प्रथम प्रहरको अमृतबेला छोपी डाँडामाथि उभिएको छु ।
मजेत्रो उघारी कहिले मुख देखाउँलिन् भनि कुरेको छु ।।
पूर्वको सुनौलो क्षितिज, नभमा पन्छी उड्दै आउँदैछन्।
पछिपछि अरूणिमाले पन्छीहरूलाई लखेड्दै आउँदैछन् ।।
वनमा थरी थरीका पशुपंक्षीहरु सुमधुर गीत गाउँदै छन् ।
शितल हिमाली पवन ध्वनिमा संगीतको ताल भर्दै छन् ।।
अरूणिमाले अंगालो मार्दै कसरी अन्नपूर्णालाई मै खाएकी ।
छिनमै अनुहार रातो बनाई हेर ! कसरी उनी लजाएकी ।।
एकछिनमा मजेत्रो हटाई उनले मोहिनी अनुहार देखाईन् ।
आहा ! कति सुन्दर मोहिनी रुप सबलाई बेहोस गराईन् ।।
कति राम्रो प्रकृतिको छटा, छोप्दै उघार्दै त्यो चञ्चल घटा ।
पुष्प वृष्टिले तन मन शितल गराई अदृश्य भैगयो घटा ।।
शीरमा चाँदीको मुकुट र हरियो साडीमा हाँस्दै अन्नपूर्णा ।
मानौं मलाई नै अँगालो मार्न खाजेकी छन् ती अन्नपूर्णा ।।
स्वर्गमा पनि कहाँ होला र यस्तो रमणीय रमाइलो ठाउँ ।
आहा ! कति राम्रो स्वर्गीय आनन्द दिने सराङकोट गाउँ ।।
उत्तरमा रजत ताज लगाएकी पर्वतमाला मनै लोभ्याउने ।
ध्यान मग्न शिवलाई दक्षिणमा हेर्दा यो मनै शान्त हुने ।।
काँडाको झाडीमा हरियो साडी लगाएकी हाँस्दै कोपिला ।
रविको स्पर्शले लजाउँदै प्रफुलित सुकुमारी ती कोपिला ।।
पर्वतको काखमा छ फेवाताल, जहाँ हंसहरू खेलिरहेका ।
मानौं शिव पार्वती नै आई जलक्रिडा गर्दै आनन्द लिएका ।।
फेवा दर्पणमा छर्लङ देखिने मत्स्य कन्याको त्यो अनुहार ।
पर्यटकलाई आनन्द दिने मत्स्य कन्याको लजालु अनुहार ।।
छाती भरि नै छरिएका ति सुन्दर लालीगुराँसका फूलहरू ।
उड्दै हेर्दै रमाएका सराङकोट वरिपरि ती मनु–पन्छीहरू ।।
मानौं स्वर्गैबाटै देवी, देवता र परिहरू यहाँ उडेर आएका ।
कस्तो छ स्वर्गीय पोखरा भनि सराङकोटबाट हेर्न आएका ।।
सामर्थ्य कहाँ कि वर्णन गरौं त्यो स्वर्गीय दृश्य शब्दमा ।
अदभूत् त्यो दृश्यले अवाक हुन्छु शब्द आउँदैन् मुखमा ।।