झुलुक्क घाम नउदाउँदै
लाली चढ्न नपाउँदै
भर्खर फुल्न लागेको
एउटा कलकलाउँदो सपना
रंग भर्न नपाउँदै वसन्तको
बग्छ बेमौसमको भेलमा
त्यहाँ बग्ने उसको रगत रातो
मेरै जस्तो रातो
प्रत्येक महिना मासिक स्रावमा
मैले बगाउने रगतजस्तै
उसले पनि राख्दो हो
एउटा सिर्जना फुलाउने शक्ति
फेरिरहने ऋतुजस्तै
बदलिरहने समयजस्तै
ऊ पनि बन्दो हो
सीमा बचाउने सिपाही
या बन्दो हो
एउटा योद्धा
सेतो कोट भिरेर
निको पार्दो हो
आमाको छातीमा हुर्किएको
एउटा दीर्घरोग
ऊ बन्दो हो आफ्नै बजुजस्तै
कालीगढ र कुद्दो हो
ढुंगामा देउता
जसलाई सजाउँछौ मन्दिरमा तिमी
अनि बन्द गर्छौ ढोका
जहाँ पस्न पाउँदैन त्यो कालीगढ
जसले देउता बनायो
ऊ बन्दो हो धर्ती पुत्र
अनि फलाउँदो हो पाखो फारेर
कोदो, मकै र फापर
अनि मेटाउँदो हो भोक
आमा समूल नष्ट गर्न चाहन्छिन्
छातीको दीर्घ रोग
पिलाउन चाहन्छिन्
तिमीलाई अनि मलाई
छातीको दूध
जसमा भरिएको छ
भातृत्व र मातृत्वको प्रेम
आमा चाहन्छिन् वर्षाउन
पीयूष वर्षा
माया-प्रेम र सद्भावको
तिम्रो, मेरो र उसको लागि।