कलेज जान लागेको दुई हप्तामा पहिलो पटक कुनै एकमा नजर पुग्यो। भक्तपुर बसपार्कबाट छिटो-छिटो पाहिला चाल्दै म त्रि-चन्द्र कलेजको गेटमै पुगेको थिएँ कसैले प्रश्न सोध्यो, 'बिएससी पहिलो वर्षको पढाइ कता हुँदैछ?'
'म पनि पहिलो वर्षकै हुँ, हिँड्नु न सँगै जाऊँ,' मैले प्रस्तावसँगै पुनः प्रश्न सोधेँ, 'आज पहिलो दिन हो?'
'उम्, होनि' भन्दै ऊ मसँगै पाहिला चाल्दै हिँडी।
कालो मफ्लर अनि मास्कले मिठो बोली बोल्ने त्यो मुहार ढाकेको थियो। कोठासम्म पुगेर केटाहरुसँग कुरा गर्दागर्दै एउटाले फ्याट्टै बोलिहाल्यो, 'नाम के रहेछ तिमीसँग आउनेको?'
अहो! हतारमा मैले नाम नै सोध्न बिर्सेछु। अन्तिममा ऊसँग परिचय मागेँ।
'म शशिमा पोखरेल, बुटवलदेखि। अनि तपाईंको?'
'म शशि, गुल्मीबाट' भन्दै बिदा मागेँ। घर पुगेर फेसबुकमा यो नाम खोज्दा ऊ बाहेक धेरैलाई भेटेँ!
महिना-दिन बित्यो, कहिलेकाहीँ यसो कक्षामा आँखा जुध्ने बाहेक अरु कुरा अगाडि बढ्न सकेन। सुरुमै खोजी गरे केटीहरुको भाउ बढ्छ भन्ने केटाहरुको डाइलगलाई याद राखेर म अगाडि बढ्न खोजिनँ। दुई हप्तापछि गेटमै हाम्रो भेट भयो। सामान्य कुरापछि मैले प्रश्न राखेँ, 'तिमी हाम्रो फेसबुक ग्रुपमा छैनौ हो?'
'छु तर कुरा गर्दिनँ। किन?' भन्दै उल्टै मलाई प्रश्न तेर्स्याई उसले।
'हैन यसै' भन्नु बाहेक अरु विकल्प मेरो अगाडि थिएन। उसको आइडी मागौँ कि नाइ भन्ने कुरामा मनले वकालत गर्दै थियो यत्तिकैमा मुखले सोधिहाल्यो, 'नाम चाहिँ के छ?'
'मेरो आफ्नै नाम छ नेपालीमा, तर थर सुरुमा।'
दिउँसो घर पुगेर उसलाई साथी बन्न प्रस्ताव पठाएँ। केहीछिनमै प्रस्ताव स्वीकार गरेको जानकारी पनि पाएँ। प्रेम यात्राको पहिलो खुड्किलो चड्न सफल भइस्, मनले मनलाई बधाई दियो। बधाई लामो समयसम्म टिक्न सकेन। मभन्दा पहिला धेरैजना खुड्किलो चढिसकेका रहेछन्।
वर्षौं राजनीति गरेकादेखि लिएर भर्खर कलेज सुरु गरेकासम्म उसको फ्रेन्डलिस्टमा देख्दा लाग्यो, यहाँ एक दौड हुँदैछ। दौडमा सहभागी मजस्ता भर्खर हिँड्न सुरु गरेकादेखि धावकसम्म थिए। एक मनले भन्थ्यो 'दौड जितिँदैन छाडिदे' अर्को मनले सम्झिन्छ 'जित्नुभन्दा ठूलो कुरा हिम्मत नहार्नु हो।'
म उसलाई एक्लै भेट्न चाहान्थेँ, केही कुरा गर्न चाहान्थेँ तर त्यस्तो कहिले भएन। कलेजमा कि त क्यान्टिनमा भेट्न सकिन्छ, कि त लाइब्रेरी। त्रि-चन्द्रको क्यान्टिन त मैले देखेको पनि छैन, सायद कलेजमा क्यान्टिन नै छैन। लाइब्रेरीमा भेट्न म त्यति पढ्ने विद्यार्थी परिनँ।
आजभोलि कलेज छिर्नेबित्तिकै मेरा आँखाले उसको मुहार खोज्ने गर्थ्यो। हरेक बिहान उसलाई हेर्न पाउँदा दिनहरु साँच्चीकै सुन्दर बनेजस्तो लाग्ने। सायद, ठूलो निधारमुनि मिलाइएका आँखीभौ, कालो आँखा अनि झिम्काइरहने परेली, पुक्क परेका गाला, देखेपछि टिप्न मन लाग्ने स्याउजस्तै यी सबलाई छाया दिइरहने त्यो कपाल, सानो नाकमुनि ती गुलाबी ओठ। सुन्दरताको परिचय नै भन्दा पनि फरक नपर्ने उसलाई देख्दा सबैलाई त्यस्तै हुने गर्थ्यो।
विस्तारै आफैलाई लाग्यो, सायद म एकतर्फी प्रेममा छु। जीवनमा कोही हुनु र नहुनुमा धेरै फरक पर्ने गर्छ। साँचो प्रेम भेट्ने कुरा र बच्चामा कालीगण्डकी छेउ सुन भेट्ने कुरा एउटैजस्तै हुन्। मैले उसको माया पाउने कुरा पनि सायद त्यस्तै थियो।
साथीहरु भन्ने गर्थे, 'प्रेमीका बनाउने त कला हो कला, तारिफ गर्न सक्नु पर्छ, हरेक दिन उसलाई केही नयाँ दिन सक्नुपर्छ। यदि नोट दिँदैनन् भने हामीलाई सिनियरको के काम? हो त्यस्तै हो, आज तिमीले मिठो कुरा गरौला केटी मख्ख त्यो गति सम्हालेका मान्छेहरु सधैँभर प्रेममा हुन्छन्। भोलि कसैले तिमीले भन्दा मिठो कुरा गरिदियो भने ऊ उसै व्यस्त। यहाँ प्रेमको पछाडि दौडिनेहरु कयौँ छन्।'
शशिमा र म सामान्य साथीबाट अब केही माथि थियौँ। यहाँसम्म आइपुग्दा मैले उसको बारे त उसले मेरो बारे केही बढी नै जानिसकेका थियौँ। भक्तपुर बसपार्क छेउको आकाशे पुलमा पर्खेर दुवैजान सँगै कलेज जानु अब हाम्रो दिनचर्या नै थियो। म खुड्किलाहरु माथि चढिरहेको आभास गर्थें। समय समयमा उसको मन बुझ्न भनौँ कि आफ्नो मनको कुरा सुनाउन, केही प्रेमिल कुराहरु गर्ने गर्थें।
एकदिन यसै कुराहरुको बीचमा मैले सोध्न पुगेँ 'केटीहरु आफ्नो प्रेमी कस्तो होस् भन्ने चाहान्छन्?'
'किन?'
उसको त्यो प्रश्नमा मैले फेरि थपेँ, 'हैन, केटीहरु केटाको के कुरा बढी हेर्छन्, वा भनौँ कस्तो केटालाई आफ्नो प्रेमी बनाउन खोज्छन् भनेर नि।'
'तिमी पनि कसैलाई प्रेम गर्न लाग्यौ कि क्या हो?' भन्दै उसले भन्न थाली 'केटीहरु केटाजस्तो शारीरिक बनावट हेर्दैनन् है त। छाती र कम्मरको साइज हेरेर को केटी कस्ती भन्ने जस्तो कुरा केटीले गर्दैनन्। प्रेमी कस्तो बनाउने भन्ने कुरा केटीमा भरपर्छ, १०-१२ तिर पढ्ने केटीले बाइक खोज्छे, बिहान-बेलुका मिठो-मिठो कुरा गरोस् चाहान्छे तर ब्याचलर पुगेपछि केटीले जिन्दगी के हो भनेर बुझ्न थाल्छन्। केटोले जागिर गर्छ कि गर्दैन, समस्याहरु कत्तिको बुझ्न सक्छ, दुःख होस् या खुसी दुवैलाई कसरी सम्हालेर अगाडि बढ्न सक्छ जुन यी कुरामा पाको हुन्छ त्यही रोजाइमा पर्छ।'
'भनेपछि तिमी पनि कुनै दिन बाइकको पछि लाग्यौ?' मैले हाँस्दै उसलाई प्रश्न सोधेँ।
'हैन, सबै केटी कहाँ उस्तै हुन्छन् त? म तिमीलाई प्रेम गर्छु भन्दै त आए तर शारीरिक सम्बन्ध मबाट हुँदैन, त्यसैले सबैजना साइड लागे। त्यसैले होला आजसम्म म प्रेममा छैन।'
'सोच त मेरो पनि 'समर लभ, साया' भन्दा खतरनाक कहानी बनाउने हो नि। तर यहाँ कोही केटी नाम सोधे किन भन्ने प्रश्न गर्छन्, नामसम्म भनेकाहरु फेसबुक आइडी माग्दा हाइड छ भनेर टारिदिन्छन्। फेसबुकमा जोडिएकाले पनि भाउ खोजेर हैरान पार्छन्। अब यस्तोमा मेरो प्रेम कहानी बन्छ जस्तो लाग्दैन मलाई,' मैले उसलाई मेरो कुरा सुनाएँ।
'हेर शशि केटीहरुले भाउ त खोजिहाल्छन् नि तर कतिसम्म भाउ दिने भन्ने कुरा हो। आत्मसम्मान समेत ख्याल नराखी भाउ दिँदैछौ भने त्यो केटीले तिमीलाई हेर्दै हेर्दिन। साया, समर लभको सुखद् कहानी बनाउने मेरो पनि इच्छा हो' भन्दै ऊ मुस्कुराई। उसले भनिरहँदा लाग्यो बाटो खुला छ, जित मेरै हुन्छ।
अनुभवले मान्छेलाई धेरै कुरा सिकाउँछ। आफ्नो गल्ती कहाँनेर छ, कहाँ आफू राम्रो यस्तै-यस्तै। प्रेमको यो दौडमा अन्य केटाहरु अनुभवी नै थिए। प्रेमको यो खेलमा प्रथम हुन सकिएन वा अनुभवले नै जित्यो भने धोका नपाएसम्म प्रेमीले प्रेम गर्दैन भन्ने सोची प्रेम चिनेर बसौँला। उद्घाटन हुन नपाउँदै समापन भएको प्रेमको आन्दोलन भयानक हुन्छ भन्ने थाहा हुँदाहुँदै पनि ऊसँग प्रेम यात्राको उद्घाटन गर्ने अनुमती माग्ने सोच बनाउँदै ऊसँग बिदा मागेँ।
तर दिमागले कसैको भनाइ याद गरायो, 'प्रेम र पढाइ सँगै कहिले पनि सफल हुँदैन। कि त प्रेम छाड्नु पर्छ, कि पढाइ!'