लक्ष्मी! उसको नाम मात्रै लक्ष्मी हो। उसलाई लक्ष्मीको दर्जा कहिले पनि मिलेन। ऊ यो धर्तीमा आउनु नै उसको लागि सबैभन्दा ठूलो भुल भयो, ऊ आफै भन्छिन्।
रगतको नाताले ऊ मेरो लागि कोही पनि हैन तर केही रगतका नाताभन्दा भावनाका नाता कयौँ गुना प्यारा हुँदा रहेछन्। मैले लक्ष्मीलाई भेटेपछि मात्रै यो कुरा महसुस गरेँ।
उनीसँग मेरो पहिलो भेट पुस्तकालयमा भएको थियो। बजार गएको बेला म एकचोटि पुस्तकालय नपसी रुममा फर्कदिनँ थिएँ। बजार जाँदा पनि प्रत्येक कामको लागि म समय छुट्याउँथेँ, त्यो मध्ये पुस्तकालयको लागि ३० मिनेट हुन्थ्यो। त्यो ३० मिनेटको समयमा म कुनै एक विषयवस्तुको किताब हातमा लिएर पुस्तकालयकै छेउको कुर्चीमा बसेर पढ्थेँ। मैले पढ्ने पुस्तक भनेको सामान्य ज्ञान, उपन्यास, धार्मिक ग्रन्थ हो। मैले यी पुस्तकहरु मध्ये सबैभन्दा कम पढ्ने पुस्तक उपन्यास नै हो।
पुसको महिना, शनिबारको दिन थियो। शनिबारको गर्नु पर्ने काम सबै सकेर तरकारी लिन बजार गएँ। तरकारी पसलभन्दा पहिला मेरो पुस्तक पढ्ने अड्डा आउँथ्यो। यानकी मैले तरकारी किन्ने पसल भन्दा अघि मैले पुस्तक पढ्ने पुस्तक पसल अघि आउथ्यो। म त्यही रोकिन्थेँ र त्यो दिन पनि रोकिएँ।
पुस्तकालयमा साहुनी र साहुजी दुवैजना थिए। मलाई दुवैजनाले राम्रोसँग चिन्दथे। म त्यहाँ पुग्दा पसलमा अलि भिड थियो। साहुजी बिल काट्दै थिए, साहुनीले मलाई बस्न आग्रह गरिन्। बस्नुभन्दा पहिले मेरो नजर डोरीमा झुन्डाएको उपन्यासमा गएर रोकियो। उपन्यासको नाम थियो 'छाउघर'। मलाई यो नामले नै उपन्यास तिर तान्यो र मैले साहुनीबाट त्यही उपन्यास मागेँ। उपन्यास लगेर छेउतिर गएँ।
'छाउघर' उपन्यास सुदूरपश्चिममै जन्मिएका लेखक राज सरगमले लेख्नुभएको रहेछ। राज सरगमद्वारा लिखित उपन्यास फाइन प्रिन्टले बजारमा ल्याएको रहेछ। छाउघर उपन्यासमा १२ वर्षे बालिकादेखि अन्य उमेरका छाउ हुने महिलाले भोग्ने दुःख, कष्ट, भोक, प्यास, डर, त्रास र नारीहरुको बाध्यताको चित्रण गरिएको थियो। मैले पुस्तक पढ्न सुरु गरेँ। केही पानाहरु मात्रै पढेर भ्याएकी थिएँ, एकछिनमै पुस्तकालय अघिको भिड पनि हट्यो। साहुजी खै कता हो बाहिर जानुभो।
त्यसैबेला एकजना ३०/३५ वर्षको देखिने महिला पुस्तक पसलमा पुगिन्। उनी साहुनीसँग कुरा गर्दै थिइन्। कुरा थियो उनको गर्भमा हुर्किँदै गरेको सन्तानको। उनीहरु बीचको कुरा अलि चाखलाग्दो थियो। म पनि नजिक गएँ। एकछिन दुवैजनाका कुरा सुनेँ। ती महिलाको गर्भमा चौथो सन्तान हुर्किँदै रहेछ र त्यो सन्तान के रहेछ छोरा या छोरी भनी लिङ्ग पहिचान गर्ने कुरा दुवैजना बीच भइरहेको थियो।
मलाई ती दुवैका कुरा सुन्न मन नलागेको कहाँ होर तर मेरो त्यो दिनको पुस्तकालमा बिताउने समय सकिएकोले तरकारी लिन तल्लो पसल तिर लागेँ। मैले आलु, बोडी, काउली, टमाटर लगायतका तरकारी किनेर फर्किँदै थिएँ, बाटोमा पुस्तक पसलमा देखेकी महिलासँग भेट भयो। मलाई किन हो किन उनीसँग परिचय गर्न मन लाग्यो।
मैले उनलाई सोधिहालेँ, 'दिदी, हजुरको घर कहाँ हो?'
उनले सहजै जवाफ दिइन्, 'यही माथि हो, बहिनीको कता होनि?'
'मेरो पनि यहीँ माथि तिर रुम छ।'
उनले 'ए, ए' मात्रै भनिन्।
मैले फेरि सोधेँ, 'के ल्याउनु भयो दिदीले बजारबाट?'
'वर्णमाला।'
'कसको लागि हो दिदी?'
उनले 'मेरो कान्छी छोरीको लागि नि' भन्ने बित्तिकै मैले अर्को प्रश्न तेर्स्याएँ, 'दिदी हजुरका कति छोराछोरी छन्?'
'छोरा भए त यो रातदिनको कलह किन हुँदो हो?' छोरीहरुलाई अपशब्द बोल्दै उनले त्यो बेला स्थानीय लबजमै भनिन् 'दुई परघरी मात्रै छन्, (यानिकी दुई पराईका घर जानेहरु छन् छोरी।)'
उनको मुखबाट छोरीहरुका लागि निस्केका अपशब्द बारे चासो राख्दै सोधेँ, 'दिदी, किन यसरी गाली गर्दै हुनुहुन्छ? आखिर सन्तान त उनीहरु पनि हुन्, उनीहरुले पनि तपाईंको गर्भमा ९ महिना बास गरेका हुन। उनीहरुले पनि तपाईंकै छातीको दूध खाएका हुन्। आखिर उनीहरुको शरीरमा तपाईंकै रगत बगिरहेको छ। उनीहरुका लागि तपाईं कति छाक भोकै बस्नु भो? थाहा तपाईंलाई नै होला? उनीहरुको शरीरमा तपाईंकै रगत बगिरहेको छ हैन त? सन्तानले गर्भमा जन्मलिएदेखि आजसम्म कति दुःख-पीडा सहनु भयो होला? त्यो पनि तपाईंलाई थाहा होला। अनि यसरी दुःख दर्द सहेर प्राप्त गरेका ती बालिकालाई यस्ता अपशब्द किन?'
'बहिनी तिमी बुझ्दैनौ, यो कुरा नै गहिरो छ। मेरो छुट्टिने बाटो आयो, मेरो घर यही हो बरु समय मिले आउँदै गर, फुर्सदमा दुःख-सुख साटूँला नि,' यति भनेर आफ्नो कुराहरुलाई त्यही छोडी उनी आफ्नो बाटो लागिन्।
अब मेरो खुल्दुली भने झन् बढ्यो। मेरा प्रश्नहरुको जवाफ मैले पाइनँ तर के गर्ने, उनले नै बाटो मोडेर गइन्। म पनि आफ्नो रुम तिर लागेँ। त्यसपछिका दिनमा तिनका कुरा मात्रै मेरो मन मस्तिष्कमा आइरहन्थे। फेरि संयोगवश अर्को हप्ताको शनिबार एक चौरमा तिनीसँग भेट भयो। म अर्को दिनको शनिबार पनि साँझपख घाम ताप्ने भनेर रुमबाट बाहिर जाँदा-जाँदै त्यो चौरमा पुगेँ। ठ्याकै चौरमा उसलाई भेटेँ। उनी पनि घाम ताप्दै केही उन्दै थिइन्।
मैले झ्याप्प पछाडिबाट नै उनका आँखा बन्द गरेँ। उनले आफ्ना साथीसखीहरुका नाम भन्दै गइन् तर मिलेन। मिलोस् पनि कसरी, मेरो नाम नै उनलाई थाहा थिएन। मैले एकछिनमै आँखा खोलेर अगाडि गएँ र दिदी चिन्नु भो भनेँ।
उनले चिनेँ भन्दै खबर खाबर सोधिन्। हामी बीचको सामान्य कुराकानी सकियो। मैले आफ्नो नाम पनि बताएँ र उनले पनि। मैले दिदीलाई गएको शनिबारको दिनको कुरा सम्झाउँदै सोधेँ, 'दिदी, हजुर एक छोरी मान्छे भएरै आफ्नो छोरीहरुप्रति यति अप्रफुल्ल किन? त्यो पनि एक आमा भएर?'
'सानी छोरीहरुप्रति अप्रफुल्ल म होइन, यो समाज हो। मलाई यहीँ समाजले छोरीहरुप्रति अप्रफुल्ल हुन बाध्य गराएको छ। समाजकै कारणले मैले समाजलाई पोख्न नसकेको रिस, भन्न नसकेको कुरा मेरा निर्दोश छोरीहरुमाथि पोख्छु। कुनै आमा आफ्नो सन्तानको कुभलो चाहन्छे र सानी?'
यत्तिकैमा म रिसाएरै थप्छु, 'दिदी, समाजलाई पोख्न नसकेको रिस, भन्न नसकेका कुरा ती सानी बहिनीहरुमाथि कहिलेसम्म पोख्ने? कहिलेसम्म भन्ने? यो समाजका निम्ति ती छोरीहरुले उपहारमा अपशब्द कहिलेसम्म पाउने?'
दिदीसँग केही जवाफ थिएन। ती दिदी एकैछिन खै कता हराइन्।
मैले उनलाई अर्को प्रश्न गरेँ, 'दिदी, हजुर फेरि आमा बन्दै हो?'
उनले टाउको मात्रै हल्लाइन्। यो बेलासम्म उनका आँखाबाट टिलपिल-टिलपिल आँसु झरिसकेका थिए। एकछिन दुवैजना भावनामै हरायौँ।
केही बेरपछि उनले आँसु पुछ्दै भनिन्, 'सानी छोरीले त जन्मिनुभन्दा पहिला गर्भमै तुहिएर मरेकै बेस, बाचेर पनि पटक-पटक मर्नुभन्दा एकै पटक गर्भमै तुहिएर मरेको बेस्।
सानी, मेरो नाम लक्ष्मी भएर के गर्नु? लक्ष्मीको दर्जा कहिले पनि मिलेन, छोरी भएर यो धर्तीमा आउनु नै मेरो लागि सबैभन्दा ठूलो भुल भयो सानी। उफ्।
सानी, मैले योभन्दा पहिला पनि एक भ्रूण हत्या गरेकी हुँ र अझै पनि छोरी नै रहेछ भने फेरि एक अर्को हत्या हुनेछ। हुन त छोरीलाई जन्माएर पटक-पटक मर्नुभन्दा गर्भमै हुँदा मारेको जाती।'
उनी आफ्नो जन्म कथा सुनाउछिन्...
सानी, म मेरो बाबाआमाको सातौँ सन्तान हो। छोरा जन्माउने आशमा सात छोरी नै छोरी जन्मियौँ। म सबैभन्दा कान्छी छोरी हो। मलाई परिवारले माया गर्नु र मेरो मान सम्मान गर्नु त परको कुरा हो। म जन्मेको खबरले मेरो गाउँनै निरास भएको थियो रे। म जन्मेकै दिन मेरो हजुरआमाले मलाई जिउँदै गाड्न भनी खाडल नै तयार पारेका रे।
त्यती मात्रै होर? मेरो आमा काममा गएको मौका छोपी हजुरआमाले त मलाई विष पनि खुवाउनु भएको होरे, तर बाँच्न लेखिएको रहेछ। त्यसैले आज म यसरी पल-पल मरेर पनि बाँचिरहेछु। मेरो आमाबाट सात-सात सन्तान जन्मिए पनि कुलको रक्षा गर्ने कुलरक्षक नजन्मिएको भनी, कुल जोगाउन बाको अर्को विवाह गरियो। बाको अर्को विवाह गरेको केही समयपछि आमाले नै छोरालाई जन्म दिनुभयो। भाइ जन्मिएपछि त गाउँघरमा नै उज्यालो छायो, कतिपय गाउँलेहरुले यही भन्न्थे गर्थे।
भाइ जन्मिएपछि मात्रै मेरो केही देखावटी प्रशंसा गरिन्थ्यो। म आएपछि भाइ आएकाले छरछिमेकी, गाउँले, हजुरआमा, हजुरबाजे सबैले मेरो देखावटी गाथा गाउथे कि वंश जोगाउने वंशको रक्षक ल्याएकी त मेरो लक्ष्मीले नै हो भनेर। कति न मैले तपस्या नै गरेर ल्याएको जस्तो गर्ने। त्यसपछिका दिनहरुमा भाइको स्याहारसुसारमा सबैको ध्यान बढी केन्द्रित हुन्थ्यो।
हामी सातै जना दिदीबहिनीहरुलाई त मिल्ने भनेको अपशब्द र तिरस्कार मात्रै हो। माया-ममता के हो महसुस गर्न नै मिल्दैन थियो। आमा र बाबाको लागि सबै सन्तान उस्तै हुन्। जन्मिएपछि आफ्नो रगतको माया लाग्ने नै हो तर हजुरआमाले मेरो बाबाआमाबाट त्यो अधिकार पनि छिन्नु भएको थियो। हजुरआमाको सर्वश्व भनेको भाइ नै थियो।
एउटा नारीले नै नारीलाई बुझ्दैन रहेछ। मेरो हजुरआमाले हामी सात बहिनी र मेरो आमामाथि के बितिरहेको होला, कहिले महसुस गरिनन्। भाइको लागि न्वारन, पास्नी बाजागाजा रमझमजस्ता संस्कारहरू तर हामी दिदीबहीनी हुँदा ती संस्कार कहाँ थिए होला? हामी दिदीबहिनीहरु एक सरो लुगामा नै वर्ष काट्थ्यौँ। भाइको लागि भने महिनैपिच्छे नयाँ लुगा आउँथे। कहिले मामाले ल्याइदिन्थे, कहिले काका-काकी, कहिले हजुरबाजेले। तर खै! हामी दिदीबहीनीहरुका लागि यी सबै नातागोता बचाउका लागि मात्रै रहेछन्।
भाइलाई स्कुल पठाए, हामी बहिनीहरु मध्ये दुईजना बहिनीहरु मात्रै स्कुल गयौँ। त्यो पनि ७/८ कक्षमा पढ्दै गर्दा विवाह गराइदिए। विवाहपछि त पढाइमा पूर्णबिराम लागिहाल्यो। घरको काम चुलो-चौको, घाँस-दाउरा उकाली-उराली, सासु-ससुराको स्याहारसुसारमा नै दिन जान लागे। त्यसैमा छोरीहरु थपिए, झन् समाजका तिखा वचन- छोरा पाउन नसकेकी आइमाई लगायत कति हो सुन्नु कति!
सानै उमेरमा आमा बनेँ त्यो पनि छोरीको। त्यसपछिका दिन त झन् नर्क सरह हुन थाले। यस्तै रहेछ क्यारे छोरीको जीवन, कहिले बुहारी भएर खेदिनु पर्ने कहिले छोरी भएर त कहिले छोरा जन्माउने मेसिन भएर। मैले पहिलो पल्ट भ्रूण हत्या गरेँ, त्यो बेलाको पीडा महसुस गर्ने कोही छैन। एउटी आमाको वेदना दुःखकष्ट महसुस गर्ने कोही छैन। नारीले नै नारीलाई बुझ्दैन, अब अरुका कुरा के गरुँ सानी?'
दिदीले यति कुरा भनिसकेपछि लामो स्वास फेरिन्। मलाई जान्न मन लागेको अर्को प्रश्न, 'एउटी आमाले गर्भपतन गराउँदाको क्षण कस्तो हुँदो रहेछ? कस्तो पिडा हुँदो रहेछ? यी प्रश्न लक्ष्मी दिदीलाई सोधिहालेँ।
'सानी, मैले त्यो दिन आफ्नै रगतको रक्षा गर्न सकिनँ। घर-परिवार, साथीभाइ सबैको सल्लाह यही थियो कि 'मेरो गर्भमा के छ भनी पहिला निर्क्योल गर्ने। यदि छोरी नै हो भने यो संसारमा आउनुअघि नै बिदाइबारी गरिदिने, छोरा हो भने बाच्न सक्छ रे र जसरी पनि बचाउने रे।
सबैको चाहना एकै थियो, म छोराको पनि आमा बनेको हेर्ने। मेरो गर्भमा जन्म लिइसकेको भ्रूणलाई त सबैकुरा थाहा थियो ऊ को हो भनेर, उसको लिंगबारे अन्जान भनेको त केबल बाहिरका मानिसहरु मात्रै थिए। मैले श्रीमानलाई अस्पताल नजाउँ न भनी एकपल्ट अनुरोध गरेँ तर उहाँ मान्नु भएन। झन् उल्टै नानाभाती कुरा गर्नुभयो।
भन्नुभयो, 'दुई छोरीहरु छँदै छन्, यिनीहरुलाई रेखदेख गर्न त कस्तो गाह्रो छ। झन् तेस्रो पनि छोरी नै भई भने म त रेखदेख गर्न सक्दिनँ। तँ आफै गर्ने भए ठिकै छ नजाउँ नत्र खुरुखुर हिँड्।'
मैले मेरो पढेलेखेको श्रीमानकै मुखबाट छोरीहरुप्रति यस्तो विचार आउँछ होला भनी सोचेकी पनि थिइनँ। म अस्पताल जान बाध्य भएँ र गएँ। मैले चेकअप पनि गराएँ। भगवानलाई म प्रार्थना गर्दैथेँ यसपालि त छोरा नै होस् भनी तर मैले जति प्रार्थना गरे पनि जन्म लिनेले लिइसकेको थियो, अब परिवर्तन हुनेवाला थिएन।
डाक्टर मेरो सबै रिपोर्ट लिएर श्रीमानकहाँ जानुभयो। एकछिनपछि श्रीमान अँध्यारो मुख लिएर मतिर आउनु भयो। श्रीमानको अध्यारो मुखबाट सबै कुरा प्रष्ट थाहा पाउन सकिन्थ्यो। तैपनि मैले आत्तिँदै सोधेँ के भयो भनी। उहाँ थच्च बस्नु भो, अनि दिक्क मान्दै मुख बिगारेर भन्नु भो, 'यसपालि पनि छोरी नै रहेछ। यो फुटेको किस्मतमा छोरा हुनु लेखेको भए पो? हुन त तिम्री आमाका समेत सात छोरी भएका हुन्, तिमीतिर पनि त्यही गुण त आएका होला नि।'
उहाँ रिसले मुरमुरिनु भयो। उहाँको म र मेरी आमा प्रतिको त्यो अभिव्यक्ति देखेर म अच्चम परेँ। उहाँ शिक्षित भएर के गर्नु, आखिर व्यवहार अशिक्षितको भन्दा कम थिएन क्यारे।
त्यसपछि मेरो भ्रूणमा भएकी मेरी छोरी रुँदै गरेको म सहजै महसुस गर्न सक्थेँ। उसले भनेको कुराहरु म महसुस गर्थेँ। ऊ भन्दै थिई 'आमा मलाई बचाउनु होस्, म पनि यो सुन्दर संसारमा आउन चाहन्छु। यो संसार हेर्ने मलाई पनि ठूलो रहर छ।' तर मैले उसका सबै रहर गर्भमा हुँदै नासिदिएँ, मासिदिएँ।
अन्तिममा उसलाई मैले बचाउन सकिनँ। उसलाई गुमाउँदाको पीडा सम्झिँदा आज पनि मुटुमा अखबरे खुर्सानी दलेजस्तै हुन्छ। सानी अझ कहिलेकाहीँ त ठिकै गरेँ जस्तो पनि लाग्छ। यदि उसलाई मैले बचाएको भए पनि उसका रहर पटक-पटक मासिन्थे, उसका इच्छा यहाँ पटक-पटक नाश हुन्थे। यसरी पटक-पटक नासिनु, मासिनुभन्दा एकैचोटि नासिए-मासिएको बेस हैन त?'
उनका यी कुराले मन विक्षिप्त भयो। यहाँ छोरी कुनै ठाउँमा पनि सुरक्षित छैन। जहाँ छोरी कसैले देख्न र छुनसम्म नसक्ने गरी बसेकी हुन्छे, त्यहाँ पनि उसको बारेमा खोजीनीति गरी उसलाई समाप्त गरिन्छ। छोरीको लागि गर्भ समेत असुरक्षित छ। सबैभन्दा पहिलो घर भनेको गर्भ हो र छोरीका लागि पहिलो घर समेत असुरक्षित छ भने यो धर्ती कसरी सुरक्षित होला? धर्तीमा आएपछि त उसका भावनाको कदर हुँदैन।
दिदीले भ्रूण हत्या गर्नु परेको बाध्यताले मलाई केही सोचमग्न बनायो। अब डर यो थियो कि फेरि अर्को पनि भ्रूण हत्या हुने होकि भन्ने। उनीमाथि बितिरहेको त्यो पीडाको अन्त्य पनि हुने होइन कि भन्ने।
हामी त्यो दिन यति कुरा गरेपछि आ-आफ्नो बाटो तिर लाग्यौँ। त्यसपछि हामी नियमित सम्पर्कमा रहिरह्यौँ, कहिले फोनमा कहिले भेटेर मनका कुरा साटासाट गर्थ्यौं। हामी दुवैजना खुबै नजिक भइसकेका थियौँ।
केही समयपछि उनी फेरि चेकअप गराउने भनी अस्पताल गइन्। यसपालि अस्पतालबाट हँसिलो मुहार लिएर आइन्। अस्पतालबाट आएपछि सबैभन्दा पहिला मलाई भेट्न आइन्। त्यो दिन उनको अनुहारमा अलग्गै चमक छाएको थियो। मलाई झ्याप्प अंगाल्दै भनिन्, 'सानी, यसपालि फेरि एक भ्रूण हत्या हुनबाट बच्यो। म अब दुई छोराको आमा बन्दै छु। मेरो गर्भमा दुइटा छोरा छन् रे! अब मेरा दुःखका दिनहरु पनि समाप्त हुने भए।'
त्यो खुसी उनको लागि थियो र दुवैले बाढ्यौँ। अब उसलाई कसैले पनि अपुता आइमाई भन्दैन, यो समाजले उनको वंश रक्षक पाउने वाला थियो। त्यो पनि एउटा होइन, दुई-दुई वटा।
लक्ष्मी दिदीको नाम लक्ष्मी राखेर के भयो त, छोरा नआउँदासम्म उनलाई लक्ष्मीको दर्जा दिएन यो समाज र परिवारले। उनले छोरा नपाउँदासम्म चैनसँग केही गर्न पाइनन्। कति नारी यस्तै पीडामा पिल्सिएका होलान् है? अब म यो समाजलाई के नाम दिउँ? पुरुष प्रधान भनुँ या कुनै अरु? पुरुष बिना केही हुँदैन, कुनै पनि काम सम्भव नै छैन भन्ने सोच पनि पुरुषभन्दा बढी महिलामा नै देखेँ। सासुले बुहारीलाई गर्ने व्यवहार किन परिवर्तन भएन? सासुलाई पनि नाती नै चाहिने?
सासु आफैमा एक छोरी, महिला, नारी हैन र? छोरीले वंशको रक्षा गर्न सक्दैन र? छोरीले बाआमालाई दागबत्ती दिनु मिल्दै मिल्दैन र? हुन त छोरीलाई विवाहमा दान दिएर पठाएका हुन्छन। अनि उनीहरुले यो सबै काम कसरी गरोस्?
यो समाजको कुरा मात्रै होइन, किन फिल्ममा समेत गुण्डाहरुले हिरोइनलाई छेड्दा बचाउन हिरो नै आएको देखाउँछन्।गुण्डाहरुले हिरोलाई छेडेको अनि हिरोइनले आएर बचाएको सिन किन देखाएनन्? यसको मतलब के?