हिजोजस्तै लाग्छ भनेर म त फिटिक्कै भन्दिनँ
सोचेजस्तो सहज थिएन नि त यात्रा पनि
ओहो! उन्नाइसौं वसन्त पार गरिएछ हे!
एक पहाडजस्तो जीवन नै पो त काटिएछ।
सधैं हँसिलो समझदारीमा पनि होइन
सधैं कसिलो मजबुरीमा पनि होइन
इमान्दारीमा भने चलेको छ हाम्रो यात्रा अनवरत
विश्वास र भरोसाको आधार ठूलो रहेछ
मनसँग मनको नाता नै आखिर ठूलो रहेछ
हामी एकअर्कालाई 'आइ लभ यू' कहिल्यै भन्दैनौं
तर आ-आफ्नो कर्तव्यपथ भने कहिल्यै छोड्दैनौं
हामी सबैलाई थाहा भएकै कुरा हो
जीवन सधैँ उल्लासमय हुन कृत्रिम सिनेमा पनि त होइन
जीवन त प्राकृतिक चक्र हो
परिवर्तन सबै कुरामा भइरहन्छ नि
तन , मन र विचार फेरिइरहन्छन्
क्षण-क्षणमा रुप बदल्दै।
सँगै जीवन जीउने निर्णय सुरुमा त हाम्रो आफ्नो थिएन
पारिवारिक निर्णयमा हामी अनायास बाँधिएका थियौं
बिल्कुलै अन्जान दुई हृदयहरू
बेग्लाबेग्लै धड्कनहरू
धडक-धडक धड्किरहेका आ-आफ्नै तालमा
हाम्रो यात्रा अनवरत चलाइरह्यौं
उ परको त्यो गन्तव्यमा पुग्न
एकअर्कोलाई सम्झौतारुपी रथको पाङ्ग्रा बनायौं
र तानिएका छौं आफ्नै पथमा
अझै छन् कैँयन् हरिया वसन्तहरू
अनि कैँयन् उजाड शिशिरहरू
समस्याको जाँतो नथाकी पेल्नु छ
एकअर्कोलाई यसरी नै झेल्नु छ।
'ए बुढी, औषधि खाइयो?' भनेर तिमीले सोध्दा
'मैले त खाएँ बुढा, आफूले भुल्यौ कि?' भनेर प्रत्युत्तर दिनु छ
हारमोनियमको सिकारु सारेगमसँगै
बुढेसकालमा मिलेर हरि-भजन गाउनु छ
तीर्थ यात्रामा मन्दिर मन्दिर धाउनु छ
त्यसैले बूढा कहिल्यै नसोच्नू
कचकचबाट छुटकारा पाइएला
जिन्दगी अझै लामो छ
नाति-नातिनाको लागि राइम्स गाउनै बाँकी छ
चाउरे बुढाको मन्द मुस्कान हेर्नै बाँकी छ
ह्याप्पी एनिभर्सरी मेरो बुढा!