म अहिले उभिरहेको छु
राहदानी बनाउने लाइनमा
यतिखेर साथी
तिम्रो मुखबाट निस्केका शब्दहरु
हावामा उडान भर्दै
मेरो कानसम्म आइपुगेर
मेरो आदर्शलाई हमला गरिरहेछन्।
कुनै दिन
तिमीले परको देशमा जाँदै गरेको कुराभन्दा
मेरो मुटुमा
छुराले हानेजस्तो भएको थियो
अनि मेरो आदर्शले
तिमीलाई हमला गरेको थियो-
साथी!
तिमीलाई यहाँको सुन्दर पहाडको
माया लाग्दैन?
तिमीलाई यहाँको माटोको
माया लाग्दैन?
तिमीलाई यहाँका फूलहरूको
माया लाग्दैन?
कसरी सक्छौ तिमी
आफ्नो देशको आकाशलाई
माया नगर्न?
कसरी सक्छौ तिमी
आफ्नो देशको माटोको
सुगन्धलाई बिर्सन?
कसरी सक्छौ तिमी
आफ्नै आमालाई रुवाएर टाढा हुन?
तिमीले घर छाडेर परदेश जाँदा
त्यति बेला तिमी
अठार वर्ष पुगेका थियौ
मैले त्यतिबेला सोचेकै थिइनँ
तनको उमेरले केवल
अठार वर्ष मात्र पार गरे पनि
मनको उमेरले भने
हजारौं अठार वर्षहरू
पार गरिसकेको पो हुँदो रैछ
अहिले आफै अठार वर्ष पुगेपछि
बल्ल बुझ्दैछु साथी
गालामा दुई/चार दारी
आउन नपाउँदै
गलामा दुई/चार हजार भारी
आइपुग्दो पो रहेछ।
आफ्नो घर-गाउँ छाडेर
अर्काको ठाउँ जाँदा
त्यतिबेला तिमी शान्त थियौ
मैले त्यतिबेला सोचेकै थिइनँ
अनुहार शान्त भएको बेला पनि
आँखाहरू बोल्दा रहेछन्
मनको भाषामा
बल्ल पो बुझ्दैछु
यी आँखाले बोल्ने मनको भाषा
बुझ्न मात्र सजिलो हुँदो रहेछ
बुझाउन धेरै गाह्रो हुँदो रहेछ।
त्यतिबेला
तिम्रा आँखाले व्यक्त गरेका कुरा
मैले पूरा बुझ्न सकिनँ
आज
मेरो कुरा कसैले बुझ्ने भए
म भनिदिन्थेँ होला-
कसलाई माया लाग्दैन होला र
आफ्नी आमाको?
तर के गर्नु?
निधारमा भाग्यको
धार लगाउन
आफ्नो सानो झुप्रोमा
खुसीका थुप्रोहरु भर्न
सपनाको पछि लागेर
गन्तव्य नाप्नुपर्ने रहेछ
त्यो परको देशमा।
आज, मेरा कुरा कसैले बुझ्ने भए
म भनिदिन्थेँ होला...
अहो!
बिहानैदेखि लाइनमा बसेको
भर्खर पालो आएछ
सर, नमस्कार!
यि, नागरिकता लिनुस्
सिफारिस पनि लिएरै आएको छु
मेरो राहदानी कहिलेसम्म बन्छ सर?