कामको सिलसिलामा धेरै ठाउँ धाएँ, धेरै ठाउँ घुमेँ। बेरोजगारको ज्वारभाटाले मनमा दनदनी राको बल्न थाल्यो, निभ्ने छाँटकाँट भएन। बरु झन् दन्किन लागिराखेको थियो। घर-परिवारमा पनि बेरोजगारको लहडले सताउन थालेको थियो भने त्योभन्दा पीडा आफैलाई थियो।
पीडा कस्तो हुन्छ भन्ने त भोग्नेलाई पो थाहा हुँदो रहेछ। भन्न त मैले पनि भन्ने गर्थें- ए यस्तो जाबो पिर, पीडा, टेन्सन नलिन यार। मर्द छोरो भएर पिर-पीडालाई सामना गरेर हिँड्न सिक्नुपर्छ। आफूले भनेको बिर्सेको थिइनँ, तर यो पीडा र चोट भन्ने चिज जसलाई पर्यो उसैको मनलाई थाहा हुँदो रहेछ। सुन्ने बेलासम्म मात्र विचरा कस्तो आपत आइलाग्यो भन्छन्। अलि पर गएपछि फलानो खत्तम रछ नि भन्छन्।
भोगाइ र सोचाइमा आकाश-धर्तीको फरक हुँदो रहेछ। साँच्चै पीडा भोगाइ, जीवन भोगाइ, त्यसलाई मात्र थाहा हुन्छ जो पीडामा रन्थनिएको हुन्छ। घरपरिवारमा कहिलेकाहीँ ठाकठुक हुन्छ नै तर चुरो कुरो त्यही बेरोजगार र काम नगर्नेमा अडिने। यसो गर, उसो गर लास्टमा त्यही आम्दानीको श्रोत! चाहे बुबा आमाले हेर्ने नजर होस्, चाहे श्रीमतीले होस्, चाहे साथीभाइ होस्, चाहे समाज, छोराछोरीले। सबैको हेलाको पात्र भएको थिएँ, मात्र बेरोजगार भएर।
घर-परिवारमा किच-किच सुरु भएको थियो भने गाउँ, समाज र साथीभाइहरुले सँगै हिँडाउन गाह्रो मान्ने र तर्किन खोजेजस्तो व्यवहार देखाउन थाले। छरछिमेकीले गाउँमा अरुले जे गल्ती गरे पनि मैलाई भन्न थाले। हुँदा-हुँदा पानीको पाइप फुस्काए पनि मलाई, अरुको बारीमा गोरुले घासँ खाइदिए पनि मलाई, कसैको धानखेतीमा खेतीको बीच बाटो हुँदै हिँडे पनि मैलाई। 'छ नि त्यो काम नपाको लठ्ठक, त्यही लठ्ठक होला नि मर्न नसकेको। खुट्टा त त्यसैका जत्रा छन् नि' भन्न थाले।
सानातिना कमिकमजोरी त छँदै थिए, अब ठूला-ठूला गल्ती कमजोरी नि मैलाई भन्न थाले। गाउँमा कुखुरा हराए नि मैलाई, कसैको घर फोरे पनि मलाई, बारीमा आलु हराए नि मलाई भन्ने। साह्रै जीवनदेखि वाक्क लाएर एक्लै कोठामा नुन खाएको कुखुरा झैँ झोक्रिएर बसेको थिएँ।
यत्तिकैमा आमा आउनु भयो कोठामा। 'किन टोलाएर बसेको छस्? पिर नमान्। सबैको दिन आउँछ भन्छन्, तेरो पनि कसो दिन नआउला र! गाउँलेले जे हराए पनि तैँलाई बन्न थाले। तेरै बुढी पनि अचेल झर्को र फर्को गर्न थाली। पहिला जस्ती यो पनि छैन बाबै। तेरै बाउ पनि फरक हुनुभएको छ। बेलुकीपख खाना खाने बेलामा केही न केही निहुँ निकालेर पुराण सुनाउन सुरु गरिहाल्नु हुन्छ।
घोडाले र छोराले खाएको कहीँ जाँदैन भन्छन्, एकदिन तेरो पनि दिन कसो नआउला र, पिर नमान्। कर्म गर्न सिक्, कर्म गर्न सिकिस् भने बाह्र वर्षमा खोलो त फर्कन्छ भन्छन्, तेरो कसो दिन नफर्केला र! मैले जसोतसो गरी दुई हजार राखेकी छु यो दुई हजार लगेर कमाउन जा। दिन फिर्न धेरै दिन लाग्दैन भन्छन्, तेरो पनि कसो दिन नआउला। आइजो खाना खाने बेला भयो' भनेर आमा जानुभयो।
गएँ, खाना खाएँ। मनभरि कुरा खेले। कसो दिन नआउला र? कर्म गर्नुपर्छ अवश्य पनि दिन आउनेछ भन्ने मनमा संकल्प गरेँ। आमाले यति धेरै हिम्मत र साहस दिनुभयो, अब बसेर काम छैन केही गर्नपर्छ भन्ने मनमा लाग्यो। कामको खोजीमा काठमाडौँ जाने निधो गरेँ। बेलुकी खाना खाइवरी सुतेँ। धेरै बेर निद्रा परेन, मनमा कुरा खेले बालबच्चा, श्रीमती सम्झेँ। घरपरिवार बुबाआमा सम्झेँ, छोरीको तोते बोलीले मनमा कता-कता भक्कानो छुटाउने। फेरि मन बुझाउँछु, म मर्न त जान लाको हैन नि? कमाउन जान लागेको होनि, किन रुनु, किन मन रुवाउनु? कतिबेला भुसुक्कै निदाएछु पत्तै भएन।
गोजीमा दुई हजार हालेर काठमाडौँको लागि हिँडेँ, वास्तविक गन्तब्यविहीन कामको खोजीमा। के काम गर्ने, त्यो पनि टुङ्गो-बुङ्गो छैन। हातमा सीप पनि छैन। तर पनि कमाउन र घरपरिवारलाई खुसी बनाउनको लागि, घर छाडेर सबैको सपनाको सहर काठमाडौँ हिँडेँ। घरबाट हिँडेको दुई दिनमा काठमाडौँ पुगेँ। गाउँको एकजना भाइ होटल गरेर बस्थ्यो। अन्तिममा कही केही पनि नभए उसैकोमा १/२ महिना भाडा माझेर पनि बसौँला भन्ने मनमा कथना थियो।
गएँ, त्यो भाइसँग काम खोज्दिन आग्रह गरेँ,। उसले १/२ दिनमा खोज्दिने वाचा गर्यो र होटलबाट बाहिर निस्कियो। एकैछिनमा मलाई फोन गर्यो- 'तिमी त पहिला एफएममा काम गरेको होइन र? यहाँ काम पाइएको छ।'
मैले 'हो' भनेँ।
'यतै गर्ने हो?' भनेर के सोधेको थियो मेरो मन नै चराजस्तै उड्न थाल्यो। म यति खुसी भएँ कि मलाई दामभन्दा पनि कामको सवाल भयो। खुसीले सीमा नाघ्यो। मनको बाँधले सीमा नाघ्न लाग्यो। मन नै भत्काउला जस्तो भयो। जनतन थाम्दै बस्दै गरेँ। फेरि अतीतको याद आयो।
मैले पहिला एफएममा कार्यक्रम चलाएकै कारण केही श्रोताले मलाई चिनेको याद आयो। त्यतिबेला र घरपरिवारले माया गरेको, समाजले मेरै उदाहरण गाउँमा लिएको याद आयो। मैले नसोचेको कामको प्रस्ताव आएकोमा आफैले आफैलाई गौरबको महसुस गरेँ। ए मसँग त यो पनि त सीप छ, केही नभए पनि आधाउधि भए पनि काम सिकेमा यसमा रमाउने मन त्यसैमाथि मनभित्रको चाहेको काम गर्दा आफैलाई स्वर्गीय आनन्द आयो।
भाइले फोन गरेर 'तिमी यहाँ सिंहदरबार नजिकै आऊ, यताबाट म लिन आउँछु अनि त्यहाँ इन्टरभ्यु दिन पर्यो। तिमीले जान्यौ भने आजै जागिर पक्का' भन्यो। म उत्ति नै बेला रत्नपार्कको बस चढेर लागेँ उतै तिर। भाइ मेरै बाटो हेरेर बसेको रहेछ उसले मलाई ठूलो गेट भित्र छिरायो। एउटा एफएमभित्र लग्यो र बस्न लगायो।
दुई/तीन जना मान्छे आएर मलाई 'यहाँ ट्राई गरौँ कस्तो हुन्छ, राम्रो रहेछ भने मान्छे आवश्यक पनि छ ठिक हुनेभयो' भने। रेकर्डिङ रुममा गयौँ। त्यहाँ मलाई एउटा पत्रिकाको पाना पढ्न दिइयो। र त्यो कम्प्युटरमा रेकर्डिङ गरियो। त्यसपछि नेपाली टाइपिङ गर्न लगाए। ढिला भए पनि लेखेँ। लेखाइ पनि राम्रो लाग्यो रे।
मिक्सिङ गर्न आउँछ कि नाई भनि छाँटकाँट गर्न लगाइयो। त्यो पनि हल्का फुल्का गरेँ। मेरो आवाज स्टेशन म्यानेजरलाई लगेर सुनाइयो, उहाँलाई मन परेछ, 'ठिक छ उहाँलाई यतिको गरे भोलिबाटै काममा बोलाउँदा हुन्छ' भन्नु भएछ। भोलिबाट काममा लाग्ने निधो सहित होटलमा फर्कें। साह्रै खुसी लाग्यो।
आमालाई फोन गरेँ र आफूले काम पाएको बताएँ। आमा असाध्यै खुसी हुनुभयो। आमाको खुसीको सीमा रहेन। मेरी बुढीलाई फोन गर्ने मन त थियो तर मन हुँदाहुँदै नि फोन गरिनँ। किनकि मनमा रिसको पोको मरेकै थिएन। सबैलाई सम्झिँदै थिएँ भुसुक्कै निदाएछु। जीवनमा सायद यति खुसी म कहिल्यै भएको थिइनँ होला।
बिहानै नुहाइ-धुवाई गरेर खाना खाइवरी १० बजे एफएममा गएँ। अफिसमा चार शाखा हुँदो रहेछ। यो चाहिँ पहिला काम गरे पनि थाहा थिएन। प्रशासन शाखा, समाचार शाखा, रिपोर्टिङ शाखा र टेक्निसियन गरी चार शाखा मध्ये कता ठिक हुन्छ भनेर सबै बसि सल्लाह गरेर मलाई रिपोर्टिङ शाखामा राख्न सबैको समझ्दारी भयो। म अब समाचार रिपोर्टिङको लागि जहाँ भन्यो त्यही जान तयार हुन पर्दो रहेछ।
रिपोर्टिङका लागि शारीरिक र मानसिक रुपमा तयार हुनुपर्दो रहेछ। यो कुरा स्टेसन म्यानेजर बाबु सरले जानकारी गराउनु भयो। नयाँ स्टाफ थपिएको जानकारी सबैमा गराउनु भयो र सबैलाई सहयोग र सिकाउन पनि आग्रह गर्नुभयो। अनि मलाई नेशम सरले रेकर्डिङ रुममा लगेर दैनिक समाचार लेख्न, वाचन गर्न र कम्प्युटरमा नेपाली टाइपिङको स्पिड बढाउन समेत अह्राउनु भयो।
उहाँको साथ र सहयोगलाई भित्रि ह्रदयदेखि सम्मान गरेँ। काममा लगातार लागिरहने, यसैमा प्रगति गरेर लाने मनमनै प्रतिवद्धता जनाए। यसरी दुःख पाएको मान्छे मैले क्षणभरमा जागिर पाएको, त्यो भाइको बोली बिकेकोमा त्यसैमा गर्व गरेँ।
स्टाफहरु करिब ३० जनाको हाराहारीमा थिए। कसैको बिहानी सिफ्ट, कसैको दिवा सिफ्ट। धेरै साथीहरु चिन्नै गाह्रो। को सहकर्मी, को सिनियर सर, मलाई ठम्याउनै गाह्रो भयो। कहिले सहकर्मीलाई पनि नमस्कार गर्दो रैछु, कहिले सिनियर सरहरुसँग पनि हात मिलाउँदो रहेछु। सिनियर सरहरुसँग हात मिलाउँदा उहाँहरुलाई यो कुरा नपच्दो रहेछ। उहाँहरुलाई रिस उठदो रहेछ। म सानो-ठूलो जे भए पनि आखिर मान्छे त होनि, यो नेपालको चलन होकि, यँहाको रबैया, खासै बुझ्न सकिएन।
तर पनि बोलीको आदेश मान्नै पर्ने। यो कुरा फेरि मलाई सिकाउने नेशम सरलाई भन्दा रहेछन्। किन सानो मान्छेसँग हातै मिलाउन नहुनि होला कि, मान्छे सानो हैन होला, उसको पद र स्तरमात्र सानो होला तर हातै मिलाउन नहुनि के होला त्यस्तो! म अचम्मै परेँ। कहिलेकाहीँ नेशम सरलाई पनि यो कुरा भन्ने गर्थेँ। उहाँले 'यो यहाँको मात्र चलन होइन, नेपालैको चलन हो। सानालाई मान्छे नै नगन्ने, पुरानै र चलिआएको पुरानै चलन हो' भनेपछि मेरो नि चित्त बुझ्यो।
उहाँले मलाई फलानो यस्तो, फलानो यो हो भनेर भन्नु हुन्थ्यो। मैले मान्छे नचिने पनि नामैले पनि लगभग चिन्न लागेको थिएँ। केही साथीहरु बोल्ने फरासिला थिए भने केही साथीहरु गमक्क पर्ने। यस्तै हो नेपालीको बानी केही सानो ठाउँ पायो भने गमक्क गम्केर अघाएको रागा झैँ हुने भनि चित्त बुझाउथेँ भने सहकर्मी केही साथीहरुसँग विस्तार-विस्तारै रमाउन सिकेको थिएँ। हाँसो मजाक पनि राम्रै हुनि।
विस्तारै-विस्तारै दिनहरु राम्रो सिकाइमा बितिरहेको महसुस भएको थियो। एकदिन स्टेशन म्यानेजर सरले स्टाफ मिटिङ राख्नुभयो। दसैँ आउनै लागेको थियो, सम्पूर्ण स्टाफलाई दसैँको शुभकामना दिनुभयो। 'घर मिलाएर जानू, सबै जानेकुरा भएन, कोही यसपालि जाने, कोही तिहारमा जाने। यो सबै व्यवस्था मिलाउनू।'
सरले मेरो बारेमा पनि सोध्नुभयो। सिकाउने साथीले 'राम्रो गर्नुभएको छ, यस्तै हो भने अब केही दिनमा अन-एयरमा छिराउँदा राम्रो हुन्छ' भनेर भन्नुभयो। मलाई त्यो पनि साह्रै राम्रो लाग्यो। मैले अझ छिटो प्रगति गर्नुपर्छ र छिटो अन-एयरमा छिर्न पाए मेरो बोली सबैले सुन्न पाउने थिए। कति खुसी लाग्ने थियो होला। मनमनै गर्वले मुटु फुल्थ्यो होला भनेर अझ मेहनत गर्न थालेँ।
बिहानै ६ बजे रेकर्डिङ रुममा छिर्थें। रिपोर्ट बनाउन सिक्ने, बोल्न सिक्ने, इडिट गर्न सिक्ने, मेरो काम निरन्तर टाइप गति बढाउने चलिराखेको थिए। अरु साथीहरु हप्तामा एकदिन बिदा बस्थे, म काममै दत्तचित्त भएर बिदा पनि बस्दिनँ थिएँ, काममा निरन्तर कम्मर कसेको थिएँ।
दसैँको बिदा भयो, केही साथीहरु दसैँमा र केही तिहारमा जाने भन्ने कुरा भयो। मेरो पालो दसैँमा जाने आयो। पाँच दिन घरमा बस्ने र पाँच दिनपछि जसरी भए पनि आउने भन्नुभयो। स्टेशन म्यानेजर सरले भनेअनुसार सबै घर जानु भयो र म पनि घर लागेँ।
रात्रि बसको टिकट काटेको थिएँ, भोलिपल्ट बेलुकी घर पुगेँ। बा खाना खाएर खाटमा सिन्कोले दात कोट्याउँदै बस्नु भएको थियो। आमा र मेरी श्रीमती खाना खान लाग्नु भएको थियो। गएर बुबालाई ढोगेँ। छोरीले बाबा चिनेर होकि काखमा आएर बसी। खुसी लाग्यो, उँदै माया भन्थे हो रछ।
बाले 'के काम गर्छस् तँ?' भन्नुभयो।
'त्यतै ज्यान पाल्ने मेसो छ,' भनेँ।
'त्यसो भए तेरी जहान र छोरीलाई कहिले पाल्ने होस् त?,' भन्नुभयो।
म केही बोलिनँ। आमाले खाना खाएर सकेर सन्चै छ बाबु भन्नुभयो। आमालाई ठिक छ भनेर खुट्टामा ढोगेँ। 'बाबु भोकाए होला, खाना पकाइदेऊ बुहारी' भन्नुभयो। बुढीले खाना तयार पारिन्। खान खाएपछि रातभरिको अनिदो म साह्रै थकाई लागेको रहेछ, भुसुक्कै निदाएछु।
भोलि पल्ट साथीभाइहरु आए, रमाइयो। साथीहरु पनि अरुबेलाभन्दा फरक थिए, पहिला त खासै बोल्दैन थिए, तर यसपालि भने मजाले बोले, हाँसे, रमाए। मलाई नि खुसी लाग्यो। प्याच्चै 'तँ' भन्नेले पनि तिमी भनेको सुन्दा राम्रो लाग्यो। यो सबै कमाल कामको हो भन्ने राम्रोसँग बुझेँ।
नवमीको दिनमा कोटमा गइयो साथीहरुसँग। केही पुराना साथीहरुसँग भेट भयो। खुसी लाग्यो। त्योभन्दा नि खुसी मलाई गाउँले हेर्ने द्दष्टिकोणमा भिन्नताले पाएको थिएँ, श्रीमतीले हेर्ने नजरमा परिवर्तन पाएको थिएँ, बुबाले गर्ने व्यवहारमा फरक पाएको थिएँ,। ती सबै फरकले मैले मलाई नै फरक पाएको थिएँ।
विजया दशमीको टीका लगाइयो। गाउँमा पहिलाभन्दा साह्रै रमाइलो भयो। जमघट छुट्टै, रमाइलो छुट्टै, बोली भाषा छुट्टै, समाज छुट्टै। किन समाज छुट्टै? यसैलाई समाज भन्दो रहेछन्! केही नभएकोलाई घरपरिवारले नै फरक तरिकाले हेर्ने, व्यक्तिले, संगत गर्न छाड्ने र विभिन्न हुँदै नभएको आरोप पनि लाउन पछि नपर्नेलाई के साँच्चै समाज भनेकै हुन् त? आफैमा अनुत्तरित प्रश्न कताबाट मनमा आयो।
के समाज हुने खाने को मात्र हो त? हुँदा खानेले यो समाज मा स्वतन्त्र भएर जिउने अधिकार छँदै छैन त? चम्चा, चाकरी, र चाप्लुसी, नजानिकन यो संसारमा जिउन सकिन्न होला र? यी र यस्तै कुरा मनभरि खेले। घरमा बुढीले मेरो माइत जाउँ भन्थी। खै पहिला त कहिल्यै भनेको सुनिनँ। त्यही पनि 'भो भोलि बिहानै जान पर्छ, त्यसैले जाँदिनँ, तिमीहरु जाने भए जाऊ' भनेँ।
खै किन हो, ऊ पनि गइन। छोरीलाई माया लाग्यो, बेलुकी टीका लगाइदिएर पाँच रुपैयाँ दिएँ। धेरै दिने मन थियो, त धेरै भए पो दिनू। त्यही पनि छोरीले धैरै बेर हातमा समाइराखी। जानेर वा नजानेर हो वा सानी भएर हो, मनले सानो तर्कना गर्यो मनभरि यी र यस्ता तर्कना गर्दै कतिबेला निदाएछु पत्तै भएन।
भोलिपल्ट बिहानै आमाले पकाउनु भएको चिया पिएर पाँच बजि नसक्दै काठमाडौँ जानका लागि तयार भएँ। बुबा-आमासँग बिदा भएँ, छोरीलाई गालामा मोई खाएँ, बुढीसँग बिदा भएँ। बुढी सुक्क-सुक्क गर्थी, नाटक हो कि साच्चै हो पत्तो पाइनँ। मनमनै पहिला त वास्ता थिएन, अहिले के नाटक हो भनेँ। मुखन्जेल भन्ने हो भने त फेरि मारामार नै होला, हिँडने बेलामा राम्रोसँग जानू भनि। यो पनि जागिरको करामत हो भन्ने राम्रोसँग बुझेँ र सरासर आफ्नो बाटो लागेँ।
अफिस भनेकै बेलामा पुगेँ। लगभग म सबैभन्दा पहिला नै पुगेँ। नयाँ जोगीको बाक्लो टीका भनेजस्तो भएँ होला, तर कामप्रतिको इमान्दारिता र बफादारितामा सायद कहिले नचुक्ने मान्छे पनि भयो। अर्कोतर्फ क्षेत्रिय बोलीको टोनले मलाई हैरानै पारेको थियो। यो मेरो साह्रै समस्याको विषय भएको थियो, सुधार्ने पक्षमा मन वचन कर्मले लागेको थिएँ। दिनहरु बित्दै गए, म सिक्दै गएँ एंव रितले दिनका पाना पल्टिँदै गए।
दसैँ सकिएपछि धेरै दिन लागेन तिहारको रौनक छाउन। बजारमा तिहारको रौनक छायो, केही साथीहरु घर जाने भए, केही साथीहरु यही बस्ने भए। म पनि यही बस्ने भएँ। पहिलो तिहार सपनाको सहरमा रमाउने वातावरण कस्तो हुँदो रहेछ, यो पनि महसुस गर्ने अवसर पाएकोमा कता-कता आफैलाई गौरवान्वित ठानेको महसुस भएको थियो भने कता-कता दिदीहरुलाई खाली हात राख्ने भइयो भन्ने पनि पिर मनमा परेको थियो।
जे होस बस्नै परेपछि खुसी र रमाइलो गरेर बस्ने मनको अपेक्षा थियो। हुन पनि 'तँ आँट म पुर्याउछु' भन्छन् रे भगवानले, त्यस्तै भयो। हाम्रो टोली देउसी-भैलो खेल्ने भयो, मलाई पनि त्यस्तै रमाइलो चाहिएको। अर्को घरतिरको पनि पिर-मर्का भुल्न पाइने, रमाइलो भयो, मैले हार्मोनियम बजाउने अवसर पाएँ, बजाएँ। घरी-घरी गाना पनि गुनगुनाउन पाएँ, जे होस घर नगए पनि घरको पिरलाई यतै रमाइलो साथ रमाउन पाएको महसुस गरियो।
पहिलो दिन सिधा पनि राम्रै उठ्यो, सबै हासिखुसी रमाउने अवसर पायौँ। अझ मलाई झन रमाइलो भयो, सीप-कला र गला देखाउने सु-अवसर प्राप्त गरेँ। जे होस् सबैले तारिफ गरे अनि भोलिपल्ट पनि देउसी-भैलो खेल्न जाने कुरो थियो। तर मलाई सिठि सरले 'तिमी नजाने, आज यतै बस्ने' भन्नुभयो।
खै किन हो तर धेरै साथीहरुले मान्नु भएन। 'उहाँ नभई त कार्यक्रम नै हुँदैन, कसरी हुन्छ? न हार्मोनियम बजाउने मान्छे, न गीत गाउने मान्छे कोही छैनन्,' साथीहरुले प्रस्ताव राखे।
'ऊ आएको बल्ल दुई महिना भयो, यदि ऊ नआएको भए कसरी खेल्थ्यौ?,' सिठि सरको तर्क थियो।
साथीहरुले 'उहाँ नभएको भए हामीहरु खेल्ने नै थिएनौँ, उहाँले नै मैले सबै जानेको छु भनेर हामी यहाँसम्म आयौँ। ठिकै छ अब पठाए जाऔँला, उहाँलाई नपठाए नजाउँला, हाम्रो सीप भएन' भन्नुभयो।
त्यसपछि सिठि सरले 'ए यसको यत्रो सीप पो रहेछ, ल ठिक छ आजमात्र जानू भोलिबाट जान नि पाइँदैन। जान्छौँ भनेर भन्न नि पाइँदैन, यो मेरो आजको अन्तिम कुरा हो है' भन्नुभयो।
भैलो खेलियो, रमाइलो भयो। जे होस यसपालिको तिहार रमाइलो साथ बित्यो भन्नु पर्छ। साथीहरु नि घरबाट सबै आउनु भयो, यी सबै वृतान्त भनियो। साथीहरुले नि रमाइलो मान्नु भयो।
दिन एवं रीतले बित्दै गए। मेरो सीप, कला, गलाले धेरै साथीहरुले माया गर्न थाल्नु भयो। मैले सिक्न अझ हौसला पाएको थिएँ। एकदिन अफिसमा नाटक बनाउने कार्यक्रम भयो। त्यो नाटकमा एक ठाउँमा लोक गीत गाउन पर्ने भयो। मलाई गेटको ढोका बन्द गर्नेमा राखेर कलाकार अन्तैबाट बोलाएर रेकर्ड गरियो।
केही साथीले 'यो गीतमा उहाँले राम्रो गाउनु हुन्छ नि, उहाँलाई दिइको भए पनि हुन्थ्यो' भने। तर सिठि सरले मान्नु भएनछ। खै! किन हो उहाँको के कुरामा चित्त दुख्यो यो मैले त्यति साह्रो बुझ्न सकिनँ। पछि-पछि उहाँ झन् कडा र मप्रति निर्दयी हुन थाल्नुभयो। उहाँको व्यवहारमा परिवर्तन आएको जो-कोहीले पनि अनुमान लगाउन सकिन्थ्यो।
अब बिहान-बिहान यो रेकर्डिङ रुममा सरफ पानीले पोचा लगाउन भन्न थाल्नुभयो। त्यो पनि मैले नै गर्न थालेँ। विस्तारै अफिसमा पानी बोक्ने, सबैलाई पानी पिलाउने काम पो भयो। म अचम्मै पर्न थालेँ, त्यसपछि मैले सिक्ने रेकर्डिङ रुममा सिक्न बस्न पनि नपाइने नियम लगाउनु भयो। यसबाट प्रस्ट भयो कि अब मेरा सिक्ने दिन पनि गए र सायद यो कामै पनि गएको आभास गर्ने थालेँ।
कसैले त्यो रेकर्डिङ रुममा पत्रिका लगेर राख्यो भने मलाई नै हप्काउने, दप्काउने गर्न थाल्नुभयो। कैयौँ पटक सुनेँ 'ज्यान भाको दिमाग नभाको!' भनेर भन्न थाल्नुभयो। म सुनेको नसुन्यै गरेर बस्थेँ किनकि कमजोरि मेरै छ। मैले मेरो कमजोरीलाई सुधार्नु र जसरी भए पनि यहाँ सेटल भएर काम देखाउने मुख्य ध्येय थियो। त्यसैले नबोलेकै बेस भनेर चुपचाप लाग्नुभन्दा अर्को मेरो विकल्प थिएन।
जे-जति भए पनि सपना-बिपना त्यही काम गर्ने र घरपरिवारलाई देखाउने थियो। उता घरपरिवारमा किचलो, यता फेरि यस्तो पारा आयो। नहुनेलाई त कहीँ गए पनि नहुँदो रैछ भनि कहिलेकाहीँ त बिरक्त लागेर आउथ्यो। तर मनमा एकप्रकारको ऊर्जा थियो।
सबैले लम्बु भनेर होच्चाइएका अमिताभ बच्चन भारतका प्रख्यात कलाकार बने, सानोमा चोर्दै हिँड्ने विवेकानन्द अहिले आध्यात्मिक गुरु भए। सबैले होच्याएका होमर प्रख्यात ईलियड र ओडेसि पुस्तक लेखेर लेखक बने। खुट्टाले लेखैरै झमक घिमिरेले मदन पुरस्कार जितिन। खलासीको काम गर्दागर्दै रजनिकान्त सुपरस्टार बने। साग बेच्दै हिँड्ने थोमस एडिसन बैवैज्ञानिक बने, घरेलु नोकर म्याक्सिम गोर्की महान् लेखक बने।
कसैको भाग्य कसैले देखैको हुँदैन। कोही व्यक्तिले हेला गरेर के, म पनि कुनै दिन कसो नहूँला। जसले जे भने नि भन्छन्, म मेरै बाटो लाग्छु भन्ने मनमा गुनगुनाउथेँ।
एकदिन सिठि सरले मलाई बोलाउनु भयो र मिठो स्वरमा भन्नुभयो, 'हेर, काम धेरै छन्। तिमी चालक होऊ, व्यापारी होऊ, विदेश जाऊ। तिमी राम्रो गीत गाउँछौ कलाकार होऊ। मैले कुनै रोधी-घरमा भनिदिउँला। मैले अर्को एफएममा बरु भनिदिउँला, त्यहाँ जाऊ। यहाँ राम्रो काम गरेर बस्नेको काम छ। यहाँ यस्ता ज्यान भाको दिमाग नहुनेको कामै छैन। दिमाग हुनेको मात्र काम छ, यति गर्दा पनि तिमी कुरा बुझेनौ कि के हो? यहाँ तिमीले सक्दै सक्दैनौ। तिम्रो काम गरी खाने ढंग नै छैन। अन्तै लाग्दा हुन्छ।'
उहाँको मिठो स्वर तर कडा रुपको प्रस्तुतिले मलाई झसंग बनायो। यो पानी बोकाउने, रेकर्डिङ रुममा छिर्न बन्देज, पोचा लाउने, फेरि अर्को एफएममा भनिदिने बरु रोधी घरमा भनिदिने! यहाँ फिट नभएको मानिसलाई कसरी अन्त किन भनिदिनु? यो मायाहो कि दुष्प्रयास हो, मैले समग्रमा छुट्टयाउन सकिरहेको थिइनँ। कि उहाँलाई रोग लागेको हुन सक्ने मेरो अनुमान भयो।
शरीरमात्र स्वथ्य भएर हुँदैन, मन र आत्मा पनि स्वस्थ हुन जरुरी छ। किनभने कुनै बिरामीको अरुको उन्नति-प्रगति देख्न नचाहने प्रवृत्ति हाबी हुने हुन्छ। यो उहाँमा पनि रहेछ जस्तो लाग्यो।
यो सारा त मलाई लखेट्ने पारा पो रैछ, म छाँगाबाट खसेजस्तै भएँ। मैले 'हुन्छ, स्टेसन म्यानेजर सरसँग कुरा गर्छु। उहाँले जा काम छैन भने म आजै जान्छु, अहिले नै जान्छु, मलाई यो पाराले एक मिनेट नि बस्न मन लागेन सर। म पनि साह्रै नबुझ्ने र जान्दै नजान्ने भएजस्तो मलाई पनि लाग्दैन' भनेर उठेँ।
त्यसपछि उठेर सिधैँ चिया खान क्यान्टिमा गएँ। त्यतिबेला मोबाइलमा फोन आयो। तपाई फलानो हो भनेर सोध्नुभयो। मैले हो भनेँ। उहाँले आफ्नो परिचय दिनुभयो। मैले एकदम राम्रोसँग चिनेँ। विविध बिषयमा कुराकानी भयो। उहाँले अन्त्यमा मलाई पहिला काम गरेको रेडियोमा स्टेशन म्यानेजर भएर आइदिनु पर्यो भनेर फोन गर्नु भएको रहेछ। मैले सल्लाह गरौँला भनेँ। उहाँले जसरी भए पनि आइदिनु पर्यो, हामी ढुक्क भयौँ भन्नुभयो र फोन काटियो।
म सरासर समाचार कक्षमा गएँ। त्यहाँबाट स्टेशन म्यानेजर सरको रुममा छिर्न पर्थ्यो। त्यहा गएर सरलाई सोधेँ। 'सर त १५ दिनको बिदा जानुभयो, हजुरलाई थाहा छैन र?' भन्नुभयो।
मत छाँगाबाट खसेजस्तो भएँ। 'अनि कसलाई बुझाउनु भएको छ त निमित्त?' भनेर सोधेको त उहाँ सिठि सरलाई पो रहेछ। ए यो पो रहेछ पारा, किन? आज यसरी सारा यो कुरा आयो भनेको कारण यो रहेछ। म त्यहाँबाट फर्कें।
म निशब्द भएँ। के गरौँ? के भनौँ? कसलाई भनौँ? अनि जाने कि बस्ने? यो चालाले के बस्न-खान देलान् र भन्ने मनमा लाग्यो। स्टेशन म्यानेजर सरलाई फोन गरेँ,। उहाँलाई सारा वृतान्त बताएँ। उहाँले 'जाँदै नजाऊ, म आएपछि तिमीलाई जिम्मेवारी दिउँला भनेको थिएँ। सबै तिरबाट तिम्रो राम्रो प्रतिकृया आएको छ। सबै तिरबाट राम्रो प्रतिकृया आएपछि उहाँलाई ज्वालो छुटने यो उहाँको बानी हो। मलाई यो शंका लागको थियो, तिमीप्रति उहाँ नकारात्मक हुनुहुन्छ। मैले उहाँलाई फोन गर्छु, कृपया बस' भन्नुभयो।
'मैले त बस्ने मनै गरेको थिएँ, उहाँले जबरजस्ती पठाउने कुरा गर्नु भएको छ सर,' भनेँ।
'ल म सिठिलाई फोन गर्छु,' भनेर फोन काटनु भयो।
सिठि सरकोमा गएको त 'ला, यतिसम्म काम सिकिस्, तेरो यति हो' भनेर एक हजारको नोट भुइँमा फालिदिए।
सबै साथीहरु नि त्यहाँ आइपुग्नु भयो।
'किन सर, के भयो र? उहाँ राम्रो मान्छे हो, किन उहाँलाई यस्तो व्यवहार गर्नु भयो? म्यानेजर सरले त थप जिम्मेवारी दिने भन्नु भएको थियो सर, के भो सबै कुरा गरौँ, सबै कुरैबाट समस्याको समाधान हुने हो,' भनेर धेरै साथीहरुले भन्नुभयो।
मलाई पनि आत्मैदेखि बस्ने मन त होइन, तर ठूलो ठाउँ भनेको ठूलो ठाउँ हो, यहाँ प्रसस्तै सम्भावनाका स्रोत हुने गर्दछ। सपनाको राजधानी भनेर काठमाडौँलाई सबैले मरिहत्ते गर्छन्, म पनि पाएसम्म कला-गलालाई देखाउने अवसर पाइयो भने जीवनमा केही गर्ने ठूलो रहर भएर मात्र हो, नत्र जागिरै मात्र हो भने त स्टेशन म्यानेजर बनाउन बोलाएका छन् नि, मनले सोच्यो।
तर कति दिन हेलित भएर बस्ने? कति दिन यो अपमान सहेर बस्ने? तप्केनिको खेती र टोकसाको मान्छे कहिल्यै उभो लाग्दैन भन्छन्, मेरो पनि त्यसतै गति होला। उता घरपरिवार पनि नजिकै भइने, समय-समयमा घर जान पनि पाइने। मेरो आवाज मेरै गाउँघरमा सुनाउन पाइने। यो अपमान सहेर बस्नुभन्दा सबै साथीभाइहरुसँग हात मिलाएर जानु बेस ठानेँ।
अब मनले तँ जसरी भए पनि जानुपर्छ, यो अवसर पनि हो। आएको अवसरलाई तैँले जसरी भए पनि सदुपयोग गर्न पर्छ भन्यो। पटक्कै नबस् भन्छ। मान्छे बाहिरी रुपरंगले मात्र राम्रो भएर हुँदैन, हेर्दा हृष्टपुष्ट भएर मात्र पुग्दैन, उसमा अविवेकिपना र घमण्ड बढ्यो भने कहिल्यै पनि माथि लाग्दैन। मनले त्यही कुरा खेलायो, जसरी पनि जा कि जा भनेर उचाल्यो। त्यहाँ एक पल पनि पनि नबस् भनेर यो मनले नै अह्राएपछि म त्यसैको पछि लाग्न बाध्य भएँ।
सबै साथीभाइसँग बिदा भएर जाने निधो गरेर गएँ। सबैसँग हात मिलाएँ। मेरो भेगतिरकी एकजना बहिनी थिइन्। उनलाई 'म जाने भएँ राम्रोसँग बस्नू' भनेँ। उनले नराम्रो मानिन्। मलाई हरेक समयमा साथ सहयोग र मार्गदर्शक भएर काममा दत्तचित्त भएर लगाउनु हुने नेशम सरसँग हात मात्र हैन, गला नै जोडाएँ। प्यारो साथी कृष्णसँग हातेमालो गरी अंकमाल गर्यौं सबैसँग बिदा भएर म पनि लागेँ गेटबाट बाहिर।
आएँ पुरानै रेडियोमा। नयाँ जोश र जाँगरका साथ स्टेशन म्यानेजरको काम सम्हालेँ। बस् सघर्ष गर्न सिक्नुपर्दो रहेछ, शत्रु लागेर केही फरक पर्देन। बस् दिन नलागे हुँदोरहेछ, जीवनमा संघर्ष गर्न दुई चार जना शत्रु हुन जरुरी रहेछ नत्र म रिपोर्टरको रुपमा नियुक्त भएको मानिस किन झाडु, पोचा र पानी पिलाउने हुन्थेँ र? म किन दिमाग नभएको हुन्थेँ र?
त्यो सब मेरो काम प्रतिको लगाबले हो। मेरो सीप प्रतिको रिस, कला प्रतिको डाहा र पक्कै पनि मैले सम्भावना बोकेरै हो मलाई बरु अन्तै भनिदिन्छु तर यहाँबाट जाऊ भनेको। त्यहाँ त्यति दुःख नपाएको भए कहाँ पाइन्थ्यो र आज यो सुख, यो इज्जत र आज यो सफलता।