हरि प्रसादले महानगर भित्रिएर जीवनका महान् संघर्षहरु सुरु गरेको लगभग पाँच वर्ष बितेछ। यहीँ काठमाडौँले नै हो उसका धेरै साथीभाइ आफन्तलाई उभो लगाएको र तिनै भर्याङहरुको खोजीमा ऊ पनि पूर्वि ओखलढुंगाबाट यता हानिएको हो।
काठमाडौँले उसलाई धेरै भर्याङहरुको अफर गरेकै पनि हो। अप्ठ्यारो कुरा ती सबै भर्याङहरु चढ्नेभन्दा ओर्लने प्रकृति र प्रवृत्तिका थिए। अगाडि भर्याङ नै त्यस्तो परेपछि ओर्लनै पर्यो। यसरी ओर्लंदा-ओर्लंदा थाकेको हरि प्रसादको ज्यान आज रत्नपार्क टु किर्तीपुर माइक्रोमा ठिंग उभिएको छ।
थिंकिङ मुड एक्टिभ भएको हरिप्रसादलाई त्यो भिड, त्यो हल्लाखल्ला, त्यो ठेलमठेल केही होइन ऊ। त सहरको भिडमा एक्लो मुडमा छ।
धेरै कुराहरु मनमा ओहोर-दोहोर गरिरहन्छन् मानौँ मेरो मन बागमतीमाथिको पुल हो जहाँ असरल्ल चार-पाङ्ग्रे र दुई-पाङ्ग्रेहरु गुडिरहन्छन् आ-आफ्नै गतिमा। अहिले म सेतो माइक्रोको चमेरे सिटमा छु।
अब हरिप्रसादको अब्जर्भिङ मुड एक्टिभ हुन्छ। त्यसपछि रियाक्टिङ, अनि क्रमशः एक्टिङ, सेल्फ टल्किङ लगायतका धेरै मुडहरु, विषय परिस्थिति र सन्दर्भ अनुसारका। यस्तो प्रविधि भएको मोबाइल त स्टिभ जब्स बितेको हजार वर्षमा सायद बन्दो हो।
लगत्तै नोकिया धुन बज्न थाल्छ। प्रायः सबै यात्रु आफ्नो खल्तीतर्फ ध्यान दिन्छन् तथापी बज्दै गरेको मोबाइल एउटा अर्धबैँसेको भन्ने पत्ता लाग्छ र उनी आफ्नो ब्याग खोतल्न थाल्छिन्। जसै मोबाइल अझ उक्सिएर बजेको भान हुन्छ, आतुरता अझ बढ्छ तापनि मोबाइल भेटिरहेकी हुन्न। हरियो कलरको लेडिज ब्याग सिन्थेटिक लेदर हुनुपर्छ, हेर्दा निकै नै दामी जस्तो। धुन बज्न छाड्छ र भेटिन्छ पनि।
सबैभन्दा ओल्लो पट्टिको सानो खल्तीमा रहेछ। भिडभाडमा आफ्नो सामान आफ्नै झोलामा त भेटिन्न। अब यत्रो बेरोजगारहरुको भिडमा मैले जागिर पाउँछु होला त? मन त्यसै अमिलो भएर आउँछ। होइन मनलाई पनि ग्यास्ट्रिक हुन्छ कि क्या हो! आफैमाथि ठट्टा गर्छु।
मान्छेले कुन परिस्थितिमा अरुलाई र कुन स्थितिमा आफूमाथि ठट्टा गर्छ यसको झिनो भेद खुट्याउन सक्ने भएको रहेछु। अर्धबैँसेले मोबाइल निकाल्छे र स्क्रीनमा मिसकल लेखिएको रहेछ। तिनी मोबाइल थन्काउने उपक्रममा लाग्छे, झोलाका पत्रैपत्र भनौँ न, खल्ती नै खल्ती हुन्छन् र कुन भित्र राखौँ भन्ने दोधारमा परेको जस्तो देखिन्छे। म त्यता ध्यान नदिउँ भन्छु तर आँखा भने सयमा सय उतै गइरहेको हुन्छ।
ए बा! त्यती धेरै पत्र खोतलिसक्दा पनि कहाँ थन्काउने भन्ने अझ टुंगो लगाउन सक्दिनँ तर म उसको झोलामा के-के छन् भन्न मज्जाले सक्ने भइसकेको छु। केही औषधिका ट्याबलेटहरुले अलि ध्यान आकृष्ट पार्छन्। सायद तीनको उमेर १६ देखि २५ को हुन्थ्यो भने त्यहाँ कि लिपिस्टिक हुन्थ्यो कि त्यस्तै सौन्दर्यजनित वस्तु।
मलाई त्यो मोबाइलको विकल्पहरुदेखि डाहा लागेर आउँछ। जहाँ छिरे पनि भो ऊ एउटा, अवसर धेरै। मतलब खल्ती धेरै। तर म यहाँ आफैँ एउटा वैकल्पिक व्यक्ति भई द्वध जीवन बाँचिरहेको छु जसलाई निर्विकल्प बनाई पाउँ भन्ने व्यहोराको निवेदन बिसाउन सीमाकहाँ जादैँछु, सकभर अलि राम्रै तयारी गरेर।
यो प्रेम सेम भन्ने कुरा पनि रोजगार मै गएर अडिन्छ कि क्या हो? रोजगार गाढा प्रेम गाढा, रोजगार फिक्का त प्रेम झनै फिक्का। म जस्तोको लागि न फिक्का न गाढा बस् इच्छा छ, दम छैन। यहीँ भएको इच्छामाथि केही विचारहरु जोड्छु, फुलेर ठूलो हुन्छ। जाबो इच्छाको दम न हो कहाँ टिकिरहन्छ र, एउटा सानो परिस्थितिको सियोले फुस्सै बनाउँछ।
माइक्रो झण्डै झण्डै कालिमाटीको चोक पुगिसकेको हुन्छ, यता म आफ्नै घनचक्करमा छु। सहचालक मलाई बोलाउँछ। बोलाउँछ के भनुँ अलि पछाडि सर्न आदेश दिन्छ, म नसुने झैँ गर्छु ऊ झनै कोट्याउँदै अर्को चर्को आदेश दिन्छ 'दाइ यता फर्किएर बस्नु त।'
म मन-मनमा सन्किन्छु, जता फर्किएर बसुँ उसलाई के मतलब! तर म विवाद गर्ने पक्षमा छैन। त्यसको कुनै अर्थ पनि छैन। म सहचालकले भनेको दिशातिरै फर्किदिन्छु। कालिमाटी चोकलाई दायाँ बनाएर माइक्रो रोकिन्छ, केही यात्रु झर्छन्, केही चढ्छन्। चढ्नेको सँख्या उसलाई सधैँ कम नै लाग्छ। त्यसैले ऊ चिच्याउन थाल्छ 'बल्खु, कीर्तिपुर, बल्खु-कीर्तिपुर!'
एक-एक चोक मात्र होइन, झण्डै-झण्डै प्रत्येक घर नै थाहा पाउँछ क्यारे मोरोले, सबै कण्ठ छ यो रुटको। कसले भन्छ उसको दिमाग छैन। मैले कति चोटि रटिसकेँ नेपालको संवैधानिक विकासक्रम। तिथिमिति याद हुन्छ, मस्यौदा समिति बिर्सेको बिर्सेकै। जिन्दगीमा कहिल्यै नपढेको सामन्य ज्ञान पढिरहेछु। घरीघरी नेपालको सबैभन्दा ठूलो जिल्ला कुन हो? भन्ने जस्तो प्रश्न देख्दा भुत्भुतिन्छु।
अब देश नै संघीयतामा जाने भन्ने कुरो छ, मैले रटेको त्यो ठूलो जिल्ला पुनर्संरचना भएर अरु नै केही बन्यो भने मैले पढेको के अर्थ र? फेरि आफैँलाई सम्झाउछु, ठूलो मान्छे भएर 'जे होस् न त्योसँग तँलाई के लिनु न दिनु, तैँले त बस् जागिर खानु छ।' झण्डै एक वर्ष भो नासुको तयारीमा छु।
पहिले लगनखेलको माउन्ट भ्याली स्कुलमा पढाएँ। त्यही मेसोमा सीमासँग बिहे भएको थियो। त्यसपछि जिन्दगीले एउटा न एउटा मोड लिएला भन्ने सोचेको थिएँ, भएन भनेजस्तो।
म चढेको माइक्रोलाई छेकारो काट्दै एउटा टिप्पर आउँछ, एकैछिनको प्रतिस्पर्धा पछि उसैले जित्छ। टिप्परको पछाडि लेखिएको हुन्छ- 'जिन्दगी एक नाटक।' मलाई अलि तल थप्न मन लागेको थियो, उसो भए निर्देशक खोइ त? हँ!
झस्किन्छु, आरे हौ म निर्देशककै खोजीमा त हिडिँरहेको छु नि। निर्देशक अर्थात् मेरी सीमा। अघि जे होस्, अहिले मैले जुन भोगिरहेको घटनाक्रम, परिदृश्य या भूमिकाहरु जे-जे छन् ती सबैको निर्देशक भनेको सीमा नै त हो र म उसैलाई भेट्न जाँदैछु कीर्तिपुर।
'दाइ भाडा पाउँ है?'
म दशको नोट र एउटा भाइको परिचय पत्र थमाउँछु। अल्फाबिटा कलेजको दामी डिजिटल प्रिन्ट देखेपछि विचरोको के लागोस्, उसलाई के थाहा त्यो आइकार्ड मेरो होइन र जसले दियो त्यो भाइ विद्यार्थी पनि होइन। ऊ त बागबजारको न्यु डिजिटल आर्टमा काम गर्ने डिजाइनर हो।
'दाइ, दुई रुपैयाँ पुगेन।'
म जिन्सको अगाडिको सानो खल्तीबाट एउटा क्वाइन झिकेर दिन्छु। माइक्रो टियु गेट हुँदै नयाँबाटो तर्फ मोडिसकेको हुन्छ। अघिनैको खचाखच धेरै पातलिएको हुन्छ, मैले बायाँ तिरको सिंगल सिट खाली देख्छु र हत्तपत्त थचक्क बस्छु।
अगाडि स्वाभाविक रुपमा आँखा जान्छन्। नेवारीमा खै के-के भनेर चालक मोबाइल थन्काउँदै हुन्छ। जब मेरो ध्यान चालकसँग जोडिएका सिटतिर जान्छ म हत्तपत्त मास्क निकालेर लगाउँछु किनभने ती अगाडिका दुई यात्रुमध्ये झ्यालतिर बसेकी सीमा हुन्छे। मलाई कता-कता शंका लाग्छ, कतै त्यो सीमासँग बस्ने केटो उनको पहिलाको ब्वाइफ्रेण्ड त होइन?
मुटु चर्केजस्तो चसक्क घोच्न थाल्छ, म बसेको सिट भाँसिँदै गएर तल सडकका नालीहरुमा घच्याक-घच्याक ठोक्किए झैँ लाग्छ। माइक्रो नयाँ-बजार गेटमा रोकिन्छ, सबैलाई झर्ने हतारो छ। म झर्ने पनि यहीँ नै हो तर म हत्तार गर्दिनँ अर्थात् अझ म सीमाको चियो गर्न चाहन्छु।
म झर्ने बित्तिकै माइक्रोले तुरून्त गति लिन्छ मानौँ संसारका सबै मान्छे बोक्ने ठेक्का उसैको हो। अथवा भनौँ न ऊ एकैदिनमा उठेको भाडाले करोडपति हुन चाहन्छ। मभन्दा सीमा झण्डै पचास मिटर जति अघि हुन्छे। त्यहीँ सँगै सिटमा बस्ने केटोको पाखुरा समातेर हिँडिरहेकी। कटक्क मुटु खान्छ, हात खुट्टा लल्याक-लुलुक हुन्छन्। म बेहोस बाहेक सबै हुन्छु।
मानसिक रुपमा यस्तो प्रहार सहेको सायद यो मेरो पहिलो अनुभव हुँदो हो। सम्हालिँदै नजिकको एउटा पसलमा चुरोट किनेर सल्काउँछु र सर्रर धुँवा उडाउँदै पछ्याउन थाल्छु ती दुई प्राणीहरुलाई। सरासर डिम लाइट रेस्टुरेन्टभित्र ती छिर्छन्। म भुतुक्क हुन्छु, झण्डै-झण्डै भुँइमा बस्दिनँ।
एउटा यस्तो सोच आउँछ- सीमाको पाखुरामा समातेर हिँड्ने बानी त पुरानै हो, कोही माइतीहरु पनि हुनसक्लान्। उसो त उनका केही आफन्तका छोराहरु यहीँ कीर्तिपुरमा बसेर पढ्छन्। फेरि ती युगल उन्मुक्त खुसीमा तुरन्त रेस्टुरेन्टबाट बाहिरिएको देख्छु। मेरो हिँड्ने र रोकिने क्रिया कसैले वास्ता गरेजस्तो लाग्दैन र हल्का सन्तोष पनि लाग्छ, आखिर सहर हो।
तिनीहरु सरासर अघि बढ्छन्, सायद दोश्रो गन्तव्य सीमाको कोठा नै हुनुपर्छ। एकपटक आफू श्रीमान् भएको अधिकार प्रयोग गरौँ भन्ने पनि लागेको हो तर मेरो दिमागमा जासुस बन्ने भूत अघिदेखि नै सवार भइसकेकोले त्यसो गर्दिनँ। नजिकैको पिसिओमा जान्छु र डायल गर्छु ९८४१......। माफ गर्नुहोला... स्विच-अफ गरिएको रहेछ। फेरि डायल गर्छु उहीँ।
उफ! पाँगा चोकको एउटा चिया पसलमा गएर चिया पिउन थाल्छु र अर्को चुरोट सल्काउँछु। लामो सर्को तानेर सर्रर फाल्छु। त्यहीँ धुवाँजस्तै सीमाले पनि मेरो वर्तमान परिस्थितिलाई उडाइदिएर अर्कै रमाइलो परिस्थितिको सर्को तान्न लगाउँछे कि भन्ने झिनो कल्पना एकपटक मनमा झिलिक्क हुन्छ।
सीमालाई मैले नै मन पराएर बिहे गरेको हो। घरमा बा-आमा समेतलाई थाहा नै नदिई। उसबेला म अर्थशास्त्रमा मास्टर गर्दै थिएँ र लगत्तै माउन्ट भ्यालीमा पढाउन थालेको थिएँ। बुवाले पढाइ बिग्रियो भनेर गाली गर्नुभएको थियो। त्यो बेला म जान्ने भएको थिएँ 'होइन, अब म पनि जिम्मेवार भएँ। जागिर खाँदै पढ्न सकिहाल्छु नि, हजुरहरुलाई त्यहाँ पनि दुःख नै छ। बरु केही जोरजाम गरेँ भने त्यो म आउँदाखेरी ब्याज मरनीमा दिएको पल्लो बारी फर्काउन सकिन्छ कि।'
आमा त फोनमा रुनुभएको थियो। 'बाबु, तँ किन घरको चिन्ता लिन्छस्, पढाइ सकेपछि गर्नु नि कमाउने कुरा।'
त्यसको एक महिनापछि साथी दिपेश घरबाट आएको थियो, उसले आमाले पठाउनुभएको एउटा जेब्रा हातमा थमाएको थियो। एउटा सिसीमा अचार, अर्कोमा घिउ र एउटा पोकोमा दाल। पोको आमाले सधैँ टाउकोमा बाँधिराख्ने कस्मिरी पछ्यौराको थियो। पछ्यौरा देखेर एक्कासी उहाँको यादले छोपेको थियो। हत्तपत्त चिजबिज एउटा कालो पोलिथिनमा खन्याएर त्यो पछ्यौरा सुँघेको थिएँ।
'छि! के सुँघेको?' सीमाले भनेकी थिई।
मैले त्यो पछ्यौरालाई मिलाएर घाँटीमा बेरेको थिएँ जसै म आमाको नजिकभन्दा नजिक छु।
'यहाँ हेर्नु त' सीमाले जेब्राबाट एउटा खाम निकाली। खोलेर हेर्दा पाँच हजार रुपैयाँ रहेछ। दुई हजार मैले राखेर तीन हजार उनैलाई दिएको थिएँ। उत्तिनै खेर, खुब मक्ख पर्दै पर्समा हालेकी थिई। एउटा सानो चिर्कट पनि त्यहीँ खाम भित्र रहेछ। मलाई कखरा सिकाउने अक्षर कसको हुन सक्थ्यो र बुवाको नभई। विस्तारै खोलेर हेर्दा लेखिएको थियो-
प्यारो छोरा,
शुभ आर्शीवाद।
सन्चै छस् होला, खै आजभोलि त्यति फोन पनि गर्दैनस्। मलाई नगरे पनि आमालाई गर्दै गर् न। तेरो साह्रै याद गर्छे। कहिलेकाहीँ तेरो फोटो हेर्दै रोएको जस्तो लाग्छ तर मसँग ढाँट्छे। अनि तेरो सब खबर दिपेशबाट पायौँ, मलाई पनि खुसी नै लाग्यो। अब तँ पनि जिम्मेवार भइसकिस्। सञ्चो-विसञ्चो के सुनाउनु, तँलाई सबै थाहा नै छ। आमाले साह्रै पिर गर्छिन्। अस्ति निन्द्रामा 'हरि, हरि' भन्दै थिइन्। मिल्यो भने दसैँमा घर आइज, हाम्री बुहारी कस्ती छे हामीलाई पनि हेर्ने हतार छ। तँ चिन्ता नगर् छोरा, तेरो आमालाई म सम्झाउँछु। ल त आजलाई यति।
उहीँ बुवा।
आत्था! चुरोटले पोलेछ। म झस्कन्छु। चिया पसले मुसुमुसु हाँस्दै मलाई हेर्दै हुन्छन्। हत्तपत्त आफूलाई सम्हाल्दै भन्छु 'दाइ फेरि एउटा है, अँ… चिया नै।'
म फेरि अघिकैको पिसिओमा जान्छु र डायल गर्छु। एकैपल्टमा फोन लाग्छ। केही उत्साहित हुन्छु तर फोन उठिरहेका हुँदैन। तेस्रोपल्ट उठ्छ, 'सीमा कहाँ छौ?'
'अँ... को बोल्नु भएको?'
'म... म, को भन्नु।'
'ए हरि! तिमी चाहिँ कहाँ हो र? अनि आज यता आउने भनेको होइन?'
'अँ... त्यहीँ भएर त फोन गरेको नि।'
'अनि म रुममै छु त, आऊ न। अनि मोबाइल के भयो नि?'
'ह्याङ भएको छ, त्यति बोक्दिनँ आजकाल।'
'सिधैँ रुममा आए पनि हुन्छ नि, किन फोन गरिरा त?'
'होइन त्यत्तिकै' म भित्रको जासुसी चरो झण्डै-झण्डै उड्न खोज्छ, 'ल ल, म पाँच मिनेटमा आएँ।'
फोन राख्छु अनि पिसिओ र चिया पसलमा खरायो गतिमा पैसा बुझाउँछु र चितुवा गतिमा लाग्छु सीमाको कोठातिर। बाघभैरव मन्दिर जाँदा बाटोमै पर्ने हरियो रङले रङगाइएको सबैभन्दा नयाँ पाँच तले घरमा हो उनी बस्ने। झण्डै तीन महिना भएछ भेट नभएको पनि। सँगै बस्दा पढ्नमा डिस्टर्ब हुन्छ भनेकी हो उनले।
हुन पनि लोकसेवाको तयारी सितिमितिले चल्दैन, घुँडा नै टेकेर पढ्नुपर्छ। उनी यतै कीर्तिपुर बसेर अंग्रेजीमा डिग्री गर्ने भई। मेरो सबथोक अनामनगरमै छ, आखिर मलाई जसरी पनि नासुमा नाम निकाल्नु थियो। त्यहीँ भएर जागिर छाडेको थिएँ र गृहस्थी नि झण्डै-झण्डै त्यागे बराबर बनेको थियो।
कहिलेकाहीँ भेट्दै गर्नुपर्छ भनेकी हो सीमाले। यत्तिकैमा सीमाको कोठाको ढोका ढकढकाउन पुगेछु, उनैको कोठा त भनौँ न यहाँ म नबस्ने भएपछि। फेरि उनी यहाँ काकाको छोरीसँग बस्छे। ढोका खोल्दै मुस्कुराउँछे सीमा। मेरो हृदयको अघि उठेको ज्वारभाटा शून्यमा होइन, अब माइनसतिर लाग्दै हुन्छ। बरु मनमा केही रातो गुलाबहरु फुल्न सुर गर्दै हुन्छन्।
'आऊ न भित्रै, किन टोलाएको?' सीमा आफ्नो मधुर आवाजमा समुस्कान मलाई स्वागत गर्छे। म उनको मुहारमा यसरी हेर्छु कि मानौँ मैले उनलाई पहिलोपल्ट हेर्ने अवसर जुरेको छ। केही सन्तुष्टीका छालहरु उठिरहेको पाउँछु उनको मुहारमा।
अनायस बेडतिर नजर पुग्छन्। असरल्ल परेको तन्नाहरु, माडिएजस्ता सिरक र सिरानीहरु जुन राम्ररी मिलाउन नपाएको जस्तो देखिन्छ।
'बस न के हेरिरा कहिल्यै नदेख्या जस्तो!' हात तानेर बसाउन खोज्छे।
म उभिरहेको हुन्छु। उनको हात तान्ने र मेरो उभिने क्रियाबीच केही क्षण प्रतिस्पर्धा चल्छ, र म हुत्तिँदै खाटमा पुग्छु। धेरै नै बल लगाएकी हुँदी हो उनले, त्यसैले म खाटको पल्लो छेउ पुग्छु जुन बिन्दु सीमाले मलाई बस्न दिएको लक्षित स्थानभन्दा फरक पर्न जान्छ।
ऊ केही नर्भस हुन्छे। मलाई बुझ्नलाई पलभर पनि लाग्दैन त्यस कोठामा मेरो अस्तित्वलाई केहीबेर अगाडि धज्जी उडाइएको थियो। फेरि यति पनि बुझ्न नसकिँदो हो त म कसरी सीमाको श्रीमान् हुँ भनेर दावा गर्न सक्छु!
'मलाई डिभोर्स देऊ सीमा' म एक्कासी चिच्याउन पुगेछु।
उनी छक्क पर्छे जस्तो कि मैले त्रिलोकमै नपाइने केही जडीबुटीहरुको सेवन गरेर आएको छु। जसको सेवन देवताहरुको पालामा समेत वर्जित थियो। तर उनी एकैछिनमा अति सामन्य मनोभावमा प्रकट हुँदै भन्छे 'अनि हाम्रो बिहे कहिले भएको थियो र?'
अब पो म सात तला जतिको छाँगोबाट एक्कासी खस्छु। खस्दाखस्दै भन्छु- 'अनि यो सब के हो त? के सिन्दुर-पोते नलगाइन्जेल विवाह भएको मानिँदैन? म र मेरो समाजले तिमीलाई मेरो श्रीमतीको रुपमा स्वीकारी सकेको छ। के अब त्यो सम्बन्ध केहीँ रुपैयाँ बराबरको सिन्दुर र पोतेसँग दाँजेर हेर्न मिल्छ त सीमा?'
सीमा मुस्कुराउँदै क्रमशः खित्का छाड्न तिर लाग्छे। म अचानक उनको गोडा समाउन पुग्छु। 'सीमा, प्लिज मलाई यस्तो नबनाऊ। म अझै हाम्रो लागि धेरै थोक गर्न चाहन्छु जीवनमा।'
आफ्नो खुट्टा हटाउँदै भन्छे 'कस्तो पागल भएको तिमी!'
'अनि साँच्चै हाम्रो बिहे भएको छैन त सीमा?'
फेरि हाँस्न थाल्छे खितखिताएरै। म त्यो हाँसोमा हाँसो मिलाउन किमार्थ सकिरहेको हुँदिनँ, बरु बेजोड व्यङ्ग जस्तो लाग्छ मेरो सपनामाथि, भूत र वर्तमानमा मैले भोगिरहेको जीवनप्रति।
थचक्क भुँइमा बस्छु। सीमा नजिकै आउँछिन् र भन्न लाग्छिन्, 'हेर हरि, त्यस्तो केही भएकै होइन हामी बीचमा। अझ बेला छ हाम्रो बिहे गर्नलाई। तिमी अरु मेहनत गर र नाम निकाल। यदि योपल्ट नाम निस्केछ भने आउने मंसिरमा हाम्रो बिहे पक्का हुन्छ। मैले अलिअलि तिम्रो बारेमा घरमा कुरा गरी पनि सकेको छु।'
न म रुन सक्छु न चिच्याउन नै, बरु बेहोस हुन पाए हुन्थ्यो जस्तो लाग्छ। मनमा फेरि सानो माछोजस्तो एउटा कुरा खेल्न थाल्छ, दुई-दुई वटा मंसिर सँगै बसेर काटियो। खै! कुन मंसिरको कुरा गरेकी हो सीमाले? मैले कुरो बुझिनँ या बुझ्न नै चाहिनँ।
म त्यहाँ बसिरहन सक्छु जस्तो पनि लागेन र न मैले कुनै औपचारिकता नै निभाउनुपर्छ भन्ने आभास भयो। त्यसैले झटारोजस्तै निस्कन्छु। मेरो यसपल्ट लोकसेवामा जति प्रतिशत नाम निस्कने सम्भावना थियो, त्यती नै प्रतिशत सीमाले भर्खरै भनेकी त्यो मंसिर आउने वाला थियो। सायद म त्यहीँ मंसिरको प्रतिक्षामा निस्केको हुँदो हुँ। सनै-सनै सम्भावनाहरुको पछि।
धेरैपछि सुनियो, हरि प्रसाद अनामनगरकै एउटा कोरियन भाषा प्रशिक्षण केन्द्रमा धाउँदैछ रे। त्यसको अलि पछि सुनियो, विश्वभाषा क्याम्पसमा जापानी र जर्मनी सिक्दैछ रे। अनि फेरि सुनियो महाबौद्धको एउटा कुन कपडाको स्टोरमा सेक्युरिटी गार्ड छ रे।
पक्कै पनि यस बीचमा धेरै मंसिरहरु गुज्रे होलान्, उपत्यकाले पनि आफ्नो शीरमा धेरै निला, राता शिरिषको फूलहरु जरुर सिउरियो। तिनै शिरिषको फूलहरुको पृष्ठभूमिमा हरि प्रसादले खिचेको सीमाको एउटा सुन्दर तस्बिर फेसबुकमा भर्खरै अपलोड भयो।
सेतो कुर्ता सुरुवालमा सजिएकी उनी उहीँ मृदुल मुस्कान र निर्दोष आँखा। क्याप्सन थियो- 'माई वल्ड मेमोरिज इन केटिएम।' निःसन्देह त्यो अपलोड गर्ने सीमा थिई। अपलोडेड लोकेसन थियो- मेलबर्न, अष्ट्रेलिया।