परदेशीएको सन्तानको
एकै झल्कोको
आश थियो र पो सास पनि
तल-माथि रोक्किँदै चल्दै
बाबु तिमीलाई कस्तो छ?
भन्दै बोलिरहेको आवाज
अड्किँदै थियो
नाति, पनातिनीको भविष्यको
पिरलो थियो र पो सास पनि
तल-माथि रोक्किँदै चल्दै
सानेले स्कुल सुरु गर्यो बाबु?
भन्दै बोलिरहेको आवाज
अड्किँदै थियो
पसिना बगाएर जोगाएको सम्पत्ति
सुम्पिनु थियो र पो सास पनि
तल-माथि रोक्किँदै चल्दै
लालपुर्जाका पाना च्यातिएका छैनन् नि बाबु?
भन्दै बोलिरहेको आवाज
अड्किँदै थियो
सन्तानको गरिखाने बाटोमा बाधा
बन्नु थिएन र पो सास पनि
तल-माथि रोक्किँदै चल्दै
सहयोगी हातहरु काममा फर्किए बाबु?
भन्दै बोलिरहेको आवाज
अड्किँदै थियो
वरपर घेरिएर बसेका छोराछोरीबीच
परदेशीकै अनुहारको
कमि थियो र पो सास पनि
तल-माथि रोक्किँदै चल्दै
थोरै दिनलाई भने नि आउन मिल्छ र बाबु?
भन्दै बोलिरहेको आवाज
अड्किँदै थियो
कसैलाई दुःख नदिई हिँड्दा-हिँड्दै
दैवको प्यारो हुनु थियो र पो
सास पनि तल-माथि रोक्किँदै चल्दै
सबै आफ्ना खुसी छन् नि मदेखि, बाबु?
भन्दै बोलिरहेको आवाज
अड्किँदै थियो
उहीँ समय बिलाइ गयो
टप्प टिपी लानी कालसँग
कसको के नै लाग्यो र
तल-माथि रोक्किँदै चल्दै
गरेको सासलाई ऐँठन लागि गयो
बोलिरहेको आवाज
अड्किँदै थियो- बिलाइ गयो
परदेशी सन्तानको एकै झल्कोको
आश थियो र पो सास पनि
तल-माथि रोक्किँदै चल्दै थियो
बोलिरहेको आवाज
अड्किँदै थियो, बिलाइ गयो।