'हेल्लो आशिष, म बोलेको। आज तिमी मलाई भेटन् सक्छौ २ बजेतिर लेकसाइडमा?'
धेरैपछि मोबाइलमा डिलिट गरेको तर मनमा डिलिट नभएको नम्बरबाट फोन आयो। 'आज त सकिन्न होला, शुक्रबार भेट्दा हुन्न र?' आफैले फोन काटेँ।
मलाई धेरै कुरा गर्नु नै थिएन। म पुस्तकालयमा काम गर्थें भनौँ म आफै हाकिम थिएँ, आफै पिउन। खासमा कमाई थिएन भन्दा पनि हुन्छ तर मलाई साहित्य प्रतिको लगावले छोड्न सकिरहेको थिइनँ। बिहान १० बजेतिर खोल्यो, साँझ ५ बजेतिर बन्द गर्यो। हिँड्दै अलि परको उधारो चल्ने भट्टीमा सिसाको दुई गिलास स्वाट्ट पारेपछि सिधैँ कोठामा। गयो दुई वर्ष जति यस्तै छ दिनचर्या।
अरुको नजरमा म काम नलाग्ने दारुबाज थिएँ तर जब खोयाबिर्के पेटमा प्रवेश हुन्थ्यो म भित्रको देवकोटा भनौँ या पौड्यालको भूत जाग्दथ्यो।
न्युरोडबाट आउँदा महेन्द्रपुल क्रस गरेपछि अलि पर भित्री गल्लीको पुरानो घर, अहिले नै भत्केला जस्तो, घामको अनुहार देख्नै नपाइने भाडाको कोठा। माथिल्लो तल्लामा बुढी गरुङसेनी आमै (घरधनी) बजै बस्थिन्। आमैको पुर्ख्यौली घर त माथि सिकलेस तिर हो भन्थिन् तर श्रीमानको मृत्युपछि यतै बसिन्।
आफ्नो छोराले सिकलेसमा भएको सबै सम्पत्ति बेचेर पोखरामा घर किनेको र पछि त्यही जग्गा बैँकमा राखेर विदेश गएको, आज सात/आठ वर्षसम्म पनि केही खोजखबर नभएको कुरा रुँदै सुनाउथिन्। बुडियालाई सबैले माया गर्थे, वरपर छिमेकमा मिठो-मसिनो पाक्दा सबैले सम्झन्थे।
मलाई पनि छोरा भनेर बोलाउने गर्थिन्। बेलुका घर फर्कँदा पैसाले पुगेसम्म घरेलु उत्पादन भएको रक्सी ल्याएर दिएमा बुडिया साह्रै खुसी हुन्थिन्। कहिलेकाहीँ मेरो कोठामा मैले पिएर बाँकी रहेको सोमरस आफै लिएर जान्थिन्। म केही भन्दिन थिएँ र यो सबै चलि नै रहेको थियो।
'छोरा पछाडि बारीमा लगाको रायोको सागमा किराले हैरान पार्यो, त्यो राम्रो खालको किटनाशक औषधि लिएर आइजो है बेलुका। अनि सुन्, बेलुका खाना बाहिर नखानू म बनाउँछु तेरो लागि पनि।'
मैले 'हवस्' भनेर हिँडेँ, आमैले सुनिन् कि सुनिनन् थाहाँ भएन।
राष्ट्रिय दैनिकहरुमा प्रायःजसो मैले लेखेको कविता प्रकाशित भई नै रहन्थ्यो। खर्चपानी त्यताबाट पनि अलि-अलि चलिरहेको थियो। हरेक वर्ष हुने कविता प्रतियोगीतामा सानो तथा ठूलो पुरस्कार आई नै रहन्थ्यो।
शुक्रबार बिहान ओछ्यानमा नानाथरी कुरा खेल्दै थियो। दीपिकालाई भेटौं कि नभेटौं भइरहको थियो र पुराना सबैकुरा दिमागमा चलचित्रजस्तै घुमिरहेको थियो। महेन्द्र गुफामा उनी लड्नै लाग्दा मैले समाएको, अपरिचित भएता पनि मोबाइल नम्बर आदान-प्रदान गरेको, आई लभ यू नभनिकन नै दुईटा मुटु एक भएको, लेकसाइडको मिड-पोइन्ट नेर ओलिभ क्याफेको माथिल्लो तल्लामा घन्टौँ कफीको चुस्कीमा बिताएको, यस्तै-यस्तै।
सपनाको तरेलीमा डुबिरहेको बेला उनैको फोन आयो। 'कहाँ भेट्ने हो हामी?' भनेर सोधिन्।
मैले 'तिमी भेटन् बोलाउने, तिमी नै भन। कि पुरानै ठाउँ ओलिभ क्याफेमा आऊँ?'
'हुँदैन, त्यहाँ मेरो बुढाको साथी काम गर्नुहुन्छ। तिमीलाई भेटेको थाहा भयो भने टेन्सन हुन्छ। त्यतै नजिकै सिक्स्थ स्ट्रिटको भित्र एउटा खरले छाना छाएको क्याफे छ, त्यही आऊ न है प्लिज!'
जब हामीबीच प्रेम सम्बन्ध थियो म जहिले पनि पहिलै नै बोलाएको ठाउँमा पुगेर कुरेर बस्थेँ। तर आज किन-किन त्यस्तो गर्न मन लागेन। पुस्तकालय चाँडै बन्द गरेर हिँड्दै गएँ लेकसाइड तिर, पाइला पनि सदाभन्दा छोटो गरेर। हिँड्दै गर्दा उनको फोन आयो, मैले आउँदैछु भनिदिएँ।
चुरोट सल्काएर धुवाँ उडाउँदै क्याफे भित्र गएँ, उनको कफी आधा भैसकेको थियो। 'कस्तो सुहाएको त्यो हातमा चुरोट वाह!' व्यङ्ग्य गरी।
म पनि के कम, भनेँ 'यो ओठमा झन् क्या सुहाउँदछ।'
लामो सर्को तानेर धुवाँलाई हावामा उडाएँ गोलो बनाएँ। वेटर अर्डर लिन आउँदा के मगाऊँ भनेर सोधिन्। जवाफ दिएँ 'दिउँसै त के तीनपाने पिउनू, कफी नै मगाऊ।'
आँखा तरेर हेरिन्। मैले वास्ता गरिनँ। ठाडोगरी भनेँ 'किन बोलाएको मलाई?'
'किन, बोलाउन हुन्न सरकारलाई?' उसको जवाफ।
'कवि ज्यूको खुबै तारिफ सुनिन्छ अचेल पत्रिकामा र टिभीमा। यसो अटोग्राफ लिएर राखौं कि भनेर नि' जिस्केर भनिन्।
नजिकैको न्यापकिनमा कोरिहालेँ र दिएँ सिग्नेचर, म के कम!
'मेरो बुढा पनि कहिलेकाहीँ लेखिसिन्छ नि कविता, तिमी चिन्छौ होला सन्देश कोइराला।'
'खै! चिनिनँ मैले त' भनेँ तर म चिन्थे सन्देशलाई। मभन्दा एक ब्याच जुनियर थियो कलेजमा। ऊ धनी बाउको एक्लो छोरा, अलि ठूलो पल्टिने गर्छ भन्ने गर्थे साथीहरु।
कुराकानी चल्दै थियो, अहिले पनि भन्दै थिइन् 'यो गर, यो नगर, कपाल लामो नपाल, चुरोट-रक्सी नखाऊ।'
आज म किन हो रुखो रुपमा प्रस्तुत हुँदै थिएँ र भनेँ 'तिमी मलाई हैकम जमाउने नाताबाट टाढा भइसक्यौ, त्यसैले कृपया मेरो लागि त्यति कर्न्सन नभएको जाति।'
'तिमीलाई म अबदेखि केही भन्दिनँ, जे मन लाग्यो त्यही गर्नू,' रिसाउँदै भनिन्।
सामान्य गफसँगै फेरि अर्को कफीको अर्डर भयो।
'तिमी खुसी त छौ नि होइन?' प्रश्नको प्रहार भयो दिपीकाबाट।
कविको रुपमा नै प्रस्तुत भइदिएँ-
तिमीले छाडेर गएदेखिका हरेक साँझ पुरस्कार
देब्रेपाटो टुक्र्याउन सफल तिम्रो त्यो अचुक प्रहार
दुई थोपा आँसु बैना राखी, पाएँ दुई पलको मुस्कान
कि त हुँला पागल, कि होला मेरो साथी आफ्नै चिहान।
व्यंगमय मेरो कविता सुनेर दीपिकाको आँखा रसाउनै खोजेको थियो। ब्याकग्राउन्डमा कालीप्रसाद बास्कोटाको इन्स्टाको फोटो भन्ने गीत बजिरहेको थियो।
'मलाई तिमीले भर्खर सुनाएको कविता लेखेर दिन सक्छौ?'
'किन नसक्नु, बरु दुई/चार लाइन थपेरै दिउँला नि, हुन्न?'
त्यसपछि त्यहाँ बसेर अरु दुई कप कालो कफी खाइयो। मैले किन भेट्न बोलाएको भनेर सोधिनँ र उनले पनि भनिनन्।
दिनहरु बितिरहेका थिए। मेरो रुटिन कोठा, पुस्तकालय, भट्टी, कोठा यस्तै चल्दै थियो। एकदिन पुस्तकालयमा रेडियो सुरिहेको थिएँ, त्यो दिन कविताको राष्ट्रिय प्रतियोगीताको परिणाम आउँदै थियो तर मैले यसपालि पठाएको थिइनँ किनकि पहिला त आफैले लेखेको कविता आफैलाई मन परेको थिएन, दोस्रो साहित्यलाई समय पनि दिन सकिरहेको थिइनँ वा अल्छीपना हाबी भइरहेको थियो।
तर रेडियोमा मैले लेखेको कविता प्रसारित भयो, प्रथम भयो भनेर कविको नाम दीपिकाको श्रीमान सन्देश कोइराला आयो। एकछिन चारैतिर अँध्यारो भयो, किनकि आफूले सृर्जना गरेको कविता आफ्ना सन्तानसरि हुन्छन् र आफ्ना सन्तानलाई अरुको नाम दिएको सुन्न झनै नसकिने।
दीपिकादेखि साह्रै रिस उठ्यो। फोन गरेको सम्पर्क हुन सकेन। भोलिपल्ट फेरि फोन गरेँ, अब स्विचअफ भन्ने सन्देश आइरहेको थियो। धेरैपछि नरमाइलो लाग्यो। सानै छँदा टुहुरो भएको, सौतेनी आमासँग लागेर बाउले घरबाट निकालेको, तिमीबिना बाच्नै सक्दिनँ भन्ने कसम खानेले छाडेर गएको, अहिले आएर फेरि त्यस्तै भयो। भाग्यलाई दोष दिनु कि आफैलाई, धेरै कुराहरु दिमागमा चलिरहेको थियो।
***
पुस्तकालयको किताब किन्न राखेको पैसा बोकेर ऊ लाग्यो भट्टी तिर तर त्यहाँ बसेर पिएन। कोठामा पुगेर धेरैबेर दीपिकाको फोटो हेरिरह्यो। पछि के सोचेर हो सागमा हाल्नको लागि ल्याएको किटनाशक औषधि बाँकी रहेको पुरै त्यही रक्सीको बोतलमा खन्यायो। आधा बोतल यसरी पियो कि वर्षदिनको प्यास मेटाउनको लागि हो। त्यसपछि ऊ खाटमा लमतन्न परेर मुखसमेत सिरकले छोपेर सुत्यो। केहीबेरको छटपटाहटपछि ऊ लमतन्न परेर कहिल्यै नउठ्नेगरी सुत्यो।
'बाबु छोरा, के गर्दैछौ? ल हेर खाना रखिदिएको थिएँ, नखाइकन सुतेछ यो त!'
आमैले ऊ उठ्ला भनेर बिरोलो पाइला चालिन्, फर्कंदा अघि पिएर बाँकी रहेको बोतल लिएर मक्ख पर्दै गइन्। चोटामा पुगेर बाँकी रहेको तरकारीसँग सोमरस स्वाट्ट पारिन्। 'आजअघि यस्तो नमिठो स्वादको त पिएको थिइनँ!' नयाँ किसिमको ल्याएछ भन्ने ठानेर सबै नै पिइन् र ढलिन् सधैँका लागि।
दीपिकाले आशिषलाई दिएको धोकाको पुरस्कार। सन्देशले दिपीकाको ब्याग चेक गर्दा पाएको कागजको चिर्कटो चोरेर पाएको पुरस्कार। आशिषले आफैलाई दिएको जीवनको अन्तिम पुरस्कार। आमैले अन्जानमा नजन्माएको छोराबाट पाएको मरणको पुरस्कार। अब कसले कसलाई पुरस्कार दिइएको हो, भगवानलाई नै थाहा होला।
सेती नदीको किनारमा युवतीको लास भेटियो भन्ने सुनियो केही दिनपछि।