देशको धेरै चिन्ता गर्छौ, देशभक्त झैँ देखिन्छौ
कोही आफ्नो अधिकारका लागि लडेको भन्छौ
कोही आफ्नो देश टुक्रिन लाग्यो भनि रुन्छौ
देश नटुक्रेर के नै भाको छ र?
टुक्रन लाग्यो भनी फगत किन चिन्ता गर्छौ
बाहिरियाहरुले राज्य गर्न सकेन भन्छौँ हामी
आफ्नैले बलात्कार निरन्तर गरिरहँदा
व्यर्थको गौरव
सुकेको छाती फुलाएर के गर्छौ?
एउटाले राज्य गरेन त के भो
अर्कोले शासन गरेकै त हो
के हुन्थ्यो सार्वभौमसत्ता
फलानाले चलाएको भए
यो पनि पराईबाटै
पछि आफ्नो भएको त हो
ऊबाट त्यो, त्योबाट यो
परिवर्तन धेरै भए
प्रगती भएन कहिल्यै
घोक्रो सुक्नेगरी नेपालको जय
चिच्याएर के गर्छौ?
उहिलेको कुरा खुइलिएर गए होलान्
अहिले त सयौँले देश लुछेर छाडे
झन् हजारौँले देश लुटेर छाडे
अरुको के कुरा गर्छौ
आफ्नै नजिक हेर
आफ्नैले देश भुटेर छाडे
उसले शासन गरे पनि, उही हो व्यथा
यसले राज्य गरे पनि, उही त हो कथा
के फरक पर्छ र पात्र फरक हुँदैमा?
घाउ दुख्नेलाई उत्तिनै त हो पीडा
मेरो फलानाले फलानो देशमा पिआर पायो
भन्दै नाकको पोरा फुलाउँदै हिँड्ने
अब देशमा घुसपैठ भयो भनी
किन निद्रा त्याग्छौ?
छोड अरुलाई सिकाउन
छोड देशको चिन्ता गर्न
आफू प्रगती गर
आफू असल अनि सही बन
देश कसैले बनाउँछु भनेर बन्ने हैन
देश तब आफै बन्नेछ
जब इमान्दारीता र लगनशीलता
आफू भित्रै पाउनेछौ।