एउटा अज्ञात चित्रकार, एउटा पागल चित्रकार, एउटा विक्षिप्त चित्रकार- यस्तै नामहरूबाट मानिसहरूले उसलाई चिन्थे। किनभने कसैलाई पनि उसको नाम थाहा थिएन। नाम मात्र हैन, उसको घर कहाँ हो, ऊ किन त्यसरी विरक्तिएको छ, किन जहाँ पायो त्यहीँ चित्र कोर्दै हिँड्छ त्यो पनि कसैलाई थाहा थिएन। ऊ मानिसहरू भिडदेखि सधैं टाढा बस्थ्यो। उसलाई मानिसहरू देख्दा डर लाग्थ्यो।
उसको जिङ्ग्रिंग परेको नकोरेको कपाल, लामा दाह्री-जुङ्गा, अनेक रङ्गहरू लागेर फोहोर बनेका फाटेका लुगा, खाली खुट्टा मैला हातहरू अनि निराश तर सधैं केही खोजिरहेका जस्ता देखिने उसका नजर, अनि चेहरामा हरदम उदास र विरक्तका भावहरू- यही नै थिए उसका चिनारी। २४-२५ वर्ष जतिको देखिने ऊ बस्ने निश्चित ठाउँ र घर पनि थिएन। कहिले कहाँ भेटिन्थ्यो, कहिले कहाँ।
उसले कोरेका चित्रहरूमा क्रोध, हत्या र बदलाको भाव देखिन्थ्यो। उसले मानव जीवनका अव्यक्त पीडा, चित्कार र निराशालाई सूक्ष्म चित्रण गरेको हुन्थ्यो। सामान्य मान्छेका लागि उसका चित्र कुनै चार वर्षे बालकले कागजमा जथाभावी कोरेका खेस्रा जस्ता लाग्थे तर कला पारखीहरूका लागि ऊ पिकासोभन्दा कम थिएन।
धेरै वर्षदेखि ऊ पूर्वको झापादेखि पश्चिमको डडेल्धुरासम्म एउटा महत्वपूर्ण चित्र खोजीमा भौतारिरहेको थियो। उसले खोजेको त्यो चित्र उसको दिमागमा धेरै वर्षदेखि अव्यक्त रुपमा आइरहेको थियो। उसको मानसपटलमा मधुरो छायाजस्तो भएर बसेको त्यो चित्र आखिर के हो? किन उसको दिमागमा अटुट रुपमा आइरहेको छ उसलाई पनि थाहा थिएन। त्यो चित्रले उसलाई निकै नै सताइरहेको थियो। हरपल उसको दिमागमा त्यही चित्र आउँथ्यो, त्यो चित्र नबनाउँदासम्म उसलाई चयन हुने छैन भन्ने उसलाई थाहा थियो।
त्यही चित्र बारेमा केही सूचना पाइन्छ कि भनेर ऊ वर्षौंदेखि भौंतारिएको थियो। तर उसको मानसपटलमा बसेको त्यो चित्र अन्य चित्रजस्तो थिएन, त्यो एउटा चलायमान सजीव चित्र थियो। उसको मथिङ्गलमा हरेक क्षण सलबराइरहेको हुन्थ्यो र उसलाई वेचैन बनाइरहेको हुन्थ्यो। कतै पनि त्यो चित्र नभेटेपछि उसले आफैले चित्र कोर्न थालेको थियो र त्यही चित्र बनाउने आशामा उसले धेरै चित्रहरू कोरिसकेको थियो।
ऊ जहाँ जान्थ्यो, त्यहाँ चित्र कोर्थ्यो एउटै आशा राखेर- आफ्नो चेतनाको नेपथ्यमा रहेको त्यो चित्र उसले बाहिर निकाल्न सकोस्। तर ऊ सधैं असफल हुन्थ्यो र निराश भएर आफूले कोरेका चित्र त्यत्तिकै छोडेर हिँड्थ्यो।
उसले आफूले बनाएका चित्रहरू कहिले आफूसँग लिएर गएन। जहाँ चित्र कोर्थ्यो, त्यहीं छोडेर हिँड्थ्यो। ती चित्रहरू चित्रकलाका पारखीहरूले संकलन गर्थे। कसैले बेच्थे, कसैले आफ्नो घरमा लगेर सजाउथे, कसैले भने चित्रकला ग्यालरीमा लगेर बुझाइदिन्थे। चित्र बुझ्नेहरूका लागि उसका चित्र निकै उच्चस्तरीय हुन्थे, अद्वितीय हुन्थे।
चित्र कोर्न पनि उसलाई कुनै निश्चित ठाउँ र वस्तु चाहिन्नथ्यो। कहिले उसका चित्रहरू सडक पेटीमा कोरिन्थे भने कहिले कसैले च्यातेर फालेको लुगाको टुक्रामा। कहिले खोला किनारका ठूला ढुंगामा उसले चित्र बनाउँथ्यो भने कहिले उसका चित्रहरू सहरका घरका भित्ताहरूमा भेटिन्थे। कहिलेकाहीँ रातभर भित्तामा चित्र बनाएर थाकेर ऊ त्यही भित्ताको छेउमा सुतिरहेको हुन्थ्यो र अर्को दिन बिहानै घर मालिकले उसलाई भित्ता बिगारेको भनेर गाली गर्दै लखेट्थ्यो। तर ती कुराहरूले उसलाई कुनै फरक पार्दैनथ्यो।
सबैको लागि रहस्यमय भए पनि उसले चित्रकलाको माध्यमबाट नाम कमाइसकेको थियो। उसको नाम थाहा नभए पनि उसलाई धेरैले चिनिसकेका थिए। तर जति खोजी गर्दा पनि, जति चित्र कोर्दा पनि उसले कतै पनि आफूले खोजेको सजीव चित्र भेट्न सकेन। तर उसको अन्तर्मनको कुनामा उसले अवश्य पनि त्यो सजीव चित्र भेटाउनेछ भन्ने उसलाई आत्मविश्वास थियो। त्यो चित्र भेटाएपछि उसले कहिले पनि चित्र नकोर्ने मनमनै प्रण गरेको थियो।
कहिलेकाहीँ निकै आशावादी भएर ऊ चित्र कोर्न बस्थ्यो, तर जब चित्र बनिसक्थ्यो र उसले चित्रलाई ध्यानपूर्वक हेर्थ्यो, उसलाई चित्त बुझ्दैनथ्यो अनि त्यो चित्रलाई त्यहीं छोडेर त्यहाँबाट हिँड्थ्यो।
उसले कोरेका सबै चित्रहरूमा चित्रकारको रुपमा उसले 'अतृप्त चित्रकार' भनेर लेखेको हुन्थ्यो। त्यसैबाट चित्रकलाका पारखीहरूले ती चित्रहरू उसले कोरेको भनेर थाहा पाउथे। उसको पारिवारिक पृष्ठभूमिको बारेमा उसले कसैसँग केही कुरा बताएको थिएन। कसैले सोधे पनि 'मलाई पनि थाहा छैन' भनेर टारिदिन्थ्यो। तर वास्तविकता पनि त्यही नै थियो- उसलाई पनि आफ्नो बारेमा केही थाहा थिएन।
उसलाई नचिनेका मान्छेहरूले पागलजस्तै देख्दथे। निकै कम कुरा गरे पनि कुरा गर्दै गएमा सबैले थाहा पाउथे कि ऊ निकै बुद्धिमान र भलाद्मी मान्छे थियो। राम्रोसँग कुरा गरेमा उसले आफूले दिन सक्ने र दिन मिल्ने सबै उत्तरहरू दिन्थ्यो। तर कसैले उसलाई अलि बढी प्रश्न गर्न थाल्यो भने उसले टाउको दुखेजस्तो गरेर जोडले टाउको समाउथ्यो र चिच्याएर प्रश्न सोध्ने मान्छेलाई गाली गर्थ्यो। त्यतिबेला उसले पागलजस्तै व्यवहार गर्थ्यो।
विस्तारै उसको त्यो रहस्यमय चित्रको खोजीको समाचार देशभरि फैलियो। मान्छेहरूले उसको बारेमा र उसले खोजेको चित्रको बारेमा खोजी गर्न थाले। तर कसैलाई पनि थाहा थिएन ऊ कस्तो चित्रको खोजीमा थियो भनेर। त्यसैले कसैलाई पनि त्यो सफलता मिलेन।
उसलाई सहयोग गर्ने उदेश्यले देशका नाम चलेका चित्रकारहरूले आफूले कोरेका उत्कृष्ट चित्रहरू ल्याएर उसलाई देखाउँथे। सायद ती चित्रहरूबाट ऊ सन्तुष्ट होस्, तर सबै प्रयासहरू बेकारका भएका थिए। ती चित्रहरू उसका लागि कुनै महत्वका थिएनन्।
हुन त आफूले खोजेको चित्र कुनै दिन अवश्य कोर्न सक्छु भन्ने उसलाई आत्मविश्वास थियो तर वर्षौं देखिको लगातार प्रयत्न पश्चात पनि सफलता नमिले पछि ऊ थाक्यो। उसको शरीर र दिमागले पनि उसलाई साथ दिन छाडिसकेका थिए। दुवैको एउटै आवाज थियो- त्यो चित्र भेटिँदैन, अब खोज्न छोडिदेऊ। शरीर र मन दुवैले धोका दिन थालेपछि उसमा असीम निराशा छायो। त्यही निराशाको कारण उसले आफ्नो चित्र खोजीको अभियान सदाको लागि विश्राम गरेर आफ्नो देह त्याग गर्ने विचार गर्यो।
तर मर्न त्यती सजिलो थिएन। एकछिन सोचेर उसले एउटा अन्तिम प्रयास गर्ने निश्चय गर्यो। यदि त्यो अन्तिम प्रयासमा पनि असफल भएमा उसले साँच्चै आफ्नो देह त्याग गर्नेछ भन्ने प्रण गरेर निकै लगनका साथ ऊ अन्तिम चित्र कोर्ने कार्यमा लाग्यो। त्यसको लागि मानिसहरूको बस्तीदेखि धेरै टाढा एउटा शान्त जंगलमा सानो कुटी बनाएर उसले आफ्नो कार्य सुरु गर्न थाल्यो।
त्यहाँ चित्र कोर्न जमिन, ढुंगा र रुखहरू बाहेक अन्य वस्तुहरू थिएनन्। तर ती सबै कुरामा उसले चित्र कोर्न सक्दैनथ्यो किनभने उसको चित्र बनाउन कैयौं दिन लाग्ने थियो र ती वस्तुहरूमा चित्र कोर्दा हावा, पानी र घामले केही दिन मै बिगारिदिन्थे।
उसले एउटा ठूलो भित्ता बनाएर त्यसैमा कमेरो, रातो माटो, कालो माटो र खोलाबाट जम्मा गरेका रंगिन खरी ढुंगाले चित्र बनाउने निश्चय गर्यो।
त्यसको लागि उसले निकै मेहेनत गरेर ढुङ्गा र माटोले बनेको एउटा आयातकारको ठूलो अनि चिल्लो भित्ता निर्माण गर्यो। भित्ता निर्माण भैसकेपछि धेरै समयसम्म त्यो भित्तालाई एक टकले हेर्यो अनि मुसुक्क मुस्कायो। उसलाई लाग्यो त्यो भित्तामा कोरिने चित्रमा उसले निश्चय पनि सजीवता पाउने छ र त्यसबाट सन्तुष्टि पनि।
भित्ता राम्रोसँग सुक्न केही दिन लाग्यो। भित्ता सुकेपछि एकदिन बिहानै उठेर निकै उत्साह र आशाका साथ आफ्नो कार्य सुरु गर्यो।
जति-जति उसले भित्तामा आफ्नो चित्र कोर्दै गयो, उति-उति उसमा सन्तुष्टि पनि हुँदै गयो। कमेरो-माटोले लिपेको सेतो पृष्ठभूमिमा उसले थरिथरि रंगहरू भर्दै गयो। नयाँ-नयाँ विचारहरू उसको दिमागमा भरिँदै जान थाले र त्यसलाई उसले त्यही चित्रमार्फत प्रकट गर्दै गयो। कहिले उसले खाना खान समेत थाती राखेर चित्र कोरिरहन्थ्यो, कहिले राति नसुतेर त्यो कर्ममा रातभर घोत्लिरहन्थ्यो।
कहिले नदीको किनारमा बसेर त्यो चित्रमा के पुगेन भनेर सोच्थ्यो र केही विचार फुरे पछि तुरुन्तै दौडिँदै गएर ती आफ्ना मनका भावनाहरूलाई तुरुन्तै त्यो चित्रमा थप्थ्यो र मक्ख परेर केही बेर हेरिरहन्थ्यो।
दुई हप्ताको अथक प्रयासपछि त्यो बडेमानको भित्तामा उसले चाहेको त्यो सुन्दर चित्र तयार भयो। उसले त्यो दिनभन्दा अगाडि कहिले पनि नियालेर त्यो चित्र पुरै हेरेको थिएन। यदि पुरै चित्र हेर्यो भने र त्यो चित्र उसले चाहेको जस्तो सजीवता पाएन भने उसले बीचैमा छोड्ने छ भन्ने उसलाई डर थियो। चित्र पूरा हुँदा त्यो दिन रात परिसकेको थियो। त्यो रात ऊ आनन्दको निद्रा सुत्यो।
अर्को दिन बिहान अलि ढिलो गरी उठी आफ्नो जीवनको सबैभन्दा धेरै मेहनत गरेर बनाएको चित्र हेर्न ऊ कुटीबाट बाहिर निस्क्यो।
बिहानीको पारिलो घामसँगै उसको त्यो चित्र निकै मनमोहक देखिन्थ्यो। ऊ प्रसन्न मुद्रामा त्यो चित्रलाई हेर्न थाल्यो। तर ऊ जति जति हेर्दै जान्थ्यो, उति-उति त्यो चित्रमा उसलाई केही न केही नपुगे जस्तो भान हुन थाल्यो।
उसले हरेक कोणबाट त्यो चित्रको अवलोकन गर्यो तर पनि उसले खोजेजस्तो सजीवता उसले त्यो चित्रमा पनि पाएन।
उसलाई लाग्यो उसले त्यो छ महिनाको समय त्यसै खेर फालेछ।
निधारमा हात राख्दै ऊ दिक्दारीमा त्यसै टोलाई रह्यो।
त्यो चित्रको असफलतासँगै उसको सजीव चित्रको खोजीको कार्यमा पूर्णविराम लागेको थियो। अब के गर्ने भन्ने बारेमा उसलाई केही पनि विचार फुरेन। दिनभरि कुटीमा ऊ त्यसै टोलाएर बसिरह्यो। ऊ हारेको सिपाही जस्तो भयो, उसको दृढ विश्वासले धोका खायो। एउटा मात्र बाटो बाँकी थियो- मृत्यवरण। तर त्यति सजिलै मर्न पनि उसलाई हिम्मत आएको थिएन। विचारशून्य भएपछि गोधुलीको समयमा नदीको किनारमा गएर धेरै बेर टोलाइरह्यो तर पनि उसलाई केही विचार आएन।
रात पर्यो। नदी किनारबाट फर्किएर खाना पनि नखाएर खाटमा पल्टेर सोचमग्न भयो।
जति-जति उसले बनाएको त्यो चित्र सम्झन्थ्यो उसलाई उति-उति छटपटी हुन्थ्यो, सन्तुष्टिको लागि बनाएको त्यही चित्र उसको लागि असन्तुष्टि र छटपटीको कारक बन्न पुग्यो। त्यो चित्र त्यहाँ भएसम्म उसलाई सन्तुष्टि हुने छैन भन्ने उसलाई लाग्यो। त्यसैले त्यो चित्रलाई नष्ट गर्ने विचारले जुरुक्क खाटबाट उठ्यो र बाहिर गयो।
शरद ऋतुको रात थियो। जुनको टहटहमा उसले बनाएको चित्रले उसलाई गिज्याइरहेको थियो। उसले रंग भर्न भनेर राखेका माटाका विभिन्न रंगहरू फुटेका पूराना प्लास्टिकका बाल्टिनहारुमा अझैं केही बाँकी थिए। ताराहरूको चमकसँगै उसको त्यो अनुपम चित्र निकै मनमोहक देखिन्थ्यो तर उसलाई जति-जति त्यो चित्र हेर्यो उती-उती बेचैन भयो।
उसले ती बाल्टिनहरूलाई लात्तीले हानेर ढलायो। रातो माटोको झोल राखेको बाल्टिन ढलेको थिएन। उसलाई त्यो बाल्टिन अटेरी जस्तो लाग्यो अनि जुरुक्क उठाएर माटोको झोल भित्ताको चित्रमा फाल्यो। रातो माटोको त्यो झोलका तरल रंगहरू भित्ताबाट रगतका थोपा जस्तो गरेर तप तप चुहिन थाले।
ऊ अचानक रोकियो र त्यो दृश्यलाई नजिकबाट हेर्यो। त्यो रातो माटोको झोलले त्यो चित्रमा सजीवता ल्याएको उसलाई अनुभव भयो।
किन हो थाहा भएन, अचानक उसलाई निकै पीडा भयो। ऊ त्यही थचक्क बसेर धेरै बेर रोयो। अनि उसलाई केही कुराको सम्झना आयो। धेरै वर्ष पहिले एकजना शिक्षक गाउँभन्दा अलिकति टाढा खेतमा घर बनाएर बसेका थिए। श्रीमतीको निधनपछि उनी र एउटा १२ वर्षको छोरा घरमा थिए।
गृहयुद्धको समय थियो, त्यसरी गाउँबाट टाढा बस्नु सुरक्षित थिएन तर उनको जग्गा नै त्यहीँ भएकोले उनीसँग अर्को उपाय थिएन। तर नबिराउनू, नडराउनू भनेर उनी बसेका थिए। उनलाई गृहयुद्धको क्रुरताले चित्त दुखेको थियो। मान्छे मार्ने खेल उनलाई घृणित लाग्थ्यो। उनले त्यसको खुलेर विरोध गर्ने गरेका थिए। अझ शिक्षक भएको नाताले उनले गृहयुद्धको विरोधमा जनतालाई सूचित गर्नु आफ्नो कर्तव्य ठान्थे।
आफूलाई जनताका मुक्तिकर्ता भन्न रुचाउने योद्धाहरू युद्धमा लाग्न दबाब दिन र चन्दा माग्न आउँदा उनीहरूलाई मुखभरिको तार्किक जवाफ दिएर उनले पठाउँथे। तर त्यो कुरा योद्धाहरूलाई पाच्य थिएन। गाउँमा उनीहरूको संगठन विस्तारमा ती शिक्षक निकै ठूलो तगारो बनेका थिए।
त्यो क्रम केही समय चल्यो। उनलाई गाउँ छोड्ने धम्की आयो, ज्यान मार्ने धम्की आयो तर उनले आफ्नो ज्यान बचाउनको लागि कुनै सम्झौता गरेनन्। न त उनीहरूलाई चन्दा दिए न त उनीहरूसँग डराएर गाउँ छोडे।
दसैँ भर्खर सकिएको थियो, तिहार आएको थिएन। शरद ऋतुको एक रात मध्य रातमा चार जना मान्छेहरू उनको घर आएर उनलाई बाहिर बोलाए।
'को हो?' भनेर झ्याल खोलेर हेर्दै उनले सोधे।
'हामी हौं। तपाईंसँग केही कुरा गर्नुछ। बाहिर आउनुस् त,' एकजनाले आदेशको लवजमा भन्यो।
'किन? के कुरो हो र? भन्नुस् न,' उनलाई निस्कन अलि डर लाग्यो।
'बाहिर आउनुस् भनेपछि खुरुक्क आउनुस् न,' पहिले आदेश दिएकै मान्छेले झन् कडा आदेश दियो।
उनीहरूसँग अटेरी गर्नु ठिक हुँदैन भन्ने शिक्षकलाई थाहा थियो। उनी ढोका खोलेर बाहिर निस्के। त्यो बेलासम्म उनको छोरो पनि ब्युँझिसकेको थियो। ऊ पनि आँखा मिच्दै, 'बा, काँ जान ला?' भनेर उनीसँगै ढोकाबाट निस्क्यो।
'हाम्रो बारम्बारको चेतावनीपछि पनि तपाईंले हाम्रो सुराकी गर्न नछोडेकोले तपाईंलाई जनकारबाही गर्ने आदेश छ,' उनीहरू मध्येको एकजनाले भन्यो।
'मैले केही गरेकै छैन। कसको सुराकी गरेँ मैले? के छ प्रमाण तपाईंहरूसँग?' शिक्षकले सोधे।
'हामीलाई सबै थाहा छ। तपाईं कहाँ जानुहुन्छ, कसलाई भेट्नुहुन्छ, के गर्नुहुन्छ हामीसँग एक-एक रेकर्ड छ,' उनलाई बाहिर बोलाउने मान्छेले भन्यो र उसले 'कमरेड' भनेर अर्को मान्छेलाई इसारा गर्यो।
अनि त्यो मान्छेले शिक्षकलाई समात्यो। अर्को मान्छे पनि उसलाई सहयोग गर्न गयो। दुई जनाले दुईतिरबाट शिक्षकलाई च्याप्प समाते। उनको छोरो आत्तियो र करायो, 'छोड बालाई।'
अर्को मान्छे गएर शिक्षकको छोरोलाई समात्यो। ऊ चिच्याउन थाल्यो। उसलाई समातेको मान्छेले एउटा हातले छोरोको मुख थुन्यो, अर्को हातले उसलाई समात्यो।
'मैले कसैको सुराकी गरेकै छैन, त्यत्तिकै आरोप लगाउन त पाइएन नि, के छ प्रमाण तपाईंहरूसँग?' शिक्षकले अलि डराएको लवजमा सोधे।
'ए, प्रमाण चाहियो? म देखाउँछु प्रमाण' भन्दै बाँकी रहेको एउटा २० वर्ष पनि नकाटेको जस्तो देखिने केटो अगाडि आयो, खुकुरी निकाल्यो र शिक्षकलाई देखायो। शिक्षक निकै डराए। उनी बोल्न चाहन्थे तर मुख डरले सुकेको थियो। उनका त्रसित आँखाहरूले त्यो खुकुरी बोकेको मान्छेलाई हेरे। बोली नफुटेपछि उनले हात जोडेर बिन्ती गर्न खोजे तर दुई जनाका बलिष्ठ हातहरूले उनलाई हलचल गर्न नसक्ने गरी समातेका थिए।
उनले छोरोलाई हेरे। छोरोले पनि त्रसित नजरहरूले उनलाई हेरिरहेको थियो। खुकुरी निकालेको मान्छेले शिक्षकको हत्या गर्यो। उसको शरीरबाट निस्केको रगतको फोहरा भित्तामा गएर ठोक्कियो र बग्न थाल्यो। रगतले घरको भित्ता रंगाइरह्यो, भित्ताबाट तपतप रगतका थोपा खसिरहे।
त्यो विभत्स दृष्य देखिरहेको छोरोलाई सह्य भएन। ऊ फुत्कन खोज्यो तर सकेन। अनि उसले आफ्नो मुख थुनेको हातलाई जोडले टोक्यो। त्यसपछि ऊ आफूलाई समातेको मान्छेको हातबाट छुट्यो तर ऊ भाग्न नपाउँदै उसलाई समातेको मान्छेले जोडले उसलाई कन्चटमा हिर्कायो। उसले तिरिमिरि देख्यो। झापड मात्र हैन, उसलाई समातेको मान्नेले एक लात उसको पछाडिबाट हान्यो। उछिट्टिएर ऊ अलि पर भुइँमा पछारिन पुग्यो। उसको टाउकोमा चोट लाग्यो, ऊ बेहोस भएर लड्यो।
चार जना मान्छेहरू आफ्नो काम सकेर फर्किए। केहीबेरपछि शिक्षकको छोरोलाई होस आयो। टाउकोमा चोट लाउकोले उसलाई पुरै होस थिएन। उठेर भुँइमा बस्यो। तर आफ्नो अगाडि बाबुको काटिएको टाउको र लडिरहेको शरीर देखेपछि उसको सातो उड्यो। ऊ डरले चिच्यायो अनि उठेर अन्धाधुन्ध भाग्न थाल्यो।
धानका खेत, भर्खर तोरी उम्रेका बारीहरू, खहरे, वन जङ्गल झाडी हुँदै ऊ पछाडि पनि नफर्केर भागिरह्यो। ऊ कुन दिशामा भाग्यो, कहाँ पुग्यो उसलाई नै थाहा भएन, उसले आफ्नो पुरै होश हरायो। बिहान भएपछि भोक तिर्खा र थकानले पाइला चाल्न नसक्ने भएपछि ऊ खोलामा पानी पिउन गयो।
भर्खर वर्षा सकिएर सफा बनेको खोलाको सङ्लो पानीमा टाउकोको दाहिने भागमा कन्चटसम्म बगरे सुकेको रगत, आँसुका टाटा बसेको चेहरा देख्यो। आफ्नो त्यो रुप देखेर ऊ झस्क्यो, आफू को हुँ भन्ने नै थाहा पाएन। हिलाम्य लुगा, ढुङ्गा बिझेर दुखेका पाइतला, झाडी र काँडाहरूले कोरेर रक्ताम्य बनेका खुट्टा देखेर ऊ सुँक्क-सुँक्क गर्दै रोयो। पानीले प्यास मेटायो, खोलाको किनारमा एकछिन सुस्तायो अनि भोक मेट्न मानव बस्ती तिर पस्यो। उसको पहिरन देखेर मानिसहरूले उसलाई बहुला भने। कसैले दाया देखाएर उसको बारेमा सोधे तर उसले उत्तर दिन सकेन।
त्यसपछि ऊ आफू को हुँ भनेर खोज्दै हिँड्न थाल्यो। उसले अरु सबै बिर्स्यो, आफूलाई पनि बिर्स्यो तर भित्ताबाट तपतप चुहेका उसको बाबुको आलो रगतको त्यो सजीव चित्र उसले जति गर्दा पनि बिर्सन सकेन। त्यो चित्रले दिन रात, सपनामा पनि विपनामा पनि उसलाई छोडेन र त्यही चित्रको खोजीमा उसले चित्र बनाउन सुरु गरेको थियो।
ऊ फेरि वर्तमानमा आयो र आफूले बनाएको भित्ता र त्यसमा बनाएको चित्र जूनको उज्यालोमा नियाल्यो। उसले खन्याएको रातो माटोको झोलका थोपाहरू अझै पनि उसले चित्र कोरेको भित्ताबाट चुहिरहेका थिए। उसको स्मृति अलिअलि फर्कियो। गहभरि आँसु भरिए, आफ्नो बालाई सम्झियो र एक टकले त्यही चित्र हेरिरह्यो।