मलाई आजन्म अघि लगाएर
अँध्यारो जन्माउँदै गरेको सुत्केरी घामजस्तै
तिमी मदेखि किन पछि-पछि
पछि सर्दै छ्यौ?
रुढ अंकजस्तै किन बिजोड-बिजोड हुँदैछ्यौ?
तिमीले खन्याएको मायाको सुगन्ध
तिमीले छोडिहिँडे पनि
मेरो मुटुमा लुकामारी खेलिरहन्छ
तर्सन्छु किनकि
तिमी पछि सरेको सिको गरेर
उदाउँदै गरेको सूर्य पछि सर्न सक्छ।
भुलाउनलाई
मायाको कचौरामा समुन्द्रको उदाहरण पस्कन्थ्यौ
हेर्छु त्यही बासी समुन्द्र
नदीहरू समुन्द्रको बाहुपासबाट फुत्किई
उसलाई नितान्त एक्लै पारेर
छाती पिट्दै पछि-पछि सर्दैछन्।
नदीको पछि-पछि दौडाउँछु नजर
नदीको आलिङ्गनबाट मुक्त भई
मुटु मिर्दै पछि सर्दैछन् पहाडहरू
पहाडलाई एक्लै धुरूधुरू रुवाएर
पछि सर्दैछन् भोका जङ्गलहरू
जङ्गललाई निस्लोट पारेर
पछि सर्दैछन् अनिदा चराहरू।
पछि सर्नेहरूको पछि-पछि सार्छु मेरा नजर
चराहरूलाई भुत्ल्याएर
पछि सर्दैछ निलो बादल
बादललाई निचोर्नु निचोरेर
पछि सर्दै छ कालो आकाश
आकाशलाई आकाशतिर हुत्याएर
पछि सर्दै छ खैरो धरती पछि, पछि, पछि
तीव्र गतिमा कहाँ खसिरहेछ यो धरती?
म निसासिन्छु र कहालिन पुग्छु
धर्तीलाई महाशून्यतिर धकेलेर
किन पछि सर्दै छ समुन्द्र?
समुन्द्रभन्दा पछि-पछि सर्दै छु म
नदी पछि सर्दा जति दुख्छ समुन्द्र
म सर्दा हाइसुख्ख भइदिन्छ ऊ।
ए मेरी प्रियतमा
तिमी पछि सर्दा म जत्तिको दुख्छु
त्यति नै तिमी दुख्छ्यौ कि दुख्दिनौ?