म कवि होइन, लेखक पनि होइन
के जानेको छु र मैले?
के बुझेको छु र मैले?
न जानेको छु बन्दुकका कथाहरु लेख्न
न जानेको छु राजनीतिको ब्यथाहरु लेख्न
न त बुझेको नै छु गहन पीडाका खाताहरु
न जानेको नै छु युद्धका ती कठोर नियमहरु
अनि कसरी म कवि हुन सक्छु?
इतिहासदेखि त झन् म बिल्कुल टाढा छु
न पढेको छु गोर्कीका कहानीहरु
न त सम्झेको छु गान्धीका उपदेशहरु
न सम्झेको छु बुद्धका मार्गहरु
न बुझेको शान्ती ल्याउने स्वर्णिम उपदेशहरु
न महसुस गरेको छु मन्डेलाका भनाइहरु
न त आत्मसात नै गरेको छु
रोबर्ट स्ट्रबर्नका प्रेमका आयामहरु
मात्र मैले बुझेको छु मानवताको परिभाषा
जसले देखाएको छ
संघर्षका तप्का-तप्का
दुःखले भिजेका परेलीका
अन्जान टोलाई अनि
नाम्लोले डाम बसालिएका तालुका मर्महरु
र मैले भोगेको छु
पढ्दा-पढ्दै रोकिएका आवाजहरु
लेख्दा-लेख्दै रोकिएका कलमहरु
अनि कोर्दा-कोर्दै च्यातिएका कापीका पन्नाहरु
र मन भित्रका चपेडिएका युद्धका चपेटाहरु
र त पीडा भित्रै पनि मुस्कुराउँदै लेख्ने प्रयास गर्छु
जीवनका तिता आयामहरु।
म कवि होइन
किनभने मसँग छैन
अधिकांश विशाल शब्दावली
विशाल श्लोकहरू अनि
जीवनका रंगिन आयामहरु
म त फिक्कापनमा रमाउने
एक मनोरोगी हुँ
एक कप कफीको चुस्कीसँगै
आफ्नै मनका भाव ओकल्न थाल्छु
अरुको व्यथाहरु बटुल्न थाल्छु
आफ्नै मनलाई पछ्याउँदै
उद्देश्य विहीन यात्राको गाँठोमा
लचिलोपनको विस्मृत दिँदै।
म विशालतामा रम्न पनि चाहन्नँ
आलिशानमा झुम्न पनि चाहन्नँ
सोखको आयामलाई अंगाल्न पनि चाहन्नँ
म त सिर्फ
झुपडी भित्रको
घरको मझेरीमा तप्प-तप्प खस्ने
पानीको थोपाहरु हेरेर टोलाउँदै
पर्दाविहीन झ्यालको एक कुनाबाट चियाउँदै
प्राकृतिको मनोरम दृश्य हेरेर मुस्कुराउन चाहन्छु
जहाँ भेट्छु असीम चाहका शब्दहरु
खुसीका उत्कृष्ट बिम्बहरु
अनि सुन्दर वातवरणले दिएका आकिन्चनहरु
अनि कोर्न थाल्छु
परिवेश सुहाउँदा शब्दलहरहरु आफ्नै सुरमा
जुन प्रत्यक परिवारका गाथाहरुको संगम बनोस्!
यो निलो आकाश
यो प्रेमिल बतासका स्पर्शहरु
साथमा चराका चिरबिर आवाज
साँच्चै अद्भुत शक्ति दिन्छन् यिनले
मनमा ओतप्रोत प्रेम भर्छन्
मनमा प्रेमका अदृश्य आकार कोर्न पुग्छ
त्यो बादलको रंगिन ढिक्क अनि
रमझम झरीमा स्वछ्न्द रुपमा उड्ने चरीको लर्कोले
साँच्चै विचित्र चित्रको बिम्ब छर्न पुग्छ
अनि पानाहरु पल्टाउन पुग्छु
केही प्रेमका अक्षरहरु रङ्याउन अनि वास्तविकताको उजागर गर्न
यतिले मात्र म कसरी कविको उपमा लिन सक्छु?
म कवि होइन
र जब म लेख्ने प्रयास गर्छु
आफूले आफैलाई हराउँछु
आफूले आफैलाई त्याग्छु
यद्यपि म कवि बन्न चाहन्छु
किनकि म चाहन्छु
मेरो शब्दले परिवर्तनको आवाज बुलन्द गरोस्
समानताको बिगुल फुक्न सकोस्
न्यायको ढोका खुल्न सकोस्
समृद्धिको सपना मौलाउन सकोस्
अनि मैले कहिल्यै
व्यक्त गर्न नसकेका
मेरो भावनाहरू सही रूपमा पोखियोस्
अन्यायले थिचिएका यथार्थहरु उजागर होस्
पीडामा पिल्सिएकाहरुको आवाज समेटियोस्
भोको पेटले चाहेको एक गाँस भोजनको प्रतिनिधित्व गरोस्
नाङ्गो शरीरले खोजेको एक जोर कपडाको महत्व बुझोस्
सिटामोलको अभावमा तड्पिएकाहरुको बेदना सबैले बुझोस्
अनि उपलब्धी विहीन डिग्रीले खाएको जीवनका पाटाहरुको दृश्य बोलोस्।
यति मात्र कहाँ होर, म देखाउन चाहन्छु
खाडीमा ५० डिग्री तापले फेरिएका छालाका रंगहरु
युरोपमा मेसिनमा पेलिएका हातका सिथिल पनहरु
अमेरिका र अस्ट्रेलियामा आत्माविहीन संघर्षमा
तड्पिन परेका यावत बसाइहरु
जहाँ
बाध्यताले खेलाइरहेछ
रहरले भुलाइरहेछ
अनि आशले दबाइरहेछ
हो, म यिनै वेदना र भावहरुलाई मात्र उतार्न चाहन्छु
अनि कसरी कवि बन्न सक्छु?
बिन्ती मलाई कवि नभनिदिनूस्।