सूर्य ढल्दै गर्दा उदाउँदै गरेको
त्यो चन्द्रमा देख्दा
वेदना सुस्ताउँदै जान्छ र
याद आउँछ
त्यो मुहारको समर्पण प्रेयसी
अनि मनले खेल्न थाल्छ
प्रणयको खेल
चन्द्रमाले सँगै च्यापेर ल्याएको
त्यो
सर्दी मिश्रित रातमा
जब शीतका
थोपा देखिन्छन्
तब
मेरो आलिङ्गनमा तिम्रो स्मृति आउँछ प्रेयसी
अनि मनले खेल्न थाल्छ
प्रणयको खेल
जति बग्यो उति बग्न मन लाग्ने
साँच्चै
बडो सुन्दर लाग्ने
तिमीसँग बिताएका थोरै कालबाट नै
भए पनि सर्जित
त्यो स्मृतिलाई प्रेममा रुपान्तरण गर्नु छ
आलिङ्गनबाट
हृदयमा पठाउनु छ प्रेयसी
चेहरामा मधुर मुस्कान उमार्नु छ
गराएर
स्पर्शको आभास प्रेयसी।
दुई दिने जिन्दगीको लामो यात्रामा
अधकल्चो हुन्छ जीवन
हाम्रो
एकअर्काको अप्राप्तीमा
अनि
हृदय-हृदयबीच फैलिसकेको
त्यो रसको बेवास्तामा
त्यसैले अब
द्वेय जिन्दगीमा
असीम प्रितीको फूल
फुलाउनु छ
र
हृदय-हृदयबीच फैलिसकेको
त्यो रसलाई समर्थन
गर्दै
सफल प्रेमी-प्रेमिकाको
भएर
स्नेहको भाव नियाल्नु छ प्रेयसी।