म त हजुर जनताको आस्था अनि भर
न्याय दिनु जिम्मेवारी छैन केही डर
निष्पक्षता निसाफमै सारा मेरो ध्यान
राजनीतिले खोज्या रैछ हाम्रो ठूलो देन
विरोध अनि बहिष्कार मात्र तिनको फुर्ती
हजुर म त सबको श्रीमान् अनि न्याय मूर्ति
माग्या मैले खासै होइन भागशान्ती जय नेपाल
बिन्तिभाउ गर्दै भन्छन् नबनाउनू हाम्रो बेहाल
देश सबै मेरै भरमा अझै पनि प्रहार किन
बिचौलिया खोजी आउँछन् सुपर बम्पर उपहार दिन
लेनदेन सौदाबाजी अग्रजले चला चलन
चल्या थिती कायम गर्दा भाको किन केहीलाई जलन
सहमती सल्लाहमा गर्यौं पद पूर्ति
विरोध अनि बहिष्कार मात्रै तिनको फुर्ती
हजुर म त सबको श्रीमान् अनि न्याय मूर्ति
झोला प्रथा संस्कृति थ्यो गोलाप्रथा लागु गरेँ
हत्यारालाई सफाइ दिँदा भिन्न नजिर सुरु भो रे
देश सबै ठप्प हुँदा निकास मेरै हातमा अरे
राजनीति अनिर्णित परमआदेश जारी गरेँ
संसद ब्युताई पार्टी फोर्दा खुसी-रोदन दुवै भा रे
कति बले, कोही ढले, बाजी आफ्नै हातमा पारेँ
विरोध अनि बहिष्कार मात्र तिनको फुर्ती
हजुर म त सबको श्रीमान् अनि न्याय मूर्ति
यदाकदा जारी छन् रे मार्चपास जुलुस नारा
फिक्री मलाई कत्ति छैन मेरै साथमा पार्टी सारा
विरोधमा दुई/चार जना कहाँ हरा तिनको सुद्धी
निरर्थक सबै प्रयास बिथ्था तिनको घुर्की
विरोध अनि बहिष्कार मात्र तिनको फुर्ती
हजुर म त सबको श्रीमान् अनि न्याय मूर्ति
हल्ला सुन्छु सेटिङ भो रे, भाको मात्र मिटिङ हो
गाँठी कुरो पत्तो नपाई, बित्था निषेध विरोध भो
घर मूलिलाई पस्न नदिई घर चलाउने दिवा स्वप्न
तयार पारी बस्या छन् रे सेटिङ गर्न मान्छे आफ्ना
लड्दैछन् रे आपसमै हातपाखुरा सुर्की-सुर्की
सक्ने हैन छुन तिनले किन लाका ब्यर्थ घुर्की
विरोध अनि बहिष्कार मात्रै तिनको फुर्ति
हजुर म त सबैको सम्माननीय अनि न्याय मूर्ति।