानुपर्यो होला
तर किन घर जाँदा मलाई नै लिएर गएको?
एउटा साबुनले नै परास्त गर्ने शक्ति राख्थ्यो, किन तिमी हात धुन पनि अटेरी भएको?
तिम्रो अटेरीपनले नै हो विश्व मसँग डराएको
तिम्रो अटेरीपनले नै हो, जनजिवन अस्तव्यस्त बनाएको
आउनु मेरो गल्ती थियो तर तिमीलाई म कसरी आउँछु
थाहा हुँदाहुँदै भित्र्याउने गल्ती मेरो कि तिम्रो?
अझै पनि संयमतामा जोड दिन्छौ कि
मेरो नचाहँदै पनि फैलिएको विष पिउछौ?
निर्णय तिम्रो।