हिमाल, पहाड, तराई
कोही छैन पराई
बाँच्नु पर्दैन तिमीलाई यो समाजमा
असमानताको माहोलमा डराई-डराई
को मधेसी, को पहाडी
म जान्दिनँ
आफ्नै दाजुभाइ छुट्टाउने यस्तो नीतिलाई
म मान्दै मान्दिनँ
सुन्दर फूल गुलाब पनि एकदिन ओइलाइजान्छ
सप्तरंगी इन्द्रेणी नि एकैछिनमा बिलाइजान्छ
हो, यो बाहिरी सुन्दरता केवल एक मृग तृष्णा
हो, यो बाहिरी सुन्दरता केवल एक मृग तृष्णा
सुन्दरता त्यो मानिसको मुहारमा पाइँदैन
निश्चलता त्यो मनको झाक्न यी आँखा चाहिँदैन
सायद हजारौं सुन्दर मन जुटी उसको त्यो मन बनेको छ
ईश्वरले नि उसलाई आफ्नो सर्वश्रेष्ठ सृष्टिमै गनेको छ
सुन्दरभन्दा सुन्दर को छ भन्दा
म भूपेन्द्रकै नाम लिन्छु
अर्को जन्म पाएँ भने
मधेसी बन्ने बरदान लिन्छु
जीवन के हो, यसको अर्थ उसले राम्ररी बुझेको छ
जिन्दगीको हरेक क्षणमा निकै दुःख भोगेको छ
घर छोडी, सानो छँदै, अन्तै-अन्तै बास बसी
पढी-लेखी ठूलो बन्ने सपना र आश गाँसी
हिँडेको ऊ- लाखौंमा एक मधेसी
लम्केको शीर उचाली, ऊ एक साधारण नेपाली
समाज के हो, युसको असली रुप उसले राम्ररी देखेको छ
इष्टमित्र, साधु शत्रु, निकै राम्ररी चिनेको छ
जहाँ खुट्टा घुँडा टेक्छन्
त्यहाँ उसको यात्राको सुरुआत हुन्छ
ल्याउन खोज्दै छ ऊ त्यो दिन
जब मधेशमा समानता र चेतनाको आवाज उठ्छ
कसैले भन्छ 'भेले', 'धोती' त कसैले भन्छ 'बिहारी'
उसको मनमा आवाज उठ्छ- म त तिमीजस्तै एक साधारण नेपाली
अन्धाधुन्ध र दृष्टिविहीन समाजसँग लडेर ऊ अघि बढ्छ
खुट्टा गले पनि बामे सर्दै, ऊ हरपल अघि सर्छ
सायद यस्तै छ यो साधारण मधेसीको कहानी
तर बाँच्छ ऊ, हाँसी खुसी यो दुई पलको जिन्दगानी
जिन्दगीका हरेक खुट्किलामा
सफलताले उसको पाउ चुमोस्
परिवर्तन र क्रान्ति ल्याई हाम्रो समाजमा
ऊ स्वतन्त्रतामा हाँसोस्, झुमोस्
हिलोमा फुलेको कमलको फूल को हो भन्दा
म भूपेन्द्रकै नाम लिन्छु
अर्को जन्म पाएँ भने
मधेसी बन्ने बरदान लिन्छु।