त्यो कर्णविरही छ तिम्रो भाषण
दोहोर्याएर सुनेको रुखो टेपजस्तो
अहंकारको उखर्माउलो उद्घोषजस्तो
तिरस्कारको चिसो प्रलापजस्तो
आत्मश्लाघाको कर्कश गुञ्जनजस्तो
अकर्मण्यता छोप्ने कलुषित प्रचारजस्तो
प्रतिगमनको झुसिलो डकारजस्तो
अग्रगमनको बोधो अपसञ्चारजस्तो
युगप्रतिको पीडादायी विश्वासघातजस्तो
समयचेतनाप्रति पराङ्मुखी सोचजस्तो
ओजविहीन रुखा शब्दवर्षा सहितको
टर्रो एवं स्वादविहीन खुराक
चाख्ता-चाख्ता आजित छु
कति सुन्नु तिम्रो भाषण?
न जन-जनमा व्याप्त भोक टार्ने
न अनिष्टकारी रोग हर्ने
न कष्टप्रद सन्ताप घटाउने
न दुःखद त्रासबाट मुक्ति दिने
न आशाको त्यान्द्रो लहराउने
न प्रेमभावलाई फुल्न दिने
न घृणालाई किनारा लगाउने
न परस्परमा उत्साह जगाउने
न 'हाम्रो' र 'राम्रो'को विचार गर्ने
न मानवतावादलाई प्रोत्साहन दिने
आशामाथि निरन्तर तुषारापात गर्ने
औचित्यहीन तिरस्कारका घोचपेच
पढ्दा-पढ्दा नौनारी गलेर थाकिसकेँ
कति सुन्नु तिम्रो भाषण?