यदि मसँग यो भएको भए
म यस्तो गर्थें, म उसो गर्थें
यदि मसंग प्रशस्त भए
म यसरी गर्थें, म उसरी गर्थें
यदि मलाई यो भएको भए
म त्योभन्दा बढी गरेको हुन्थेँ
यदि मलाई उसो भएको भए
म त्यसै गरेको हुन्थेँ
यदि मैले सक्ने भएको भए
मै गरिदिन्थेँ, मै सक्दिन्थेँ
म अरूलाई हेर्दाहेर्दै
केही गर्न नसक्ने भएछु
मन भित्रभित्रै कुँडिएछु
कोरोना भाइरसजस्तै भित्र-भित्रै सल्किएछु
पच्छुतोले आफैलाई धिक्कारेछु
स्वभिमानलाई प्रश्न गरेछु
अस्तित्वको खोजिमा परेछु
गर्छु भन्दाभन्दै दिनै सकिएछ
बाँकी रहेको तितोपना सबै
फेसबुको भित्ताभरि पोखेछु
गर्नेहरूले गर्छ, देखाउँछ
भन्नेहरू मात्र भनिराख्छ
भित्र-भित्र पोलिराख्छ, जलिराख्छ
युग फेरिएछ, सम्मान हराएछ
विचार सस्तो भएछ
महंगी मात्रै बढेछ
बेचैन, छटपटी सुरू भएछ
मानिस आफैमा रुमलिएछ
सुख खोज्दा-खोज्दा
झन् दुखी-दुखी भएछ
भग्यलाई दोष दिँदै
समय खेर गएछ
यदि मसँग पनि यस्तो भएको भए
म यो-यो गर्थें
यदि मसँग भएको भए
मैले पनि त्यो-त्यो गर्थें
गर्नेले गरिरहन्थे, बोल्नेहरू बोलिरहन्थे
जिन्दगी यसरी नै चलिरहन्थे
यदि म हुँदै नभए पनि
पृथ्वी घुमि बस्थेँ।