रगतका आँशु झारेर
म फर्किएको पहिलो बिहान
तिमीलाई विधवा नदेख्नु
कस्सम अहोभाग्य हो मेरो
नसोध छातीको भित्तामा टाँसिएको
तिम्रो ताजा तस्विर कत्ति चोटि बोल्यो म सँग
र कत्ति चोटि बोलाएँ मैले
तिमी गएदेखि
औंलाका नङहरू बढेर लामा लामा भएका रहेछन् मेरा
जो पहिले तिम्रा हातका औंलाहरुमा देखेको थिएँ
आँशुको लेऊ जमेर आँखामा कालो ध्वाँसो बसेको रहेछ
जो पहिले तिम्रा आँखामा गाजल देखेको थिएँ
ओठबाट किन रंग उडेर फुस्रो भएको हो मेरो ?
जो पहिले तिम्रा ओठमा लालीहरुमा लतपतिएर रंगीन हुन्थे
जिऊ गन्हाउने भएको रहेछ डङडङी अहिले मेरो
जो पहिले तिम्रो अँगालोमा तिमी गन्हाउँथ्यौ मगमगी
तिम्रा अगाडि
म कपडा लगाएर पनि लजाउने भएको रहेछु अहिले
मेरा अगाडि
कपडा नलगाई पनि लजाउदिन थियौं तिमी पहिले
मेरो चेत भरिएको मथिङ्गलमा बेचैनी दिएर
मनमा होस सम्हालेको मलाई बेहोसी बनाउने
क्या जादु रहेछ तिमीमा
कस्तो अद्भूत कला रहेछ तिमी भित्र
भगवान कसम मेरी मायालु
बौलाहा बनायौ र सज्जन भन्यौ
सज्जन बनायौ र बौलाहा भन्यौ
हो , यसरी पनि त बाँच्न सिकायौ
अधरमा मुस्कानको एटम बम बोकेर आएकी रहेछौ
त्यही मुस्कान पड्किएको पहिलो हाम्रो भेटमा
खाल्डो परेको मैले टेकेको जमिन
आज सम्म पुरिन सकेको छैन
तिम्रै आँखामा ठोक्किएर लडेको मेरो आँखा
घाइते बनेर आज सम्म उठ्न सकेको छैन
तिम्रै हातका लहराले जेलिएको मेरो शरिरमा
आँख्लै पिच्छे न्यानोपनका गुलाफ फक्रिएका छन्
तिम्रा प्रत्येक अंगले अघाउन्जेल चुमेका
मेरा प्रत्येक अंग आधा भएका छन्
अधुरा भएका छन्
अपाङ्ग भएका छन्
माँ कस्सम मेरी मायालु
प्रेमलाई पूजा गर्न सिकायौ
प्रेमलाई आरती गर्न सिकायौ
तिमी स्वंय देवी त थियौ मेरो
चिसो घाम तापेर मैले अँध्यारो दिन भोगें
जलेको रात च्यातेर तिमीलाई सिङ्गो बनाएँ
कलिलो घामले छोएर जान्थ्यो
वयस्क घामले पोलेर जान्थ्यो
बुढो घामले धोएर जान्थ्यो
घामले छुँदा पनि सम्झिएँ तिमीलाई
घामले धुँदा पनि सम्झिएँ
सँधै एकनासले देखिने तिम्रो प्रेमिल घाम
म बाट कहिल्यै ओझेल परेको छैन
तिम्रो हाँसेको तस्विर ले दिएको उज्यालो
काफी छ अहिले पनि म बसेको कालो कोठालाई
मेरो एक्लो जिन्दगी लाई
किनकी
घाम र प्रेम कहिले अँध्यारो हुँदैन मायालु !!